पृष्ठभूमि

साहित्यलाई आत्मक्रान्ति र चेतनानिर्माणको कलात्मक अनि मानव हृदयलाई सिधै स्पर्श गर्ने आह्लादकारी हतियार मान्ने पुण्य कार्की समस्त प्रगतिशील दर्शन र अनेकन बुद्धपुरुषहरूका व्यवहार–  विचारधाराहरूबाट प्रेरित प्रभावित अनुप्राणित नेपाली साहित्याकाशमा अकण्टक अक्षरसाधना शिविर चलाउने एक कलमवीर एकलव्य हुन् । चाहे परिमाणात्मक रूपले होस् या गुणात्मक स्तरमा होस् उनी समसमायिक नेपाली साहित्यका प्रखर, ऊर्वर युवा प्रतिनिधि साहित्यकारको रूपमा स्थापित भएको देखिन्छ । कविता विधामा तीन, आख्यान विधामा चार, निबन्ध विधामा चार, बालसाहित्य अन्तर्गत चार  जीवनीमूलक कृति पाँच र अन्य दुई गरी हालसम्म उनका बाइसओटा कृतिहरू प्रकाशित भएको पाइन्छ ।

आफ्ना कृतिहरूमा सौन्दर्य चेतना, जीवनचेतना र कालचेतनाको त्रिकोणात्मक अन्वितिको सन्धान गर्दै आफू बाँचेको जीवन समय र समाजको सूचना कलाद्वारा प्रवहण गर्दछन् । यो मनदेखि त्यो मनसम्मको, विदितदेखि अविदितसम्मको, स्थूलताबाट सूक्ष्मतिरको, पूर्णबाट अंशोपांसोतिरको लेखन अन्तर्यात्रामा वस्तुजगत्लाई ग्रहण गर्ने, अनूभतिहरूलाई शब्दका रङ र रेखाहरूमा घोलेर पोतेर जीवन्त विचारको विन्दु टेकेर अक्षर, शब्द, वाक्य र संकथनका सिन्धुसम्म हेलिँदै गर्दा पुण्य कार्कीको भावविम्बहरूको बनोटबुनौट, विषयको अन्विति र अनुभूतिको संश्लेषण निकै गतिलो भएका सुन्दर, सुगठित, शक्तिशाली रचनाहरूमा ओज र माधुरीको नर्तन अनि शैली र सौष्ठवताको कीर्तन भएको पाइन्छ । उनी आफ्ना निबन्धको राजपश्नमा आजसम्मका अनभिव्यक्त सत्यहरू, अनभिव्यक्त भाव र अभिव्यञ्जनाहरू अभिव्यक्तिशील तुल्याउन लिट्टी कसेर लागेका छन् ।

विषय प्रवेश

कविता लेखनबाट साहित्यमा छिरेका यिनले कथा निबन्ध, समीक्षा, समालोचना, व्यक्ति परिचय, अनुवाद आदि विधामा आफ्नो सशक्त प्रतिभाको पाइन चढाएका छन् । तापनि यस लेखमा उनको निबन्ध संग्रहहरूमध्ये “रातको सुन्दरता” नामक निबन्धात्मक कृतिको अन्तरङ्ग विवेचन, विश्लेषण र अभिमूल्यांकन गर्ने सत्प्रयास गरिएको छ । प्रस्तुत संग्रहमा २०६३  सालदेखि २०६९ सालसम्म लेखिएका र विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका निबन्धहरू संग्रहित रहेको हुनाले करीब ७ वर्षको सामयिक पृष्ठभूमिमा यिनको महत्त्व केलाउँन सकिन्छ ।

रातको सुन्दरताको” निबन्धः  अन्तरङ्ग  विचरण र विश्लेषण

राजनीतिक विषयवस्तुमा केन्द्रित विचारात्मकता र  भावनात्मकताको दोसाँधमा रही “आँधीको आवाज” निबन्धमा निबन्धकार पुण्य कार्कीले समता र वैषम्यता विधिको भरपूर उपयोग गरी इतिहासको विभिन्न कालखण्डमा राजनीतिक दलहरूले मुलुकमा सत्ता तथा शासन परिवर्तनको लागि विभिन्न आन्दोलनहरू छेड्दै आए तापनि तिनले पूर्णरूपमा देशको बेथिति, व्यवधान, विकृतिहरूलाई निर्मूल गर्न नसकेको र समस्या ज्यूँका त्यूँ रहेकाले फेरि एउटा सशक्त क्रान्तिरुपी आँधीको आवश्यकतालाई मुखरित गरेका छन् ।  उनमा निहित विद्रोहात्मक चेतले शब्दावलीमा प्रत्यांकन हुने अबसर प्राप्त गरेको छ यस निबन्ध मार्फत् ।

आगमनात्मक शैलीमा उनिएको यो वैयक्तिक निबन्ध “कुकुरघृणा”मा ठूलठूला घरहरूमा कुकुरका जति इज्ज्त, आदर त्यस घरका नोकारचाकर र कामदार वर्गलाई नभएको अबस्थाप्रति रोष प्रकट गर्ने सिलसिलामा कसरी पूँजीपति, सम्भ्रान्त वर्गले निमुखा र निरीह गरीब वर्गको हितप्रति पूर्ण बेवास्ता र बेमतलव गरेको छ भन्ने यथार्थलाई बडो मार्मिकढंगबाट पेश गरेका छन् निबन्धकारले । कुकुरलाई दिने माया, प्रेम, सेवा, सुविधा, सहयोग दीनहीन रुग्न बितराजनलाई दिन सके ढिलै भए पनि मानवता मुसुक्क हाँस्ने थियो होला भनी वर्गरहित, शोषणरहित, सुखी सुन्दर मानव समाजको कामना बोकेको पाइन्छ । शहरिया धनाढ्य वर्गको कुकुरप्रेम र मानवद्वैषी चरित्रप्रति व्यंग्यको झटारो हानेका छन् ।

