आमा !
मलाई मधेश भन वा तराई भन
आफ्नै भन वा पराई भन
हुन त म तिम्रै सन्तान हुँ नि !
तिम्रै गर्भमा पलाएकी र तिम्रै अँगेनीमा हुर्केकी
म त तिम्रै अङ्गको एउटा भाग हुँ नि
म त तिम्रै रङ्गको एउटा अनुराग हुँ नि
तर किन लाग्छ मलाई फेरि
कि म मेरै नाउँमा एउटा दाग हुँ
जो मेरै आफन्तहरुले नै उपहार दिएका हुन् !
कसरी भत्किन पुगें म
आफन्तकै विभेदी नजरबाट हुत्तिएर
र कसरी झरें म
सङ्कीर्ण सोचको परिधिबाट फुत्किएर
मलाई पनि त हुर्किने रहर छ आमा
म पनि त समान अधिकारमा बाँच्न चाहन्छु
म पनि समान आधारमा हाँस्न चाहन्छु
र तिम्रै नाउँमा पोखिएर
आफूलाई पूरापूरा साँच्न चाहन्छु !
आमा!
किन बिरानो भएकी छु म मेरो आफ्नै घरमा
घर भएर पनि बेघर भएकी छु म मेरो आफ्नै सहरमा
मेरो मथिङ्गल विचलित छ
रङको असभ्य सभ्यतालाई देखेर,
संविधानका नश्लीय सत्यतालाई बुझेर,
जहाँ पनि बसेका छन् हृदयका विदारकहरु
लुछाचुँडीमा छन् सत्ताका सौदागरहरु
इतिहासका क्रूरतालाई एकचोटि नियालेर त हेर
सुँघ्न सक्छौ बारुदहरु हत्याराका हातहरुमा
सुन्न सक्छौ निर्दोष सहिदहरुका आर्तनादपूर्ण चित्कारहरु मधेशका आन्दोलन र आवाजहरुमा
र देख्न सक्छौ रगतमा लत्पतिएका कैयौं गरिब आमाका छोराछोरीहरुलाई
मनदेखि नै टुक्रिएको अवस्थामा
ए क्रूरतामा कुप्रिएका कुदृष्टिहरु !
ए कुपोषणका सुकेनास सोचहरु !
मलाई भिन्न, विमुख र आगन्तुक भनी
भ्रमित हुने मेरा आफन्तहरु हो !
नसोच कि म कतैबाट डुल्दै आएकी कुनै बटुवा हुँ
न त देशमारा दूधकटुवा हुँ
मेरो पनि हर श्वासमा राष्ट्रियताको सुगन्ध छ
मेरो पनि नसाको रगतमा यै भूमिको छन्द छ
र मेरो पनि मस्तिष्कले सूर्य र चन्द्रलाई बोक्दछ
दोहोरो मापदण्ड नबनाऊ राष्ट्रवादका नाउँमा,
विकृति र विद्रोह नफैलाऊ आफ्नै घरगाउँमा,
हामी त एकै आमाका फरक सन्तान हौं
हामी त एउटै बागका पृथक पुष्प हौं
मेरी प्रिय आमा!
अत्याचारका पाराकाष्ठा नाघ्दै गएका भोगाइ समेटेर
इतिहासका ती सारा दस्तावेजहरु तयार गरेकी छु मैले
हो त्यसमा मेरा पुर्खौली विरासतका
लालपुर्जाहरु लामा फेहरिस्त पनि
जसमा म र मेरा दाजुभाइको परिचय एकसाथ नत्थी गरिएको छ
हिमाल, पहाड र तराईको अविरल जिन्दगीमा
कसरी पराई हुन गएँ म मात्र
कसरी पहेंलिन गएँ म मात्र
म मेरै अङ्गमा अटाउन चाहन्छु
म आफ्नै परिचयमा स्विकारिन चाहन्छु
तमाम बहिष्कारबाट मुक्त हुन
जस्तै विद्रोहको हुरी चलाएर होस्
म तिम्रो काखमा समेटिन चाहन्छु
जस्तै चिन्तनका बारहरु भत्काएर होस्
तिम्रै साथ चाहिएको छ मलाई
तिम्रै हात चाहिएको छ मलाई !
लक्ष्मीपुर, सिराहा
हालः मस्को (रसिया)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।