
कविता जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र सञ्चेतनाको भाषिक अभिव्यञ्जना हो । कवितामा समाज, देश, समय र परिस्थितिका परिघटना र त्यसको प्रभावबाट मानवीय अन्तर्मनमा उत्पन्न भाव संवेगहरूलाई भाषाको माध्यमबाट कलात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ, त्यसैले जीवनको कथाव्यथा पनि कविता हो । समाजको दृश्य–परिदृश्य पनि कविता हो । प्रकृतिको छाँयाछवि पनि कविता हो । सृष्टिको विधिविधान पनि कविता हो । कविता अदृश्य भावहरूको दृश्यरूप हो ।
कविताको अध्ययनबाट जीवन, समाज र समयको यथार्थबोध हुन्छ । हृदयमा नव्य ऊर्जा प्राप्त हुन्छ । मस्तिष्कमा नव्य चेत झङ्कृत हुन्छ । नसा-नसामा नव्य स्फूर्ति संवाहित हुन्छ । यसर्थ कविताको अध्ययनबाट मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टि सम्प्राप्ति हुन्छ । यस्ता मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टिले जीवनभोगाइ सुखद, सुगम, सौन्दर्यमय र यथार्थपरक बनाउँछ ।
कविता विशाल ब्रह्माण्डजस्तै हो । यसको क्षेत्र विशाल र व्यापक छ । जसरी ब्रह्माण्डभित्र यसअन्तर्गतका यावत् वस्तु अटाएका हुन्छन्, त्यसरी नै कविताभित्र यसअन्तर्गतका यावत् पाटाहरू अटाएका हुन्छन् । कवितामा जीवन, जगत् र भोगाइको बृहत् आयामलाई भावभङ्गी राखेर सरल र मिठासपूर्ण बनाइएको हुन्छ । जीवनको \ समाजको \ राष्ट्रको कुनै एउटा सग्लो पक्षलाई काव्यिक स्वरूपमा चित्रण गरिएको हुन्छ । समग्र परिघटनालाई यथार्थपरक र बिम्बात्मक स्वरूपमा परिवृत्त गरिएको हुन्छ । देश, समाज र जीवनभोगका अनुभूतिजन्य यथार्थलाई भावनात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ ।
सूक्ष्म, फुटकर, कवितामा जीवनको कुनै अनुभूतिजन्य भाव वा विचारलाई कलात्मक रूपमा व्यक्त गरिएको हुन्छ र यो लघुआकार र आयामको हुन्छ । यस्ता कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ ।
प्रकृतिका छोटा र सूत्रात्मक आकार एवम् आयाममा अनुभूतिको सूक्ष्मतम र तीक्ष्णतम झिल्कोलाई टिपेर कविता लेखन गर्ने परम्परा पनि विकसित हुँदैगएको छ ।
कविता भाव, विचार प्रदान गर्ने एउटा कलात्मक माध्यम हो । कविता समाजले दिन्छ । समाजको चरित्र, परिभाषा, परिधिले कविता लेख्न उत्प्रेरित गर्छ र कविताको विषयवस्तु बन्ने गर्छ । जब मानिसले समाजलाई बुझ्छ र समाजलाई नै बुझाउन खोज्छ भने त्यति बेला कविता माध्यमको रुपमा आउँछ ।
समाज र समाजको चरित्रलाई बुझेपछि उनीहरूलाई नै बुझाउनका लागि अक्षरहरू, शब्दहरू, वाक्यहरू, बिम्ब–प्रतिबिम्बहरु राखेर भाव, विचारहरू प्रकट गर्नका निम्ति कविता लेखिन्छ ।
विचारलाई अभिव्यक्त गर्नका लागि कविता लेखिन्छ । त्यसका लागि गद्य र पद्यलाई अपनाइन्छ । पद्य भनेको अनुप्रास, छन्द, लय मिलाएर लेखिने कविता पद्य हो । अनुप्रास र छन्दबिनाको कविता गद्य कविता हो । यद्यपि गद्य कवितामा पनि आन्तरिक लय, बिम्ब, प्रतीक, अलङ्कार, शब्द संयोजन, गहन भाव, सरलता, दर्शन, मनोविज्ञान, चिन्तन, शीर्षक सार्थकता इत्यादि भने रहनुपर्छ एक उत्कृष्ट कविता बन्नलाई ।
गद्य शैलीमा कविता लेख्दा सबैभन्दा पहिला विषयवस्तु चयन गर्नुपर्छ । विषयवस्तुहरुका लागि आवश्यक पर्ने शब्दहरू खोजी गर्ने अनि बिम्ब प्रतिबिम्बहरू सुहाउँदो रुपमा राख्ने वा सजाउने गर्नुपर्छ । पद्य शैलीमा छन्द, अनुप्रास र अक्षरहरू गनेर वा पंक्ति मिलाएर लेख्नुपर्छ भने गद्यमा त्यस्तो नियम हुँदैन ।
तपाईं आफूले आफ्ना भावना, विचार अरु स्वतन्त्र , बिम्बात्मक या व्यंग्यात्मक रुपमा सरल सहज तरिकाले प्रस्तुत गर्न सक्नुहुन्छ ।
बिम्ब-प्रतिबिम्ब कवितालाई सुन्दर बनाउने एउटा गतिलो तरिका हो । यसले सिधै भन्दैन तर बुझ्ने शैलीमा प्रकट हुन्छ ।
