मलाई यो धर्ति चिनाउनुअघि
बाबाले यो धर्तिलाई बिदा दिनुभयो
र पनि असीमित मायालाई शक्ति बनाउँदै
पालन पोषणमा कमी कमजोरी हुन दिएनौ
तर किन आमा
बाबा ख्वै भनेर मैले सोध्दा
नीलो गगन देखाउँथ्यौ र भन्थ्यौ त्यहीँ छन् तिम्रा बाबा….

एकतर्फ पेटको चिन्ता
एकतर्फ हाम्रो भविष्यको चिन्ता लिएर
जिन्दगीको दोबाटोमा हिँड्यौ एक्लै
कहिले थाकेको महसुस हुन नदिई
मात्र हाँसेर देखाउँथ्यौ साँझमा
चन्द्रमाको शीतल ताप्दै…

अधूरा कुरा धेरै भए पनि
मेरो बालापनमा हुनुपर्ने
हरेक कार्यमा ध्यान दिन छोडिनौ
कहिलेकाहीँ लाग्छ, मेरा बुबा पनि थिए र ?

रहर थियो
तिम्रा थकानहरू एकदिन म मेटाउँला
तर जब त्यसको निम्ति सक्षम भएँ
तब तिमी प्रत्यक्षमा रहिनौ
छिमेकी साइँला दाइले भन्दा थाहा भयो
आफू रोगी भएको नजरअन्दाज गरेर
मेरो स्कूलको भाडा तिर्न जान्थ्यौ
आज यो वर्तमानले अतितलाई श्राप दिँदैछ आमा
तिमी सुन्न सक्छौ ?

आज जति पढेँ
तिम्रो प्रेमको मुहार पढ्न सकिनँ
र त आजसम्म तिम्रो कोठामा गएर
तिम्रो मायाको आभाष लिइरहन्छु मैले

यो धर्तिमा तिमी नभए पनि
तिम्रो संस्कार र मायाले
तिमी नहुनुको अनुभूति नै भएको छैन

आज कविता लेख्ने दुस्साहस गरेँ तापनि
तिम्रो प्रेमको एक बुँद छुन सकिरहेकी छैन
यी कविता वर्णमालाले लेखे पनि
यसमा आँशु मुछिएको जानकारी दिएँ आमा

तिम्रो याद
तिम्रो साथ
तिम्रो माया
अमर रहेको छ
जब तिम्रो फोटो हेर्छु…

त्यसैले मलाई टुहुरो भनेको मन पर्दैन मलाई
पटक्कै मन पर्दैन ।

 

स्वेभो, म्यान्मार