चैतको एक रात बुढोले आफ्ना एक जोर आँखा झुपडीको खिड्कीमा छोडिदियो । उसको नजर पश्चिमपट्टिको आकासतिर दौडिरहेको थियो । उसलाई एउटा अनौठो घटनाले तान्यो । पश्चिम आकासको छेउमा एउटा आगोको झिल्को देखा पर्‍यो । आगोको झिल्को बेगले आकासियो र आकासको मध्य भागमा पुगेपछि अर्धवृताकार आकृति बनाएर तलतिर झर्न थाल्यो । जति-जति तल झर्थ्यो त्यसको आकृति झन् ठूलो हुँदै जान्थ्यो । यो विस्मयकारी दृष्य बुढो एकटकले हेरिरहेको थियो । जून केही उत्तरपट्टि बादलको बुर्का ओडेर आफ्नो मांगलिक अनुहार छोपिरहेको थियो । बिस्तारै आगोको झिल्को एक विशाल तारामा परिणत भइरहेको थियो । बुढोलाई आश्चर्य लागिरहेको थियो । उसको पुरै ध्यान खसिरहेको तारातिरै थियो । तारा झन् –झन् नजिकैँदै थियो ।

“हे प्रभु ! त्यो तारा कसैगरी आकासमै नष्ट होस् । यदि त्यो खस्यो भने हामी कोही जीवित रहनेछैनौँ ।“

दिक्षान्त अग्निभाेर

बुढोले ईश्वरसँग प्रार्थना गर्यो । तारा झन् बत्तिएर बुढो भएकै दिसातिर झरिरहेको थियो । बुढोको धड्कन बढ्दै थियो । उसलाई लाग्यो केही समयपछि ऊ जीवित रहने छैन । तर एउटा जादु भयो । सोमो सहरको ठिकमाथि आएर तारा विलीन भयो । बुढोले लामो श्वास लियो । उसलाई लाग्यो ऊ मरेर फेरि जीवित हुँदैछ । लगभग १५ मिनेटपछि बुढोको झुपडीभन्दा केही पर माटोको ढिस्कोबाट अग्ला कद भएका केही मानिसहरु तलतिर झरिरहेक थिए । उनीहरु शान्त थिए । यस्तो लाग्दै थियो उनीहरु मान्छे नभएर मान्छेका छाया हुन् ।

ढिस्कोभन्दा अन्दाजी तीस मिटर तल एउटा विशालकाय गुफा थियो । मन्द गतिमा ती छायाहरु गुफानेर आएर थुप्रिए । र एक भव्य आकृति बन्यो । शनै –शनै त्यो आकृति कालो धब्बामा परिणत भयो । भर्खरै एक भयानक घटनाको साक्षी बनेर हेरिरहेको बुढोलाई त्यो जादुमय घटना कुनै नौलो भने लागेन । उसको ध्यान पूर्णतः कालो धब्बामा केन्द्रित थियो । धब्बाबाट उसले आँखा हटाउन सकेन ।

“लग्यो…लग्यो …मलाई तान्यो बचाऊ…।” ऊ चिच्यायो ।

यस क्षण उसलाई आफू बिस्तारै कालो धब्बामा समाहित हुँदै गइरहेको जस्तो भान पर्‍यो । बुढोको आर्तनाद सुन्ने उसको नाबालक छोरो सिवाय अरु कोही थिएन । बुढो फेरि चिच्यायो, “राहुल …!”

छोरो सपनाको घना जंगलमा विचरण गरिरहेको होला ! सपनाको गहिरो इनारमा कतै डुबुल्की मारिरहेको होला !

छोरो नउठेपछि उसले आखिरी पटक चिच्यायो, “तान्यो मलाई…गुहार…!”

