
नाज सिंह
यदि, मैले आफ्नै दृष्टिलाई
समयको धारामा लेखिनँ भने
कहीँ
कतै
कसैलाई पनि
केही फरक पर्ने छैन ….
पुस्तकहरू छापिइरहने छन्
विमोचन र समीक्षाका औपचारिकता पनि
निरन्तर भइरहने छन्
कविता, गजल र कथाका परिकारहरू
विभिन्न स्वादमा गम्किरहने छन्
भर्चुअल साहित्यिक मञ्चहरूमा
सिर्जनाबारे विम्ब र विमर्श पनि भइरहने छन्
छचल्किने छन् लाइब्रेरीका बुक शेल्फहरु
सडक किनारा
प्रदर्शनी स्थल
र, पुस्तक मेलाका स्टलहरू
रिक्त कतै रहने छैनन् पुस्तकबिना
मैले समयको पदचाप लेख्न सकिनँ भने….
कतै कसैलाई केही फरक पर्ने छैन
फरक पर्ने छ त केवल,
मेरा विचारका गर्भमा रहेका भ्रूण कवितालाई
जो जन्मनै नपाई एकदिन आकस्मिक अवरोधको आभासले
मिसकेरेज भएर जाने छन्
संसारै नदेखेका केही कोपिला अनुभूतिहरू टुहुरा हुने छन्
औंलाहरू छटपटिएर अर्धनिद्रामा कोल्टे फेर्दै अस्वस्थ्य हुने छन्
आँखाका पर्दामा अङ्कित दृश्यहरू
बन्दी बन्ने छन् अन्धकारमा कैदीझैं
शब्दहरू चिच्याएर कराएर, रातिको निद्रा बिथोलेर
मौनताको अनसन र्यालीमा उत्रने छन्
र,
विचारका कालकोठरीमा रहेका करोडौं अक्षरहरूले
निराशाको समुद्रमा हाम्फालेर
आत्महत्या गर्ने छन्
त्यही अक्षरहरूको भारी लाश बोकेर एक दिन
विस्तारै लुप्त हुनेछन् मेरो मुटुको ढुकढुकी
यदि मैले लेखिनँ भने…….!
सिरहा, नेपाल/मस्को, रसिया



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







