सामाजिक सञ्जालमार्फत कहिलेकाहीँ कुराकानी भए तापनि देवान किराती दाइसँग औपचारिक भेटघाट भने हुन पाएको थिएन ।

घर (इनरुवा) पुगेको बेला ‘दाइ म इनरुवा आएको छु’ भन्ने जानकारी दिएँ । दाइले इटहरी आउन भनेपछि भेटघाट हुन पायो । इटहरीको एउटा क्याफेमा बसेर कफीको चुस्कीसँगै उनका मजेदार गफ सुन्दै गर्दा साँझ परेको पनि पत्तो भएन । कुरो सकिएकै थिएन । सक्न मन पनि थिएन । तर, दिन सकिन लागेको हुँदा फेरी भेट्ने सल्लाह गरेर हामी छुट्टियौँ । यस बिचमा उनले केही रमाइला स्मृतिहरू शब्दमा उतार्ने अनुमति दिए ।

गफगाफ गर्दै जाँदा उनले कवि श्रवण मुकारुङसँगको एक रमाइलो घटना सुनाए । श्रवण मुकारुङ उनले ५० को दशकदेखि नजिकबाट भेटेको/चिनेको एक व्यक्ति हुन् ।

‘श्रवण दाइसँग हिँड्दाका धेरै सम्झनाहरू छन्,’ उनले भने, ‘त्यसमध्ये धरानमा घटेको एउटा बडो रमाइलो घटना छ ।’

यो घटना ५५ देखि ५८ सालबिच तिरको हो । श्रवण मुकारुङ धरान आएका थिए । कविहरू भेट भएपछि खाने कुरा निस्किहाल्छ । यो भेटमा पनि निस्कियो । यसका लागि उनीहरू धरानबाट माथि भेडेटार तिर लागे । फर्कँदा निकै रात परिसकेको थियो । फर्किएर कहाँ जाने भन्ने अन्योल भयो । रातको १२ या १ बजेको थियो । देवानसँग मोटरसाइकल थियो तर सुत्न कहाँ जाने भन्ने थाहा थिएन । अन्यौलताका बिच उनीहरूले बुढा सुब्बा मन्दिर जाने निर्णय लिए । बुढा सुब्बा मन्दिरको बाँसको बारेमा बताउन नपर्ला । बाँसको फेदमा पातहरू झारिरहेका हुन्थे । त्यहाँ सुत्न निकै मजा आउने गरेको उनी सम्झन्छन् ।

‘श्रवण दाइ मात्र होइन अन्य साथीहरूसँग बसेर पिउँदा पनि राती ढिलो भयो भने म त्यहीँ लिएर जान्थे ।’ उनी भन्छन्, ‘कि त बिपी क्याम्पको मैदान कि बुढा सुब्बा मन्दिरको बाँस मुनि बास हुने गर्थ्यो ।’ बुढा सुब्बा पुगेर उनी श्रवण मुकारुङसँग बाँसको फेदमुनि सुते । सुताइ यति आनन्ददायी भयो कि बिहान घाम लाग्दा पनि उनीहरूले थाहा पाएनन् । त्यही बेलामा धरानका केही नाम चलेका महिला पत्रकार तथा कवि/साहित्यकार बुढा सुब्बा पुगेका रहेछन् । जोसँग हिजोको दिनमा पनि भेट भएको थियो । उनीहरू मन्दिरमा पूजा गर्न आएका रहेछन् ।

‘अब देखि त हाले,’ उनी हाँस्दै भन्छन्, ‘मन्दिरकै छेउमा सुतिरहेका थियौँ ।’ उनीहरूले देख्नासाथ प्रश्न गरी हाले, ‘के हो दाइहरू ? तपाईँहरू जस्तो देशले मान-सम्मान दिएको सबैले चिनेको श्रवण मुकारुङ जस्तो मान्छे यसरी ?’

