आत्मशक्ति अज्ञात रहस्यको पर्दाबिच छोपिएर रहेको छ । त्यही अज्ञात शक्तिको प्रेरणाले हिँडिरहेको छु । मेरो कर्मपथमा तिलश्मीपूर्ण ढङ्गले सघाउन आउँछ यो शक्ति । अज्ञात शक्तिको रहस्यमयी उपस्थितिले म चकित मात्र हुन्न, विभोरताले लबालब भरिनेपनि गर्छु कतिपय बेला । अनि कतिपय क्षणमा त्यो शक्तिको उपस्थितिलाई महसुस गर्न भुल्ने गर्छु, याने कि ढिलाइ गर्छु । यस कुरामा मलाई साह्रै खेद लाग्छ । आपतको सीमान्त क्षणमा अस्तित्वले एउटा उपस्थिति जनाउँछ र मलाई उद्दार गर्ने गर्छ । त्यतिखेर मलाई ज्ञात हुन्छ; मान्छे कुनै पनि हालतमा असहाय छैन ।

अज्ञात शक्तिको स्रोत अदृश्य गर्भमा छोपिएको छ । यसलाई अक्सर छोपिनै दिनुपर्छ । रहस्यलाई जति रहस्यको रुपमा रहनदियो, त्यो त्यति नै असल हुनजान्छ । त्यसको गरिमा त्यति नै सुन्दर हुनजान्छ ।

यस कुरालाई सुन्दर वस्त्र आभूषणले छोपिएकी सुन्दर युवतीको कोमल कायासित तुलना गर्न रुचाउँछु । कोमल काया सर्वाङ्ग उदाङ्गो बनेपछि त्यसको चुम्बकीय चारुता समाप्तिन्छ । त्यसमा भरिसक्य रहस्यको पर्दा लाग्नु नै जाति हुन्छ । छोपिँदाको रहस्यले जति खुलदुली पैदा गर्छ, उदाङ्गिनुमा एक आन्तरिक तागतको अन्त्य हुनजान्छ । हृदय–गर्तमा छोपिएर रहेको अज्ञात शक्ति पनि छोपिनुमा लाभकारी छ । अनि आवश्यकतानुसार फारु गरीगरी त्यसमो पर्दा खुल्दै जानुमा त्यो झन्झन् श्रेयष्कर बन्दै जान्छ । बादलको घुम्टो विस्तारै खुलेर प्रकट हुने चाँदनी चेहरामा अर्कै सौन्दर्यको आभास भेट्छु म ।

आफूभित्र निहित अज्ञात शक्तिको अन्तःप्रेरणाले के के गराउँछ ? कहाँ कहाँ पुर्याउँछ ? त्यसको अहिले नै बेलिविस्तार लगाउन सकिन्न । मानौँ यसमा एक जादू छ । यसले तिलस्मी तवरबाट कामहरु गराउँछ । यसले सोच भन्दा बेगल धारबाट जीवनमा उत्तेजनाको रस सञ्चार गर्छ । जसले काम र सिर्जनामा अनौठो ढङ्गले उद्दीपन ल्याउँदछ ।

भित्रबाट अज्ञात शक्ति ब्युँझेपछि सेलाएका आकाँक्षा पनि जुरुक्क उठ्तछन् । मृत अभिप्सा र अभिलाषामा जीवन्त प्राणरस सञ्चरण हुनथाल्छ । मानौँ हाम्रा नलीहाडमा दधिचिको मासी घुसेर मर्दपन ब्युझाउँछ । ओइलिसकेको सुषुप्त धुकधुकीमा कसरी प्राणको उत्तेजनात्मक स्वर थपिन्छ, त्यसलाई वर्णन गर्न सकिन्न । यही शक्ति हो जसले सकल मनुष्य लोकलाई जीवनशील बनाउँछ । यही शक्ति हो, जसले जीवनप्रति गहन अनुरागको तह उमार्छ ।

पुण्य कार्की

जीवनप्रति अनुदार भाव पलाएको बेला समादर भाव पैदा गर्ने यो शक्तिप्रति म दिन परदिन विश्वस्त बन्दै गएको छु । जीवनप्रति चरम निराशाको भाव सुसाएको बेला पनि यही शक्तिले आशाका नव किरणहरु देखाएर मलाई झल्झलाकार दुनियाँमा तानेको छ । हृदयमा जीवनप्रति घृणाको अस्मेल भेल सुसाएको बेला पनि प्रेमका रानारुनी विजन अंकुरण गर्न मलाई यसले तागत दिनेगर्छ ।

