नेपालको जनगणना २०७८ तथ्याङ्क सार्वजनिक भएपछि बजारमा एकखाले मानिस काम नै छोडेर मजाक गर्न हौसिरहेका देखियो । जनगणना २०७८ ले महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ अनि पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ देखाएको छ । यो सङ्ख्यालाई प्रतिशतमा नियाल्ने हो भने ५१.०४ % महिला र ४८.९६% पुरुष रहेको जानकारी हुन्छ । समग्रमा पुरुषभन्दा ६ लाख ९ हजार ८ सय ५८ सङ्ख्या महिला बढी देखिएपछि सार्वजनिक सञ्जालदेखि, सभासमारोहमा समेत भद्दा साथै अति नीच मनोविज्ञानसहितको चर्चा गरेको पढ्न अनि सुन्न थालिएको छ । “अब कसले लाने यो जमात ? एक जना पुरुषको भागमा कति जना महिला पर्ने भए ? मेरो भागमा यति जना उति जना……..” भन्नसम्म बाँकी राखेनन् कतिपय भद्र भलाद्मीहरूले ।

‘हाम्रो वर्गको सङ्ख्या धेर भएछ, अब कसरी बिकौँला त हामी ?’ भनेर एक जना महिलाले पनि गुनासो गरेको देखिएन तर केही मर्दहरू अत्यन्तै मच्चिए, कोकोहोलो नै वमन गरे । उनीहरूको बान्ता देख्दा यस्तो लाग्थ्यो कि ती सबै आमाको कोखबाट जन्मिएका होइनन्, सिधै आकाशबाट खसेका हुन् । नत्र भने आफ्नै जन्मदिने आमा समुदायको विषयमा यतिसम्म गिरेर भद्दा मजाक गर्न कसरी सक्छ एउटा सन्तानले । एउटाले सामाजिक सञ्जालमा यस्तै पोस्ट गर्ने अनि हजारौँको सङ्ख्याले कमेन्टमा तँछाडमछाड गर्दै रत्यौलीको भाषामा उपद्रो ओकलिरहेको देखियो । लाग्थ्यो कि दोबाटामा फालिएको सामान जसले जसरी जति कुम्ल्याउँदा नि छुट छ, जता कुल्चिए पनि छुट छ । समाजमा कतिपय गण्यमान्य नामका खास्टो पहिरिएकाहरूबाट नै यस्ता अभिव्यक्ति व्यक्त हुनुले मान्छेको द्वैध चरित्र पनि चित्रण भयो सायद पात्र स्वयंलाई पत्तो भयो कि भएन उही जानोस् ।

ती अभिव्यक्ति पढ्दै गर्दा लाग्थ्यो कि अहिलेको युगमा पनि महिला भनेका खेलौना हुन् या डमी हुन् जो जसले जसरी जता फर्काए नि थपक्क फर्किन्छन् । के यस्तै सोच्छन् अझै यी केही मर्दहरू ? महिलाभन्दा पुरुषको सङ्ख्या कम हुनुको कारण अध्ययन अनुसन्धानको तथ्याङ्क नहेरी, नखोतली सतही कुरामा किन हतारो गर्छन् बोल्न, लेख्न अनि भाइरल बन्न ? ती बढी भएका महिलाहरू सबै ठिक्क बिहेको तयारीका उमेरका नै छन् कि परदेशबाट बाकसमा फर्किएको पतिकी पत्नी पनि छन् ? साहूको हलो जोत्दाजोत्दै मुटु फुटेर मृत्यु भएका बुबाका श्रीमती आमा अनि हजुरआमा पनि छन् कि छैनन् ? के यी समुदायलाई समेत भागमा लाउन तयार भएका हुन् ती मर्दहरू ? यस्तो संवेदनशील कुरामा जथाभावी लेख्न र बोल्न कसरी सकेको ? मानवहृदय हो कि दानवहृदय हो त्यो ?

डा. रेणुका सोलु

महिलाको सङ्ख्या बढी हुनुको कारण धेरै होलान् तर केही कारण सम्झिएर लेखकको मुटुको धड्कन अवरुद्ध हुन खोज्थ्यो । परिवारको सुख किन्न परदेसिएको पति उडेको चरासमेत खस्ने गर्मीमा पिल्सिँदापिल्सिँदै प्राण उडाएर मुर्दा मात्र बाकसमा फर्कियो र पत्नी एकल भइन् । आफूले पढ्न नपाएर दुःख पाइयो, सन्तानलाई त राम्रै स्कुलमा पढाउँछु र विद्वान् बनाउँछु भन्ने रहरमा खाँडी भासिएको बाबु बेखबर भएको दशकौँ वर्ष भएपछि तड्पिँदै खण्डहर बाँचिरहेका कतिपय आमाहरू यसर्थ एकल भएका छन् । यातायात सुविधाको पहिलो प्राथमिकतामा पुरुष पर्ने अनि सवारी दुर्घटनामा यही समुदाय पर्ने हुँदा पनि पुरुषको सङ्ख्यामा नकारात्मक असर परेको हुन सक्छ ।