व्यासशैली अपनाइएको यस विवरणात्मक सामाजिक निबन्ध “चिसा मान्छेहरू”मा आलोचनाको कसीमा कार्कीले चिसो मनधारी मनुवाहरूको व्याख्या र विश्लेषण गरेका छन् । उनले प्रकृतिको बाह्य वातावरणको हिउँद ऋतुमा हुने चिसो र ठण्डीको सापेक्षतामा थरीथरीका चिसा मान्छेहरूको वर्णन गरेका छन् । कोही अर्काको साँधसिमाना मिच्नुमा रुचि राख्ने, कोही अर्काको बद्ख्वाइँ र बदनामी गरिहिँड्ने, कोही जतिसुकै अरुले गुन गरे पनि गुन नदेख्ने, बैगुनीको बैगुनी रहने, कोही दोहोरो मापदण्ड अपनाउने, कोही अर्काको सरसहयोग र भरथेग भेटेसम्म गुट्मुट्याउने र आफ्नो भने गुहुसम्म सुँघ्न नदिने, यस्ता चिसा मान्छेहरूको मनमुटु विचारव्यवहार सबै चिसो हुने हुनाले अरुलाई भड्खालामा जाक्नु नै यिनीहरूको दिनचर्या हुन्छ । त्यही कारण, उनी भन्छन्, “म ठण्डीका विरुद्ध गीत लेखिरहेको छु । त्यसैले ठण्डी मान्छेका विरुद्ध शब्दका झण्डी उठाउन चाहन्छु । …………………किनकिन यस्ता चिसा मान्छे देख्नासाथ मनभित्र विरक्तिको भाव जाग्ने गर्छ । यो विरक्तिलाई रेचन  गर्न लेख्नुबाहेक अरु कुनै उपाय हुन्न । …………यो मेरो क्याथार्सिस हो, यसले म सन्चो हुने दिशातर्फ उन्मुख हुन्छु ।” अतः सर्दी मान्छेहरूदेखि टाढाटाढा भाग्दै मानवीय  प्रेमको त्यो ज्योतिर्मय न्यानो उज्यालोको दुनियाँमा उनी बस्ति बसाउने चाहना गर्दछन् । यसरी निबन्धकारले यस निबन्धमा मानिसको पाखण्डी स्वरूपलाई नराम्ररी दनक दिन पछाडि परेका छैनन् ।

घट्दै गएका स्वास एकाइहरू” नामक निबन्ध योगशास्त्रकोवैदिक शून्यतामा आधारित व्यवहारिक दर्शनलाई हृदयग्राही ढंगबाट मान्छेको जीवन स्वासहरूको साङ्लीमा उनिएको जीवनमाला रहेको वस्तुतथ्यलाई उठान गरिएको बैचारिक निबन्ध हो । यसमा प्रतिपल जीवनबाट स्वासका एकाइहरू घट्दै जाँदा जीवनलाई सृजनसाधनामा उपयोग गर्न नसकी पीडामा डुब्नु परेको अबस्थालाई कार्कीले वैयक्तिक अभिव्यक्ति दिएका छन् । विज्ञानदेखि लिएर योगशास्त्रसमेतले के कुरा सिद्ध गरेको छ भने हाम्रो जीवनधारा स्वासको एक अखण्ड माला हो । यो माला जुन दिन चुँडिन्छ, त्यही दिन नै हाम्रो इहलीला समाप्त हुन्छु भन्ने शास्वत सत्यको खुलासा गरेका छन् निबन्धकारले । योगशास्त्र अन्तर्गत प्राणायाम, कुण्डलिनी जागरण तथा ध्यान सम्बन्धी कार्कीको निष्णात अभिज्ञान रहेको कुरा उनको यसै निबन्धबाट विदित हुन आउँछ । र यस निबन्धमा अपरोक्षरूपबाट उनले “समय भनेको  जीवन हो, उमेर हो” भन्दै  जटिल रचनात्मक कर्मसाधनामा व्यतित गरिनु पर्छ भनी आम पाठकवर्गलाई आव्हान गर्नु भएको छ ।

निबिड व्यवहारिक दर्शनले परिरचित र परिपूरित “रोजरोज मृत्युदर्शन” शीर्षकीय निबन्धले कार्कीको मृत्यु सम्बन्धी सम्वेदना र अनुभूतिहरूलाई साँच्चै पाठकको मनमस्तिष्कलाई हल्लाउने गरी  विम्बैविम्बको शहरमा प्रविष्ट गराइदिएको छ । रोजरोज मृत्युका दृश्यलाई दर्शन र साक्षात्कार गरेका  निबन्धकारले मृत्यु सबैभन्दा अकाट्य सत्य हुँदाहुँदै पनि मानिसहरू आफ्नो एकाङ्की र एकोहोरो जीवनप्रतिको व्यामोहका कारण र अजम्बरी जीवनको आकाँक्षी बन्दा मृत्युबारे बेखवर छन् भन्ने कुरालाई रिठ्ठो नबिराई कहेका छन् । उनी फेरि के  भन्छन् भने मान्छेले मसानघाटमा जलिरहेका लाशलाई हेरेरआफूभित्र मृत्युबोध गर्न थाले, दुनियाँमा मारकाट, दंगाफसाद, शोषण, लोभ–लालच, इष्र्या, अहङ्कार, जालझेल, भ्रष्टाचार आदिमा निक्कै ह्रास  आउँथ्यो होला । तर आफ्नो सन्निकट उभिएको मृत्युलाई नदेखेरै मान्छे पापकर्ममा निवृत भइराखेका छन् । जुन दिन हामी जीवनको नियुक्ति पत्र लिन्छौं, त्यही दिन मृुत्युको राजीनामापत्रमा पनि ल्याप्चे ठोकेका हुन्छौं भन्ने सार्वभौम यथार्थलाई    निबन्धकारले जीवन्त रूपमा सजाएको छन् । विविध सहयोगी वृत्तान्त (क्गउउयचतष्लन मभतबष्कि) दिएर कार्कीले मृत्यु साम्यवादी मात्र होइन भेदभावविहीन पनि छ भनी आफ्नो सङ्कथनलाई परिपुष्टि पनि गरेका छन् । तसर्थ, जतिसुकै धनसम्पत्ति मान सम्मान, बल वैँश भएपनि मृत्युको दिन खाली हात धर्ती छोड्नुपर्ने भएकोले  बाँचुन्जेल वा सास छउन्जेलसम्म निष्पृह, समवेत भावले सबैसँग मेलमिलाप कायम गर्दै मृत्युलाई पनि जीवनकै कित्तामा सम्मान दिन सकौं  भन्ने उद्घोषका साथ यो निबन्ध टुङ्गिएको छ ।

तार्किक शैलीमा विरचित निबन्ध “गणितीय भाषा र काव्य भाषा” मा गणितीय मानिसको व्यवहार र काव्यिक मानिसको व्यवहार बीच अन्तद्र्वन्द्व देखाउँदै कार्कीले काव्यिक मगजतर्फ आफ्नो झुकाव रहेको कुरालाई नढाँटीकन खुलस्त पारेका छन् ।  यहाँ गणितीय व्यवहार भन्नाले अर्थाेपार्जनको प्रवृत्तिलाई देखाइएको छ भने काव्यिक व्यवहारले मानवतापूर्ण मानविय स्वभावलाई इङ्गित गरेको छ । वास्तवमा यी दुवैको सामाञ्जस्यपूर्ण समन्वयबाट समाज, परिवार र व्यक्तिरुपी रथ विगत देखि अहिले सम्म चल्दै आएको छ । यसरी यी दुई परस्पर विरोधी तत्वहरूलाई निबन्धको मूल कथ्य बनाइएको छ । गणितीय दिमागका मान्छेहरू हरदम नाफा–नोक्सान, सुक्री–बिक्रि, बजारभाउ आदिको हिसाव कितावमा चल्ने र सवै चिजको मूल्यलाई सिक्कामा भजाउँन खोज्ने प्रवृतिकाकारण त्यस्ता मानिसहरू  अघोरै स्वार्थी, मतलवी, अबसरवादी हुन गई समाज निर्दयी र दूषित हुने हुन्छ भने अर्कोतिर काव्यिक मनका मानिसहरू सहृदयी हुन्छन् । तिनले आत्मासँग सम्वाद गर्न खोज्छन् । मायाँ, प्रेम, करुणा, विवेक र समवेदनासँग हातेमालो गर्न खोज्दछन् भनी निबन्ध भावनात्मक बनेको देखिन्छ ।

