राम्रोसँग लेख्नाको निमित्त मानिसहरूलाई तीन आवश्यक कुरा छन्- सबभन्दा बेस ग्रन्थकार पढ्नु, सबभन्दा बेस वक्ताहरूमा ध्यान दिनु र आफ्नै शैलीको खूब अभ्यास गर्नु ।

राम्रोसँग लेख्नाको निमित्त मानिसहरूलाई तीन आवश्यक कुरा छन्- सबभन्दा बेस ग्रन्थकार पढ्नु, सबभन्दा बेस वक्ताहरूमा ध्यान दिनु र आफ्नै शैलीको खूब अभ्यास गर्नु । लेखनशैलीको विषयमा के लेख्नुपर्दछ र कुन तवरसँग, यो सम्झनालाई पहिले विषयको अभ्यास र मनन गर्नुपर्दछ, तब शब्द छान्नुपर्दछ र दुवैको वजनको परीक्षा गर्नुपर्दछ । रचना सुन्दर होओस् भन्नाका निमित्त सामग्री तथा शब्दलाई स्थान र क्रम मिलाउनामा होसियारी राख्नुपर्दछ । यो काम बारम्बार तथा सावधानीपूर्वक गर्नुपर्दछ । यदि श्रमपूर्वक तथा यथोचित भयो भने शैली पहिले जतिसुकै ढिला हुन जाओस् केही पर्वाह छैन । सबभन्दा बेस मात्र छान, पहिला विचार या पहिले आएका शब्दहरूले मात्र प्रसन्न नबन, तर आफ्नो सिर्जनामा विवेचना राख, ठीक लागेका कुरामा सङ्गति मिलाऊ । अगाडि लेखिएको कुरा बारम्बार दोहार्‍याएर हेर, यसले सङ्गतिमा सहायता दिन्छ, मेल राम्रो गराउँछ, त्यसभन्दा बढ्ता कल्पनाको उष्णतालाई उत्तेजित गराउँछ, जो लेख्ने समयभित्रै ज्यादाजसो सेलाउने हुन्छ, यसले नयाँ तागत दिन्छ, मानौँ यसरी फर्कनाले झन् मजबुत हुन गएको हो ।

कुदबाजीको जोडतोडमा हामी देख्दछौँ कि जसले सबभन्दा धेरै कुद लिन्छ उसैले सबभन्दा ठूलो फड्को मार्दछ, अथवा बाण या भाला हान्दा हामीहरू आफ्ना पाखुरा पछाडि पाठाउँछौँ, यसनिमित्त कि हाम्रो फेँकाइ झन् मजबुत होऔस् । तैपनि हावाको प्रवाह राम्रो छ भने पाल खुलाएर बढ्नालाई म मनाही गर्दिनँ । खालि हावाको अनुग्रहले हामीलाई नछकाओस् । किनभने जति हामी कल्पना गर्दछौँ, त्यो सबैले सिर्जनाको विभावनामा आनन्द दिन्छ, नत्र हामी त्यसलाई कहिले पनि लेख्ने थिएनौँ । तर आफ्नो विवेकतर्फ फर्कनु र तिनीहरूलाई फेरि खेलाउनु सबभन्दा निर्भय कुरो हो, नत्र तिनको सरलताले तिनीहरूमा शङ्का उठाउन सक्दछ, सुरुमा उच्च कोटिका लेखकहरूले यसै गरे, तिनीहरूले आफूमाथि सावधानी र परिश्रमको भार लगाए, तिनीहरूले कुनै कुरा सहास गरेनन्, पहिले राम्रोसँग लेख्ने गरे, तब अभ्यासले सजिलो गरायो र आदत्त बसाल्यो । अलिअलि गरेर तिनको सामग्री झन् प्रचुरतामा देखिन थाल्यो, उनका लवज ठीकठीक आइपरे, रचना पछि लाग्यो, सबै सुनियत जहानझैँ उचित स्थानमा देखा परे । यस कारण सबको सारांश यही हो कि छिटो लेखाइले असल लेखाइ बन्दैन, असल लेखाइले मात्र छिटो लेखाइ बन्दछ ।

हामीहरूको त्यस्तो शक्ति छ भन्ने विचार भए तापनि हामीहरूले त्यसलाई रोक्नु असल छ, जस्तो घोडालाई कहिलेकहिले लगामले रोकावट दिनाले उसको गति त्यतिकै रोकिँदैन, जतिको उसको तेज निस्कन्छ, फेरि जतातिर कुनै मानिसको जेहेन पुग्न सक्दछ उसैतिर उसको ज्यादा कोसिस हुनुर्पछ, उतैतिर आफूलाई उचाल्नु र फैलाउनुपर्दछ, जस्तो सानो उचाइका मानिसहरू औँलाको भरमा उचालिन्छन् र उच्च नभए पनि बराबरसम्म हुन्छन् फेरि जस्तो समर्थ तथा परिपक्क लेखकलाई आफ्नै भरले खडा रहनु, आफ्नै बलले काम गर्नु, आफ्नै शक्तिमा विश्वास गर्नु र कोसिस गर्नु उचित छ, त्यस्तै सुरु गर्ने र सिकारुलाई अरूका रचना पढ्नु र सबभन्दा असलचाहिँ पढ्नु बेस हुन्छ, किनभने आफ्नै कुराभन्दा रचना पढ्नु र सबभन्दा असलचाहिँ पढ्नु बेस हुन्छ, किनभने आफ्नै कुराभन्दा अर्काको कुरा सम्झनामा मन र स्मरणशक्ति ज्यादा तीव्रतया अभ्यस्त हुन्छन् । फेरि जसले सबभन्दा बेस लेखकहरूको अभ्यास गर्दछन् र परिचय राख्छन् यिनको केही अंश आफैँमा पाउँछन्, आफ्नो मनको प्रकाशनमा आफूले थाहा नपाए पनि उनीहरूका जस्तै केही भन्न सक्दछन्, जसको मान आफूभन्दा माथिको प्रमाण बन्दछ । यति मात्र होइन, अरूलाई उचित रीतिले उद्धृत गर्ने प्रशंसा कहिलेकहीँ अध्ययनको इनाम बन्दछ । कुनै मानिसलाई एक किसिमको लेखमा भन्दा अर्को किसिमको लेखमा ज्यादा सामर्थ्य या झुकाव भए पनि उसले सबमा अभ्यास राख्नुपर्दछ । किनभने बाजामा जस्तै लेखनशैलीमा पनि अल्पांशको मिलापमा लय हुनुपर्दछ ।

मुल लेखकः वेन जन्सन (१५६३-१६३७)

अनुवादक : लक्ष्मीप्रसाद देवकाेटा