कतिपय युवाहरूमा जोस हुन्छ तर जोसलाई सही व्यवस्थापन गर्न नजानेर उद्दण्ड भैदिँदा बेहोस भएको अथवा सवारी दुर्घटना मृत्युसम्म भएको तितो यथार्थ छर्लङ्गै छ । कतिपय पुरुषहरू टेन्सनको औषधि र हर्षको उन्माद उमाल्ने माध्यम मद्यपानलाई बनाउने हुँदा पनि अकालमै ज्यान गुमाउँछन् । यसैगरी हाम्रो समाज र संरचना अनि संस्कारको नामले पुरुषलाई यति कठोर बन्न बाध्य गराएको छ कि जस्तोसुकै पीडामा समेत लोग्नेमान्छे भएर रुनु हुँदैन भनिदिएको हुन्छ । महिलाहरू धीत मरुन्जेल रुन्छन् र सगरमाथाभन्दा अग्ला पूडाका चुचुराहरू आँसुमै बगाइदिन्छन् अथवा आँसुलाई शक्तिमा बदलेर बाँच्न सहास गर्छन् तर त्यही ठाउँमा पुरुष आँसु भित्रभित्रै जमाउन वा लुकाउन खोज्दा मुटु फुटेर क्षतविक्षत बन्छ । अझै पनि हाम्रो समाजमा कतिपय संस्कार यस्तो छ कि परिवारको इज्जत एउटै पुरुषको काँधमा थोपरिदिएको हुन्छ, त्यही इज्जत जोगाउने इगोका कारण पनि अवैध धन्दामा फसेर मानसिक तनाव सहन नसक्दा हृदयघातको सिकार बन्छन् कोही-कोही मर्दहरू ।

प्रायः महिलाहरू दुःख पनि सहन गर्न सक्ने सुख पनि उपभोग गर्न जान्ने हुने हुनाले तुलनात्मक रूपमा लामो आयु बाँच्छन् । यी विविध कारणले पुरुषको सङ्ख्या घटेर महिलाको सङ्ख्या बढी देखिएको हुनसक्छ तर बढी हुनु भनेको अहिले बजारमा चलेको हल्लाजस्तो सस्तो हुनु पनि होइन ।

मभित्रको अवचेतन मनभित्र यति वेला अलग्गै विचारको आगो सल्किरहेको छ, सायद कसैको नजरमा विद्रोहीपन देखिएला ! सोच्दै छु म “के हाम्रा छोरी बुहारी पुस्ता ती मर्दहरूले भनेजस्तै सस्ता छन् ? मेरो भागमा यति र तेरो भागमा यति भन्दै खसी काटेर भाग लाएजसरी आफ्नै आमा वर्गलाई भाग लगाउन जोस्सिएका मर्दहरूको नामर्द मानसिकता अनि त्यति तल झरेर लेखिएका नीच अभिव्यक्तिले आफ्नै व्यक्तित्वको मापन भइरहेको हुन्छ भन्ने हेक्का राख्न किन नसकेका केही बहादुरहरूले ? त्यसैले त भनिन्छ समाजमा कोही-कोही चित्र एक चरित्र अनेक हुने गर्छन्, चित्र मात्र हेरेर चरित्र आकलन नगर्नु । चरित्र बुझ्नलाई कारोबार नै गर्नुपर्दछ, आवरण पढेर गुदीको ज्ञान हुँदैन । यस्तै द्वैध चरित्रहरूले बिगारेका हुन् समाज । केही गलत प्रवृत्तिका मर्दका कारण सबै पुरुष बाहिर हेर्दा जति नै भद्र देखिए पनि भित्री असली रूप यही हो भन्ने नकारात्मक प्रभाव अहिलेका छोरी पुस्तालाई पर्‍यो र यही धारणा बनाएर हामी बिहे नै गर्दैनौँ भन्ने निर्णय गरे भने परिणाम के आउँछ भन्ने सोच्नुभएको छ कि छैन होला ती मर्दहरूले ? जति मर्द कुर्लिए पनि मर्द जन्माउने त महिलाले नै होला नि कि कताबाट उम्रिनुहुन्छ हजुर ?” चिच्याएर सोध्न मन लागेको छ यस्तै प्रश्नहरू ।

अभिव्यक्ति स्वतन्त्रता सबैलाई हुन्छ तर आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अर्काको मान मर्यादामा आँच आउने गरी अथवा आमाजस्तो संवेदनशील समुदायलाई समेत भाग लगाउने नीच अभिव्यक्ति व्यक्त गर्ने कसैलाई छुट छैन खबरदार भनेर उर्दी लगाउन मन छ । त्यही भाषाको अलिकति भाव हो यो आलेख । कतिपयलाई लाग्न सक्छ कि त्यस्तालाई के चलाउनु, खोइ केलाई चलायो आफ्नै मुखमा छिटा भन्ने तर फटाहालाई खबरदारी गरेन भने उद्दण्डताको पराकाष्ठा हुन्छ र चोर फस्टाएर डाँका बन्छ । त्यसैले सबै सज्जन मनावहृदय भएका मान्छेहरूले गलत प्रवृत्तिलाई खबरदारी गरेर समाज विभेदरहित बनाउन प्रयास गर्नुपर्दछ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा सम्बन्धमा खाडल गहिरिँदै जान्छ र एक दिन पहिरो जान सक्छ । गलतलाई निरुत्साही बनाउने र सहीलाई प्रोत्साहन गर्ने बानी बसालौँ र सभ्य शालीन, समानताको आभास हुने समाज निर्माण गरौँ । मान्छेको असली पहिचान भनेको उसको विचार र कर्मले व्यक्त गरिरहेको हुन्छ । नामले बाँच्ने कि बदनामले बाँच्ने समयमा नै सोचौँ ।

नोट: यो खबरदारी सबै मर्दलाई होइन, समाजमा अत्यन्तै सम्मानननीय पुरुष पनि हुनुहुन्छ, अत्यन्तै आत्मीय हुनुहुन्छ हजुर सबैलाई म हृदयदेखि नै नमन गर्दछु तर जो जसले यो विषयलाई लिएर भद्दा मजाक पोस्ट अनि कमेन्ट गर्नुभयो उहाँ महोदयलाई मात्रै यो विषयले सरोकार राख्दछ भनेर सबैले मनन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।