मलाई एकान्त मन पर्दछ, किनकि एकान्तमा म आफूले खोजेको कुरा प्राप्त गर्न सक्दछु । यस्तो सर्वोत्तम एकान्त स्थल, मेरा लागि मेरो आफ्नै ‘हर्मिताज’को सानो क्लाकक्ष छ । त्यहीँ नै मेरा प्रत्येक पला, घण्टा र दिन, अनि लामा–लामा छुट्टीका महीनाहरू बित्ने गर्दछन् ।

त्यसै एकान्तको अनन्त गहिराइमा रोपिएका मेरा हृदयका कोपिलाहरू विकसित भएर चित्रपटमा फुल्ने गर्दछन् । मभित्र लागेका चिचिलाहरू त्यसै कलाकक्षको एकान्तमा पाक्ने र चित्रपटमा झर्ने गर्दछन् । अनि त्यसै एकान्तमा तरङ्गिन लाग्दछन् सिर्जनात्मक साहित्य, कला र संगीतका पक्ष–विपक्षहरू ।

सानो कलाकक्ष, स–साना तीनवटा झ्याल त छन्, तर ती कहिल्यै खोलिदैनन् र गर्मीको याममा यो कोठा लरकना जेल जस्तो तातो भइरहन्छ । के गर्नु झ्याल खोल्नासाथ बाहिरको आवाजले मेरो एकाग्रता भङ्ग हुन्छ । यदा–कदा रमलाले ल्याएको चियाले ढोका खोलिदिन्छ, नत्रभने त्यो पनि भित्रबाट बन्दै रहन्छ ।

हो, प्रकाश र बतास भने बाहिरबाटै पस्दछ वर्तमानको विश्व–सन्देश बोकेर । अनि तिनीहरू मन्थन गर्न लाग्दछन् मभित्रको, विगतका स्मृति तरल्लिइरहेको शान्त समुद्रलाई अनि त्यहीँ उत्रन लाग्दछ मेरा सम्पूर्ण शिक्षा, दीक्षा, ज्ञान, अनुभव कहिले अमृत बनेर र कहिले कालकूट विष बनेर ।

अनि यिनै हुन्छन् मेरो चित्रकलाका प्यारा विषयवस्तु । तिनै विषयवस्तुसँग मेरो एकात्मता हुन्छ र तिनैलाई सकभर ईमानदारीपूर्वक म सार्दछु आफ्नो चित्रपटमा । मलाई विषयवस्तुको अभाव छैन । विषयवस्तुको खोजीमा पहिले–पहिले जस्तो शहर र समाज, सभा र संगठन, डाँडा र पाखामा आजकल मलाई भौँतारिइरहनुपर्दैन । यही प्रकाश र बतासले मलाई आफ्नो अस्तित्वको बोध गराउँदछ, मेरो वर्तमानलाई सचेत र जाग्रत् बनाइदिन्छ ।

साँच्चै हो— प्रकाशमा सन्देशको प्रवाह हुन्छ । “सानो झ्यालबाट प्रकाशः पर्दछ, यो सन्देश दिन्छ, तरपनि केही बोल्दैन” रोमियो जुलियटमा सेक्सपियरले पनि यसै भनेका थिए ।

हामी सन्देश सन्देशको युगमा जन्मेका मानिस, पुस्तकमा सन्देश, पत्रिकामा सन्देश सिनेमा, रेडियो, टेलिभिजन, शिक्षा, दीक्षा, पशुको चिच्याहट, चराको चिरिबिरी, आवाज, प्रकाश, बतास जताततै सन्देशै–सन्देश ।

सन्देशको तूफानले क्षत–विक्षत पारिरहेको छ आधुनिक मानिसलाई । म जस्तो पाषाणयुगीय प्रवृत्ति पखालिइ नसकेको मानिसलाई समेत यसले क्षमा गरेको छैन । अरूका सन्देश लिँदा–लिँदा मेरो टाउको ने सन्देशको भकारी भइसक्यो । म अरूको सन्देशबाट मात्र पुरिन चाहन्न ।

