
सायद त्यसबखत म कक्षा नौमा पढ्थे अनि मेरो नेपाली पाठ्यक्रममा ‘गाडीमान’ कथा पनि समावेश थियो । कथा निकै मार्मिक र यथार्थमा आधारित अनि लेखक थिए इन्द्र सुन्दास । यसबेला भर्खरै उनको उपन्यास ‘जुनली रेखा’ले भानुभक्त पुरस्कार पाएर निकै चर्चा बटुलिसकेको थियो । त्यसैले मेरा निम्ति इन्द्र सुन्दास नितान्त नौलो नाम थिएन । विस्तारै उनको बारेमा जानकारी लिने क्रम बढ्दै गयो । दश कक्षा पुगेपछि उनको ‘साहित्य पथमा’ किने सुन्दासको लेखनले तानेर । विभिन्न विषय समेटिएर लेखिएको यो पुस्तक सरल र सरस मात्र होइन जानकारी मूलक र ज्ञानवर्धक पनि थियो ।
वि.सं. २०३३ सालमा श्याम प्रकाशनले प्रकाशित गरेको यो सानो आकारको पुस्तकको बारेमा इन्द्र सुन्दास लेख्छन्, “यस पुस्तकमा छापिएका पाँचथरि अठार विषय झन्डै चालिस वर्षभित्रमा जुन जुन बेला लेख्नै नशा चढ्थ्यो वा नित्यकर्मबाट केही फुर्सद पाइन्थ्यो लेखिएका हुन् । यिनमध्ये पाँच विषयबाहेक अरू जम्मै १९३६ इस्वीदेखि यसो १९७५ इस्वीसम्ममा विभिन्न पत्रपत्रिकमा निस्केका हुन्, अरू कतिका पाण्डुलिपि पाइएनन् अनि कतिका पाइए तर ती सङ्कलनमा हाल्ने काम भएन, साह्रै दिक्कलाग्दो हुन्छ भनेर ।” यो पुस्तकमा जीवनी, कथा, धर्म, साहित्य, रवीन्द्रनाथ ठाकुरको अनुवादित कविता समावेश थियो । यो पुस्तक नै इन्द्र सुन्दासको प्रतिभालाई चिन्ने पहिलो खुड्किलो थियो मेरा निम्ति ।

इन्द्र सुन्दास
मैले ‘गाडीमान’ पढेको तीन वर्ष अर्थात् सन् १९८३ मा इन्द्र सुन्दासले ६४ वर्षको उमेरमा प्रतिष्ठित भारतीय साहित्य अकादमी पुरस्कार पाए आफ्नो उपन्यास नियतिको निम्ति । यस पुरस्कारले उनलाई चर्चाको शिखरमा पुराऱ्यो । ‘नियति’ को समीक्षा गर्दै प्रसिद्ध समालोचक डा. ईश्वर बरालले हिमालचुलि पत्रिकाको सन् १९८४ को पूजा विशेषाङ्कमा लेख्छन्, “‘नियति’ दार्जीलिङ अञ्चलमा पर्ने पर्वतीय वन्य एवं ग्राम्य परिसरको फारसबस्ती र त्यस वरपर बसोबास गर्ने नेपाली अभिजनको साधारणतः १९६०/७० मा दशकको गाथा हो । यस दशकका केही प्रमुख ऐतिहासिक घटना, जस्तै भारतका उत्तरपूर्वी तथा उत्तरपश्चिमी प्रान्तमा चीनको आक्रमण, भारत र पाकिस्तानमाझ युद्ध आदिले यो अभिजन कतिसम्म प्रभावित भए भन्ने कुरो पनि उपन्यासमा परोक्षतः इङ्गित छ ।” डा. बरालले सुन्दासको लेखनलाई मूल्याङ्कन गर्दै रूपनारायण सिंह र लेनसिंह बाङ्देल पछि उनीहरूले प्रतिपादन गरेको यथार्थवादलाई आदर्श मानेर पच्छ्याएको लेख्छन् ।