अनुहार पनि धुलै धुलो छ । बाँस घारीमा पल्टिएकाले कोटैभरि बाँसको पात झुन्डिएको छ । उनीहरूको कुरा सुनेपछि श्रवणले निकै मजाको जवाफ दिएको उनी बताउँछन् । ‘कहिलेकाहीँ बहिनी हो राष्ट्रको माटो लागेको बेला पनि तपाईँहरूले मलाई भेट्नुपर्छ,’ श्रवणले भने, ‘यो राष्ट्रको माटो लागेको हो ।’

त्यस दिनको यो घटना सम्झेर उनी मजाले हाँसे । मैले पनि हाँसो रोक्न सकिनँ । राष्ट्रको माटो पनि कविहरूलाई लाग्नुपर्छ र त्यस्तो बेलामा तपाईँहरूले भेट्नुपर्छ भन्ने श्रवणको त्यो उत्तर उनलाई निकै रमाइलो लागेको थियो ।

====

यसै गरी कुराकानी हुने क्रममा उनले आफ्ना मित्र उपेन्द्र सुब्बालाई सम्झिए । उनी ०५२ सालदेखिका देवानमा मित्र हुन् । अहिलेको समयका राम्रो कवि, निर्देशक, स्क्रिप्ट राइटर आदि भन्दै उनी सुब्बाको परिचय दिन्छन् । आफूसँग सबै भन्दा धेरै बसेको साथी नै उपेन्द्र रहेको उनी बताउँछन् । धरानमा जागिर खाने, केही पनि नगर्ने (उपेन्द्र) र जागिर खान नचाहने (देवान) गरी तीन किसिमका साथीहरूको समूह थियो । देवानलाई व्यवसाय गर्ने चाहना थियो । उपेन्द्र रिसाउने प्रवृत्तिका, देवान शालीन तर जागिर नखाने, अरू साथी ४०० रुपैयाँको भए पनि जागिर खाने थिए । त्यतिबेला देवानको एउटा ट्राभल एजेन्सी थियो । धरानको पेरीफेरीमा रहेको उपेन्द्रसँगका धेरै किस्साहरू रहेका छन् । देवानलाई विशेषगरी उपेन्द्रले भन्ने गरेको एउटा कुरा सम्झना आउने गर्छ । जुन कुरा अहिले पनि उपेन्द्रले भन्ने गर्छन् । ‘देवान किराती भनेको मेरो घरेलु बैंक हो,’ उपेन्द्र भन्ने गर्छन् ।

उपेन्द्र सुब्बा सधैँ यस्तो नरहेको उनले सुनाए । उनी पहिला पढ्दैन थिए र अरूलाई पनि पढ्न दिँदैन थिए । उनलाई अहिलेको उपेन्द्र देखेर अनौठो लाग्छ । देवान बजारमा आएका पुस्तक किनेर लैजान्थे तर उपेन्द्रले पढ्न दिँदैन थिए । ‘जस्तो पुस्तक ल्याए पनि – यस्तो पढेर हुन्छ भन्ने हटाइहाल्ने गर्थे,’ उनी भन्छन्, ‘कि पल्लो भित्तातिर कि सडकतिर पुर्‍याउँथे ।’

उपेन्द्र सुब्बा एक त्यस्ता व्यक्ति हुन् जसले आफ्नो जीवनको कायापलट गरे । आफ्नो प्रवृत्ति भन्दा ठ्याक्कै चिटको पट पल्टिएका उपेन्द्र मात्र रहेको देवान बताउँछन् । ‘क्यारेक्टर नै अर्को थियो’ उनी सम्झन्छन् । आफ्नो सङ्गतमा भइन्जेल उपेन्द्रलाई पढ्न पर्छ भन्ने नै नलाग्ने गरेको उनी सुनाउँछन् ।

