कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गर्थ्यौँ । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ त्यो कहीँ होस् पर्याप्त टाढा चाहे जुम्ला होस् चाहे एक दिनको बाटो पर मात्र, तर त्यहाँ एक थोक नहोस् के भने ‘पुँजी’को गन्ध । र त्यहाँ त्यस ठाउँदेखि वाक्क नभएसम्म बस्न पाइयोस् ।
कसरी सम्भव हुन्छ, त्यो ? हामी विवाद गर्थ्यौ ।
मास्टर हुन सक्छौ, त्यस्तै ठाउँ रहेछ भने, नत्र नोकर त हुन सक्छौ । हामी निष्कर्षमा पुग्थ्यौँ ।
महिनौँ बिते । हाम्रो हिँड्ने दिन आएन । लाग्दथ्यो यो पनि त्यस्तै मनको लड्डु हो, जुन प्रत्येक तन्नेरीले उमेरमा घिउसित खान्छ । ठर्रासँग यो कुरा उठ्थ्यो-ठर्रा छुटेपछि यो कुरा पनि छुट्थ्यो ।
ठर्राको गिलास नसमातेको बेला गर्ने हामीसँग अरू धेरै कुरा थिए ।
एक दिन अचम्म भो । हामी हिँड्न नै भयौँ । के, कता टुङ्गो नभैकनै…। वैद्यले घरमा ढाँटिदियो जगदीशको घर रामेछाप जान्छु दुई दिनको लागि भनेर । मैले रामेछाप (मन्थली, मेरो घर)मा ढाँटिदिएँ जिरी जाँदै छौँ दुई दिनको लागि भनेर । अनि हामी मन्थलीबाट तामाकोसी तीरै तीर जिरीतिर हिँडेका थियौँ ।
जिरीमा डा. प्रयागदत्त तिवारीसँग भेट भयो-यो त्यस बेला त्यहाँको स्विस सरकारको सहयोगमा सञ्चालित कृषि फार्मको म्यानेजर थिए । उनका पिता र मेरा पिता सल्यानको अदालत र अपिलका हाकिम थिए । त्यस परिचयले धेरै काम गर्यो । उनले अति माया गरे र नाम्चेतिर पुगेपछि जाडोबाट जोगिन लाउने मोजा र लुगा समेत दिए, जुन पछि मन्थली पुगेर मैले फर्काइदिएँ ।
जिरीबाट पनि केही दिन हिँडेपछिको कुरा हो ।…त्यस दिन हामीलाई बाटामा असिनाले चुटेको थियो । अनि यौटा पौवामा दिउँसै बास बस्नु परेको थियो । त्यो बासमा हामीसँग बिँडी सकिएछ । हामीलाई ठुलो मार्का पर्यो । बिँडी कहाँ र कहिले पाइन्छ ? हामी सोध्दथ्यौँ । भोलि अनाम ग्राममा बाहुनको घरमा सबथोक पाइन्छ, बाटामा भेटिनेहरू भन्थे ।
यसरी अनाम ग्राम र त्यहाँको बाहुनको पसलसँग हामी परिचित भएका थियौँ ।
‘बाहुनको घर यै हो ?’ अनाम ग्राम पुगेर देखाइएको घरमा मैले सोधेँ ।
‘हो घरधनीले भन्यो । ऊ माथिदेखि तलसम्म शेर्पा पहिरनमा थियो । किन ? के चाहियो ? आउनुस् बस्नुस् ।’ उसले भन्यो ।
‘चाहिन त धेरै थोक चाहिएको छ । तर बाहुनको पसल भन्थे…’मैले ऊ बाहुन हो र त्यो घर पसल हुनामा शङ्का गरेँ ।
उसले सफाइ दियो- ‘अघि हाम्रो पुर्खामा एक जना बाहुन थियो रे…हाम्री बजू शेर्पिनी बाहुनसँग गएको रे…अब त हामी जम्मै शेर्पा नै हौँ…तर बाहुन पनि भन्छन् ।