दार्जीलिङमा कथा साहित्यको प्रवेश सूर्यविक्रम ज्ञावालीद्वारा लिखित ‘देवीको बलि’ कथाबाट सुरु भएको ज्ञात हुन्छ जुन कथा देहरादुनबाट प्रकाशित हुने ‘हाम्रो संसार’ पत्रिकाको पहिलो अङ्कमा कार्तिक १९८३ मा छापिएको थियो । सोही पत्रिकामा वि.सं. १९८४ मा ‘अन्नपूर्णा’ कथा प्रकाशित गरी रूपनारायण सिंह पनि कथालेखनमा प्रवेश गरेको जानकारी पाउँछौँ । नेपाली साहित्यको मानक पुस्तक सूर्यविक्रम ज्ञावालीद्वारा सम्पादित कथासङ्ग्रह ‘कथा कुसुम’ प्रकाशित हुनुभन्दा दुई वर्षअघि वि.सं. १९९३ मई महिनामा १७ वर्षको उमेरमा इन्द्र सुन्दास ‘सपनाको सम्झना’ कथा लिएर साहित्यमा होमिए । यो कथा कालेबुङबाट प्रकाशित हुने ‘परिवर्तन’ पत्रिकामा छापिएको थियो तर यो कथाभन्दा पहिले सोही पत्रिकामा उनको गैर आख्यायन रचना ‘सर्वोपकारी’ फरवरी १९३६ मा छापिएको थियो ।

सुन्दासले वर्णन गरेको अन्ञली देवीको मन्दिर
एउटै उमेरका कथाकार शिवकुमार राईले भने सुन्दासभन्दा ६ वर्षपछि मात्रै कथा लेखेर साहित्यमा प्रवेश गरेको जानकारहरू लेख्छन् । इन्द्र सुन्दास कथालेखनमा आँउदा सूर्यविक्रम ज्ञवाली र रूपनारायण सिंहले कथा शिल्पमाथि लामै लेख लेखिसकेका थिए तर मौलिक आख्यानकारका रूपमा भने उनले शिवकुमार राई र लैनसिंह बाङ्गदेलभन्दा पछि परेको देखिन्छ । लैनसिंह बाङ्गदेलको ‘मुलुकबाहिर’ वि.सं. २००४ मा प्रकाशित भएको थियो भने शिवकुमार राईको ‘फ्रन्टियर’ कथासङ्ग्रह वि.सं. २००८ सालमा प्रकाशित भयो । सुन्दासको उपन्यास ‘मङ्गली’ वि.सं. २०१५ सालमा मात्र देखा परेको देखिन्छ । मैले ९ कक्षामा पढेको कथा ‘गाडीमान’ खोजी पत्रिकाको ५ अङ्कमा छापेको थियो, यो उनको दोस्रो कथा थियो र पहिलो कथाभन्दा ५ वर्षअघि प्रकाशित भएको थियो । यो कथाले सुन्दासलाई सफल कथाकारका रूपमा स्थापित गऱ्यो । वि.सं. २००५ मा इन्द्र सुन्दासद्वारा अनुदित ‘टाँल्सटाँयका कथा’ नेपाली साहित्य सम्मेलनले प्रकाशित गरे । त्यसभन्दा पहिले सन् १९४१मा ‘श्री रामकृष्ण र तिनका दुई चेला’ (सङ्क्षिप्त जीवनी) प्रकाशित गरिसकेका थिए ।
शिवकुमार राईबाहेक उनका समकालीन लेखकहरूमा हायमानदास राई, परशुराम रोका, भाइचन्द्र प्रधान प्रमुख हुन् । वरिष्ठ समालोचक गुमानसिंह चाम्लिङ सन् १९७०मा ‘धुवाँ’ पत्रिकामा प्रकाशित लेख ‘दार्जीलिङे कथासाहित्यको पहिलो डेढ दशक’मा लेख्छन्,” वि.सं. २००७सम्मका दार्जीलिङे कथासाहित्यका अग्रज हुन् रूपनारायण सिंह, शिवकुमार राई र इन्द्र सुन्दास तर इन्द्र सुन्दासको कथाले ‘झ्यालबाट’मा स्थान पाउन सकेन । सरासर अन्याय भयो जे होस् अहिले तृतीय संस्करणमा मात्र उनको ‘अद्भुत रोग’ले स्थान पाउन सक्यो, जुन कथा तर ‘झ्यालबाट’को प्रथम संस्करण निस्कनुभन्दा अघि नै ‘प्रभात’ १ र २ मा प्रकाशित भइसकेको हो ।” मूर्धन्य समालोचक कुमार प्रधान ‘दार्जीलिङका कथा र कथाकार’को भूमिकामा इन्द्र सुन्दासको कथाहरूले रुसी कथाहरूको सम्झना ल्याउने मन्तव्य व्यक्त गरेका छन् भने उक्त पुस्तकका सम्पादक राजनारायण प्रधानले सुन्दासको कथा टाल्सटाई र रवीन्द्रनाथको