देवानको चार पाँच जना बस्न मिल्ने सानो ट्राभल थियो । उपेन्द्र सुरुसुरु आउँथे र तानेर ‘हिँड’ भन्दै लैजान्थे । उनले भनेपछि गइहाल्नु पर्थ्यो । ट्राभल कि खुल्लै छोड्दिने कि ढोका लगाउन हिँडिहाल्ने । कहिले भेडेटार कहिले कहाँ पुगिहाल्ने । जीवन अगाडी बढ्ने क्रममा एउटा यस्तो समय आयो जसले उपेन्द्रलाई परिवर्तन गरिदियो । त्यतिबेला उपेन्द्र धेरै पिउने गर्थे । हिँड्नै नसक्ने गरी पिउँथे । बाथले गिजोलेको थियो तर पिउन छोड्दैन थिए । मासु खान छोड्दैन थिए । ‘त्यस्तो अवस्थामा पनि खाइरहन्थ्यो,’ उनी सम्झन्छन् ।

‘यसैबिच भाउजूले छोडेर हिँड्नु भयो,’ उनले भने, ‘भाउजू काठमाडौं जानुभएको हो खासमा, छोड्छु भनेर गएको होइन तर उता-उतै विदेश जानु भयो ।’ एक समयमा उपेन्द्रका ससुरा बिरामी भए । ससुरा बिरामी हुँदा जेठुहरू सबै बाहिर थिए । रुङ्ने उनी बाहेक कोही भएन । उपेन्द्रको हस्पिटल यात्रा यस्तो भयो कि उनको मनस्थिति नै परिवर्तन भयो । रातभरि साह्रो परेका ससुरालाई पर्खिएर बस्नु पर्‍यो । दुई रात चार रात गर्दै समय अघि बढ्दै गयो ।

त्यही क्रममा उनले पहिलो पटक ‘जीवन आखिर के हो र मन्दिरको फूलपाती’ भन्ने एउटा गीत लेखे । यो उनको पहिलो गीत हो । जसमा दीप श्रेष्ठले आवाज दिएका छन् । गीत लेखेपछि उपेन्द्रले देवानलाई आएर सुनाए । ‘उपेन्द्रले लेख्न सक्ने रहेछ भन्ने मलाई पनि लाग्यो,’ उनले भने, ‘मैले लु लेख्नुस् भनेँ ।’

यसरी उपेन्द्रको लेखनयात्रा सुरु भयो । धरानमा बस्दा-बस्दै उनी लेख्ने भए र ६/७ वटा गीत रचना गरे । त्यसपछि उनलाई गीतकार हुने भूत चढ्यो । एल्बम निकालेरै आउँछु भन्दै उनी धरान छोडेर काठमाडौं गए । साथमा दुई लाख रुपैयाँ पैसा लिएर गएका थिए । छ महिना बसेर दुई लाख रुपैयाँ सके तर गीत एउटा पनि आएन । उनी यस्तो अप्ठ्यारो स्थितिमा पुगे कि पुनः देवानले सहयोग गर्नुपर्ने भयो । उपेन्द्रले होटेलमा बसेर आफूले लगेको पैसा सकेर थप २ लाख जति खाएका रहेछन् । साहुजी मान्छे खोज्दै धरान आइपुग्यो । अवस्था जटिल भएपछि उपेन्द्र धरान आएका रहेछन् । ‘अब साथीले बदनाम गर्‍यो भन्लान्,’ भन्दै देवान अगाडी भन्छन्, ‘साहु पुलिस थानासम्म पुग्यो ।’

यस्तो समस्या पर्‍यो के गर्ने भन्दै उपेन्द्रले देवानलाई सुनाए । साहुले मुद्दा हाल्नेसम्म धम्की दिएछन् । देवान त्यतिबेला क्रान्तिकारी विचारधारा राख्ने र अलिअलि राजनीति पनि गर्ने गर्थे । ‘के नाममा बस्नुभएको छ होटेलमा ?’ देवानले सोधे । ‘मेरै नाम छ । उपेन्द्र सुब्बा,’ उपेन्द्रले भने ।

तर, नागरिकता लगायतका कागजातमा त उनको नाम उपेन्द्र सुब्बा नभएर उपेन्द्र बहादुर आङ्दम्बे रहेको देवानलाई थाहा थियो । त्यसैले उनले भने, ‘उसले मुद्दा उपेन्द्र सुब्बालाई हाल्छ । तपाईँ त उपेन्द्र बहादुर आङ्दम्बे हो । कुरा सकियो ।’ देवानको सल्लाह पाएपछि उपेन्द्रले साहुलाई ‘हाले हाल मुद्दा’ भन्ने जवाफ दिए । फलतः उपेन्द्र सुब्बा को हो भन्ने पत्ता नलागेपछि साहु काठमाडौं फर्कियो । देवानसँग उपेन्द्रका यस्ता तिता-मिठा स्मृतिहरू निकै रहेका छन् । सुन्नलाई अर्को भेटमा बाँकी राखियो ।