जब उसको अट्टाहास आफ्नै कानमा ध्वनित भयो, ऊ सपनाको अँध्यारो सुरुङबाट एक्कासि वास्तविकताको झुपडीमा आएर ठोक्कियो र पछारियो आफ्नो आदिम ओछ्यानमा । उसको अगाडि मैनबत्ती भर्भराइरहेको थियो । जस्केलाबाट बाहिर हेर्दा अन्धकार व्याप्त थियो, आकासका ताराहरु सबै निभिसकेका थिए । सधैँ झिलिमिली देखिने सोमो सहर अन्धकारमा डुबेको थियो ।

एक वर्षपछि आज ऊ घोडामा वर्षभरि बुनेका राढी, पाखी र पश्मिना लिएर सोमो सहर जाँदैछ । सोमो सहरको वीभत्स भन्नुस् या भयानक दृष्य तपाईंको मर्जी ! त्यो दृष्य साँच्चिकै डरलाग्दाे थियो । सधैँ भिडले हल्ला गर्ने सोमो सहर आज मानव विहीन निर्जन,चकमन्न एकलासे सहरमा परिणत भएको थियो । निस्तब्धता छाएको । एक शून्यतामा डुबेको ।

उसले सोमो सहरलाई पूर्णतः कंकालले भरिएको भेट्टायो । सहरभरि यत्रतत्र सर्वत्र कङ्कालै कङ्काल थिए । एउटा पनि जीवित मानिस थिएन । ऊ घोर आश्चर्यमा पर्‍यो । उसको मगजमा त्रासदीको धुँवा सल्बलाउन थाल्यो । कसरी एक आधुनिक सोमो सहर कङ्कालको भूमिमा परिणत भयो । कोही मानिस जीवितै पो छ कि ! यही आशामा ऊ दिनभरि सहरको एक छेउबाट अर्को छेउसम्म भौतारिरह्यो । सहरमा एउटा मानिस पनि देखा परेनन् । थिए त केवल मानिसका कङ्काल मात्रै ।

“पक्कै पनि सोमो सहरमा केही अनिष्ट भएको हुनुपर्छ ।” उसलाई यस्तो आभास भयो, “सोमो सहरमा ईश्वरको कुदृष्टि परेको हो ।”

जति खोज्दा पनि कुनै मान्छेको खुटपत्तो नलागेपछि बुढो भयभित भयो । ऊ सहरबाट जतिसक्दो चाँडो बाहिर निस्कन चाहन्थ्यो । अन्ततोगत्वाः ऊ घोडामा चढेर पश्चिम दिशातिर हानियो । झण्डै दश किलोमिटरसम्मको यात्रापछि हठात् उसको नजर पश्चिमपट्टिको जंगलबाट निस्केको धुवाँको मुस्लोमा गएर ठोक्कियो । धुवाँ जंगलको मध्य भागतिरबाट बिस्तारै आकार बढाउँदै माथितिर फैलिरहेको थियो । धुवाँको मुस्लोलाई लक्ष्य गरी बुढोले घोडालाई त्यतैतिर कुदायो । जब नदीले उसको बाटो छेक्यो घोडालाई नदी किनारमा छोडेर काठको लाप्को चढी नदी पार गर्‍यो र कङ्कालका मानिसहरुको आत्माले घचेटिँदै, लखेटिँदै बुढो बेतोडले दौडिँदै, भाग्दै धुवाँ निस्किरहेको जंगलतिर उछिट्टियो ।

पाँच मिनेटपछि उसले आफूलाई जंगलको मध्य भागतिर एक जना अधबैंसे आइमाईको सामु पायो । आइमाई आगो तापेर एक्लै बसिरहेकी थिई । उसले बुढोतिर एक दुर्लभ मुस्कान फ्याँकी । बुढोले पनि नखरमाउलो मुस्कानमा आफ्नो अनुहार कच्याककुचुक पारेर मुस्काएको सफल अभिनय गर्‍यो । यद्यपि उसको अनुहारमा डर र संकोचले भरिएको कुनै बालकको भाव पोतिएको हुँदो हो । त्यस दिन उसको लागि संसार ध्वस्त भएको थियो । अब यस धरामा ऊ र उसको नाबालक छोरो बाहेक अरु कुनै मानिस जीवित थिएनन् । भर्खरै एक अधबैंसे आइमाई पनि थपिएकी थिई । यस अर्थमा ऊ थोरै खुसी थियो र सशंकित पनि ।

बुढो कतिसम्म बेवकुफ थियो भने ऊ क्षितिजसम्म फैलिएको क्षेत्रलाई मात्र संसार ठान्थ्यो । क्षितिजभन्दा बाहिर पनि कतै दुनियाँ छ भन्ने उसलाई विश्वास थिएन । एक दिन

उसको छोरोले सोधेको थियो, “बुबा ऊ… त्यो डाँडाभन्दा पारि पनि मान्छे बस्छन् रे हो ?”