भावोद्रेकताको झरीले छ्याप्पै भिजेको यो आलङ्कारिक निबन्ध “दालरोटी दिनचर्या र निराकार अस्तित्व” सामाजिक र आर्थिक विसंगतिका गड्तिरै गड्तिर भएर हिँडेको छ । निम्न मध्यम वर्गका कार्कीजीवन जिउँने उपक्रमा साँझ बिहान नै रोजीरोटीको चक्रकुण्डबाट मुक्त हुन नसक्दा चिरन्तन सत्यको  चीरनवीन आकाश स्पर्श गर्नेनूतन सृष्टिद्वारको  पर्दा खोल्ने र अनन्त सृजनको सुरम्य संसारतर्फ अग्रसर भई कण्टकाकीर्ण एवं कष्टपूर्ण जीन्दगी झेलिरहेका ती दीनहिन बन्धबान्धवहरूका अनगिन्ति ओठहरूमा स्मित मुस्कान छर्न अनि उदासउदास नयनहरूमा खुशीको चमक भर्न आफू असफल रहेको नमिठो पीडालाई पोखेका छन् ।  मानिसको जीवन ब्रेडमात्र नभएर ब्रेन पनि हो । तर, बे्रडको समस्यारुपी पहाडले किचिनु पर्दा उनको ब्रेन विल्कुल बेहाल, विचल्ली र वर्वाद अबस्थाबाट गुज्रिनु परेको छ । र त, उनी भन्छन् – “म भने परिवारको दालरोटीमा दिनलाई दुहिरहेको छु ।  रातलाई पगारिरहेको छु ।”

यो वैचारिक अपितु वैयक्तिक निबन्ध “आफ्नो स्वभाव”मा निबन्धकारले आफ्नो नवीन विचार र दृष्टिकोण प्रस्तुत गर्ने सन्दर्भमा मानव स्वभावका दुई पाटाहरू  एउटा स्वभाव र अर्काे परभावलाई प्रकाशमा ल्याएका छन् । स्वभाव  भनेको  मान्छे  आफ्नै भाव र गुणद्वारा संचालित हुनु हो तथा आफू स्वयम् हुनुको भाव स्वभाव हो भने परभाव भन्नाले अरुको विजातीय भाव ग्रहण गर्नु र आफ्नो स्वसत्ता अर्थात स्वभावलाई चटक्कै परित्याग गर्नु भन्ने  बुझिन्छ जसमा अरुको लहैलहैमा लागेर विजातीय मनुष्य बन्ने चेष्टा हुन्छ, जसमा अरुका स्वभावका अंशहरू हुन्छन् । त्यसमामौलिकता हुन्न । त्यसमा स्वधर्म हुन्न । तर प्रकृतिको व्यवस्थाअनुसार सबै वस्तुको  आफ्नो खासखास स्वभाव, गुण, लक्षण, चरित्र र धर्म हुने हुँदा सवैको आ–आफ्नो पृथक पहिचान र अस्तित्व हुन्छ ।  बाँस रोपेर काँस उम्रन्न, चमेली फूल रोपेर गुलाफ उम्रन्न । उनमा आफ्नै स्वभावलाई परिपूर्ण भावले स्वीकार गरेर बाँच्ने  चाहना छ र अरुको स्वभावमा हिँड्ने किमार्थ रहर छैन । बरु  उनी आफ्नो स्वभावलाई शक्तिशाली बनाउन चाहन्छन् । साथसाथै हरेक गुरुहरूले आफ्ना शिष्यहरूको निजत्व मारेर आफ्नो गुण र स्वभाव थुपार्ने होइन । कलिला दिमागमा स्वअस्मिताको ढोका उघार्न वाधा हाल्ने र परअस्मिताका पाठ पढाउने होइन बरु उनीहरूले  विद्यार्थीहरूलाई आफ्नो आफ्नो स्वभाव चिन्न मद्दत गरी जीवन सिकाऊन् र जीवनको बाटो देखाऊन् भन्ने सविनय कामना गरेका छन्  यस निबन्धमा कार्कीले । यो निबन्ध जुन भनाइबाट आरम्भ  भयो लगभग उही आशयमा  अन्त्य पनि भएकोले वर्तुलकारको निबन्ध अन्तर्गत पर्दछ ।

हल्का हास्यरससिक्त भावको सामाजिक निबन्ध “ढोंगका हाटहरू”ले व्यंग्यार्थमा पाइला टेक्दै मानवको पाखण्डी स्वरूपमाथि निमर्म धावा बोलेको छ जहाँ निबन्धकारकाआत्मिक अनुभूतिहरू सजीव भएर आएका छन् । निश्छल निष्कपट जन्मेको बालक युवा हुँदै प्रौढावस्थामा पुग्दा ऊ असली मानव नरहेर दुई जिब्रे, ढोंगी, पाखण्डी र  आडम्बरी हुन पुग्दछ । आजका मान्छेहरू ढोँग पालेर बसेका छन् । उनीहरूको एउटा बोल्छन् र अर्काे गर्छन् ।  मनमा एकथोक मुखमा अर्काे थोक बोलेर बाँचेका हुन्छन् । समाजमा थरिथरिका ढोँगहरूको सर्वव्यापकताको कारण त्यसको प्रभावबाट निबन्धकार पनि अछुतो नरहेको सत्यतालाई बडा इमान्दारिताका साथ उनले व्यक्त गरेका छन् । हामी कोही पनि ढोँगमुक्त छैनौं । पाखण्डका पर्खालहरू हरेकका अन्तर्गर्भमा ठडिएका हुन्छन् । फरक मात्राको मात्रै हो । यसरी, दोहोरो जीवन चरित्रका कुरूप झाँकीहरू समाजमा विद्यमान रहुन्जेलसम्म बास्तविक परिवर्तनको गुन्जायस नरहने  कुरातर्फ कार्कीले अंगुली निर्देश गरेका छन् ।