मेरा आफ्ना सन्देशहरू अरूलाई दिन चाहन्छु । म आफूभित्र गुम्सेका भावनालाई खन्याउन चाहन्छु । तर के गर्नु हृदयका सुरम्यातिसुरम्य भावनालाई म रङ्ग र रेखाबाट मात्र भन्न सक्दिनँ । अनि मेरा क्षणहरू घण्टौँ घोत्लेर बित्दछन् त्यसै सुनसान कोठामा ।

म चित्रकार हूँ, रङ्ग र रेखाका आकार–प्रकार खिचेर आफ्ना निजी सन्देशहरू अरूलाई दिन चाहने । तर मभित्र यति धेरै कुरा छन् कि तिनलाई एउटै चित्रको त कुरै छाडौँ सयौं चित्र रचना गरेर पनि भन्न सक्दिनँ र भनी सकिन्न । केही भनिहाले पनि मैले भनेको कुरालाई शिक्षित समाजका बीस प्रतिशतसम्मले पनि बुझ्न सक्दैनन् ।

बरू बाल्यकालका मेरा रङ्गरेखा, सबल थिए–प्रस्ट थिए । तर म जति–जति शिक्षित हुँदै आएँ, अनुभवी र अध्ययनरत हुँदै आएँ उति उति मेरा ज्ञानका विगतहरू बादल बनेर मेरो वर्तमानको विस्तृत धरती र विशाल आकाशलाई ढाक्दै आउन लागे ।

अहिले म जे बुझ्न खोज्दछ्, त्यही मलाई पुर्न खोज्छ । आत्माभिव्यक्तिको सर्वोच्च माध्यम मानिएको चित्रकलाको सिलौटोमा अध्ययन र अभ्यासका तीन–चार दशकलाई घोटिसक्दा पनि मैले आफ्नो अन्तः प्रवाहलाई निकासी दिन सकेको छैन भने अरू कुन माध्यम मेरो सहयोगी बन्न सक्ला ?

साहित्य ? हो रङ्ग र रेखाले भन्न नसकेका कतिपय भावनालाई साहित्यले प्रभावकारी ढङ्गबाट प्रस्ट्याइदिन सक्दछ । अनि कतिपय शब्द–संयोजनाबाट व्यक्त हुन नसक्ने सूक्ष्म अनुभूतिलाई रङ्ग र रेखाले रूपाकृतिमा ल्याइदिन सक्दछ । आधुनिक मानव मस्तिष्कभित्र यति सूक्ष्म भावहरू तरङ्गिइरहेका हुन्छन् विश्वको कुनै पनि सम्पन्न भाषाले तिनको यथार्थ वर्णन गर्न सक्दैन ।

कलाले व्यक्त गर्न नस्केका भावपक्षलाई साहित्यले बोधगराइ दिन्छ, अनि साहित्यले खिच्न नसकेको शब्दरूपलाई संगीतले झङ्कृत गरिदिन्छ । एउटै माध्यमबाट मात्र सिर्जनशील भावनामा रहेका सबै पक्षहरू व्यक्त हुनै सक्दैनन् ।

एउटै व्यक्ति दुई माध्यमको ज्ञाता बन्न सक्दैन र ?

असम्भव ! एउटै माध्यममा जीवनभर अध्ययन र अभ्यास गर्दा त मान्छेले एक छेउ बुझ्न सकेको हुँदैन, झन् दुई माध्यममा ! साहित्यतर्फ खोइ मेरो चिन्तन, मनन अध्ययन र अभ्यास ? कसरी म मनको कथा व्यथा बिसाउन सकुँला शब्दाकृति खिचेर ।

साहित्यमा त झन् शब्दको आँधी, हूरी, वर्षा र बाढी नै आउनुपर्दछ आन्तर आवेगलाई शान्त पार्न । यत्रो वर्षको अध्ययन र अभ्यासबाट त मेरो अन्तरात्मा चित्रमा आउन सकेन भने बोल्नु र पढ्नुमा सीमित साहित्यबाट कसरी मेरो आत्माले अभिव्यक्तिको सन्तुष्टि पाउन सक्ला ?

आत्मसन्तुष्टि त नपाइएला तर कनी–कुथी नै भएपनि दुई–चारवटा लेख साहित्यिक पत्रिकामा छपाएपछि त साहित्यकारको सूचीमा नाम दर्ता भइहाल्दछ नि ! फेरि लेखक, कवि, कलाकार भनिन कमसे कम यति वर्षसम्म, यत्तियत्तिवटा, यस्ता यस्ता ढङ्गका लेख, कविता अथवा चित्रको रचना गरेर आफ्नो मौलिकता कायम गरिसकेको हुनुपर्दछ भन्ने नियम आजसम्म कतै बनेको छैन क्यारे !