ऊ एकदम साधारण तबरले भन्दै थियो जस्तो ‘दाल बिलिनु भो’ भनिन्छ ।
मलाई रमाइलो लाग्यो । ऊ बाहुन गाउँमा भएको भए भन्ने थियो होला – ‘हामी खत्री हौँ वा तेस्तै केही… अघि हाम्रा पुर्खाले यौटी शेर्पिनी ल्याएका रहेछन्…।
बा उसले ढाँट्ने थियो होला ।
तर उसको स्पष्टवादिता रमाइलो थियो ।
हामीले पनि उनीहरूलाई नै भात पकाइदिन अनुरोध गर्यौं । उनीहरूले स्वीकार गरे, बिँडी पायौँ कतिदेखि नपाइको झोँक, बिँडी झोस्दै थकाइ मार्न थाल्यौँ…बिँडी चाँडै खान पाउन हामीले धपेडी गरेका थियौँ ।
हामीले बास बसेका सबै शेर्पाहरूको घरको बाहिरी र पार्सलिनका सजावट, चुल्हो खाने सुत्ने ठाउँको स्थिति र ढाँचा, चित्रकारी र पार्सलिनका भाँडाहरूको प्रचलनहरूमा एकै ढङ्ग वा शैली अनि पाहुनाहरूसँग झर्कोफर्को नगर्ने बानीले हामीलाई निक्कै प्रभावित पारेको थियो । हामी जुन समाजमा हुर्केका थियौँ, त्यहाँ पाहुनालाई सुत्न पेटी, दलान र पकाउन गोठ, आँगनभन्दा बढी उदारता देखाएको थाहा थिएन । शर्पाकहाँ हामी उनीहरूकै चुल्हो पाउँथ्यौँ र सुत्न उही अगेना वरिपरिको ठाउँ । शेर्पाहरूको यो चलन गजब रहेछ ।
जस्तो कि प्रत्येक बास बसेका शेर्पाको घरमा हुन्थ्यो, हामी त्यस परिवारसँग खुलिसकेका थियौँ । त्यहाँ भएको एउटा बूढी, एउटी बूढी, दुइटी तरुनी छोरी र कुनामा एकै पोको परिरहने कुँजी छोरीसँग हामीहरू उत्ति नै घनिष्ठ भैसकेको थियौँ । उनीहरूको दृष्टिमा पनि हामी ‘सरकारी मान्छे’ थियौँ र रमाइला (¬¬कुरौटे) ठिटाहरू । हामी विदेशी भएको भए ‘टुरिस्ट’ हुने रहेछौँ उनीहरूको आँखामा, उनीहरूको कुराकानीले यसै भन्दथ्यो ।
बिदा हुँदा घर बूढाले आग्रहसाथ फर्किँदा पनि त्यहाँ पसिदिने अनुरोध गर्यो ।
‘यै गाउँमा भात खाने अथवा बास बस्ने भइयो भने अवश्य आउँला…’ हामीले कबोल गर्यौं ।
‘हैन । त्यस्तो बेला पर्नै पर्छ र ? जस्तो बेला परे पनि पाल्नु होला है हजुर हो…।’
बाटो लाग्यौँ हामीसँगै उसका दुई छोरीहरू आफूभन्दा ठुला डोका बोकेर सोतर लिन वन जान लागे । बाटो परसम्म एउटै थियो । केही परसम्म चुपचाप हिँडेपछि ठुलीले भनी- ‘उः हाम्रो नेवारसँग पोइल जाने दिदीको घर…।
बाटामुनिको एउटा सफा घर उसले देखाएकी थिई ।
‘हामी पनि त बाहुन हौँ ।’ मैले भनेँ ।
‘थाहा छ ।’
(हामीले अघि जात ‘बाहुन भनिसकेको स’ ।)
‘तिमीहरू हामीसँग पोइल जान्छौ ?’
निकै बेरसम्म उनीहरू हाँसिरहे । अनि सानीले भनी ‘लान्छौ र ?’