भाग्यवादको कालो जहर” निबन्धले प्रगतिवादी विचारधारालाई अँगालो मार्दै हाम्रो भाग्यवादी सोच र चिन्तन नै हाम्रो दुर्दान्त पछौटेपनको मूल कारक तत्व हो भन्ने संगीन यथार्थलाई उजागर गरेको छ । भाग्यवादलाई चिन्ने सरल सूत्रकथनको रूपमा कार्की कर्ममा सक्रिय हुनुभन्दा भाग्यमा बढि विश्वास गर्नु र पसिनावादी, श्रमवादी बन्नु भन्दा आलस्यवीर र अकर्मण्यवीर हुनुलाई दैवीय सहाराको प्रतिक्षालाई अगाडि सार्दछन् । उनको आशय रहेको छ, मानिस आफ्नो जीवनको निर्माता अरु कोही नभएर ऊस्वयं हो । आफ्नो जीवन बनाउने बिगार्ने उसकै हातमा छ, अन्य कुनै बाह्य शक्तिमा निहित छैन ।  न त भाग्य र प्रारब्धमै छ । तर धर्मका ठेकेदारहरूले, पण्डित र पुरोहितहरूले, शासकहरूले लोकचेतना र लोक बुद्धिको भाँडोमा बिर्काे लगाउन भाग्यवादको  भ्रमरुपी कलविष विगत हजारौँ हजार वर्षदेखि सुँघाएर हामीलाई अर्धमृत तुल्याएका छन् । सबैसबैै नियति, घट्ना परिघटनाको कारक तत्व भाग्यको थाप्लोमा सुम्पिनु भाग्यवादको मूल हेतु हो । तसर्थ, भाग्यवादको नशालु जहरलाई नष्ट गरेर मात्र जाग्रत विचार, जाग्रत चेतना र जाग्रत भावले ओतप्रोत आत्मवान् बैज्ञानिक मनुष्यमा रुपान्तरण हुन सक्नेछौँ र समाजलाई नर्ककुण्डबाट माथि उठाउन सक्नेछौँ भन्ने  सत्यलाई वैचारिक रूपमा रेखाङ्कन गरेको छ यस दार्शनिक निबन्धले ।

कल्पना, भावना र अनुभूतिको बेजोड त्रिवेणी स्थल हो निबन्ध “असीमताको अनुभूति”जसले स्वच्छन्दताको परिधिबाट सृजनकर्मको शिखरतर्फ नजर दौडाएको छ । आँखाको पलक खोल्दादृश्य जगत् र नखोल्दा अदृष्य जगत् छ ।  दृश्यबाट अदृश्य जगत्मा हेलिँदा पनि असीमताको अनुभूति हुने र अदृश्यबाट दृश्यमा आउँदापनि असीमताकैअनुभूति हुने । स्रष्टामनहरूमा संवेदना मार्फत् असीमताको संसार चियाउँदा रूपमा अरूपकोर फेरि अरूपमा पनि रूपको झल्को देख्ने अन्तर्निहित सामथ्र्य भएको हुँदा स्रष्टाहरूलाई बारवन्देज र सीमाहरू अस्वीकार्य हुन्छन्, उनीहरू हर सीमाका सङ्कुचनहरू तोड्न चाहन्छन् । सिर्जनाको अपार संसारमा पस्ने उनीहरूका निर्वन्ध भावनाहरू, स्वतन्त्र उद्याम आवेगहरू र उत्कृट चाहनाहरू हुन्छन् जुन कहिल्यै पनि, कुनै पनि किसिमको छेकबार र  बन्धनमा कुँजिन चाहँदैनन् । स्रष्टाहरू अनुभूतिको आन्तरिक सम्पदाबाट नयाँनयाँ सिर्जनाहरू निर्माण गर्दछन् । स्रष्टा कल्पनाको असीम आकाशमा कावा खान चाहन्छन् त्यसैले उ स्वच्छन्दताको  गायक, बध्द जीवनको विपरित मुक्त जीवनको नायक र अगम्य अनुभूतिको लायक हो भनी कार्कीले मननीय शब्दहारी तयार गरेका छन्  यस रुमानी काव्यिक निबन्धमा ।

समय रेखाको अनन्त महिमा छ,सोही भावधाराको निकटताबाट गुज्रिएको अभिव्यक्तिको भाव र आशयलाई प्रबोधन, स्पर्शन र मनन् गर्न सामान्य पाठकको लागि हम्मे हम्मे पर्ने वैयक्तिक निबन्ध हो –“समय अमृत” । संसारका तमाम् वस्तुहरू नाशवान् छन्, मरणशील छन्  र तिनीहरूको आयू निश्चित छ, तर समयमात्र यस्तो चीज छ जसको कहिल्यै न मृत्यु हुन्छ  न त विभाज्य छ । यो त सतत अखण्ड छ, अनन्त छ, असीम छ । जीवन अतितको स्मृति वा भविष्यत्को हवाइ कल्पनामा अल्झिनु भन्दा वर्तमानमा रम्नु डुब्नु श्रेयष्कर छ र सुखकर हुन्छ कारण वर्तमान भनेको जीवनको यथार्थ हो । जीवनको सर्वाधिक प्रभुत्वशाली समय वर्तमानको क्षण मात्र हो । यसर्थ, आजलाई बढि भोग्ने भरपुर रूपमा बाँच्ने र फलदायी बनाउने दिशातर्फ अभिमुख हुुनुपर्छ भनी पुण्य कार्की आफू समयरुपी अमृतलाई मदहोश बनी निर्निमेष पिइरहेको कुराको खुलासा गर्छन् यस निबन्ध मार्फत् ।

रातको गरिमा र महिमाको भावविम्बहरूको बनोट–बुनौटसाथ बखान गरिएको “रातको सुन्दरता” निबन्धमा कार्की के अभिव्यक्ति दिन्छन भने – दिन श्रम हो भने रात विश्राम हो दिन दुःख हो भने रात सुख, दिन तनाव हो भने रात मलम हो भनेर समयको सूक्ष्म विभाजन गरी रातको पक्षमा उभिएका छन् किनभने दिनभरि श्रममा डुब्नेहरू, पसिनामा नुहाउनेहरू र दौडधुप गर्नेहरू रातको सन्नाटापूर्ण, निराकार काखमा निमग्न निदाउँछन् । रातको  गर्भमा श्रमिक मजदुर देखि महान सर्जक र महान क्रान्तिका नाइकेहरूले यही रातको विश्व सन्नाटामा सक्रिय रही आफ्ना भावी योजनाहरू बुनेका छन्। आफू, समाज र देशलाई सफलताको मञ्जिलमा पुर्याएका छन् । यस हिसावले रात हाम्रो आशाको जननी पनि हो र रात हाम्रो जीवनको ढुकढुकी पनि हो भन्ने सत्यको व्यञ्जनात्मक नैबन्धिकरण गरिएको छ यस वैचारिक निबन्धमा ।

