इटहरीको फराकिलो बाटोमा उनीसँग भेट भयो । उनी भनेको कवि मनु मञ्जिल । मेरा लागि यो भेटघाट सम्झना आइरहने भेटघाटमध्ये एक रह्यो । कविहरू कति मीठा हुन्छन् । मलाई अचम्म पनि लाग्छ । खैर, उनका मीठा र गहकिला सुन्दै एक बिहान बिताइयो । यसबीच उनको कर्मथलो घुम्ने मौका पनि मिल्यो । यहाँ त्यही भेटमा थाहा पाएका कवि मनु मञ्जिलका केही मीठा प्रसङ्गहरूलाई शब्दमा उन्ने प्रयास गरेको छु ।

पहिलो प्रकाशित कविता

कवि मनु मञ्जिल बाल्यकालमा आमाले हार्मोनियम बजाउँदा छेउमा बसेर ध्यानपूर्वक सुन्ने गर्थे । हार्मोनियमको मिठासले उनको मनमा अनेक भावनाहरूले जन्म लिन्थे । मन उद्वेलित हुन्थ्यो । उनी कल्पनाको मीठो संसारमा हराउँथे । अनि त्यसलाई शब्दमा उतार्ने प्रयास गर्थे । आफूले लेखेका ती शब्दहरू कविता रहेछन् भन्ने कुरा उनलाई पछि मात्र थाहा भयो ।

मनु मञ्जिल जब ६/७ कक्षामा पढ्थे, उनले एउटा कविता लेखे । कविता लेखिसकेपछि उनले यसो हेरेर सोचे, “आम्मामा ! यो त न भूत न भविष्य जस्तो छ !” उनी आफैं चकित भए । ‘यो त साधारण कविता लेखिनँ मैले’ भन्ने लाग्यो । अरूका कवितासँग तुलना गर्दा आफ्नो कविता उनलाई अद्वितीय लाग्यो । मानौं, न देवकोटाले न भूपीले नै यसरी लेखेका थिए । त्यसैले उनले निर्णय गरे ‘यो कविता त छपाउनुपर्छ’ ।

त्यसवेला गोरखापत्र, मधुपर्क, गरिमा जस्ता पत्रिकाहरूमा कविता छापिने गर्थ्यो । उनले कविता छपाउन गोरखापत्रका सम्पादकलाई चिठी लेखे । आफूलाई सम्पादकको ठुलो प्रशंसक बताउँदै, कविता छपाउन अनुरोध गरे । महिना दिन बित्यो, डेढ महिना बित्यो तर गोरखापत्रमा कविता छापिएन । त्यसपछि मधुपर्कमा पठाए । त्यहाँ पनि छापिएन । सम्पादकलाई माया गरेर चिठी लेख्दै गरिमामा पठाए । गरिमाले पनि छापेन । यसो हेर्छन् आफूलाई कविता साधारण लाग्दैन । होइन, कविता बुझ्ने मान्छे देशमा निकै कम छन् कि क्या हो जस्तो उनलाई लाग्यो ।

त्यसवेला वीरगन्जबाट मालिङ्गो भन्ने पत्रिका निस्कन्थ्यो । कविता त छपाउनु पर्‍यो । आमालाई वीरगन्ज घुम्न जाने बताउँदै उनले पैसा मागे । आमासँग गाई बेचेको दुई सय रुपियाँ रहेछ ।

त्यो पैसा लिएर उनी वीरगन्जमा मालिङ्गोको कार्यालय खोज्न हिंडे । पूर्वपट्टि फर्केको ठूलो घरको दोस्रो तल्लामा रहेको उक्त फ्ल्याट उनलाई अझै पनि याद छ । पूर्वपट्टि फर्केको कोठाभित्र एउटा मान्छे गफ गर्दै रहेछ । उनले यसो चियाएर हेरे । सम्पादक देखेर सातो उड्यो । ठूलो पेन्सिल स्ट्रेट जुँगा भएको मान्छे सम्पादक रहेछ । उनी सात कक्षामा पढ्ने केटाकेटी । सम्पादकसँग अर्को मान्छे गफ गरेर बसिरहेको थियो । उक्त व्यक्ति हिंडिसकेपछि उनी भित्र पसे ।