====

अब गायक राजेश पायल राईको कुरा गरौँ । राजेश र देवान एउटै गाउँका हुन् । उनी दुई नम्बर वडाका देवान ६ नम्बरका । राजेश देवानभन्दा एक कक्षा सिनियर हुन् । राजेशलाई उनी दाइ भन्ने गर्छन् । गाउँको आफ्नो जाँड खाने साथी पनि भन्छन् । राजेशले गायक हुनलाई गाउँबाटै धेरै मिहिनेत गरेका थिए । जससँग सम्बन्धित धेरै सम्झनाहरू छन् । जसको एक साँची देवान समेत हुन् ।

सानै देखिको राजेशको सपना थियो – गायक हुने  । उनी विद्यालयको साप्ताहिक कार्यक्रममा जहिल्यै गीत गाउने गर्थे । तर लेडिजको भोकल (केटीको आवाजमा) गाउँथे । राजेशको यो कुरा धेरैलाई थाह नभएको उनी बताउँछन् । जुन घाम राई केटाको स्वरमा र राजेश केटीको स्वरमा गीत गाउने गरेको उनी सम्झन्छन् । उनको आवाज नै त्यही प्रकृतिको रहेको उनले सुनाए । विद्यालय पढ्ने क्रममै राजेश भोकल टेस्टका लागि पहिलो पटक रेडियो नेपाल पुगे र फेल भएर फर्किए । गीत राम्रो गाए तापनि आवाज केटीको भएकाले उनी फेल भए । उनले यसको समाधान गर्न निकै मिहिनेत गरे । कक्षा ९/१० पढ्ने बेलामा पुनः भोकल टेस्टका लागि काठमाडौं गए । तर स्वर उस्तै रहेकाले दोस्रो पटक पनि फेल भए । फेल भएर आएपछि कसरी आवाज बनाउने भन्ने चिन्तामा राजेश देखिन थालेका थिए । राजेश फर्किएको केही समयपछि गाउँमा ‘राजेश बहुलायो’ भन्ने हल्ला चल्यो ।

कसरी चल्यो हल्ला भन्ने कुरा गरौँ है । राजेश पायलको घरमाथि एउटा डाँडा छ । जहाँ चिहान मात्र खापा खाप छ । त्यहाँ तर्साउँछ भनेर मानिसहरू डराएर दिउँसो मात्र हिँड्थे । राती हिँड्दैन थिए । त्यो ठाउँमा चरम चिसो हुने गर्थ्यो । यतिसम्म कि पानी नै जम्ने गर्थ्यो । त्यस्तो चिसोमा राती ३ बजे त्यो चिहान डाँडामा गएर राजेश हा… गर्दा रहेछन् । केटीको आवाजमा हा… कि हा… गरेको गाउँलेले नसुन्ने कुरा भएन । जस कारण गाउँभरि ‘राजेश बहुलायो । राती राती गएर चिहान डाँडामा चिच्याउँछ’ भन्ने हल्ला चल्यो । राजेश भने त्यो चिसोमा कराएर आवाज बनाउन मिहिनेत गर्दा रहेछन् । त्यो चिसोमा निकै मिहिनेत गरेर उनले आफ्नो आजको आवाज बनाएका हुन् । यत्तिकै उनको आवाज आजको अवस्थामा आएको होइन । यसरी उनी गायक भएका हुन् ।

