
आज फेरि म अर्को घरमा आएको छु । यसरी घर-घर चाहार्दै हिँड्नु न मेरो बाध्यता हो न नियम नै । यो मेरो ‘थाइल्यान्ड अनुभव’ गर्न खोज्ने विशेष प्रकारको चाख हो । यो घरको पूर्वपट्टि अर्को एउटा सानो घर पनि छ – दुई कोठाको, ठिक्क मिलेको । एउटा कोठामा खाद्यान्नको गोदाम छ भने अर्कामा उनीहरूको सुत्ने कोठा । योङ्ग (घर धनी) का दम्पती त्यही कोठामा सुत्छन् । भान्साकोठा, बैठक कोठा तथा पाहुना कोठा तथा कोठाचाहिँ मूलघरमा नै छन् । मेरा लागि मूलघरको पाहुना कोठामा नै व्यवस्था मिलेको छ । केही दिनदेखि म त्यही कोठामा सुत्दै आएको छु ।

नगेन्द्र न्यौपाने
त्यो घरमा एउटा सात-आठ वर्षको बालक पनि छ । साह्रै रसिलो, हँसिलो अनि नरम खालको । म त्यो घरमा पुगेको दिनदेखि नै मसँग त्यो बालक खुब झ्यामिएको छ । सायद उसलाई अङ्ग्रेजीका धेरै शब्दहरू आउँछन् । उसको त्यही अङ्ग्रेजी शब्दले मलाई नजिक्याएको छ । हामीहरू बारम्बार कुरा गरिरहेका हुन्छौँ । कहिलेकाहीँ मलाई झिजो लाग्छ तर ऊ थाक्दैन । हुन त उसलाई मसँग जिस्क्निे-खेल्ने कहाँ फुर्सद छ र ? होम-वर्क र पढाइले उसलाई बोझिलो बनाएको छ तर पनि मौका मिलेसम्म मेरो नजिक परिरहन्छ । त्यो बालकको नाम अरुण हो । म मनमनै सोच्छु- “नेपालीको प्रभाव परेर उनका बाबुले छोराको नाम नेपालीको जस्तो अरुण राखेका होलान् । म योङ्गलाई यही विषयमा सोध्छु-
“छोराको नाम त नेपालीको जस्तै अरुण राख्नुभएछ ।” उनी मेरो कुरालाई पूर्ण रूपमा समर्थन गर्दैनन् बरु निकै चनाखो भएर उत्तर दिन्छन्-
“कहाँ यो नेपाली नाम हो र ? यो त थाइ नाम पनि हो । अरुण नाम गरेका थाइहरू प्रसस्त छन् । नेपालतिर पनि गइरहनुपर्ने हुनाले नेपालीको जस्तै राखेको हुँ । नेपालीलाई पनि बोलाउन सजिलो !”
अरुणको दिनचर्या अनौठो प्रकारको छ । म देखिरहेको छु- ऊ निकै जटिल अवस्थामा आफ्ना दिनहरू बिताइरहेको छ । उसको दैनिकी देखेर मलाई साह्रै उराठ लाग्छ । उसले सहेको वेदनाले म भाविह्वल हुन्छु । ऊ बेलुकाको खाना खानासाथ आफ्नो बाबुआमाको कोठामा गएर सुत्छ तर रातभरि सुत्न पाउँदैन । ऊ निदाएपछि आधाराततिर उसकी आमाले सुटुक्क हजुरआमाको कोठामा ल्याएर सुताउँछिन् । अरुण हजुरआमासँग पनि रातभरि सुत्न पाउँदैन । सबेरै – ५ बजे नै हजुरआमाले उसलाई उठाउँछिन् । “उठ् बाबु ! उठ ! बस आउने बेला भयो ।” हरेक बिहान उसको दैनिकी यिनै शब्दहरूबाट सुरु हुन्छ । उसका कानमा यिनै शब्दहरू पर्दछन् तर ऊ ओछ्यान छोड्न चाहँदैन । उसका आँखाहरू खुल्दैनन् । ऊ कलिलो छ, बढ्दो उमेरको छ- उसलाई निद्राले छोड्दैन तर एकाबिहानै यिनै दिक्कलाग्दा शब्दहरू सुन्न बाध्य छ । यिनै शब्दहरू कानमा पर्दछन् । त्यहाँ रुवावासी सुरु हुन्छ ।