सृजनात्मक नशा र व्याकुलताबाट निःसृत सृजनयोगको अपूर्व करामतलाई अभिरेखाङ्कन गरिएको विचारात्मक निबन्ध हो –“सृजनयोग” । सच्चा स्रष्टाहरूका लागि सृजनयोगको समाधि लागेको घडी भन्दा आनन्दिलो, रमाइलो र सुखद भाव अन्य कुनै काममा हुँदैन ।  यस्तो सृजनयोगको समाधिमा सर्जकले आफूलाई नामेट पारेर सिर्जनामा मात्र लीन हुन्छ । यो अबस्था ध्यानयोग सरह नै  हुने गर्दछ । प्रकृतिमा बोटविरुवा, चराचुरुङ्गी, पशुप्राणीहरूले निश्चित निश्चित ऋतु र यामहरूमा प्रजनन क्रियामार्फत् आफ्नो सृजनगत ऊर्वरता देखाउँछन् । यसैगरी स्रष्टाको सृजनकर्म पनि सधैँएकनास हुँदैन । दिनमा चौवीसै घण्टा ऊसर्जक भएर  बाँच्न सक्तैन । यसका निम्ति पनि एउटा खास समय पलको आगमन हुनु आवश्यक छ । अनिमात्र सिर्जनकुण्डमा हामफाली कालजयी रचनाहरू दिन सक्तछ उसले । यस कथ्यको परिपुष्टि निबन्धकारले महाकवि देवकोटा, रविन्द्रनाथ ठाकुर, मिल्टन, अर्नेस्ट हेमिङ्ग्बे  जस्ता साहित्यिक महारथिहरूको दृष्टान्त मार्फत् गरेका छन् ।

शब्दशैयाको बौछार भएको, दिमागले भन्दा दिलले, मस्तिष्कले भन्दा मुटुले अर्थ ग्रहण गर्नुपर्ने अध्यात्म दर्शनयुक्त निबन्ध “सृष्टि एक सुन्दर महाकाव्य” मा पुण्य कार्कीले संसार सृष्टिको विधानप्रति आश्चर्य व्यक्त गर्दै उनी सृष्टिको अन्तरकुन्तर, फाँट, पहाड, सूर्य, झरना, रुख, जीव सबैमा जताजतै काव्य नै काव्य छरिएको पाउँछन् । काव्य नै काव्य छताछुल्ल पोखिएको देख्छन् । एक पूर्ण र विराटसृष्टि महाकाव्य सामुन्नेमा कवि स्रष्टाहरूले तयार गरेका काव्य रचनाहरू खल्ला, मधुरा र चमकहीन हुन्छन् किनकी मानव कलाकृतिहरू प्रकृतिको अनुकरण मात्रै हो नक्कल मात्रै हो र प्रतिलिपी मात्रै हो । साँचो कृति प्रकृति नै हो । साँचो बिम्ब प्रकृति नै हो । सृजनामार्फत् पोखिने वा प्रकाशित हुने कला बाह्य गौणकला हो, मूल कलाको छायाँ मात्र हो जुन अपुरो र अधुरो हुन्छ । मूल कलालाई भित्रबाट मानसिक रूपले अनुभूत गर्न सकिन्छ । हार्दिक रूपमा रसास्वादन गर्न सकिन्छ किन्तुयसको परिपूर्ण वर्णन सम्भव हुन्न । तापनि निबन्धकार यो विराट सृष्टि महाकाव्यलाई नित्य नवीन लयमा पढ्दै परमानन्दको सत्ता प्राप्त गर्ने दिशामा उन्मुख रहेका छन् ।

आगमनात्मक शैली अबलम्बन गरिएको यो सामाजिक निबन्ध “अन्तरमा अगतिशील चिन्तन” ले हाम्रो समाजमा दोहोरो चरित्र बोक्ने पात्रहरूको छायाँचित्रको उद्घाटन गरेको छ । हाम्रो समाजका पत्रकार, जनवादी नेता, प्रजातान्त्रिक नेताहरू, महिला नेतृहरू सबकासब सामाजिक अन्धविश्वास, कुरीति, कुसंस्कृति, रुढिवादी प्रथा, जडसंस्कृति आदिले रगतमै जरा गाडेको हुँदा उनीहरूले बाहिर बाहिर जतिसुकै आदर्शका राम्रा राम्रा कुराहरू फलाके पनि घरपरिवारको परिवेशमा भने बाउबाजे हिँडेको उही पुरानो मार्गमै हिँडेका हुन्छन् । यसरी बाहिरबाहिर प्रगतिशील भित्रभित्र अगतिशील द्वैध चरित्र बोकेका पात्रपात्रीहरू बाहिर एकथोक बोल्छन् भित्र गर्छन् अर्को थोक । बाहिर एक थोकछ ः भित्र अर्कै थोक छ । यस्तो दोहोरो जीवनशैली अपनाउनेहरू हाम्रो समाजको  संपूर्ण क्षेत्रमा छ्यापछ्याप्ती छन् । यिनीहरूले जतिसुकै रुढिवादी चिन्तनका विरुद्ध वैज्ञानिक विचार र परिवर्तनको कुरो गरेपनि व्यवहारमा उतार्न सक्रिय छैनन् । यसर्थ, समाजको हरेक पक्षमा कामगर्ने अगुवाहरूले, कथित प्रबुद्ध महोदयहरूले अन्तरभित्रको अगतिशील चिन्तनविरुद्ध आत्मसमीक्षा र आत्मरुपान्तरण, आत्मक्रान्ति र मनोक्रान्तिको उद्घोष गर्नु जरुरी छ भनी आत्मचिन्तन प्रकट गर्दछन् कार्की ।