राजेशको सङ्गतमा रहँदै गर्दा ज्ञानेन्द्रले सत्ता हत्याए । ज्ञानेन्द्रले राजेश पायलको बुवालाई जिल्ला सभापति बनाए । सभापति भइसकेपछि उनी हेलिकप्टरमा दिक्तेल उड्ने भए । बुवासँग राजेश पनि दिक्तेल आए । दिक्तेलमा केही काम नभएपछि हेलिकप्टर इटहरी आउने बुझेर राजेश पनि इटहरी झरे । आर्मी क्याम्पबाट देवानलाई फोन आयो । ‘को हो ?’ भन्दा ‘म राजेश दाइ’ भन्ने जवाफ आयो । देवानको ‘कसरी आउनुभयो ?’ को जवाफमा राजेशले भने, ‘बुवालाई हेलिकप्टरले दिक्तेल ल्याइदियो, म त्यहाँबाट इटहरी आर्मी क्याम्पमा आए । बाइक लिएर आइज रमाइलो गर्नुपर्छ ।’

देवान आफ्नो ट्राभलको अफिसमा थिए । आधा घण्टामा अफिस थन्को लगाएर उनी राजेशलाई लिन हिँडे । दुई जनाको भेट भएपछि राजेशले ‘मलाई शान्त ठाउँमा लैजा आज दिनभरि बस्ने हो’ भन्ने कुरा गरे । कहाँ जाने होला भन्ने देवानलाई पनि लाग्यो । सोच्दै गर्दा पश्चिम लाइनमा रहेको मनशान्त भन्ने अन्डरग्राउन्ड रेस्टुराँ उनको दिमागमा आयो । केही बेरमै उनीहरू त्यहाँ पुगे । दिउँसैबाट सुरु गरेको खानपिनको कार्यक्रम रातभरी हुँदै भोलीपल्टको रातसम्म तन्कियो । त्यतिबेला २ दिन खाएर २७ हजार तिरेको उनी सम्झन्छन् ।

राजेश पायलको कुरा गर्ने क्रममा उनको एउटा अर्को मिठो घटना पनि सम्झिए । उनी एकदिन टेलिभिजन हेर्दै बसिरहेका थिए । भर्खरै उनी छोरीको बाबा भएका थिए । व्यापार बन्द गरेर हेरचाहका लागि उनी घरमा बसेका थिए । टिभी हेर्दै गर्दा कान्तिपुर टेलिभिजनमा एउटा गीत आयो । ‘हेर्दै जाँदा शब्द त सबै मेरो छ तर मैले त गीत दिएको छैन,’ उनले भने, ‘नाम चाहिँ कसको दिँदो रहेछ भनेर यसो हेरेको मेरै रहेछ ।’ राजेशले गाएका रहेछन् ।

यसरी उनले थाहै नपाई उनका चार वटा गीतका भिडियो तयार भएका छन् । ‘गरे पनि भन्दैनन् साथीहरू’ उनी हाँस्दै सुनाउँछन् । देवानले पूर्वमा राजेश पायलको धेरै स्टेज सो चलाएका छन् । देवानले लेखेका केही गीतहरू राजेशले पनि गाएका छन् ।

====

देवान किराती दाइको विवाहको पनि निकै रोचक प्रसङ्ग रहेको छ । बिहेको कुरा हुँदा अहिले पनि आफन्तले उनलाई तीन वटा बिहे गरेको भन्छन् । गरेको चाहिँ एउटा मात्र हो । उनले इटहरीमा ६ गते विवाह गरे । भोज भयो । धरानमा ८ गते विवाह गरे । दोस्रो पार्टी भयो । तेस्रो पार्टी चाहिँ गाउँमा गएर दिनुपर्ने थियो । गाउँमा विवाह गर्नका लागि उनले २१०० वटा कार्ड छापेका थिए । गाउँको विवाहमा २१०० कार्ड भनेको अहिले पनि अनौठो कुरा हो । यद्यपि सबै कार्ड पठाइएको थियो । बुवाले अझै पुगेन भन्ने गुनासो राखेको उनी सम्झन्छन् । गाउँमा माघ १८ गतेको विवाह थियो । उनी बेहुली लिएर ५ दिन हिँडेर १५ गते गाउँ पुगेका थिए । बेहुली र भरियाहरू सहित ८ देखि १० जना समूह इटहरीबाट हिँडेको थियो । त्यतिबेला हिँडेर जानुपर्थ्यो ।