ऊ छोरोलाई सम्झाउँथ्यो, “आकासभन्दा पर अर्को कुनै दुनियाँ छैन, यही सोमो सहरभित्र दुनियाँ अटेको छ ।”

बुढो आफैँ पनि भ्रममा थियो । नहोस् पनि कसरी ऊ सोमो सहरभन्दा बाहिर कतै गएको थिएन । उसले न कहिल्यै पढ्यो न त ऊ अन्य मानिसको समीप रह्यो । सामाजिक सञ्जालबारे पनि ऊ बेखबर थियो । सोमो सहरको दक्षिण-पूर्वी पहाडको शिरमा आफ्नो तेह्र वर्षीय छोरोसँग ऊ गुपचुप जीवन बिताइरहेको थियो । बुढोको एउटा सानो झुपडी थियो । झण्डै-झण्डै तीन सय भेडा अट्ने एउटा गोठ थियो र आठ बिगा जग्गा । आफूलाई खाना पुग्ने जति मात्र खेति गर्थ्यो । असलमा ऊ एक भेडा गोठालो थियो । वर्षमा एक चोटी ऊ सोमो सहर जान्थ्यो । प्रायः ऊ असोजको महिना भेडाको ऊनबाट बुनेका राढी , पाखी र पश्मिना लिएर बिक्री गर्थ्यो । बिक्रीबाट आएको पैसाले आफूलाई चाहिने नुन , तेल र लत्ताकपडा किनेर झुपडी फर्कन्थ्यो । ऊ भेडा त पाल्थ्यो नै साथै ज्ञानको अभावले मनभरि भ्रमका भेडाबाख्रा पालेर बसेको थियो । त्यस दिन त्यो आइमाईले उसको भ्रमलाई चक्नाचुर पारिदिएकी थिई ।

“तपाईँ को हो ? कहाँबाट आउनुभयो ?”

“म जुभरबाट आएको हुँ ।”

बुढोले पछिल्लो प्रश्नको उत्तर दियो र त्यही प्रश्न आइमाईतिर तेर्स्यायो ।

“म नाङ्गो सहरबाट आएकी हुँ, यो वनमा बस्न थालेको १२ बर्ष भयो ।”

“बुझेँ ।”

बुढोकाे अनुहारमा गम्भीरता ओड्यो ।

“ तपाईँ सोमो सहरबाट आउनुभएको ?”

“सोमो सहर होइन, म नाङ्गो सहरमा बस्थेँ ।”

“कहाँ पर्छ नाङ्गो सहर ?”

बुढोले विस्फारित नजरले आइमाईतर्फ हर्‍यो ।

“ऊ…त्यता पर्छ ।” आइमाईले पश्चिम दिसातिर इसारा गरी ।

“के त्यहाँका मानिसहरु नाङ्गै छन् ?”

“हो नि ! नाङ्गै छन् ।”

आइमाई बोल्दै गई, एक दिन हाम्रो देशमा अर्को कुनै देशबाट एउटा गिरोह आयो । त्यो गिरोहले भन्यो, “हामीले तपाईँहरुको सम्पूर्ण विगतदेखि वर्तमान सम्मका एक-एक क्रियाकलाप भिडियोमा कैद गरेर राखेका छौँ । हामीले त्यस्तो वेभ पत्ता लगाएका छौँ जसले पृथ्वीको सम्पूर्ण भाग भिडियोमा कैद गर्न सक्छ । जसलाई तपाईँ दृष्यमा देख्न सक्नुहुन्छ ।”