मनु मञ्जिल

सम्पादकले ठाडो स्वरमा ‘किन आइस् ?’ भने । साह्रै चित्त दुख्यो । ‘यस्तो कविता लेख्ने मान्छेलाई यसले तँ भन्यो’ भन्ने लाग्यो । त्यसपछि मनुले ‘एउटा कविता लेखेको थिएँ सर, छाप्दिनुहुन्छ कि भनेर आएको’ भन्दै कविता थमाए । सम्पादकले यसो हेर्‍यो र कच्याककुचुक पारेर फालिदियो ।

त्यो क्षण सम्झँदै मनु भन्छन्, ‘जीवनमा त्यो जस्तो मर्ममा प्रहार भएको क्षण कहिल्यै भएन’ ।

एउटा गजबको कुरा चाहिं के भयो भने सम्पादकले फालेको कविताको कागज कता कताबाट उनको जीउमा ठोक्किएर ठ्याक्कै उनको गोजीमा पर्‍यो । यसरी आफ्नो कविताको अवहेलना भएपछि एकदम मर्माहत भएर उनी हिंडे । चारै दिशा अँध्यारो भयो । ठूलो मर्म मनमा लिएर उनी घर फर्किए ।

घर आइसकेपछि ‘के गर्ने होला ? छाप्नु त पर्छ, कविता त कोही पनि बुझ्दैन’ भन्ने विचार आयो । यसो कविता हेर्‍यो, अचम्मै राम्रो छ । अनि उनले एउटा जुक्ति निकाले । गाउँ घरमा दुई खापाको ढोका हुन्छ । आग्लो लगाउन मिल्ने । त्यो ढोका अझै पनि रहेको उनी बताउँछन् । आमालाई भित्र आउजाउ गर्न एउटा ढोका खुल्ला गरिदिए । किनभने गाउँमा मान्छेहरू उनकी आमालाई भेट्न आइरहन्थे । एउटा ढोकाको खापा चाहिं ढ्याप्प बन्द गरिदिए । गाईको गोबर ल्याएर खापामा उनले कविता प्रकाशित गरिदिए । यसरी आफ्नै घरको ढोकामा उनको कविता प्रकाशित भयो ।

अब पाठकको प्रतिक्रिया पनि लिनुपर्‍यो । एउटा तन्ना बाहिर पट्टि खाटमा ओछ्याएर ‘यो गाउँमा विद्वान चाहिं को रहेछ ? कसले चाहिं कविता बुझ्दो रहेछ, हेरौं न’ भन्दै उनी रुँगेर बसे ।

सबै मान्छे आउँछन् ए आमा के छ भन्छन्, कान्छो के छ भन्छन् जान्छन् । कवितामा त आँखा नै लगाउँदैनन् । हत्तेरिका अशिक्षित मान्छे भनेको अशिक्षित नै हुनेरहेछ भन्ने उनलाई लाग्छ । उनको गाउँमा एक जना वासु सर भन्ने व्यक्ति थिए । ती प्रति बडो सम्मान रहेको मनु बताउँछन् ।

उनले नै पहिलो पटक आएर ‘होइन हो हाम्रो कान्छोले के लेख्यो’ भन्दै कविता शुरूदेखि अन्तिमसम्म पढे । यता मनुको मनमा हुटहुटी चल्न थाल्यो । ‘राम्रो पो लेख्दो रहेछ, लु यो कवि हुन्छ आमा’ बसु सरले आमालाई बोलाउँदै भने ‘यो कवि हुन्छ, मैले यसको लेखाइ देखेरै थाह पाएँ । यसलाई कविता लेख्न छोड्दिनु’ ।

उनलाई ती मान्छे जस्तो विद्वान यो पृथ्वीमा कोही लागेन । तिनले पनि यो खत्तम छ भनिदिएको भए सम्भवतः उनको कविता लेख्ने जाँगर उहिल्यै मरिसक्ने थियो । वासु सरको त्यो प्रेरणाले आजसम्म कविताको यात्रा गरिरहेको मनु बताउँछन् । उक्त कविताको शीर्षक ‘म’ रहेको र कविता आफूसँग सम्बन्धित रहेको उनी सम्झन्छन् ।

अहिलेका साहित्यमा चिन्तनको कमी

काठमाडौंको गोठाले नाटक घरमा कवि मनु मञ्जिलको एकल कविता वाचन थियो । जहाँ राष्ट्र कवि माधवप्रसाद घिमिरे प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा डा. गोविन्दराज भट्टराईकी छोरी (जो बीबीसीमा काम गर्थिन्)ले प्रश्न गरिन् । कविता सुनिसकेपछि उनले भनिन् ‘तपाईंको भाषा एकदम सङ्गीतमय, सपनामय छ भन्छन् सबैले, मलाई पनि त्यस्तै लाग्यो आज । यो भाषाको निर्माण कसरी भयो ?’

