यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा- कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरूभूमिको दुस्कर यात्रा जस्तो जीवन, अझ त्यो भन्दा कठिन । मरूभूमिमा त कम भन्दा कम कतै ‘ओएसिस’ हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन । नैकापे सर्किनीको निम्ति जीवन खाली बाँच्दै जानु, बाँच्दै जान्‌ जवसम्म मर्दैन । यो बाँच्दै जानुभित्र उसका केही दैनिक क्रियाकलापहरू रुटिनबद्ध छन्‌ । बिहान अँध्यारैमा उठ्नु, दुःखको मानु पकाउनु र आफूमाथि आश्रित अपाङ्ग लोग्नेलाई खुवाउनु त्यसपछि विष्णुमतीको बगरमा बालुवा झिक्न जानु, साँझ आउनु, पकाउनु, लोग्नेलाई खुवाउनु अनि सुत्नु मुर्दा जस्तै ।

यस अवधिभर ऊ कसैसँग बोल्दिन सिवाय त्यो बालुवा अर्डर गर्ने साहुसँग उही पनि चार शब्द त्यसपछि संवाद सिद्धिन्छ। उभित्र मान्छेको भाषा एक किसिमले मरिसकेको छ, जति ज्यूँदो छ त्यसको कुनै अर्थ छैन । भाषा मात्र होइन

पारिजात

उभित्र मान्छेप्रति हुने सहानुभूति र मान्छेबाट आउने त्यसको प्रतिदान दुवै मरिसकेको छ । उसको लोग्नेले उसलाई शारीरिक रूपमा माया पनि गर्न सक्दैन, घृणा पनि गर्न सक्दैन, त्यसैले ऊ सर्किनीलाई भाषाले पिट्छ, आँखाको अभिव्यक्तिले बलात्कार गर्छ र शब्दले लात हान्छ । एउटा अति विवश मान्छे हो सार्की तर आफनो विवशताप्रति र एकरत्ति सचेत छैन । त्यसैले सर्किनी घृणा गर्छे उसलाई । सार्की निर्दयी छ सर्किनीप्रति, यसैबाट सर्किनीले अन्दाज लगाएकी छ कि उसको लोग्ने आफ्नो विवशताप्रति सचेत छैन । हुँदा-हुँदै यौनको चाहना पनि सर्किनीसँग छैन । सायद उभित्र मर्ने प्रवृतिहरूमा यो प्रवृति अन्तिम हो । ऊ मस्त तरुणी छँदा नै विवाह भएर आएकी थिई, तर पारिवारिक जीवनको एक वर्षभित्रै ऊ अधबैँसे भइहाली र आज अधरबैँसे हुनुपर्नेमा र बुढी भइसकेकी छे ।

मङसिर, पुष, माघ भनेको शीत, तुषारो र ठिहीको महिना हो । यतिखेर सिरक पन्छाएर मुख देखाउन घामले पनि गाह्रो मान्छ। र बिहानी धेरै लामो समयसम्म सुतिदिन्छ उही पनि भुवाको कोट लगाउँछ, तर नैकापे सर्किनी ऊ त्यही लुगा लगाएर आँउछे, जो उसले जेठ महिनामा लगाएकी थिई । नैकापे सर्किनीलाई घामको अस्तित्वप्रति शङ्का लाग्छ आजभोलि । उसको समय अन्धकार हो । फेरि ऊ अँध्यारोदेखि नै घुँडासम्म पानीमा डुबेर बालुवा निकाल्दै थुपारदै गरिरहेकी हुन्छे र आफैँ पनि बालुवाजस्तै निर्जीव र चिसो भइसकेकी हुन्छे । त्यसैले जाडोको खुराकको ह्याङओभर पचाइ फरको कोट लाएर बाह्र बजेतिर ढल्कँदै आउने घामले उसलाई कतैबाट छुँदैन । उसको चिस्याइले घामलाई चुनौती दिन्छ, घाम भाग्छ हारेर ।

यसरी धेरै-धेरै बोधहरूबाट सर्किनी निर्लिप्त हुँदै गइरहेकी छे । यस्तीलाई तपस्विनी पनि भन्न सकिन्छ कि ? भैगो यो विशिष्ट शब्द तपस्यालाई हिलोमा नउतारौँ अथवा सर्किनी तपस्या शब्दभन्दा माथि पनि हुन सक्छे । धर्मको नाउँमा मन्दिर धाउने एकजना महानुभावले एकदिन उसलाई प्रश्न गरेको थियो, “अलिक घाम छिप्पिएर त आउनु, यो बगरको बालुवा कहाँ भाग्छ र ?” उसले कुनै प्रतिकृया जनाइन, माने उसको जीवन यस्तो यातनागृहमा कैद छ जहाँ उसले अब मान्छेको भाषा बुझन छाडिसकेकी छ । नेपाली महिलाहरूको आँखाको मुस्कान चोर्न आउने एकजना टुरिस्टले उसको पनि फोटो खिच्यो एकदिन, उसको नीरस अभिव्यक्तिको फोटो । यो पनि उसले थाहा पाइन । एकैचोटी एउटा सेतो, अग्लो, खैरो कपाल भएको मान्छे उसको अघि उभिन आइपुग्दा पो ऊ झसङ्ग भई ।