अकर्मण्यताको हिले दलदलमा नउक्सिने गरी भास्सिएको घडी कुन प्रेरणाले हो ? यही शक्ति जागिदिन्छ र मलाई हिलोबाट थुत्तेर कमलको फूलमाथि विराजमान गराउँछ । त्यो घडीमा अविश्वसनीय ढंगले स्वस्थ बन्छु, सक्रिय बन्छु । मेरा कलपूर्जामा कताकताबाट हो, हर्कुलसको वल पसेर कर्मपथमा लमकलमक लम्किन थाल्छु । सृजन–शैल चढ्न थाल्छु । आफूभित्र खनिएका चरम अविश्वासका खाल्डामा माटो भर्दै देखापर्छ यो शक्ति । यो शक्तिका रुप विविध छन्, छन्द विविध छन्, बान्की विविध छन् । विरासत विविध छन् । जसलाई म पूरापूरा भेउ पाउन सकिराखेको छैन ।
भावनात्मक रुपले दुर्बल बनेको घडी यही तागतले सवलताको तरङ्ग भर्छ । कठोर निष्क्रियताको कालो घुम्टोले कामै नलाग्ने गरी पंगु बनाएको बेला ताजगीको नश पिलाउँछ । मनमा एक पहाडै उठाऊँ भन्ने भाव छल्किन्छ ।
एकचोटि ढुङ्गाले सर्वाङ्ग शरीर किचेर थिलथिलो बनाएको क्षण म आखिरी मृत्युशैया नजिक पुगेको थिएँ । तर, कताबाट कसरी हो मेरो शरीरमा जिजीविषाको त्यही शक्ति ब्यूँझियो, ठमठमी हिँडेर घर आउने भएँ । जङ्गलमा मर्यो भनेर माया मारेको मान्छे म । तर, कताबाट त्यो शक्ति जाग्यो तत्क्षण हिँड्ने भएर उभिएँ । मानिसहरुले विस्मयचकित भएर जिब्रो टोके– यो मान्छे कसरी बाँच्यो होला ?

म आफैँ त्यो रहस्यलाई बुझ्न सकेको छुइनँ । यो असीम शक्तिको पारवार क्षमतामाथि मलाई रत्तिभर पनि शंका उठ्तैन आजभोलि । यो शक्तिमाथि विश्वास गर्नु भनेको आफूमाथि विश्वास गर्नु हो भन्ने कुरा मैले बुझेको छु । जुन दिन त्यो विश्वासमा म धर्मराउने छु । त्यस घडी मेरो आस्तित्व पनि धर्मराउन थाल्नेछ । आफ्नो स्वसत्ताको जग चर्मराउन थाल्नेछ ।

सायद यही शक्तिको अन्दाजा लगाउँदै फ्रयाड महोदयले लिविडोको बारेमा व्याख्यान दिएका होलान् । जीवनेच्छा भन्दा अपार शक्ति अर्को कुन होला र ? मान्छे दुष्कर दुर्दान्त क्षणमा पनि त्यही शक्तिको आलम्बन टेकेर बाँच्ने गर्छ । अचम्म लाग्छ, मरणा धर्म शरीरमा पनि जीवनशील तत्वको लगातार विजयमाथि विजय भैरहेको हुन्छ । लुँडोको खेलजस्तो मान्छे एक दुई पहिलो के अगाडि बढेको हुन्छ, अज्ञात शक्तिको भर्याङ्ग ठडिन्छ । त्यसमा चढेर निकै स्टेपमाथि उठ्छ । फेरि एका दुई पाइला के चालेको हुन्छ । फेरि अर्को शक्तिको भर्याङ्ग ठडिन्छ । भर्याङ्ग चढ्दै चढ्दै विजय शिखर चुम्छ मान्छे ।

देखिने आकारमा गोचर हुन्न आत्मशक्ति । यो अगोचर दुनियाँमा लुकिबस्छ । भौतिक रुपमा नदेखिनु यसको स्वभाव हो । यसले आकारमा आफ्नो अनुहार नदेखाए पनि भित्रभित्रै नदेखिने पाराले काम गर्छ । यसको काम गर्ने पारा देखेर हामी चकित बन्छौँ, पुलकित बन्छौँ ।

कसैले कतैबाट पनि छिचोल्नै नसक्ने गरी अगमरुपमा अवस्थित छ यो शक्ति । यो सृजन र विध्वंशका लयहरुमा मात्र मुखर भएर देखापर्छ । आवश्यकताका घडीमा मात्र यो बाचाल बन्छ । अरु बेला त छ कि छैन, हो कि होइन को अवस्थामा रहन्छ । अज्ञातको अध्ँयारो कुनामा चुपचाप रहनु यसको धर्म हो । गुमसुम गुमसुम भित्रभित्रै काम तमाम गर्नु यसको स्वभव हो र यसले पराको तहमा काम गर्दछ । परा अर्थात् रुपदेखि परको अवस्था । मूर्ततामा आउनु पूर्वको स्थिति ।

मेरो आँगनमा फुलिरहेको सयपत्री फुल्नु अघि, बोटविरुवा बनेर उम्रिनु अघि, अझ विजको अकार लिनु अघि पनि यो कुनै न कुनै रुपमा यो अस्तित्वमा थियो भनेर मान्दा यो मूर्त संसारमा आउनु अघि अमूर्त अवस्थामा पक्कै थियो । ममा निहीत आत्मशक्ति पनि वाणीको तहमा व्यक्त नहुने किसिमको छ । रुपमा नदेखिने अरुप स्तरको छ ।
जबजब अस्तित्वको यौगिक संरचना पराबाट पश्यन्तिमा फड्को हान्छ । अनि यो अरुपबाट रुपमा आकार फैल्याउँछ । रुप र मूर्ततादेखि परको चिजविज बनेर आँखा सामु उभिन्छ । मस्तिष्कमा मूर्त विचारको रुपमा उदय हुन्छ । हृदयमा अनुभूतिको तहमा यो उत्रिन थाल्छ । त्यसपछि मध्यमामा पुग्दा वृक्षरुप धारणा गर्छ । विरुवा बनेर उम्रिन्छ । त्यो भाषामा सोचाइको तहमा अन्डा कोरल्छ ।

