साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, युएन प्रोजेक्ट म्यानेजमेन्ट संस्था, युएन शान्ति मिसनमा २८ वर्षभन्दा बढीको काममा आबद्ध भएका मानबहादुर भुजेलकृत मुक्तकसंग्रह “सङ्गति–विसङ्गति” प्राप्त भएकाे छ ।

१ सय १२ पृष्ठमा बुनिएको यस संग्रहमा ३ सय थान मुक्तक संग्रहित छन् । ‘सङ्गति–विसङ्गति’मा कविको निजी अनुभूति मात्र हैनन् । समाज र समयका छाया–छवि पनि पाइन्छ ।

भूमिकामा रामबाबु सुवेदी लेख्छन्, “मानका मुक्तकहरूमा समय बोल्छ । कतै भूकम्प बोल्छ, कतै कोरोना बोल्छ, कतै असफल राजनीति बोल्छ, समष्टिमा सम्पूर्ण देशको पीडा बोल्छ । बोलमा कतै ज्वार छन्, कतै भाटा छन्, कतै आगाका ज्वाला छन् । त्यहाँ

शिल्प छ, शैलीगत विशिष्टता छ, कलाकारिता छ । मानको भाषा माझिएको छ, परिष्कृत छ। कतिपय मुक्तले हाम्रो हियो हल्लाउँछन् । यो नै सफलताको कसी हो। नमुनाका रूपमा केही मुक्तक हेरौँ

हेर्दा हेर्दै एकान्तमा घेर्न सक्छन् मान्छेहरू

खास सम्बन्धलाई शङ्काले हेर्न सक्छन् मान्छेहरू

अब त जमाना फेरियो भाकल पूरा भएन भने

छिटो छिटो भगवान् पनि फेर्न सक्छन् मान्छेहरू ।

 

दुःखमा पनि म मेरो मातृभूमिको आँगनीमा रमाउन सक्छु

यशले भरिएको तपोभूमि पीपलको पातमा सजाउन सक्छु

बैरीहरूले आँखा लगाउन आँट नगरुन् कत्ति यो देव भूमिलाई

पुर्खाले आर्ज्याको ज्ञानभूमि आँखाको नानीमा अटाउन सक्छु ।

‘शुभकामना’मा प्रकाश सायमी लेख्छन्, “कविता, मुक्तक वा गीत कुनै पनि विधामा आफ्नो पारंगत पक्ष देखाउन अनुभव र अनुभूति दुवैको जरुरी छ । मान भूजेलजी आफ्ना ती सबै सबलता लिएर आउनु भएको छ, आफ्नो नयाँ मुक्तकसंग्रह सङ्गति / विसङ्गतिमा । मलाई उहाँसित केही भन्नु छैन, मात्र एउटै कामना छ, लेख्नु एक धर्म हो । आफ्नो धर्म निभाउनु होला । आफ्नो धर्म र कर्म निष्ठाबद्ध भएर अघि बढ्नु भएका स्रष्टा मनजीलाई मैले एकपटक मुक्तक मानुष नाम दिएको थिएँ, त्यो नाम उहाँले प्रमाणित गरेर देखाउनु हुनेछ, त्यो कुरामा म अझै अडिग छु ।”

आवरण प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।