गिरोहले त्यहाँको सरकारलाई नमुनाको लागि एउटा भिडियो देखाएको थियो । भडियोमा जसको सरकार थियो त्यही दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको गोप्य बैठक थियो । जसै त्यो दृष्य त्यसै दलका अर्को प्रभावशाली नेतालाई देखाइयो उनी त्रसित भए । सरकारले ती गिरोहका नाइकेलाई तत्काल त्यो दृश्य मेटाउनको लागि अनुरोध गर्‍यो । तर ऊ सजिलै भिडियो मेटाउन राजी भएन । उसले भन्यो, “हामी तपाईंहरुको सम्पूर्ण विगत सधैँका लागि मेटाइदिन्छौँ तर एउटा सर्त छ । त्यो के भने आफ्नो भिडियो मेटाउन चाहने जति सबैले बाँकी जीवन नाङ्गै बिताउनुपर्नेछ । लाज सरम किञ्चित मान्नु भएन । हामी सबै मानिसहरु नाङ्गिसकेका छौँ भित्रैदेखि । बाहिरी आवरणले मात्र हामी छोपिएका छौँ । अब बाहिरी आरण पनि खोल्न जरुरी छ । हामी नाङ्गो समाज सृजना गर्न चाहन्छौँ ।”

प्रधानमन्त्री तत्काल नाङ्गो हुन राजी भए । त्यसपछि उच्च पदस्थ मन्त्री । कर्मचारी , धार्मिक गुरु, लेखक, पत्रकार लगायतका सामाजका बुद्धिजीवी सबै नाङ्गिन तयार भए ।अब तपाईँले बुझिसक्नुभयो जनता त नाङ्गिने नै भए ।

“अनि तपाईँ नाङ्गिन तयार हुनुभएन ?” बुढोले सोध्यो ।

“म वर्षौंदेखि कति ठूलो भ्रमको गर्तमा फसेको थिएँ भन्ने ज्ञात त्यतिखेर भयो जब मेरा विगतका एक-एक कर्तुतहरुको पर्दाफास भयो । कर्तुतहरुको भिडियो सामाजिक सञ्जालमा छच्यापछय्याप्ती आउन थाले । त्यसअघि म समाजसेवी थिएँ/ठान्थेँ । त्यो भन्दा पनि ज्यादा म आफूलाई पूर्णतः एक निश्चल हृदय भएको द्वेसरहित मानव ठान्थेँ । परिणामतः म त्यतिखेर नाङ्गो नभई बरु आफ्नो सम्पूर्ण विगत सार्वजनिक गर्न तयार भएको थिएँ । उनीहरुले मेरो विगतलाई छर्लङ्ग देखाइदिए । सामाजिक सञ्जालहरुमा पनि मेरै चर्चा थियो । सबैको नजरमा म सवाजसेवीको नाममा एक कलङ्क सावित भइसकेकी थिएँ । सबैले मलाई स्वार्थी, भ्रष्ट र चरित्रहीन भन्न थाले ।

मैले खासै केही प्रतिक्रिया दिइनँ । मैले बोल्नु बेकार हुन्थ्यो । अरु सबै नाङ्गा थिएँ तर उनीहरु विगतका कर्तुतबाट मुक्त थिए । उनीहरुलाई द्वेशयुक्त प्रमाणित गर्न मसँग यथेष्ठ प्रमाण थिएन । त्यसैले म निरीह थिएँ । मेरो पक्षमा कोही थिएन । वर्ष बित्दै गए । सिङ्गो राज्यमा म एक मात्र कपडा लगाउने मान्छे थिएँ । उनीहरुले मलाई पागल करार गरे । र एक साँझ त्यहाँको सरकारले मलाई भोलिपल्टको उज्यालो नहुँदै देश छाडेर जान उर्दी गर्‍यो । देश छोडेर नगएमा मैले मृत्युदण्ड भोग्रुपर्ने हुन्थ्यो । भन्छन् नि ‘मर्नुभन्दा बौलाउनु बेस !’ मलाई मर्नु भन्दा देश छोड्नु उचित लाग्यो । र भोलिपल्ट मैले एक तामसिक जंगलको मध्यभागतिर आफूलाई पाएँ ।”

“तामसिक जंगल ?”