‘किन नलानु ।’
‘काँ लान्छौ…’
‘ऊ काठमाडौँ…नेपाल…।’
‘के, के दिन्छौँ…।’
हामीले गहनाको निकै लामु फिरिस्त सुनाइदियौँ ।
‘जान्छौँ’- उनीहरूले ‘फाइनल’ झैँ जवाफ दिए ।
‘तिम्रो फोटो खिचौँ ?’ एकाएक मैले सानीसँग सोधेँ । ऊ शेर्पा पहिरनमा निक्कै आकर्षक थिई ।
हामीले ऊ जति आकर्षक व्यक्तित्व यस यात्रामा पाएका थिएनौँ क्यार, म यात्राका चिनु चाहन्थेँ, मेरो कमजोरी ।
‘कति पैसा दिन्छौ ?’ ऊ ‘पुँजी’ गन्हाइहाली । म झस्किएँ । फोटो खिच्नुमा मेरो स्वार्थ छ । अतः पैसा मैले दिनुपर्छ । उसले पुँजीवाद बुझेकी रहिछ । आक्साखानीका केटीहरूले पुँजीवाद बुझेका थिएनन्, उनीहरू मूलबाटामा नपरेर कोल्टे पर्छन्…।
उसले ठट्टा गरेको भनिठानेको थिएँ, फोटो खिच्न ठिक्क परेँ । उसले मुख लुकाइदिई । मैले यो स्वाङ पारेको भनिठानेँ र झुक्क्याएर फोटो खिचिदिएँ । ऊ झस्किई, पछि बुझी : मैले फोटो खिचेको थिएँ । ‘खै पैसा देऊ ।’ उसले हत्केला पसारी दिई ।
मैले त्यो ख्याल ख्याल ठानेँ ।
‘कति ?’ तैपनि सोधेँ ।
‘जति दिए पनि ।’
अनि अरू हामी जिस्कियौँ । सँगै फोटाहरू लियौँ पालै पालो । नाम्चे जाऊँ भन्यौँ । हुन्छ भने ।
उनीहरूको स्वतन्त्रता ईर्ष्यालाग्दो थियो, आकर्षक थियो । हाम्रो बाटो छुट्टियो ।
‘राम्ररी जाऊ है दाजुहरू…खुट्टा भाँचिएला नत्र…फर्कँदा भेट्नु … परसम्म पुगुन्जेल पनि माथि पाखाबाट उनीहरू एक न एक थोक कराइरहन्थे र हामी पनि जिस्कन्थ्यौँ । दुख्ला भन्न चाहेर भाँचिएला भनेका थिए, सायद ।
नाम्चे पुग्ने सुर थियो, तर फेदीमै बास पर्यो । होइन फेदीमा बास हुने भयो- हिँड्न अल्छी गरेर । एउटा घरमा बास मागेका थियौँ । उनीहरू अन्कनाइरहेका थिए । हामीलाई आश्चर्य लाग्दै थियो, किन ?
कान्लामुनि दुधकोशी थियो । माथि केही सेता चुचुरा । बाटामा दुई पाते मकै थियो, पारिपट्टि भिरभिरै राते कुद्दै थियो, वैद्यले भन्यो- ‘ऊ राते !’
एकछिन हामी कल्पनामा सिकारी भयौँ । हाम्रा पिठ्यूँमा बन्दुक थिए । हामीले सिकार मोरका थियौँ…इत्यादि ।
एकै छिनपछि नूपुर बनर्जीका स्वर सम्झ्यौँ- ‘लेख लेख हिँड्ने लेखमिर्ग…।’ तर, त्यहाँ न राइफल थियो न नूपुर बनर्जीको आवाज ।
बल्लतल्ल हामीले बास पायौँ । घर धनी घरमा रहेनछ । ऊ कुनै साहेबसँग काठमाडौँ गएको फर्केको रहेनछ, आठ महिना भैसकेछ । घरमा दुइटी आइमाई मात्र रहेछन् एउटी तरुनी देखिने करिब तीस-पैँतीस वर्षकी आमा र अर्की पनि तरुनी नै देखिने छोरी । त्यसैकारण बास दिन अकमकाएका थिए । तर जे हास् शेर्पिनी आमाले बास दिइन् । नत्र हामीले रुखमुनि रात काट्नु पर्ने थियो । त्यहाँ अर्को बास बस्ने ठाउँ थिएन ।
हामीहरूले रुखमुनि रात काट्नु परेन ।
तातो छ्याङ दिँदै आमाले भनिन्- ‘तिमीहरू जाती हौला भनेर बास दिएको…’ कराहीमा स्याक्पा फत्किरहेको थियो, मलाई चाख्न मन लागेको थियो, आफू भलाद्मी हुन मागिनँ, माग्न सकिनँ । …सन्जोगले फर्किदा बास बस्न हामी अनाम ग्रामको बाहुनकै घरमा पुग्यौँ । त्यहाँ मिठो आन पाएका थियौँ । त्यो लोभ पनि थियो । उनीहरूले बताए- ‘हिजो भर्खर यहाँ जर्साबहरू बास बस्नु भएको थियो ।’
ठुली, सानी दुवैले हामीहरूलाई चिने, स्वागत गरे, फोटो मागे । बुढाले चिनेन । हामीलाई त्यो आशा थिएन । उसले व्यावसायिक निम्तो मात्रै गरेको थियो । तैपनि ऊ फेरि घनिष्ठ भयो अघि जस्तै । सानीले आधा कोश पर उसको नेवारकहाँ पोइल गएकी दिदीकहाँबाट कुखुरा किनेर ल्याइदिई । ठुलीले आगो बाली । हामीलाई भात पकाइदिई ।
हामीले उनीहरूकी आमासँग ठट्टा गरेका थियौँ- ‘अब एक वर्षसम्म यीँ बस्छौँ, तिम्रो खेती गरिदिन्छौँ, आमै ?’