कविता आफैँमा विषयवस्तु होइन । यसले विषयवस्तुको खोजी गर्छ । विषयवस्तु हाम्रै समाज \ राष्ट्र \ परिवेश या आफैँभित्र हुन्छन् । जस्तैः सामाजिक गतिविधिहरू, समाजमा घटेका नकारात्मक घटनाहरू, समाजले बेहोरेका असमान व्यवहारहरू, विभिन्न किसिमका कुरीति, कु–संस्कारहरू, सफलताका कथाहरू, पीडाबोधहरू, प्रेम, विद्रोह, जीवन, क्रान्ति, यथार्थ, देश, प्रकृति, दर्शन, मनोविज्ञान, अध्यात्म, समय, इतिहास आदि । कविता लेखनको लागि कवित्व र काव्यिक चेत हुनु आवश्यक छ ।
कविताले कविलाई सुखानुभूति दिन्छ भने समाजलाई सकारात्मक सन्देश दिन्छ । समाजमा घटेका विभिन्न किसिमका घटनाहरूलाई, परिवेशहरूलाई कलात्मक तरिकाले प्रस्तुत गर्छ ।
जीवनमा एकपटक सबैले कविता लेख्छन् तर त्यसले सधैँ निरन्तरता पाउँदैन । जसले निरन्तरता दिन्छ ऊ कवि बन्न सक्छ । कविता बजारमा जान्छ तर बजारले कविता चिन्दैन, कारण आम नागरिकको आवश्यकता कविताले पूरा गर्न सक्दैन । धेरै लेखिने विधा कविता हो तर कम बिक्री हुने पनि कविता नै हो । अहिले बजारमा कविताको मूल्य कम छ, अर्थात कवितालाई धेरैले बुझ्दैनन् । कारण कविले कविता मात्र लेखे तर भाव र विचार दिन सकेनन् । कवितालाई कला किन भनिएको हो भने त्यसमा अप्रतिम काव्यिक सौन्दर्य र शैलीगत विशिष्टता हुन्छ । त्यसले चीरकालसम्म कुनै न कुनै ढंगमा समाजमा ज्ञान भण्डारको रूपमा काम गर्छ। यस्तो कालजयी वा सदाबहार लेखन मात्र कविता किन हो भने, तीन सय–पाँच सय वर्षअगाडिको काव्य आज पढ्दा पनि उत्तिकै जीवन्त उत्तिकै रूचिकर लाग्छ।
कविहरूले गर्ने तुलनात्मक अध्ययन र उनीहरूले देख्ने क्षितिजको आयतन कत्रो छ भन्ने कुराले अन्तर्राष्ट्रियस्तरमा जाने कुरा निर्धारण गर्छ। हाम्रा कविहरूमा तुलनात्मक अध्ययनको अभाव छ। कविता कोही कसैबाट पूर्वाग्रही र परिचालित भएर या आफैँमा कुन्ठित भएर ज्ञान, कुन्ठा, अर्ति, उपदेश लेख्ने विषय नै होइन। समाज कहाँनिर छ, पाठकको अवस्था कस्तो छ भन्ने कुराले बढी महत्त्व राख्छ। उम्दा कविताले सधैँ चित्रणभन्दा दुई कदम अगाडिको सभ्यता देखाएको हुन्छ। त्यसले समाजलाई अघि बढ्ने प्रकाश दिएको हुन्छ। नेपाली कविता अन्तर्राष्ट्रियस्तरमा पुर्याउन पहिलो आवश्यकता स्तरीय लेखनी नै हो। केही नयाँ शैली र प्रयोग गर्न सक्नुपर्यो। त्यो शैली र प्रयोग विश्वबजारमा पुग्नुपर्यो–पुर्याउनुपर्यो। र, रूचाइनु पनि पर्यो उपल्लो बौद्धिक वृत्तले समेत। त्यसका लागि गुणस्तरीय अनुवाद हुनुपर्यो। त्यसअघि संसारको साहित्य अनुवादको संहिता पालना गर्नुपर्यो। बजारीकरण पनि महत्त्वपूर्ण पाटो हो। आखिर बिनासूचना एउटा पनि थप पाठक बढ्दैन, चाहे सूचनाको माध्यम जेसुकै किन नहोस्। कविताहरू डिजिटल्लीसँगै पुस्तक सङ्ग्रहित पनि गर्दै जानुपर्यो ।
साताका सात कविता किन ?
आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामालामा रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का दिने वा तरङ्ग उत्पन्न गर्ने र प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सृजना हुनेगरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र पनि बन्दै गएका छन् । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गर्न सकिने हुनाले सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् । साहित्यपोस्टमा पहिलेदेखि नै यी र यस्ता प्रकृतिका अभियानहरू सन्चालनमै रहिरहँदा कवितालाई जागरण दिने अर्को एउटा प्रयास मात्र हो ।
कविताबारे सैद्धान्तिक र प्रयोगात्मक कुराहरू यस्तै यस्तै रहे । आगामी अङ्कहरूमा पनि विविध विषयमा चर्चा गर्ने नै छौँ ।
अहिलेलाई भने पढिरहौँ ..लेखिरहौँ …. र सिकिरहौँ …
स्थापितदेखि गुमनामसम्म सबै सर्जकका सबै धार\विषयका उत्कृष्ट रचनालाई सम्मान र उत्साह भर्दै एउटा काव्यिक जागरण गर्न सकौँ ।
यो अभियानमा हरेक बिहीबार सात जना फरक फरक कविहरूको फरक फरक कविता क्लासिक थिममा स्केच पोएट्री बनेर आउने छन् । उत्कृष्ट कविताहरू पढ्नुहोस् र सेयर गरी अरुलाई पनि पढ्ने मौका दिनुहोस् ।
कविताहरू आफ्नो एउटा तस्बिर र ठेगानासहित ghimireaaryash@gamil.com मा पठाउन सक्नुहुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