फ्रायड र कार्ल युङको मनोवैज्ञानिक सिद्धान्तको सिँढी चढेर  मानव मनको विश्लेषण गरिएको सूचना प्रदान वस्तुपरक निबन्ध हो “आदिम मन” जुन निगमनात्मक शैलीमा आरुढ छ । मान्छेले मान्छेको  संगत गरेको पाँचहजार वर्ष पनि भएको छैन । त्यो भन्दा अगाडिको हजारौँ लाखौँ वर्ष जंगली युगको घोर अन्धकार भोगेर आएको छ । यस क्रममा त्यो आदिम मानवले भालुसँग सुत्यो होला, चितुवासँग खेल्यो होला, बाँदरसँग दगुर्यो होला, बँदेलसँग जुध्यो होला । फलतः  यी पशुगणको संगतले आदिम मान्छेको मनमा पशुवृत्ति, पशुस्वभाव र पशुअभिलाषाहरूले नराम्ररी गाँज्यो । र, यी स्वभाव जनावरबाट पितापुर्खामा, पितापुर्खाबाट हामीमा सर्दै आयो । हरेक मान्छेको अन्तस्थलमा एउटा आदिम मनले बास गरेको हुँदा अहिले जतिसुकै हामी शिक्षित, दिक्षित, प्रशिक्षित र सभ्य भएपनि, नीति नियम, धर्म, सामाजिक मूल्य मान्यता अबलम्बन गरेपनि यो कैद हुँदैन र बरु अधिकांश समय बेलगाम हुन खोज्छ । त्यसकारण, आम मान्छेहरूलाई नै घरि न घरि मनभित्रको पशु जानवरी गुणले दुःख दिने गर्छ । हामी जतिसुकै चेतन मनबाट निर्देशित भएर चल्न खोजेपनि त्यो विभत्स, कुरूप र पाशविकतायुक्त आदिम अचेतन मनले हामीलाई पशुतातर्फ धकेलिराखेको हुन्छ । यसबाट हामी त्यति सजिलै गरी मुक्त हुन सक्दैनौँ भन्ने निबन्धकारको मूल भनाइरहेको छ ।

विचारात्मकता र दार्शनिकताको परिधिभित्र रहेर मानिसदेखि पशुपंक्षीगणसम्म अन्तर्निहित भित्री लयको विषयवस्तुलाई सशक्त निबन्धन गरिएको निबन्ध हो–“भित्री लय” । यसमा प्राणीको अन्तरिक तलमा स्वभाव, स्वर, श्रद्धा, सोचाइ, सिद्धान्त, बानीबेहोरा, प्रवृत्ति, चित्तवृत्ति, ताल, तुक, गति, यति मिलेपछि एकएकवटा वृत्त, सङ्गत एकमुष्ट रूपमा निर्माण हुन्छ जसलाई निबन्धकारले भित्री लय भनी नामकरण गरेका छन् ।  हृदयको भित्री केन्द्रमा यो अबस्थित हुन्छ ।  मान्छेको मित्रता र सङ्गत निर्धारणमा यही भित्री लयको ठूलो हात हुन्छ । यही लयको समस्वरताले नै मान्छेका मनहरू एकापसमा मिल्छन् । जोसँग लय मिल्दैन, त्योसँग मन मिल्दैन, कुरा मिल्दैन, व्यवहार मिल्दैन ।  निकट सान्निध्यता कायम हुँदैन । दुई व्यक्तिवीच लय मिल्नेवित्तिकै असहजपनहरू हराउँछन्, औपचारिकता आफैं भत्किन्छ, हृदयका सबै ढोकाहरू खुल्छन् र  कृत्रिमता हराएर प्राकृतिक हृदय बोल्छ । पशु जगत्मा पनि भित्रि लयको करामत स्वरूप हरेक प्राणी आफ्नो आफ्नो जात मिल्ने सजातीय झुन्डमा मिसिन्छन् ।  निबन्धकार पनि आफ्नो भित्री लय मिल्ने व्यक्तिको खोजीमा रहेको कुरा सुनाउँदछन् पाठकवर्गलाई ।

चक्रात्मक शैलमिा उनिएको चिन्तनशीलता प्रधान निबन्ध हो –“गुनासोजीवीका गनगनहरू” । यस निबन्धमा निबन्धकारले समाजमा त्यस्ता व्यक्तिहरू पनि झेला पारेका छन् जो सधैँ गुनासोमा जिन्दगी बिताइरहेछन् : जेमा पनि असन्तोषको भाव, जेमा पनि अस्वीकारको भाव, जेमा पनि शिकायत, जेमा पनि आपत्ति, जहिले पनि कचकच र गनगन ।  हरेक कुरामा नकारैनकारले भाव आरोपित गरेर गुनासो पोख्छन् । निबन्धकारलाई के लाग्छ भने जुन गुनासोको उपचार छैन, त्यस चीजमा गुनासो गरिरहनुको कुनै अर्थ छैन, हाम्रो काबु बाहिर रहेको प्रकृतिको व्यवस्थाप्रति अपार दुर्भाव र दुश्चिन्ता राखेर सुखद जीवनको परिकल्पना गर्नु व्यर्थ छ । यस्ता गुनासोजीवीहरू हरदम गुनासोमा बाँच्न मन पराउँछन् । पुन्य कार्की प्रकृतिमा निसर्ग स्वीकार भावको जीवन देख्दछन् ।  प्रकृतिमा कुनैपनि चीजले गुनासो गर्दैनन् । यिनै स्वीकारका अबयवहरूले निबन्धकारलाई अस्वीकार भाव परित्याग गर्न मद्दत गर्छन् । उनी शिकायत र गुनासोरहित जीवन बाँच्न चाहन्छन् र हरेक स्थितिलाई स्वीकार भावको साथ ग्रहण गर्न खोज्दछन् ।

यथार्थ र कल्पनाको दोसाँधमा टेक्दै, दिलदिमागलाई तरलीकृत झंक्रित तुल्याउने, भाषण कलाले विट मारिएको सुन्दर सघन सरितामय अनुभूतिको आवेगले प्रवाहित बेजोड नियात्रा हो –“अस्तित्वका रङहरू” । जहाँ अर्काे देवकोटाले अबतरण गरेको आभास हुन्छ । निबन्धकार प्रायः जसो शैलानी बन्न, यायावर हुन रुचाउँछन् र यात्रामा निस्कने गर्छन् । यात्रामा उनी प्राकृतिक दृश्यावलोकनमा डुब्छन्, जगत्को विराट आयोजनालाई हेर्ने गर्छन् र मान्छे जादू भएर गरेको सृजन पुनर्सृजनका अनुपम बान्कीहरू नियाल्दछन् । प्रकृति र संस्कृतिको आधारमा नेपाल र भारतवीच उल्लेख्य साम्यता रहेको कुरालाई पुण्य कार्कीले सशक्त ढंगले उठाएका छन् यस नियात्रात्मक निबन्धमा । विशाल भारतको भ्रमण गर्दा ताका त्यहाँका ग्रामीण बस्तीहरूको घर लिपाइ, त्यहाँको संस्कृति, गाउँठाउँका नामहरू, ग्रामीण गरिबीमा एकैखालको साम्यता पाएका छन् नेपालको जस्तै ।  यसरी अस्तित्वका जीवन र परिवेशका सार्वभौम साम्यताहरूलाई देख्दा आदिमकालमा मानव जाति एउटै बंशकुलबाट चारै तर्फ छरिएको कुराको सप्रमाण पुष्टि हुन्छ । यतिमात्र नभएर, दुःखको प्रकृति संसारभरि एउटै रहेको छ । अस्तित्वमा रहेका जीवन र जगत्को बहुविध भावभङ्गिमा र रङको दृश्यपान गर्न नियात्राकार यात्रामा अविराम हामफालिराखेका हुन्छन् ।