सिर्जनात्मक संसारको प्रवेशद्वार शहीदगेट जस्तै ठूलो र फराकिलो छ र त्यसभित्रको संसार प्रकृतिको छाती जस्तै उदार र विशाल छ, आमाको काख जस्तै न्यानो र स्नेही छ । उनी सबैको स्वागत गर्दै भन्दछिन्—
“हरियो वनवृक्षको छहारीमा, जसलाई मसँग बाँच्ने रहर छ स्वागत छ, स्वागत छ, स्वागत छ,
शीत र विषम मौसम बाहेक, यहाँ तिमी कोही दुश्मन देख्ने छैनौ ।”

मैले पनि आफूलाई स्रष्टा बनाएर त्यस संसारमा प्रवेश गर्न के को लाज ? कला साहित्य भनेको मानिसलाई त्यही ईश्वरीय संसारसम्म पु¥याइदिने माध्यम हो । मलाई थाहा छ धेरैजसो मेरा कमजोरीहरू । साहित्यकार बनेर म त्यो पवित्र स्थलसम्म त पुग्न सकुँला, तर शब्दमा त्यहाँको दृश्य उतार्ने क्षमता मेरो छैन भन्ने कुरा मलाई मात्र थाहा छ ।

सिग्मन फ्रायडले एक ठाउँमा भनेका थिए—
“दुईकुरा असीमित छन् एउटा बाबुको वीर्यमा अडेको विश्व र अर्को मानवीय बेकुुफीपना ।”

मैले आफूलाई साहित्यकार बनाउन खोज्नु पनि मेरो ठूलो बेकुफीपना र आत्मघात हो । जीवनभरको प्रयासबाट त मैले आफूलाई कलाकार बनाउन सकेको छैन भने एकाएक साहित्यकार बन्न खोज्नु धरतीमा बाँच्न बोर लागेर आकाशमा उड्न खोज्नु, र मानव समाजबाट निराश भएर बाँदर–समाजमा मिल्न जानु जस्तै हास्यास्पद र बेकुफी हुनेछ ।

साहित्य जस्तो महान् र गम्भीर विषयलाई ओराल्दै ल्याएर मेरा जस्ता स्तरहीन र काँचो रचनामा ल्याएर जोडिदिनु साहित्यको अवमूल्यन गर्नु हुन जानेछ ।

कलाधर्म नै मेरो आफ्नो धर्म हो भने मैले त्यसैप्रति समर्पित हुन सक्नुपर्दछ । अरू कुनै पनि धर्मप्रति म ईमानदार बन्न सक्दिनँ, न त म दुई वटा धर्मको अनुयायी बन नै सक्छु । आखिर धर्म भनेको त मान्छेले बनाएको निरङ्कुश नियम न हो–अनि दर्शन पनि एउटा चक्रव्यूह हो । न त्यसको वल्लो छेउ छ, न त पल्लो अन्त ।

फेरि के सर्वमान्य धर्म र दर्शनले मात्र सिर्जनात्मक कला एवं मानव–प्रगतिको उत्तरदायित्व बोकेको हुन्छ र ? अनि के हाम्रा सम्पूर्ण सामाजिक एवं राष्ट्रिय नियम कानूनहरू तिनै स्थापित धर्म र दर्शनका उपनियम मात्र हुन् त ? होइन— सिर्जनशील कलाकार प्रत्येकको आफ्नै नियम सिद्धान्त, धर्म, दर्शन हुने गर्दछ र हुनुपर्दछ । आफै स्रष्टा भएर पनि ऊ यदि अरूको सृष्टि सिद्धान्तको अनुयायी बन्दछ भने उसले के नयाँ सिर्जना गर्न सक्ला ?