मनुले भने, ‘हाम्रो पालामा त कविता नै कसैले छापिदिंदैन थियो । घोट्दा-घोट्दा भाषा यस्तो भएको । किनभने हामीसँग केही उपाय थिएन । न सोर्स थियो, न फोर्स थियो । राम्रो नभई कुनै उपाय थिएन । अहिलेको जस्तो सामाजिक सञ्जाल पनि थिएन । राष्ट्रिय पत्रिकामा छापिनका लागि अत्यन्त राम्रो हुनु अनिवार्य थियो । त्यसको लागि भरपुर प्रयास गरें ।’

उक्त कार्यक्रमपछि सञ्चार माध्यमले पनि ध्यान दियो । संघर्षले घोटेको भाषाले, अभ्यास गरेको भाषाले, भाषामा सौन्दर्य ल्याउने उनी बताउँछन् ।

अहिले प्रायः लेखकहरूमा चिन्तन नै नरहेकोमा उनी चित्त दुखाउँछन् । “अंग्रेजीमा ‘निस् अडियन्स’ भनिन्छ, निस् भनेको एक जना लेखकको २५ जना साथी हुन्छन् । २५ जना साथीले लाइक गरिदिन्छन् । राम्रो प्रतिक्रिया दिन्छन् र लेखक मख्ख पर्छ ।’ उनी भन्छन्, ‘भोलिपल्ट उक्त लेखक अग्रजको काँधमा धाप मार्दै ‘के छ फलानाजी ?’ भन्दै कुरा गर्छ ।’ किनभने उक्त अडियन्सका कारण ऊ पनि कवि/लेखक भयो ।

अहिले साहित्यमा गम्भीरताको बडो अभाव रहेको उनले महसूस गरेका छन् । लेखन भनेको चिन्तन प्रक्रिया हो । चिन्तन प्रक्रियामा मान्छे डुबिरह्यो भने उसले सौन्दर्य फेला पार्छ । उदाहरणका लागि डिप्रेसनमा गएको मान्छे, आफ्नै चिन्तनमा डुब्दाडुब्दै गलत कदम उठाउन पुग्छ । त्यही मान्छे सौन्दर्यमा डुब्दै गयो भने माधवप्रसाद घिमिरे, भूपी शेरचन जस्तो बन्न सक्ने उनी बताउँछन् ।

माधवप्रसाद घिमिरे

सोही कार्यक्रमबाट फर्किने क्रममा मनुले माधवप्रसाद घिमिरेलाई सोधे, ‘होइन हजुर कति ह्यान्सम ? टेलिभिजनमा आउँदा टेलिभिजन नै हाँस्छ, देश नै हाँस्छ’ ।

प्रतिउत्तरमा घिमिरे ‘ह्यान्सम ! हाहाहा’ भन्दै हाँसे । घिमिरेलाई मनु अंग्रेजीको भन्ने थाहा थियो । ‘अनि बुझ्नुभयो, म नई दिल्ली गएको थिएँ । नई दिल्ली जाँदा म एटि नाइन वर्षको थिएँ’ । मनुलाई जिस्क्याउँदै घिमिरेले भने, ‘त्यहाँ स्वर्णसीहरू वरिपरि आएर ‘कविजी कति ह्यान्सम ? भनेर मलाई जिस्क्याउँथे । उनीहरूले ‘हाउ ओल्ड आर यु ?’ भनेर सोधे । मैले सेभेन्टि नाइन भनिदिएँ’ । मनुले सेभेन्टि नाइन चाहिं किन भन्नुभएको भनेर सोध्दा घिमिरेले भने ‘एटि भएपछि बुढो भएन ?’

माधवप्रसाद घिमिरे त्यसवेला ९०/९४ वर्षका थिए । उनको हँसिलो स्वभाव र सकारात्मक ऊर्जा सबैलाई मोहित पार्थ्यो । घिमिरेलाई सम्झँदै मनु भन्छन्, ‘मान्छे उज्याला छन् । हाहाहा गरेका छन् । स्मरण शक्ति उस्तै छ ।’

अरू कुरा त्यागेर चिन्तन मात्र गरेपछि मान्छे माधवप्रसाद घिमिरे झैं हुने उनी बताउँछन् । घिमिरेलाई केही मानिसहरूले कवि नभएको बताउँदा उनी छक्क पर्छन् । उनी भन्छन्, ‘कवि चाहिं कस्तो हुन्छ ?’