“हो, तामसिक जंगल ! कहावतअनुसार अस्तित्वजनित एक तामसिक जंगलमा समयले चपाएका कुरुप मुर्तिहरुको ढेर थियो । समयले मलाई त्यही ठाउँमा पुर्‍यायो । तपाईँको मनमा सवाल उठ्न सक्छ किन चपाएर कुरुप बनायो होला सुन्दर मूर्तिलाई समयले ? समय कसरी यति विघ्न घृणित काम गर्न सक्छ ? यति बलियो छ समय ? भर्खरै समयले तपाईंका यी छद्म सवालहरुको जवाफ दिएर गइसकेको छ । सुन्नुभयो ? भर्खरै समयले तपाईँका आँखा स्पर्श गरेर गयो । तपाईँले देख्नुभयो ? तपाईँकै वरिपरि सर्वथा समय नै समय मौजुद छ । तपाइँले महसुस गर्नुभयो ? सायद तपाईंसँग समयलाई सुन्ने कान छैन । देख्नको लागि आँखा छैन । न त समयलाई महसुस गर्नको लागि तपाईंसँग हृदय नै छ । यस अर्थमा तपाईं समयको दृष्टिमा एक सुन्दर मूर्ति सिवाय अरु केही होइन । त्यो पनि कुरुप बनाइदिएको छ समयले भर्खरै । अब तपाईँ एक कुरुप मूर्ति हुनुभयो ।”

“ के समयले मलाई पनि कुरुप बनाइसक्यो ?” बुढो हतप्रभ भयो ।

“ जरुर ! ” आइमाईको मुहारमा मृदुल मुस्कान टाँसिएको थियो । “हामी सबै समयले चिथोरेका कुरुप मूर्ति हौँ । मानव इतिहासमा सबैभन्दा सर्वोत्तम उपलब्धि र मनिसको सम्पूर्णतः विकास भएको म त्यतिखेर मान्नेछु जब यस धराका सबै मानिस यही पल, यही क्षण बाँच्न समर्थ हुन्छन् । क्षणभंगुरता मानिसको श्रेष्टतम विकास हो । कम्तिमा मेरो बुझाइमा । हामी भागिरहेछौँ समयदेखि, यथार्थदेखि, आफ्नै अस्तित्वदेखि । प्रायः हामी आफ्नै मनको दास बन्छौँ । म दास हुन चाहदिनँ । मेरो गन्तव्य पृथक् छ, त्यो ठाउँ कपोकल्पित स्वर्ग भन्दा सुन्दर छ । त्यहाँ रुमानी सपना होइन कठोर यथार्थ छन् । बिस्तारै म त्यतै पाइला चाल्दै छु ।”

आइमाईले आँखा बन्द गरी ।

“ मलाई पनि लैजानुस् न तपाईंको गन्तव्यसम्म । म पनि तपाईंसँगै जान चाहन्छु ।” बुढोले आइमाई सँगै जाने इच्छा जाहेर गर्‍यो ।

“म तपाईंलाई मेरो गन्तव्यमा होइन, तपाईंकै गन्तव्यमा पुर्‍याउने बाटो देखाइदिन सक्छु । तपाईंभित्र साँच्चिकै गन्तव्यसम्म पुग्ने उत्कण्ठा छ भने ।”

“ मेरो गन्तव्य पनि तपाईंकै जस्तो भव्य छ त ? सुन्दर ! शान्त ! ”

“हा..हा..हा…जरुर ! स्वर्गभन्दा सुन्दर छ ।”

“ पुग्ने पो कसरी होला ! मलाई केही उपाय सुल्झाउनुहुन्छ कि ?”

“धन्दा नमान्नुहोस् । मैले तपाईंलाई बाटो देखाउने मात्र होइन, आदि बाटोसम्म तपाईंलाई डोर्‍याएर लैजान्छु, बाँकी यात्रा तपाइँले अस्तित्वजनित यथार्थसँग गर्नुपर्नेछ !” फेरि आइमाईले आँखा बन्द गरी ।

एकैछिनमा कालो बादलले आकास गजधुम्म भयो । जंगलमा अन्धकारको पर्दा लाग्यो । आकासमा गड्याङगुडुङ आवाज आउन थाल्यो । यस क्षण उनीहरु मौन थिए । मात्र एक अर्कोलाई हेरिरहेका । आकासबाट मुसलधारे पानी बर्सिन थाल्यो । आइमाई आकासतिर अनुहार सोझ्याएर मज्जाले भिज्न थाली । बुढो पनि त्यसै गर्न थाल्यो । रातको मध्य प्रहरमा बर्षा रोकियो । त्यतिखेरसम्म उनीहरु निथ्रुक्क भिजिसकेका थिए । भिजेको शरीर र मन लिएर दुबै जना नजिकैको गुफाभित्र पसे । त्यहाँ बाघ, भालु, सर्प लगाएत थुप्रै डरलाग्दा जंगली जीवजन्तु थिए ।