कलाकारको त निश्चित धर्म, धर्माचरण, अनि त्यसैप्रति समर्पणको भावना हुनुपर्दछ । ‘ब्रह्मा ठूला कि महेश्वर ?’ जस्ता प्रश्नले आत्मविश्वास डगमगाउँदछ, आत्मविश्वास डगमगायो भने विचार बढी गरिन्छ । यदि म आफ्ना अन्तर्भावनालाई आफ्नै कला–भाषामा त उद्धृत गर्न सक्दिनँ भने अरूको भाषा–साहित्यमा कसरी व्यक्त गर्न सकुँला ? के इलियटलाई रङ्गमा र विकासलाई कवितामा अनुवाद गर्न सकिएला ?

फेरि अर्को कुराः स्रष्टा आफ्नो धर्मप्रति समर्पित भएर मात्र पनि हुँदैन, किनकि सिर्जनात्मक कलामा स्रष्टा स्वयम्लाई आफूभित्र कलाक्षमता कति छ भन्ने कुरा थाहा हुँदैन । उसको अन्तज्र्ञान र भावभण्डार असीम र अनन्त हुन सक्दछ ।

सामान्यतया दुई प्रकारका मानसिक स्थितिमा ती व्यक्त हुने गर्दछन् । एउटा विपनामा र अर्को सपनामा । स्रष्टाको विपनालाई चेतनाले हिँडाइरहेको हुन्छ र उसको सपनालाई चाहि अचेतनाले डो¥याइरहेको हुन्छ । यदि स्रष्टाले विपनामा बसेर चेतन मनले कला रचना गरेको छ भने त्यसमा कलाकारले जानेको, र पूर्व निर्धारित विचारानुसारका निश्चित कुराहरू मात्र हुन्छन् ।

त्योभन्दा बढी कुरा न दर्शकले त्यहाँ देख्न सक्दछ न त स्रष्टाको विशुद्ध आत्मा नै त्यसमा प्रकाशित भएको हुन्छ । त्यस्ता प्रकारका रचनालाई हामी ‘मनको कुरा’ अथवा वर्णनात्मक कृति भन्दछौँ । अनि यस्तो कलालाई ‘कला देशको लागि, कला समाजको लागि, कला जनशिक्षाको लागि’ भनी परिभाषित गरिन्छ ।

स्रष्टाले आन्तर उत्पीडनबाट, कुनै पूर्वाग्रह नलिईकनै कलारचना गरेको छ भने त्यसमा हामी कलाको विशुद्धता देख्न पाउँदछौँ । स्वप्न अथवा समाधिमा मात्र त्यस्तो आन्तर उत्पीडन हुन सक्दछ । अनि स्रष्टाको हृदयभित्र, तहखानामा आश्रित शाश्वत सत्यहरू अर्धचेतन अथवा अचेतन अवस्थामा नै उत्तेर कलाकृतिमा प्रस्फुटित हुन आउँदछन् । केवल समाधिकालमा, गहन चिन्तन र मननपछि मात्र यस्ता कृतिको जन्म हुन सक्दछ ।

यस्तै कृतिलाई मात्र सही अर्थमा साहित्य, कला अथवा संगीत भन्न सकिन्छ । यस्तै कृतिले मात्र युगको प्रतिनिधित्व गर्न सक्दछ । अनि यस्तै कृति मात्र ‘कला कलाको लागि’ भनी परिभाषित भएका हुन्छन् । कलाको यस्तो महत्ता र उच्चताको अपमान गरिदिऊँ म, आफुलाई कलाकार पनि साहित्यकार पनि भनाएर ! यो मेरो बाँच्ने रहरको लागि वरदान हुनेछ, तर मेरो आत्माको लागि अभिशाप बन्न जानेछ ।

ज्ञान अनन्त छ । समय अनन्त छ । विगतका हजारौं वर्षलाई मानिसले अध्ययन र अनुसन्धान गरेर बिताइसक्यो, तैपनि उसले आफूलाई एउटासम्म विषयको पनि ज्ञाता बनाउन सकेको छैन र जति बुझ्यो झन् सारो, त्यसको दश गुना बढी बुझ्न बाँकी हुँदै गइरहेछ भने जाबो सय वर्ष पनि नबाँच्ने मान्छेले २०–३० वर्ष किताबमा रङमङिदैमा आफूलाई धेरै विषयको ज्ञाता भन्दछ भने उसको त्योभन्दा ठूलो मूर्खता अरू के हुन सक्ला ?