तर उसकी हजुरआमा कथा भन्न सुरु गर्छिन् । कहिले धूर्त स्यालको कथा सुनाएर हसाउँछिन् । कहिले बाघको डरलाग्दो कहानी सुनाउँछिन् । त्यहाँ कविता, श्लोक, गजल पनि वाचन सुरु हुन्छ तर त्यो बालक उठ्न सक्दैन । सँगै सुतेको बिरालालाई दिक्क लागेर होला वा आफूसँगै सुतेको मित्रको दर्दनाक अवस्था देखेर होला ऊ पनि उठ्छ र बालकको नजिकै गएर बस्छ तर बालक उठ्दैन । केही सिप नलागेपछि हजुरआमाभित्रबाट गिलासमा पानी लिएर आउँछिन् अनि गाला, निधार, आँखामा दल्छिन् । पाखुरातिर भिजाउँछिन् तर त्यो बालक ओछ्यान छोड्न मान्दैन । बरु ऊ कोल्टे परेर सुत्छ । हजुरआमा अझै हार खाएकी हुन्नन् । अरुणलाई तान्न जान्छिन् । त्यो लडाइँ करिब आधा घण्टा चल्छ । नाति र हजुरआमाको आन्दोलन धेरै बेर जारी रहन्छ । आआफ्नो अडानबाट दुवै पक्ष एक डिक चल्दैनन् । दुवै पक्षले आफूलाई विजय हात पार्न हर तरहको जुक्ति लगाउँछन् । हर-प्रकारको हतियार चल्छ । सङ्घर्ष निकै जटिल परिस्थितिमा जान थाल्छ तर त्यही बेला बाहिर बसको हर्नको आवाज आउँछ- प्वाँ ! प्वाँ ! त्यो बालकलाई ओछ्यान छोड्न करै लाग्छ र ऊ हत्तपत्त हजुरआमाले ठिक्क पारेर झोला काँधमा भिर्छ र आँगनतिर दौडिहाल्छ तर बाहिर अझै अँध्यारो बाँकी नै छ । ऊ डराउँछ । उसको मुखबाट अनायास शब्दहरू फुत्त बाहिर आउँछन्-
“हजुरआमा ! डर लाग्यो । अँध्यारो छ ।”
नातिको आवाज सुन्नासाथ हजुरआमा फुत्त बाहिर निस्किन्छन् र नातिलाई डोर्याउँदै बससम्म पुर्याएर फर्किन्छिन् ।
म त्यो बालक र हजुरआमाको घम्साघम्सी दुई-तीन दिनदेखि देखिरहेको छु । उसले गरेको ठेलमठेल र विद्रोह स्वयम् म आफैँ साक्षी छु । बालपनको प्रकृतिअनुसार उसको दैनिकी त्यति मिलेको छैन । ऊ अन्यायमा परेको छ तर म कुनै प्रतिवाद गर्न सक्दिनँ । साथै त्यसको हैसियत भएको व्यक्ति पनि म होइन तर मलाइ साह्रै असह्य हुन्छ र एक दिन आँट गरेर उसको बाबुलाई सोध्छु-
“अरुणलाई स्कुल पठाउन कठिन हुँदो रहेछ हगि ? बिहान उठ्न नै मान्दो रहेनछ । सधैँ यस्तै हो ?”
“के गर्नु ! आफू काममा नजाने हो भने कामदारहरूले काम गर्दैनन् । त्यत्रो फाँट कसरी कामदारहरूको भरमा मात्र छोड्नु । बिहानै काममा हिँड्नुपर्छ ।” अरुणको बाबुले मलाई उत्तर दिन्छन् ।
“किन एकाबिहानै काम थाल्नुभएको त ! अरुणलाई स्कुल पुर्याएर काममा जानुभए पनि हुन्थ्यो नि !”