कथाहरूझैव पठनीय, कलात्मक र उच्चकोटीको हुन्छन् भन्ने विचार व्यक्त गरेका छन् । ‘झ्लाबाट’मा ईश्वर बराल लेख्छन्,” रूपनारायण सिंहले ‘भ्रमर’मा चित्रेको आञ्चलिकता नेपाली साहित्यक्षेत्रका निम्ति फाइदाजनक भयो र यो क्षेत्र शिवकुमार राईभन्दा पाँच महिना कान्छा तर आठ वर्षअघिदेखि लेख्न थालेका इन्द्र सुन्दासका आख्यानले झन् त्यसमा देन दिए । रूपनारायण सिंहद्वारा देखाइएको बाटातिर लागेर शिवकुमार राईलेझैँ इन्द्र सुन्दासले पनि दार्जीलिङ भेकमा नेपाली आख्यानको मात्र होइन त्यसमा प्रस्तुत विषयवस्तुका लेखनले उक्त भेकको नगर औ ग्राम्य जीवनसित मिल्ने कथावस्तुका माध्यमले सामजिक आलेख प्रस्तुत गर्ने काम गरे ।”
‘जुनेली रेखा’ उहाँको यथार्थवादमा आधारित उपन्यास हो जस्को पृष्ठभूमि हो दार्जीलिङको चियाबगान । अङ्ग्रेजको समयमा ‘हट्टाबाहर’ प्रथालाई केन्द्रबिन्दु बनाएर लेखेको यो उपन्यासका बारेमा समालोचक मोहन पि. दाहाल आफ्नो ‘आधुनिक नेपाली उपन्यास’ पुस्तकमा लेख्छन्,” जुनेली रेखा’मा उल्लेख गरिएको “विशेष घटना” अर्थात् ‘हट्टाबाहर प्रथा’नै उपन्यासको मेरुदण्ड प्रतीत हुन्छ । हट्टाबाहर दार्जीलिङ, डुवर्स र तराई अञ्चलका चिया कमानका मजदूरहरूमाथि प्रयोग गरिने साह्रै अन्यायपूर्ण र दण्डमूलक प्रथा थियो । दार्जीलिङमा हट्टाबाहर वा हट्टाबाहिर अनि डुवर्सतराई क्षेत्रमा ‘हटाबाहर’को अर्थ एकै थियो काम खारिज गरी बेदखल गर्नु ।” त्यसबाहेक उनले सन् १९८९मा ‘रोमन्थन’ कथासङ्ग्रह पनि प्रकाशित गरे ।
धर्म र अध्यात्ममा ठुलो आस्था राख्ने इन्द्र सुन्दास ठुलै पदका कर्मचारी भएर निवृत्त भए तापनि सादा जीवन बिताउँथे । साहित्य अकादमी पुरस्कार पाएपछि म उनलाई भेट्न उनकै निवास स्थानमा जाँदा अति सामान्य जीवनशैलीमा जीवन बिताइरहेको पाएँ । सरल स्वभाव र मिजासिलो व्यवहारयुक्त सुन्दासले आफ्नो कथालेखनका बारेमा केही जानकारी दिनुभयो । सामाजिक आदर्शवाद साथै आञ्चलिकतालाई प्राथमिकता दिएर आफ्नै परिवेशको कथा लेखेको बताउनुभयो । इन्द्र सुन्दासले खरसाङकी अञ्जनादेवीको प्रसङ्ग उठाउनुभयो र भन्नुभयो, “अञ्जनादेवी दिव्यआत्माकी सन्तति हुन्, यिनले आफ्नो अन्तर्दृष्टिद्वारा ईश्वरलाई देख्न सक्छिन् ।” अञ्जनादेवीमाथि वि.सं. २०२७मा दियालोमा लामो लेख लेखे र पछि गएर वि.सं. २०५४ सालमा ‘योगेश्वरी अञ्जनादेवी’ नामक पुस्तक नै प्रकाशित गरे । पाँच वर्षअघि म अञ्जनादेवीको मन्दिर दर्शन गर्न खरसाङको टुप्पामा गएको थिए । अहिले त्यो मन्दिरसँगै ठुलो होटेल पनि बनिसकेको छ ।