त्यसैले त झन्डै चौबीस सय वर्ष अगाडि त्यस्तै मूर्ख मण्डलीलाई सुकरातले भनेका थिएः “सबै जान्दछु भन्ने तिमीहरू सबै मूर्ख हौ । तर म भने मूर्ख होइन किनकि म केही पनि जान्दिनँ भन्ने कुरा मलाई थाहा छ । त्यसैले प्रश्न गरीगरीकन तिमीहरूलाई हायल–कायल पारेर पटमूर्ख साबित गर्ने अधिकार ममा छ ।”

ज्ञानको बनावट पिरामिडको जस्तो हुन्छ । शुरू–शुरूको पाठशाला तहमा उसले विविध विषय भूगोल, इतिहास, साहित्य, कला, ज्ञान–विज्ञान सबैको अलि–अलि अध्ययन गर्नुपर्दछ । क्रमशः अध्ययन गर्दै ऊ जति माथितिर उक्लन्छ उति उ आफ्नो इच्छानुसारको एउटा विषयमा र अझ माथि टुप्पामा पुग्दा त त्यही एउटा विषयको पनि सानो अंशमा मात्र केही ज्ञाताबन्न पुगेको हुन्छ ।

उसलाई त्यही विषयको मात्र वेत्ता भन्न मिल्दछ । उसले जानेका अरू विषयहरू त केवल उसको मूल विषयको पृष्ठपोषक मात्र हुन सक्दछ । एउटा रसायनशास्त्रीले पनि कविता लेख्न सक्दछ, एउटा समाजशास्त्री पनि संगीततिर लागेको हुन सक्दछ । जीवनमा कविता नलेख्ने मानिस थुप्रै हुन सक्दछन्, तर एउटा न एउटा प्रकारको चित्र नबनाउने मानिस त आजको सभ्य समाजमा सारै थोरै होलान् ।

झन् आधुनिक शिक्षाप्रणालीले त ‘कला नै शिक्षाको पूर्वाधार हो’ भन्ने कुरामा सहमति जनाउँदै आइरहेको छ । रवीन्द्रनाथ ठाकुर साहित्यकार भनिन्छन्, कलाकार होइन; श्यामुयल मोर्स वैज्ञानिक भनिन्छन्, चित्रकार होइन । जानेको अतिरिक्त विषयप्रति बढी लालायित व्यक्ति आफ्नो विषयप्रति बफादार र ईमानदार छैन भन्ने कुरा स्वतः स्पष्ट हुन्छ ।

साहित्य मेरो प्रेमको अतिरिक्त विषय हो । म शुद्ध भाषामा लेख्नसम्म जान्दिनँ । मेरा लेखहरू मनका कुरा मात्र हुन्, भावनाको प्रवाह होइन । मेरो लागि तपस्याविनाको कृति कलानै होइन । सतहमा शब्दहरूलाई जबर्जस्ती नचाएर पाठकलाई रुवाउनु वा हँसाउनु अथवा सतहको अनुकरण गरेर दर्शकलाई आकृष्ट गर्नुलाई म कला भन्न सक्दिनँ ।

विशुद्ध कला दर्शकहरू वा पाठकहरू प्लाटोनिक छन् कि छैनन् भन्ने कुरामा कुनै वास्ता गर्दैन । जीवनभरको परिश्रमबाट त मैले कलाको कुलो तर्न सकेको छैन भने साहित्य त मेरो लागि बङ्गापसागर हो । बोली मात्र साहित्य हो भने म बोल्न जान्दछु । जानेको कुरा लेख्नु मात्र साहित्य हो भने म पनि यहाँ लेख्दै छु । शब्द रङ्ग हो र रङ्ग शब्द । यी दुवै अभिव्यक्तिका माध्यम मात्र हुन्, आत्मभाव होइनन् । साहित्य अथवा कला त ‘एकान्तमा प्रस्फुटित हुने भावावेगको प्रवल प्रवाह’ (वर्डसवर्थ) हो ।

आफ्नो कलाधर्मप्रति म ईमानदार बन्न सकेँ भने मेरा रङ्ग र रेखामा मेरा अन्तर्भावना प्रवाहित हुन सक्लान्, तर शब्दसागरतिर लागेँ भने किनारामा नै मेरो अन्त हुनेछ । अस्तु ।

‘अन्तर तरङ्ग’बाट