८ जना दाजुभाइमध्येका एक देवानले गाउँमा वैवाहिक कार्यक्रम राख्नै पर्ने थियो । किनभने उनको बुवाले छोराको विवाह गर्ने ठुलो रहर राखेका थिए । उनकी बजू पनि नातिको विवाह हेर्न चाहन्थिन् । ८० वर्षकी बजू ‘८ वटा नातिमध्ये एउटाको विवाह नदेखी मर्नु म ?’ भन्ने गुनासो गर्थिन् । उनका दाइले विवाह गर्न मानेका थिएनन् । जेठा दाइले काठमाडौं बसेर त्यहीँ विवाह गरेका थिए । घरमा ल्याउन मानेनन् । अर्को दाइले विवाह गर्ने मानेनन् ।

विवाहमा राँगा ७ वटा, ३ सुँगुर, दुइटा खसी, दुइटा भेडा र कुखुराको कुरा नै नगरौँ । रुचिअनुसार भोजको परिकार तयार गरिएको थियो ।

विवाहको रमाइलो घटना उही भतेरसँग सम्बन्धित रहेको छ । भोजका लागि ल्याइएको ७ वटा राँगा मध्ये एउटा चाहिँ भागेछ । कसैले थाहा पनि पाएनन् । बिहान २/३ बजे काट्ने मान्छे तयार भए तर राँगा देखिएन । त्यसपछि २/३ जना खोज्न तिर लागे । वल्लो गाउँ, पल्लो गाउँसम्म पुगे । निकै गाउँ खोज्दा पनि फेला परेन । करिब ६ बजेतिर ७ नम्बर वडामा पुगेपछि थोरै आशा देखियो । त्यहाँ एउटा घरको मान्छे ‘कसको राँगा आएर हाम्रो गोठ हानेर बरबाद पार्‍यो’ भन्दै कराउँदै रहेछन् । भैँसी भेटेपछि राँगाले गोठ नै भत्काइदिएको रहेछ । केटाहरू पनि हराएको राँगो खोज्दै त्यहीँ पुगेका थिए । राँगा भेटेपछि उनीहरूले तान्दै लिएर आए । ल्याउँदा-ल्याउँदै घर नजिक रहेको फुटबल ग्राउन्डनेर पुगेपछि ‘पहिला भागेको तँ होइन ?’ भन्दै एउटाले गएर बन्चरोले हानिहाल्यो । राँगा ढल्यो । ७ दिन सम्म भोज चलिरह्यो ।

आठौँ दिनमा उनी हिँड्नुपर्ने थियो । त्यसैले उनी छोडेर हिँडे । केही समयपछि इटहरीमा थाहा भयो । राँगा त अर्काको परेछ । पल्लो गाउँबाट आफ्नो राँगा खोज्दै मान्छे आइपुगे । ‘हाम्रो राँगा त तपाईँहरूले काटेर खानुभएछ’ भन्ने कुरा उनले गरे । ‘त्यो उसको राँगा थियो भने हाम्रो राँगा खोइ त ?’ भन्ने अरूलाई भयो । १०/१५ दिनपछि खोज्दै खोज्दै जाँदा राजेश पायलको भन्दा तल्लो १ नम्बर वडामा एउटा राँगा छ भन्ने थाह भयो । कतैबाट आएको एउटा राँगा त्यो गाउँमा छ भन्ने थाहा भयो । र त्यो त्यही राँगा रहेको प्रमाणित समेत भयो । उक्त राँगा ल्याएर जसको राँगा पहिला काटिएको थियो उसलाई बुझाइयो । साथै माफी स्वरूप थप १० हजार पनि दिइयो । २१०० कार्ड बाँडेर भव्य रूपमा भएको आफ्नो विवाह अहिले सम्झिँदा पनि उनी रोमाञ्चित हुने गर्छन् । ‘अर्काको राँगा खाएको विवाह’ भन्दै उनी हाँस्दै सुनाउँछन् ।