दार्जीलिङमा जोसमनी सन्त, कवीर पन्थि, प्रणामी आदिले निकै प्रभाव छोडे पनि अञ्जनादेवी त्यँहाको रैथाने सन्त हुन् भन्दा अनुचित नहोला । सायद अञ्जनादेवीको अनुयायी छैनन् होला अहिले । उक्त लेखमा सुन्दास लेख्छन्, “अन्तरेटार, खरसाङ निवासी श्रीयुत श्रीदयाल राई महाशयले ईशावास्योपनिषत् नामक एउटा पुस्तिका १९८७ संवत्मा प्रकाशित गर्नुभएको थियो । यो पुस्तिका मणि प्रेस, कालिम्पोङमा श्री शेषमणि प्रधानद्वारा मुद्रित भएको हो । पुस्तिकामा श्रीदयाल राईज्यूको ९ फरवरी १९३१ मा लेखिएको प्रस्ताव समावेश भएको छ । एक हजार प्रति मुद्रण भएको यो धार्मिक ग्रन्थ श्रीस्वामी राजदेवारण्यबाट नेपाली भाषामा अनुवाद भएको भनी छापिएको छ । धार्मिक वृत्ति भएका श्रीदयालज्यूले नातिनी अञ्जनादेवीको स्मृतिमा सो छापी सित्तै वितरण गर्नुभएको प्रमाणित हुन्छ ।
झन्डै चालिस वर्षअघि मुद्रण भएको पुस्तिका अप्राप्य भएर होला, नेपाली भाषामा प्रकाशित भएका पुस्तकपुस्तिका, पत्रपत्रिका आदिको अनुसन्धान गरी नेपाली भाषा र साहित्यको इतिहास लेख्ने विद्वान् वा समालोचकका दृष्टिमा यो पुस्तिका नपरे जस्तो लाग्छ । यसको उल्लेख हुन नसकेको अर्को कारण यो धार्मिक पुस्तक भएकाले हुन सक्छ किनभने प्रकाशित धार्मिक पुस्तकहरूको नेपाली भाषाको इतिहासमा विशेष चर्चा भएको देखिँदैन । श्रीदयालज्यूको प्रस्तावनामा भएको एउटै अनुच्छेदको भर परेर अञ्जनादेवीको विषयमा केही लेख्ने यहाँ चेष्टा गरिएको छ । अरूतिरबाट सामग्री बटुलेर अञ्जनादेवीको सङ्क्षिप्त जीवनी लेख्ने चाह थियो, सो अभाग्यवश पूर्ण हुन सकेन । अञ्जनादेवीका दाज्यू श्री नरभूप राई इन्जिनियर हुनुहुन्थ्यो तर उहाँसित भेटघाट गरेर सोधखोज गरौँ भन्दाभन्दै उहाँ पनि परलोक हुनुभयो । दैवसंयोग हालैमा स्वर्गीय भीमप्रसाद सुब्बाकी वृद्धा धर्मपत्नीबाट एक दुई कुरा सुन्न पाइयो, त्यसबाहेक अञ्जनादेवीले रचना गरेको भजनमा ६४ चरण सारेर राखेको एउटा सानु नोटबुक पनि हेर्न पाइयो । प्रायः पैँतालिस वर्षअघि सारिएका रहेछन् । केही चरण यस लेखमा समावेश गरिएको छ । विक्रम संवत् १९६१ मा अञ्जना देवीको जन्म एउटा सम्भ्रान्त राई परिवारमा भएको थियो । उनका पिता भारत सरकारको सर्भे विभागका एक जना अफिसर थिए । सर्भे विभागमा यस प्रकारको चाकरी गर्ने कर्मचारी एकै ठाउँमा ढुक्कसित बस्न पाउँदैन थिए । ”
विभिन्न विषयमा लेख्न निपुण सुन्दासको कथा र उपन्यासमा सामाजिक यथार्थवाद, ऐतिहासिकता, आञ्चलिकता प्रचुर मात्रामा पाउँछौँ । उनको ‘सहारा’ सन् १९९५ उपन्यासमा सामजिक यथार्थ छ । यो उपन्यास दार्जीलिङका वरिपरिका चिया कमानमा काम गर्ने मजदुरहरूको दुःखको कथा हो जस्ले आफ्नै जीवनकालमा घटेका ऐतिहासिक घटनाहरू समेटेका छन् । डा. कुमार प्रधानले अङ्ग्रेजीमा लेखेको नेपाली साहित्यको इतिहासमा सुन्दासको कथाहरूमा ग्रामीण जीवनका साधारण मानिसहरूको यथार्थ चित्रणका साथै ग्रामीण वातावरणको मर्मस्पर्शी वर्णन गरिएको बताएको छ ।
