बिहे आयो नया नोट नै चाहिने
ब्रतबन्ध भन्यो नयाँ नोटकै चिन्ता
श्राद्धमा त जसरी पनि हुनैपर्छ
दशैँ तिहार जताततै नयाँ नोटकै बहार
आखिर के छ त नयाँ नोटमा ?
सधैं सधैं नयाँ नै टिक्ने पनि हैन
धेरै भाउमा बिक्ने पनि हैन
नयाँ भनेर बिदेशमा सट्ने पनि हैन
पर्समा राख्दा बढ्ने पनि हैन
आखिर के छ त नयाँ नोटमा ?
पूजा अपूरो हुने र देउता रिसाउने पनि हैन
दशैँ खल्लो हुने नूनै नभएजस्तो हुने पनि हैन
देउसी खेल्नेहरू रिसाउने र दान नलिने पनि हैन
पुरोहितले ओठ लेप्य्राएर दक्षिणा नलिने पनि हैन
पैसा भएर पनि भोकै बाँच्नु पर्ने पनि हैन
पुरानो नोटले अभाव र गरीवी साँच्नु पर्ने पनि हैन
के हुन्छ त नयाँ नोटको अभावमा
आखिर के छ त नयाँ नोटमा ?
जिन्दगी दिनहुँ पुरानो हुँदै जान्छ
त्यै जिन्दगी दिनहुँ नयाँ नोट खोज्दै जान्छ
कतै नयाँ नोटको मोहले
जिन्दगी पुरानो हुँदै गएको त हैन ?
जिन्दगी असफल हुँदै गएको त हैन ?
पैसा जस्तै जीवन पनि नयाँ रुपमा साट्न मिल्दो हो त
लाइन कति लामो हुन्थ्यो होला
पुरानो एकथान ज्यान साट्ने मनुवाहरूको ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