“रबरको चोप (रस) सङ्कलन गर्ने भनेकै एकाबिहानै हो । घाम झुल्केपछिको चोप पातलो हुन्छ । पातलो चोपले बजारभाउ नै पाउँदैन । बिहान काम थाल्नुपर्छ । दिउँसोतिर त चोपलाई लोड गरेर पठाइसक्नुपर्छ । यो रबर खेतीको प्रक्रिया हो ।”
मलाई बल्ल ज्ञान हुन्छ अरुणको बाध्यता, हजुरआमाले गर्नुपर्ने त्याग अनि त्यो घरको समर्पण ! अब मेरो चाख बालकले गरेको सङ्घर्षलाई छोडेर उसका पिताले गरेको त्यागतिर जान्छु र म उनलाई सोध्छु-
“भोलि बिहान मलाई पनि सँगै लग्नुहोस् है ! तपाईँको रबर फाँट हेर्न म तपाईँसँगै जान्छु ।”
“तपाईँ रबर फाँटमा ?” उनी निकै चनाखो भएर मलाई पुनः सोध्छन् ।” तपाईँ सक्नुहुन्न । तपाईँलाई गर्मी हुन्छ । बिहानै पुग्नुपर्छ ।
उनलाई थाहा छ – गर्मीप्रति मेरो स्वभाव नकारात्मक छ । म गर्मी सहन गर्न सक्दिन । सबैभन्दा ठूलो शत्रु भनेकै गर्मी हो तर म मनमनै प्रश्न गर्छु- कस्तो होला गर्मी ? उनीहरूले सहेका छन् भने म किन सहन सक्दिनँ । “तपाईँ सक्नु हुन्न” भने पनि म भोलिपल्ट बिहान उनको फाँटमा जान्छु । उनले मलाई आफ्नो मोटरसाइकलका पछाडि राखेर फाँटमा पुर्याउँछन् । ओहो ! यस्तो पो गर्मी ! शरीर पसिनाले निथ्रुक्क भिजेको छ । लामखुट्टेको आक्रमण त्यत्तिकै ! तिर्खाले घाटी सुक्न थालिसकेको छु तर पनि म मोटरसाइकलबाट निस्केर रबरको रूखतिर जान्छु । हामीहरू फाँटमा पुग्दा अन्य कामदारहरू जम्मा भइसकेका छन् । हामीलाई देख्नासाथ काम सुरु गरिहाल्छन् ।
रबरको फाँट भव्य देखिन्छ – पङ्क्तिबद्ध मिलेर लगाइएका रबरका बोटहरू । झुम्म परेको बाक्लो वातावरण अनि झिसमिसे उज्यालो । म थाइल्यान्डको रबर फाँटमा छु तर त्यतिबेला मेरो दिमाग झट्ट नेपालतिर जान्छ । म नेपालको गोरखकाली रबर उद्योग सम्झन पुग्छु । आफ्नो जिल्लामा गोरखा स्थापना भएको उद्योग भएर मात्र होइन त्यसमा मेरो आफ्नो पनि हिस्सा (सेयर) हुनाले मेरो दिमाग त्यतातिर जानु स्वाभाविक नै हो तर त्यो उद्योग भौतिक रूपमा तोडफोड भइसकेको छ । त्यहाँबाट कुनै पनि वस्तु उत्पादन हुँदैन । सायद यसले कसैको व्यक्तिगत स्वार्थ पूरा गर्न सकेन वा कमजोर व्यवस्थापनको हातमा पर्न गयो । सदाका लागि विनाश नै भयो । नत्र के थाइल्यान्डवासी पनि मानव, हामी पनि मानव । उनीहरूको मानव-प्रकृति हाम्रो मानव-प्रकृतिमा कति फरक छैन तर थाइल्यान्डको प्रत्येक परिवारको मुख्य आय स्रोत नै रबर खेती हो । त्यति मात्र कहाँ हो र ! कैयौँ विदेशीहरूसमेत रबर खेतीमा रोजगारीका लागि थाइल्यान्ड पुगेका छन् । अर्को अचम्म के छ भने थाइल्यान्डमा एउटै परिवारले त्यत्रो कार्यलाई सञ्चालनमा ल्याएका छन् । त्यत्रा कर्मचारीलाई नियन्त्रण गरेका छन् तर नेपालमा सिङ्गो सरकार नै लाग्दा पनि भताभुङ्ग-लथालिङ्ग । म त्यो लाजमर्दो संस्कारलाई भुल्न बाध्य हुन्छु र उनलाई सोध्छु-
“यी बिरुवाले कति वर्ष चोप (रस) दिन सक्छ ?”
मैले छोटो उत्तर सोधेको हुन्छु तर उनी विस्तारित उत्तर दिन्छन्-
“बिरुवा लगाएको पाँच वर्षसम्म चोप निकाल्न हुँदैन । पाँच वर्षपछि मात्र सङ्कलन सुरु हुन्छ । एउटा बोटबाट २०-२५ वर्षसम्म चोप पाउन सकिन्छ । त्यसपछि पूरै बदल्नुपर्छ । बोट जति छिप्पिँदै गयो उति चोपको गुणस्तर पनि राम्रो हुन्छ । बाक्लो हुन्छ ।”
एकातिर त्यो तातो हावा, अर्कातिर पसिनाले भिजेको शरीर अनि कीरा-फट्याङ्ग्राको टोकाइ । काम अप्ठ्यारो छ तर पनि कामदारको गति घटेको छैन । उनीहरूको ध्यान अन्यत्र मोडिएको छैन । म पनि उनीहरूको पछि-पछि लागेको छु । उनीहरूको कामलाई हेरिरहेको छु ।
घुँडासम्म आउने प्लास्टिकको बुट । हातमा बाक्लो पन्जा अनि कम्मर भिरेको हँसिया र एउटा सानो कप भिरेपछि उनीहरूको काम सुरु हुन्छ । रातभरि रूखबाट कपमा सङ्कलन भएको चोपलाई बकेटमा खन्याइसकेपछि फेरि अर्को चोप खस्ने नाली बनाउनुपर्छ अनि नयाँ कप थाप्नुपर्छ । बल्ल एउटा बोटको काम सकिन्छ अनि अर्को बोटको पालो आउँछ । त्यहाँ हजारौँ बोटहरू छन् । उनीहरू जुन हिसाबले एक बोटबाट अर्को बोटमा जान्छन् म पनि त्यसैगरी हिँडेको छु । म हिँड्दाहिँड्दै प्रश्न गर्छु-
“अब यो चोप सङ्कलन गर्न कहिले आउने ?”