“आजको रात हामी यिनीहरुसँगै सुत्नुपर्छ।” आइमाईले बुढोतिर साउती मार्दै भनी ।

“जंगली जीवजन्तुहरुसँग ?” बुढोको आवाज मलिन भयो ।

“यिनीहरु जंगली जीवजन्तु होइनन् अपितु हामीभित्रका माया, मोह, घृणा, अहंकार र तृष्णा हुन् । यिनीहरुले हामीलाई बाँधेर राखेका छन् । हामी यिनीहरुबाट मुक्त हुनु छ । बरु यसो गरौँ । अब हामी चाँडै सुतौँ । भोली बिहान सखारै हामीले हाम्रो सुदुर भविष्यको लामो यात्रा तय गर्नुछ ।”

भोलिपल्ट आइमाईले सबेरै बुढोलाई उठाई । अँध्यारोको पर्दा च्यातिएर उज्यालो खस्न अझै बाँकी थियो । आइमाईले बुढोलाई स्वर्गको आभास दिलाउने एउटा सुन्दर संसारमा पुर्‍याउने अठोट गरी । र बुढोलाई एउटा सुरुङको छेउमा लिएर भनी, “स्वर्ग जाने बाटो यही हो ।” आगोको राँको बालेर आइमाई सुरुङभित्र छिरी । बुढोले आइमाईलाई पछ्यायो । बिस्तारै सुरुङले उनीहरुलाई निल्दै गयो ।

आगोको राँको निभ्न थालिसक्यो अझै सुरुङ सकिएन । जति हिँड्यो बाटो झन्-झन् अँध्यारो हुँदै जान्थ्यो । बाटोमा उनीहरुले धेरै कुरा गरेनन् । दुवैजना मौन रहन्थे । बोल्नैपर्ने कुरामा मात्र बोल्थे । हिँड्दै जाँदा उनीहरुको शरीर गलिसकेको थियो । शक्ति क्षिण भइसकेको थियो । आगोको राँको पनि निभिसकेको थियो । जताततै निष्पट्ट अँध्यारो थियो । उनीहरुले एक अर्काको अनुहार छुट्याउन सक्ने अवस्था पनि थिएन । एकछिन रोकिएर उनीहरु एकले अर्कोलाई ठेल्दै अघि सरे । धेरै समयपछि मात्र उनीहरुले सुरुङभित्र कतैबाट सूर्यको प्रकाश तप्किरहेको देखे । यतिखेर उनीहरुको अनुहारमा आशाका चिचिला झुण्डिएका थिए । बुढोको अनुहार खुसीले धपक्क बलेको थियो । बल्ल उनीहरुले एकअर्काको अनुहार देख्न सक्ने भएका थिए ।

भर्खरै खुसीले चम्किएको बुढोको अनुहारलाई एक्कासि कालो बादलले घप्लक्क छोप्यो । कारण, जो सँग ऊ हिँडिरहेको थियो त्यो आइमाई ऊसँग थिइन । उसको अगाडि जो उभिएकी थिई ऊ अपरिचित आइमाई थिई, एकदम कुरुप । जसलाई बुढोले कहिल्यै देखेको थिएन । उसलाई डरले नराम्रोसँग अँठ्यायो । उसको आदर्शमा भ्वाँङ पर्‍यो । भर्खरै उसको आस्थाको धरोहर ढलेको थियो । दुवै जना सुरुङबाट फुत्त बाहिर निस्के । बुढोले आखिरी पटक त्यस आइमाईतिर दृष्टिपात गर्‍यो । र त्यहाँबाट कुलेलाम ठोक्यो । उसको अघिल्तिर एक परित्यक्त झुपडी उसलाई पर्खिरहेको थियो । झुपडीभित्र थियो उसको तेह्र वर्षीय छोरो, निदाइरहेको ।