“वान्ट मनी ?” यसो भन्दै टुरिस्टले पाँच रूपियाँको नोट कतिर बढायो । उसको एकरस जीवनको अनौठो मुख फेराइ थियो यो घटना… तर त्यो अनुभूति अति छोटो भयो, त्यसलाई कुनै अनुभूति नभने हुन्छ । त्यो पाँच रूपियाँको नोट पोल्टोभित्र तह लाउँदा उसले आफ्नो अपाङ्ग लोग्नेलाई झल्याँस्स सम्झी, यो फाल्तु पैसा ऊकहाँ भएको एकदम थाहा पाउनु हुदैँन, ऊ निकै सचेत रहनुपर्नेछ । आफ्नो पैसा नभएकै अभिनयप्रति, नत्र उसको लोग्नेले रक्सी खानको निम्ति याचना गर्नलाई एउटा शब्दकोश खर्च गर्नुपर्नेछ । सर्किनीलाई शब्दको ओइरोदेखि घृणा छ।

यो तीन महिनाभित्रमा देशले निकै ठूलाठूला राष्ट्रिय पर्वहरू मनाइसकेको छ । यही पुलमाथिबाट संविधान दिवसको जुलुस बगेको थियो । धिमेवाजा, ब्यान्डवाजा, नारा,, झाँकी तर नैकापे सर्किनीले केही देखिन, केही सुनिन पनि । ऊ एकनासे बालुवा निकाली रही । विकासको नारा र झाँकीसँग उसलाई कुनै पनि मतलव छैन । अस्तित्वमा भएका वस्तुहरूसँग उसको तात्पर्यको कडी क्रमशः टुक्रिँदैछ भने नभएकाहरूसँग… के असम्भव ? बोक्रे धाक त अर्काको पसिना खानेले मात्र लगाउन सक्छ, सर्किनीले सक्दिन ।

साँझ चार बजे ऊ बालुवाको धापबाट निस्कन्छे, फलाम जस्तै चिसो र कठोर भएर । त्यो थुपारिएको बालुवाको खात ठीक । उसको जीवनको प्रतीक हो रसहीन र रुखो । चार शब्दमा ऊ हरियो लसुन र मकैको पिठो किन्छे र यन्त्रचालित जस्तो पाटीमा फर्किन्छे । छोटो दिन झमक्क रात पर्छ पाँच बजे । सर्किनी आएर खाना पकाइसकेको अन्दाज गरेपछि सार्की फर्किन्छ पाटीमा । घस्रन सक्ने ठाँऊसम्म उ जान्छ, दिनभरि तास खेल्छ राती यसरी मस्तिष्कभरि हार, झगडा र हीनताभासको धुवाँ बोकेर फर्कने गर्छ ।

धन्दा सिद्धिएपछि चिसै लुगामा सर्किनी एकातिर गृँडुल्किन्छे । निर्धक्क सुत्छे ऊ आजभोलि । डर नाउँ गरेको बोध पनि त हुँदैन उसलाई, त्यो पनि मरिसकेछ क्यारे । केही दिनअघि उसको गरिब स्वास्नी मान्छे हुनुको नियतिको फाइदा उठाएर त्यतैको एकजना ठगीखाने भिखारी उसलाई लुट्न त्यहाँ पसेको थियो । सर्किनीले थाहा पाई यो उसको अस्मिताको प्रश्न थियो । यहाँ भाषा र शब्दसँग होइन एउटा बलिष्ट र सिङ्गो लोग्ने मान्छेको शरीरसँग जुध्नुपर्ने हुन्छ । यो अर्कै किसिमको वास्तविकता हो । उसले छेवैमा राखेको थाले कुटो च्याप्प समाती र बजारेर आक्रमणकारीतिर हानी । छल्दा छल्दै पनि छल्न सकेन भिखारीले । ठिहिर्याइरहेको हातमा लागेको प्रहार सहन नसकेर रन्थनिँदै ऊ भाग्यो, त्यसपछि
फर्केर आएन ।

रातभरि सपनामा पनि उ बालुवा झकेको देख्छे । यसरी नैकापे सर्किनी इञ्च इञ्च गर्दै सिद्धिँदै छे । उसको हाड, मासु, रगत राजधानीको कुनै निर्माणाधीन भवनमा जम्मा हुँदैछ बिना कुनै मूल्य, बिना कुनै कागजपत्र ।

(धवलागिरी वर्ष २, अङ्क १,२,३ संयुक्ताङ्क २०३९)

(कौशिकी शीर्ष स्तम्भमा कुनै पनि प्रसिद्ध साहित्यकारका रचनालाई साभार गर्ने गर्दछौँ । यस अङ्कमा प्रसिद्ध प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित कथा नैकापे सर्किनिलाई पाठकसमक्ष पस्किएका छौँ । पारिजातको चर्चित कथासङग्रह साल्गीको बलात्कृत आँसुभित्र सो कथा सङ्गृहीत छ । प्रस्तुत कथासङ्ग्रहको पहिलो संस्करण वि.सं २०४३ सालमा साहित्य सन्ध्या, परिवार, काठमाडौँले प्रकाशत गरेको थियो । त्यसैगरी दोस्रो संस्करण ग्रन्थ-३, ‘पारिजात सङ्कलित रचनाहरू’ को निर्माण प्रकाशन सिक्किसले वि.सं २०५४ मा प्रकाशन गरेको थियो । -सं)