“३ (तीन) दिनपछि । प्रत्येक ३ (तीन) दिन बिराएर आउनुपर्छ । ३ (तीन) दिनभन्दा अगाडि आयो भने पातलो हुन सक्छ, त्यस्तै ढिला आयो भने सुक्न सक्छ ।”
अब हाम्रो यात्रा करिब-करिब सकिएको छ । अब हामीहरू फाँटको अर्को किनारमा आइसकेका छौँ । समय त्यस्तै प्रकारले मिलाइएको छ- हामीहरू पनि फाँटबाट बाहिर निस्केका छौँ । त्यही बेला पानीको वर्षा सुरु हुन जान्छ, सिरसिर पानी पर्न थाल्छ तर त्यो वर्षा आकाशबाट नभई कृत्रिम पाइपबाट भएको छ साथै त्यो वर्षा हामीलाई नभई प्रत्येक रबरको बोटलाई छ । साथै त्यो वर्षा यति पातलो छ कि माटो राम्रोसँग भिजेको पनि छैन । म आश्चर्य मान्दै उनीतिर हेरेर सोध्छु-
“यति सानो सिँचाइले त्यति ठूलो फाँटलाई सिँचाइ पुग्छ त ! हेर्नुहोस् त माटो पनि राम्रोसँग भिजेको छैन ।
“पुग्छ ।” उनी सजिलैसँग उत्तर दिन्छन् । “प्रत्येक दिन यस्तै प्रकारको सिँचाइ हुने भएकाले पानी पुग्छ । यसलाई ‘थोपा सिँचाइ” भनिन्छ । प्रत्येक बोटको मूल जरामा पाइप जडान गरिएकाले पानी खेर जाँदैन ।” उनी अरू कुराहरू पनि भनिरहेका छन् तर मेरो दिमाग भने उनको त्यही वाक्य गुन्जिरहेको छ- “थोपा सिँचाइ” । के नेपालमा थोपा सिँचाइ आवश्यक छ ! के यो प्रविधि भित्र्याउन सकिँदैन ! तर यो प्रश्नको उत्तर पाउँदिन बरु उनैलाई अर्को प्रश्न गर्छु-
“यो सङ्कलित चोप पुर्याउन कहाँ जानुपर्छ ।” अनि तुरुन्त उत्तर दिइहाल्छन्-
“हामीहरू कतै पनि जानु पर्दैन । ऊ ! देख्नुहुन्न ! त्यो ट्रक ! त्यो ट्रक प्रशोधन केन्द्रको हो । हामीले त्यहाँ लोड गर्ने हो । उसैले लैजान्छ । म भोलि तपाईँलाई रबर प्रशोधनमा लैजान्छु ।”
अफसोस ! मलाई रबर प्रशोधन केन्द्र जाने मौका मिल्दैन तर त्यो फाँटको अवलोकनपछि गौरव लाग्छ । मलाई यथेष्ट भएको छ । विश्वमा हजारौँ मोटरगाडी गुडेका छन् । बसहरू चलेका छन् । मोटरसाइकल-साइकल हुइँकिएका छन् तर तिनीहरूलाई थाहा नहुन सक्छ- ती गाडीहरू कसरी गुडेका छन् । गाडीको चक्का कसरी बनेको छ । कत्रो परिश्रम परेको छ । प्रकृतिसँग सहकार्य गर्दै वातावरणलाई आफ्नो बसमा राख्दै सम्पूर्ण मानव जातिको कल्याणका लागि त्यहाँ अथाह श्रम पोखिएको छ । गहिरो मेहनत परेको हुन्छ । ती श्रमजीवि प्राणीहरूप्रति मेरो नमस्कार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