बङ्गला, हिन्दी,अङ्ग्रेजीमा समेत निकै दखल भएकाले उनले सानै उमेरदेखि अनुवाद कार्यमा निपुणता हासिल गरे । यसको ज्वलन्त उदाहरण हो सुन्दासले २२ वर्षको उमेरमा टाँल्सटाँयका कथाहरू नेपालीमा अनुवाद गरी ‘टाँल्सटाँयका कथा’ नामक पुस्तक वि.सं. २००५ मा प्रकाशित गर्नु । अनुवादहरूमा जवाहारलाल नेहरूद्वारा लिखित पिताका ‘पत्र छोरीलाई’ (सन् १९५०), महात्मा गान्धीको सङ्क्षिप्त आत्मकथा (सन् १९५७), रवीन्द्रनाथ ठाकुरद्वारा लिखित लघुकथासङ्ग्रह (सन् १९६२), मानिक बन्दोपाध्यायको ‘पद्मा नदीको माझी’ (सन् १९८५) र डा. सुकुमार सेनको ‘बङ्गला साहित्यको इतिहास(९ सन् १९९२) आदि प्रमुख हुन्।
इन्द्र सुन्दासको कथाहरूको प्रवृत्तिका बारेमा डा. दयाराम श्रेष्ठ नेपाली कथा र कथाकारमा लेख्छन्, “इन्द्र सुन्दास पात्रहरूको समाजसम्बद्धी मनस्तत्त्व उपस्थान गर्ने कथाकार पनि हुन् । मानसिकतामा आघात पर्दा उत्पन्न हुने अन्तर्द्वन्द्व, उदासीनता र पलायनको मनोवृत्तिलाई समेटेर उनले लेखेका कथाहरूमा पात्रहरूको भित्रीबाहिरी क्रियाव्यापारहरूको यथार्थ आख्यानीकरण भएको पाइन्छ। यसरी उनले मानवमनको अन्तर्धरातलका भावसंवेग र संवेदनाहरूलाई विषयवस्तु बनाएर अन्ततः ती सबैलाई सामाजिक सन्दर्भसँगै जोडेका छन् । इन्द्र सुन्दास आफ्नो कथासिर्जनामा समर्पित स्रष्टा हुन् । त्यसैले उनले समाजको प्रतिविम्बनमा मात्र आफूलाई सीमित नराखी समाजलाई आदर्शद्वारा आलोकित गर्ने, जीवनका अन्तर्मर्मलाई यथावत् रूपमा प्रस्तुत गर्ने, र प्रचलित कथानक ढाँचामा पाठकवर्गलाई मीठो संवेदनायुक्त विषयवस्तु दिने काम गरेका छन् । जीवनलाई दुःख र कष्टबाट निवृत्त पार्न आदर्शभावलाई महत्त्व दिने कथाकार इन्द्र सुन्दास स्थानीय परिवेशको यथार्थ अङ्कन गर्न प्रवीण देखिन्छन् । ”
आफ्ना समकालीन लेखकहरूमध्येमा निकै भाग्यमानी हुन् इन्द्र सुन्दास । पुरस्कारमात्रै होइन उनको पुस्तकहरूमा धेरै गण्यमान्य समालोचकहरूले कलम चलाएको पाइन्छ । उनका लेखनमाथि उत्तर बङ्गाल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट शोधकार्य गर्नेहरूमा अनिता लामा, निर्मला तामाङ, बुनु शर्मा, महेश प्रधान, इन्द्रबहादुर छेत्री प्रमुख हुन् । नीना राईले साहित्य अकादमीद्वारा प्रकाशित भारतीय साहित्यका निर्माता शृङ्खलाअन्तर्गत इन्द्र सुन्दासको जीवनी पनि लेखेकी छिन् ।
इन्द्र सुन्दास मेधावी छात्र थिए, प्रवेशिका परीक्षामा डिस्टिन्सन प्राप्त गरी कलकत्ता विश्वविद्यालयबाट स्नातक गरे अनि प्रथम श्रेणीको म्याजिस्ट्रेट भएर निवृत्त भए । ८४ वर्षको उमेरमा मई १० तारिख २००३मा उहाँको मृत्यु भयो । उहाँको जन्म सेप्टेम्बर २२, १९१८ भनिए तापनि कसै कसैले १९१९ पनि लेखेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