परा स्थितिको अज्ञात शक्ति बैखरीमा पुग्दा भाषाको बाह्रखरी बन्दछ । भाषाको बोलीमा यो उत्रिन्छ । यो अक्षरमा, शब्दमा, वाक्यमा र संकथनमा फैलिन थाल्दछ । अब विरुवा अवस्थाको मध्यमा फूल र फलमा पल्लवित हुन थाल्छ । पुष्पित हुन थाल्दछ ।

वाणीका यी चारभेदहरु परा अरुप शक्तिमा, पश्यन्ति विज रुपमा, मध्यमा वृक्षरुपमा, बैखरी वाणी रुपमा उत्रिदै अघि बढ्दा म आफ्नो अज्ञात उत्प्रेरणाले शब्दका लयहरुमा अभिव्यक्त हुन्छु । मलाई अभिव्यक्त गर्ने अन्तप्रेरणा नै यस्तो शक्ति हो, जसको म दिनदिन पूजन गर्छु । नमन गर्छृ । अनुग्रहले द्रवित हुन्छु ।

युनानी मिथकको कुनै फिनिक्स पन्छीको बारेमा पढेको छु । युनानमात्र होइन, यस पन्छीको विषयमा अरब, इरान, रोमन, मिश्रदेखि चिनियाँ मिथकले पनि धेरै कुरा बोलेको बताउँछन् मिथकविद्हरु । मिथक भनेको एक कथा न हो ।

फिनिक्स चरीको कथाले भन्छ – यो कहिल्यै नमर्ने अमर पन्छी हो । मान्छेलाई मायावी जालमा पार्ने माया पन्छी हो । मिथकहरूलाई नै मायावी खेलहरू मान्छु म ।

यो मायापन्छी फिनिक्सको आयु पाँच देखि हजार वर्षसम्मको हुन्छ अरे । यो आफ्नै चिहानबाट बौरिने अजम्बरी चरो हो । भनिन्छ यसले काठपात भिँजाझिँजी बटुलेर एक शानदार गुँड बनाउँछ । आफ्नो एक जुनी आयु सकिएपछि गुँडमै यो जल्दछ । कतैबाट आगोको छेस्को ल्याएर गुँड सल्काउँछ । त्यही गुँडको आगोमा जलेर भष्म हुन्छ । आफ्नै शरीरमा आगो सल्काएर आफूलाई जलाउँदछ । गुँडसितै खरानी बने पछि त्यही खरानीको थुप्रोबाट नयाँ फिनिक्स चराको रुपमा फेरि जन्म लिन्छ । मृत्युपछि पनि पुनर्जिवित हुने शक्ति छ यस चरामा ।
फिनिक्स चराको कथाले आफ्नै चिहानबाट बौरिने उत्प्रेरणा भर्दछ मभित्र । यस चराले हार्न होइन जित्न सिकाउँछ । शिथिल र क्लान्त बनेर कोठो रुङ्न होइन, जीवनलाई एक ओजमा उठ्न सिकाउँछ । त्वरित औरामा वेग र बाँकटे हान्न सिकाउँछ ।

मृत्युलाई सिर्फ मृत्यु देख्ने आँखा होइन, मृत्युमा नवजीवनको झिल्का देख्ने आँखा प्रदान गर्दछ । तर, यथार्थमा यो चरो कथामा सीमित छ । मिथकमा सीमित छ । यथार्थ दुनियाँमा यो छैन । छ त यो मनोजगत्मा विचरण गरिरहेको छ । छ त यो मानसिक तलमा विराजमान छ ।

यो अरुप जगतमा भए पनि यसलाई हामीले मानेर हिँडेका छौँ । यसको अज्ञात सत्तालाई स्वीकारेका छौँ । अरुपै होस् यसले हामीभित्र प्रेरणाको अभिञ्ंचार गरिरहेछ । अज्ञातै भए पनि यसले हर्दम हरबखत रौँकुपहरुमा जीवन्त बन्ने भावको सञ्चार गरिरहेछ ।

प्रत्येक मानिसभित्र एकएक थान फिनिक्स चरी छ । त्यसको शक्तिले चिहानबाट बौरिने उम्मिद राख्तछ । खरानीमै नवजीवनको अङ्कुरण फुलाउने तागत राख्तछ । त्यो शक्तिलाई चिनौँ, जीवनका विधायक विन्दुहरुमा त्यसलाई अखेटा जस्तो टेकेर अगाडि बढौँ । जय आत्मशक्ति ! जय फिनिक्स चरी !