भाषाशैली

जहाँसम्म भाषाशैलीको कुरो छ, निबन्धकार पुण्य कार्कीमा भाषासँग खेल्न सक्ने र भाषालाई खेलाउन सक्ने सीप–सामथ्र्य अमोघ रूपमा रहेको छ । यही भाषागत प्रस्तुतिमा भएको कुशलताका कारण पनि उनको निबन्ध लेखन परिष्कृत एवम् स्तरीय रहेको छ । शैलीमा परिष्कारवादी र स्वच्दन्दन्तावादी शैलीको  अपूर्व सुयोग पाइन्छ ।

उनका निबन्धगत अभिव्यक्तिमा अनुभूति वा विचारको  लहर सहज र स्वाभाविक रूपमा छहरा छङ्छङ्गाए झैँ भाषिक प्रवाहमा गतिशील रहेका छन् । तत्सम शब्दहरूको मनग्गे प्रयोग गरेर पनि पाठकको हृदयमा पुग्न सक्ने पुण्य कार्कीले पर्यायवाची शब्दहरूका साथै वैकल्पिक पदावली र वाक्यहरूको प्रचुर प्रयोग गरेका छन् । उनले नैबन्धिक अभिव्यक्तिको क्रममा उपयुक्त अबसर आउने वित्तिकै जीवनमा छरिएर रहेका आहान, कहावत, लोकोक्ति, उखान, टुक्काहरू मिलाएर प्रयोग–उपयोग  गरेका छन् । उनको यस निबन्ध संग्रहमा अग्रभूमिकरणको  सुवास  यत्रतत्र फिँजिएको दृष्टिगोचर हुन्छ । उनले प्रयोग गरेका अनेक वाक्यहरूमा सूक्तिमय सार सञ्चित रहेको  अबस्था छ । तिनमा उनको अनुभव र ज्ञानको सार बोलेका छन् । तिनमा भाषा, साहित्य, सँस्कृति, धर्म, समाज, इतिहास, राजनीति आदिसँग सम्बन्धित विभिन्न प्रसंगहरू भेटिन्छन् । तिनले समाजलाई मार्गदर्शन गर्ने र असल बाटोतिर डोर्याउने संभावना प्रबल देखिन्छ । अलङ्कारको माध्यमबाट अभिव्यक्तिलाई बेजोड रूपमा प्रस्तुत गर्ने कुरामा पुण्य कार्की सचेत छन् । उनले  अनुप्रासका माध्यमबाट शब्दालंकारलाई नचाँएका छन् र अर्थालंकारलाई पनि कम खेलाएका छैनन् । तत्सम, तद्भव र आगन्तुक – तीनवटै स्रोतका शब्दहरूले पुण्य कार्कीका निबन्धहरूमा परेड खेलिरहेका हुन्छन् । उनका निबन्धहरूमा तत्सम शब्दहरूको व्यापक प्रयोग भएको छ तर पनि अर्थ प्रवोधनको दृष्टिले खासै समस्या उत्पन्न भएको अनुभव हुँदैन । आगन्तुक शब्दहरू, खासगरी अंग्रेजी स्रोतका र उर्दु–हिन्दी स्रोतका शब्दहरू कोडमिश्रणको क्रममा ठूलै संख्यामा प्रयोगमा आएका छन् ।

पुण्य कार्कीले नेपाली भाषाका मौलिक विशेषतालाई विशेष महत्त्व दिंदै र अन्य भाषाबाट पनि आगन्तुक तत्वलाई आफ्नो भाषमा ग्रहण गर्दै नेपाली भाषामा हरियालीको नवीनतम तह उमारेका छन् । यी निबन्धहरूमा उनले आफ्नो खास भाषिक निजीपना खडा गरेका छन् जुन उनको भाषिक बैशिष्ट्य पनि हो ।  निःसन्देह उनी शब्द र वाक्यका कुशल राजमिस्त्री हुन् । शब्दक्रिडाका मेसी र म्याराडोना हुन् ।

निबन्धकार कार्कीका “ रातको सुन्दरता”का चालीस निबन्धहरूबाट चालीसै निबन्धसार मार्फत् उनको निबन्धकारिताको समीक्षात्मक परिचय प्रस्तुत गर्ने क्रममा प्राप्त विशेषताहरू पर्गेल्न सकिन्छ । उक्त निबन्धहरूको अध्ययनबाट निबन्धकार कार्कीले जीवन, आशा र सत्यको पक्षमा उभिएर जीवनप्रतिको अगाध मोह देखाउनुका अतिरिक्त सामान्य जस्ता प्रतिति हुने विषयलाई चिन्तनको गहिराइमा डुब्दै त्यसलाई जीवन दर्शनको स्तरमा उकासी असाधारण बनाउन सक्ने लोभलाग्दो सृजन क्षमता प्रदर्शन गरेका छन् । यहाँ उनी जीवन , समय र समाजको भोक्ता र प्रयोक्ता दुबै  हुन् । यस निबन्ध सञ्चयनमा कार्कीले कुनै ठाउँमा आख्यान तत्व घुसाएर, कुनै ठाउँमा काव्यांश घोलेर, कहिले संगीत तत्व भरेर त कतैकतै समालोचना छिराएर अव्वल दर्जाका निबन्धहरू सृजन गरेका छन् । यी निबन्धहरू मार्फत् प्रवीण पोख्त अक्षरधामको अपूर्व कलाकारिता  पाठकसामु मञ्चन गरेका छन् ।

पुण्य कार्कीका निबन्धहरूमा कुनै विषयवस्तुको वस्तुगत स्वरूपलाई कमै महत्त्व दिई त्यस विषयप्रति आफ्नो अन्तर्रात्माको अनुभूति र कल्पनात्मक प्रस्तुतिमा बढि महत्त्व दिने हुनाले निबन्धमा कार्कीको व्यक्तित्व र चेतनाको छाप परैबाट देखिन्छ । आन्तरिक दृष्टिविन्दुको आत्मकथन ढाँचामा लेखिएका निबन्धहरूमा प्रायः गद्यकविता झैँ लाग्ने काव्यात्मकता उनको भाषाशैलीगत पहिचान हो ।  उनी प्रगतिवादी ययार्थवादी भए तापनि स्वच्छन्दतावाद र यथार्थवादको पनि डिलैडिल भएर हिँडेका छन् उनका निबन्धका अनेकन भोटे घोडाहरू । उनले आफ्नो फराकिलो सामान्य ज्ञानको भण्डारलाई भरपुर सदुपयोग गर्दै अनुभूतिमूलक आवेगका तरङ्गलाई शब्दविम्वका माध्यमबाट निबन्धकार मनका कुरालाई पाठक–मनसम्म पुर्याई पाठकसँग अन्तरसम्वाद गर्न सिपालु र सफल देखिएका छन् । यस निबन्ध सँगालोभित्र उनी कुनैमा चिन्तक विचारक, कुनैमा मनोरञ्जक र हाँस्ययुक्त, कुनैमा भावुक कवि त कुनैमा समालोचक जस्ता विभिन्न भूमिकामा उपस्थित भएका छन् । विषयका गम्भीरतातिर प्रवेश गर्दा कहिलेकाहीँ बहकिएर विषयान्तर भई झँल्यास्स भएर पुनः विषयतिरै फर्किने स्वभाव यदाकदा उनका निबन्ध पढ्दा ज्ञात हुन्छ ।