उनका अनुसार आफ्नो जातको, सम्प्रदायको, स्कुलिङको चाहिने सोच अहिले हाबी रहेको छ । ‘मैले देश-विदेशमा थुप्रै किसिमका कवि भेटेको छु । तर माधवप्रसाद घिमिरे भन्दा उत्कृष्ट कवि भेटेको छैन । त्यहाँभन्दा उत्कृष्ट कवि हुनै सक्दैन ।’ घिमिरेलाई सम्झँदै उनी भन्छन्, ‘कसैले गफ दिएर हुन्छ ? मैले पनि त हजारौं कविता पढेको छु । माधवप्रसाद घिमिरेको कविता निकै उत्कृष्ट हुन्छ ।’

अपर्णा कौर

कवि मनु मञ्जिलले अजीत कौरकी छोरी, विख्यात चित्रकार अपर्णा कौरसँगको मीठो घटना सुनाए । मनु अपर्णाको निम्तो मान्न उनको विशाल निवासमा पुगेका थिए । अपर्णाको घर दरबार जत्तिकै ठूलो थियो, जहाँ विदेशी चित्रकार र कूटनीतिज्ञहरूको आउजाउ चलिरहन्थ्यो ।

मनुले अपर्णालाई पहिले सार्क लिटरेचर फेस्टिभलमा भेटेका थिए । मनुलाई उनी एकदम साधारण लाग्थ्यो । उनको घर पुगेपछि मनु छक्क परे ।

एकदिन अपर्णाले खानाको निम्तो दिइन् । उनले टन्नै रोटी र एक ठूलो डब्बाका दूध ल्याएर मनुको अघि राखिदिइन् ।  मनु भने घरमा दुइटा रोटी खाने बानी लागेको मान्छे । त्यत्रो रोटी देखेर झस्किए । दूधको डब्बा पनि विशाल थियो । मनुको छेउमा बसेको उनका श्रीमान् निकै पातला थिए । तर, आनन्दसँग खाइरहेका थिए ।

खानापछि मनुले सोधे, ‘उनले त यति मजाले खाने रहेछन् । दुब्लो चाहिं किन भएको ?’ अपर्णाले सासूको डरले यस्तो भएको जवाफ दिइन् । अपर्णाको श्रीमान् सासू देखेपछि निकै डराउने रहेछन् । उनले भनिन्, ‘सासूलाई देखेपछि भएको जति सबै तागत उडिहाल्छ ।’

अपर्णाको श्रीमानले त्यहाँ राखिएको सबै रोटी खाए । मनुले चाहिं सबै झिक्न लगाए । दुइटा रोटी र दूध पनि त्यसको २० प्रतिशत पनि राख्न नलगाई खाए ।

खानापछि अपर्णाले छेउमा रहेको विशाल आर्ट ग्यालरी देखाउन लगिन् । त्यहाँ रहेका विभिन्न पेन्टिङहरू बीच मनुलाई एउटा पेन्टिङ खूब मन पर्‍यो । उक्त पेन्टिङमा गहिरिएर हेर्दै बसिरहेका मनुलाई अपर्णाले उक्त पेन्टिङ उपहारको रूपमा लैजान भनिन् । मनुले लैजान मानेनन् ।

मनु असमञ्जसमा परे र भने, “कसरी लैजानु ?”

अपर्णाले उत्तर दिइन्, “म पठाउने व्यवस्था मिलाइदिन्छु ।”

अपर्णाले ‘तिम्रो त्यहाँ राख्ने ठाउँ त होला’ भन्दै दिने तयारी गर्न थालिन् । त्यसवेला ‘छ’ भने तापनि आफ्नो डेरा रहेको मनुलाई थाहा थियो । उनले पेन्टिङ हेर्दै गर्दा पछाडि पट्टि त्यसको मूल्य पनि देखे । जहाँ ३६ लाख लेखिएको थियो । ३६ हजार हो कि भनेर पुनः हेरे, ३६ लाख नै रहेछ ।

मनुले सोधे, ‘यो ३६ लाख हो ?’

‘हो ! तिमी असल साथी भएकाले दिन लागेको’ अपर्णाले उल्लेख गरिन् ।

यद्यपि मनुले त्यो पेन्टिङ लिएर आएनन् । उनले उपहारको रूपमा एउटा घडी ग्रहण गरे ।