‘बस न किन नपाल्नु…’ ऊ उन्मुक्त हाँसेकी थिई । के अनाम ग्राम हामीले चिताए जस्तो ठाउँ थियो ?
कुन्नि !
भोलि बिहान हामी हिँड्यौ जसरी प्रत्येक बासबाट हिँड्नु पर्दथ्यो, चाहे रमाइलो लागेको होस् चाहे विरक्त । दुधकोसीको छेउको टार परेको लेख अनाम ग्राम कतै हामीले भूचक्रपुरको अँध्यारो तीनकुने मतानमा ठर्राको गिलास समातेर चिताएको गाउँ जस्तो त थिएन ? हाम्रो यात्रा के एउटा ‘सर्भे’ थियो जसमा हामीलाई यस्तो ठाउँ खोज्नु थियो जहाँ केही समय सजिलै बिताउन सकियोस् । हामी जहाँ बस्दथ्यौँ वा जहाँ बस्नु पर्दथ्यो के त्यस्तो ठाउँ थियो जहाँ निस्सासेर उमेर बित्दथ्यो ? यस्तै थियो सबै भने ‘अनाम ग्राम हुने’ थियो हाम्रो लागि…।
त्यसको दुई दिनपछि…त्यस दिन ओखलढुङ्गा पुग्न हामी हतारिएका थियौँ । दिनको दुई छाक आफैले दाउरा फुकेर भात पकाउनु तिहुन नभएर नुनसँग चोबेर निल्नु बाँडिचुँडी खानु अनि दिनको बाह्र घण्टा उकालो ओरालो हिँड्नु हामी सहरिया बाबुको लागि कष्टप्रद नै थियो । अतः ओखलढुङ्गा पुग्न हतार थियो, किनभने त्यहाँ होटेल छ, भन्ने सुनेका थियौँ । हामीलाई भात, दाल, तरकारी, अचार खान रहर भइसकेको थियो, जुन हामी होटेलमा पाउन सक्थ्यौँ । हामी दम्स्याइलो ओरालो ओर्लदै थियौँ फटाफट र हामीसँगै जर्साब बथानका सिपाहीहरू पनि थिए ।
उनीहरू भारी बोकेर उकालो लागेको, दुइटी अलि पाका उमेरका र मोटा शेर्पिनीहरूसँग छिल्लिइरहेका थिए । हामीले पुरा कुरा सुनेनौँ । केही सुनेका कुराहरूका बान्की यस्ता थिए ।
एउटाले तिनीहरूलाई सुनाएर खोक्यो र थुक्दै भन्यो, ‘थुक्क थासे राँडहरू । मलाई त तँ सित्थैँ पाए पनि चाहिएन…अनाम ग्रामकी जस्ती भए पो…।’
यौटीले जवाफ दिई, ‘नपाएर थुक्क भन्छौ । पाए चाट्ने थियौ ।’
दोस्रोले भन्यो, ‘खुचिङ ! खाइस् ! मोरा, केको अनाम ग्रामको धाक लाएको ?’
तेस्रोले भन्यो, ‘के अब ? पाँच पाँच रुपियाँ कबोलेर सुते यी मोराहरू ! दिने बेलामा उल्ले उल्लाई देखाइदियो उल्ले उल्लाई…।’
चौथोले सोध्यो, ‘कुन चाहिँलाई नि ?’
पाँचौँले भन्यो, ‘कुन चाहिँ अब दुइटी थिए बाहुन भनाउँदाकी छोरीहरू दुइटैलाई पालैसँग भ्याए मोराहरूले…।’
‘हाम्ले त सुइँको पनि पाएनौँ, थुक्क !’ एउटाले दुःख मनायो ।
‘पाँच रुपियाँ पनि त चाहिन्थ्यो नि !’ छैटौँले भन्यो ।
‘के चाहिन्थ्यो पाँच रुपियाँ ! जिउको यति र उति भनेर कबोल्नु मात्रै त हो नि ! दिने बेलामा यी हामी भागेर हिँड्यौ र भइगयो…।’
‘एक पैसा पनि पाएनन् त तिनीहरूले !’
‘अहँ ! कसले दिन्छ त्यस्ता बतासे राँडहरूलाई ।’
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