समवेत निस्कर्षको रूपमा पुण्य कार्कीले “रातको सुन्दरता” निबन्ध संग्रहमा आफ्नो  अनुभूतिजन्य भोगाइ अन्तर्गत आफू बसे बाँचेको नेपाली समाजको समकालीन सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक कुरूपता र विदु्रपताका झाँकीहरू मात्र देखाएका छैनन्, मानवीय स्वत्व, मूल्य र आदर्शको  चिन्तना पनि गरेका छन् । प्रकृति प्रेम, सृजनामाथि अपूर्व श्रद्धा र लगन, नेपाली पतनोन्मुख मानसिकताको चिरफार, उदान्त भविष्य चेत, नेपाली प्रकृति र संस्कृतिको यथाचित्रण आदिलाई स्वच्छन्दतावादी यथार्थवाद र सामाजिक यथार्थवादको लेन्सबाट विशद पर्यवेक्षण गरी अभिव्यञ्जना  गरेका छन् निबन्धकारले काव्यात्मक शैलीको प्रयोगबाट ।

यी विविध निबन्धात्मक तरुलतिका मार्फत् पुण्य कार्कीले नेपाली  प्राकृतिक वातावरणमा आएको ह्रास, हाम्रो समाजका मानिसहरूका  स्वभाव, व्यवहार र राजनीतिमा देखिएको बेइमानीपूर्ण समस्याको चित्र खिच्दै तत् तत् पक्षमा सुधारको अपेक्षा गरेका छन् । उनका यी निबन्धहरूमध्ये कतै बुद्धितत्व बढि हावी आएका छन् भने अधिकाँशमा हृदय अर्पण गरेर लेखिएका छन् । याने कि यी दुवै खाले आत्मपरक वस्तुपरक निबन्धहरूमा पुण्य कार्कीले विषय, विचार वा तीब्र अनुभूति र संवेदना पनि घोलेका छन् । जसको  कारण उनका निबन्धहरू अत्यन्त सशक्तहृदयाकर्षक र विवेकग्राही बनेका छन् ।

पुण्य कार्कीले आफ्ना अधिकांश निबन्धहरूमा प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरेका छन् भने तृतीय पुरुष दृष्टिविन्दु “गणितीय भाषा र काव्य भाषा”, “भाग्यवादको कालो जहर”, “छायाँ एक भ्रमबोध”, “जीवन व्यवस्थापनको कला” आदि जस्ता निबन्धहरूमा प्रयुक्त भएको पाइन्छ ।

उपसंहार

पुण्य कार्कीको नैबन्धिक लेखनगत उत्कृष्टता र प्रखरताको बाबजूद केही दूर्वलताहरू पनि रहेका पाइन्छन् । उनको निबन्धमा नवीनतम प्रयोगले बास गरेको  पाइँदैन । त्यहाँ नव प्रविधिले ल्याएको देश देशान्तरमा छक्क लाग्दो, आँखै तिर्मिराउने परिवर्तित समाज र यसमा बाँचिरहेका मानवका विविध खाले लोभलाग्दा साथै कहाली र चिच्याहट लाग्दो सन्त्रस्त जीवन, किनारीकृत सबाल्टर्न आवाज, महानगरीय जीवनको सकस र दारुण्यता, विश्व आप्रवासीहरूको सपनामा परेको तुषारापात, अन्तर्देशीय मानव ओसरपसार र बेचविखान, भूमण्डलीकरणले सिर्जेको परिवेश आदिजस्ता विषयवस्तुहरूको सशक्त चित्रण उनका निबन्धमा आउनुपर्यो, नयाँनयाँ टेक्निक र प्रस्तुति कलाहरूको पदचाप पर्नुपर्यो उनका निबन्धको बरन्डामा । साइवर सँस्कृतिले ढाकेको युगिन समयको दस्तक सुनिनु पर्यो उनको निबन्धकारीतामा । नारीवादी लेखन, जातीय–जनजातीय लेखन, औपनिवेशिक कालले छेलिएका नयाँ चेतनाहरू, पशुप्राणीको अधिकार, प्रकृति र वनस्पतिको जीवन आदिजस्ता विषयहरू कार्कीको अबको  लेखनमा आउनु पर्यो । हैन भने, श्यामप्रसाद शर्मा र लक्ष्मीप्रसाद देवकोटाको शैली पच्छ्याएर लेखिने सहित्यिक कृतिहरू अबका प्रबुद्ध, विद्वत, पाठकहरूको रुचाउने छैनन् । जमाना बदलिएर कहाँबाट कहाँ पुगिसक्यो । नयाँ मूल्य र मान्यता बुझ्नुपर्दछ । यसरी, स्थिति यस्तोसम्म भइसकेको छ कि हाम्रो र विश्वको लेखनमा अब भाषाको मात्रै, शब्दको मात्रै भेद बाँकी रहन्छ, तर लेखनमा टेक्निक र जीवनलाई हेर्ने दृष्टिकोणमा कुनै फरक हुनेछैन ।

दोस्रो दुर्वलता, कताकता विषयवस्तुको एकरूपताले उनका निबन्धमा पाठकको आँखा ठुङ्ग्न आइपुग्छ र आनन्द प्राप्तिको उद्देश्यमा कोर्रा मार्न पुग्दछ । केही निबन्धहरू गम्भीरबहादुर आपा, दुषित लाजका घुम्टाहरू र प्रतीकमा जीवन बाँच्नेहरूमा उही गम्भीरबहादुर थापाको प्रसंगको वारवार पुनरुक्ति छ । अन्य कतिपय निबन्धहरूमा पनि उस्तैउस्तै  उहीउही भाव र विषय केवल फरक शैली र प्रस्तुतिको जामा भिरेर आएका छन् घरी न घरी । यस दशाले के कुरातर्फ संकेत गर्छ भने  निबन्धकारमा विषयगत विविधतामा चिन्तनको खडेरी परेको हो कि या त ती तत्तत् विषय उनको पेट सब्जेक्ट भएर हो । कुरा बुझ्न सकिँदैन ।