साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

गीत के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश
अनुभूतिको गेयात्मक अभिव्यक्तिलाई गीत भनिन्छ । अनुभूतिको प्रवाह प्रबल रूपमा हुने हुनाले गीतलाई पनि काव्यविधाअन्तर्गत नै समेट्ने गरिएको हो । यसको आफ्नैखाले संरचनागत चिनारी भए पनि आकारका दृष्टिले यो कविताको लघुरूपअन्तर्गत नै पर्दछ । अलिखित साहित्यका रूपमा मानिने सबै भाषाका लोकगीतहरू मौखिक गायन परम्पराबाट नै जीवित हुँदै आएका छन् । लिखित सामग्रीमा विश्वको सर्वप्राचीन मानिने ग्रन्थ ‘ऋग्वेद’को प्रस्तुति गायनबाट नै हुने गर्दछ । ‘सामवेद’को मूल चिनारी सङ्गीत नै हो । सङ्गीतको औपचारिक उत्पत्ति ‘सामवेद’बाट नै भएको पाइन्छ । यसरी हेर्दा गीतको सम्बन्ध लोकसाहित्य र लिखित साहित्य दुवैसँग जोडिन पुग्दछ । नेपाली साहित्यका सन्दर्भमा भने गीतको आगमन कवितासँगै भएको मानिन्छ । वि.सं. १८२६ मा सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनारायण’ कविता नै लोकछन्दमा लेखिएको छ भने त्यसपछिका वीरधारा र भक्तिधाराका कविता र निर्गुण भक्तिधाराका कविता र भजनहरू गाउन मिल्ने खालका छन् भने माध्यमिक कालीन कतिपय शृङ्गारिक कविता र गजलहरू गायनमा नै आइसकेका छन् । नेपाली गीत सङ्गीत परम्परामा गायनको थालनी सेतुरामबाट भएको हो र पहिलो गायन मोतीरामको गजलबाट भएको हो । कवित्वचेत सशक्त हुने हुनाले कविता, गीत र गजल तीनओटै अन्तरसम्बन्धित भएर नेपाली गीतको इतिहास निर्माण भएको छ । यस लेखमा त्यही लोकप्रिय काव्यविधा गीतका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक सन्दर्भको चर्चा गरिएको छ ।

२. गीतको परिचय
गीत तत्सम शब्द हो । ‘गै’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘गीत’ शब्दको अर्थ ‘गाइएको वा गाउन मिल्ने’ भन्ने हुन्छ । यसरी नै ‘गै’ धातुमा ‘ल्युट’ (अन) प्रत्यय लागेर ‘गानम्’ (गान) शब्द बन्दछ । राष्ट्रगान, भक्तिगान आदिमा प्रयोग भएको ‘गान’को अर्थ पनि गीत नै हो । त्यही ‘गान’को नेपालीकरण ‘गाना’ हो । नेपालीमा गीत, गान, गाना आदि पर्यायवाची शब्दकै रूपमा प्रयोग हुँदै आएका छन् । गीत विश्वका जुनसुकै भाषामा पनि छ र तिनको अर्थ र प्रयोजन पनि लगभग मिल्ने गर्दछ । अनुभूतिको लयात्मक वा साङ्गीतिक प्रस्तुति हुने हुनाले अन्य विधाका तुलानामा गीत सर्वाधिक लोकप्रिय बन्ने गरेको हो । न्यु इन्साइक्लोपेडिया ब्रिटानिकाले गीतलाई एक्लै वा सामूहिक रूपमा बाजाहरूसँगै वा तिनको अभावमै पनि गाइएको वा गाउनका लागि तयार गरिएको रचनाविशेष भनी परिभाषित गरेको छ भने डब्ल्यु एच हड्सनले एउटै वक्ताको एउटै मनस्थिति तथा भावना संवेगात्मक रूपमा व्यक्त भएको रचना नै गीत हो भनी चिनाएका छन् । नेपाली सन्दर्भमा डा. वासुदेव त्रिपाठीले भाषाका फाँटको भावुक र लयात्मक अभिव्यक्ति एवं सङ्गीतसँग कविताको समागमको तरल झङ्कृतिका रूपमा र डा. हिमांशु थापाले जीवन र भोगाइका क्रममा प्राप्त भाव र अनुभूतिको कलात्मक, संवेगात्मक र गेयात्मक प्रस्तुतिका रूपमा गीतलाई चिनाएका छन् । यसरी नै डा. कृष्णहरि बरालले वक्ताको एउटै भाव तथा मनस्थिति सरलताका साथ अभिव्यक्त भएको अनुभूति प्रधान त्यस्तो अआख्यानात्मक आत्मपरक रचनालाई गीत भनिन्छ, जुन सङ्क्षिप्त हुनाका साथै खास प्रकारको लय तथा सङ्गीत व्यवस्थामा आबद्ध हुन्छ भनी परिभाषित गरेका छन् । साथै डा. बरालले गीत लयबद्ध हुनुपर्ने, गाइएको वा गाउनकै उद्देश्यले लेखिएको हुनुपर्ने, वाद्ययन्त्रसँग वा रहित गाउन मिल्ने हुनुपर्ने, एउटै मनस्थितिको चित्रण, संवेगात्मक प्रतिविम्बन र एउटै विषयको केन्द्रीयता हुनुपर्ने, आयाम सङ्क्षिप्त, स्वरूप आख्यानहीन र अभिव्यक्ति सरल तर कवित्व प्रबल हुनुपर्ने थप मान्यतालाई अगाडि सारेका छन् ।
उल्लिखित सन्दर्भहरूलाई हेर्दा गीत मानवीय संवेगहरूको सबैभन्दा बढी प्रतिनिधित्व गर्न सक्ने गेयात्मक सिर्जना हो भन्ने बुझिन्छ । लयात्मक अन्तर्गुञ्जन, तीव्र काव्यिक चेतना, हृदयसंवेद्य अनुभूति प्रवाह, सरलता, कोमलता र प्रभावकारी भाव सम्प्रेषण गीतका लागि आवश्यक पक्ष मानिन्छन् ।

३. गीतको संरचना
गीतलाई गीत बनाउने केही महत्त्वपूर्ण अङ्गहरू छन् । तीमध्येमा केहीको बाह्य भूमिका रहेको हुन्छ भने केहीको आन्तरिक भूमिका हुने गर्दछ । केही गीतहरू पररम्परित लेखनमा आधारित हुन्छन्, केहीमा शास्त्रीयताको पूर्ण पालना हुन्छ भने केही गीतको रचनामा भने अनेकौँ प्रयोगहरू हुन थालेका छन् । यति हुँदाहुँदै पनि प्रयोगवादी गद्यसंरचना गीतको मूल चिनारीभित्र पर्दैन । गीतको न्यूनतम संरचनालाई बुझ्नका लागि तलको एउटा गीतलाई यसरी हेर्न सकिन्छ—

स्थायी
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

अन्तरा– १
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको
ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।

अन्तरा– २
दसैँ र तिहार रमाइलो हाम्रो चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।
(राष्ट्रकवि माधव घिमिरे)

माथिको गीतमा रहेका सुरुका दुई हरफलाई ‘स्थायी’ र बिच बिचका चार चार हरफलाई ‘अन्तरा’ भनिन्छ । एउटा गीतको पूर्णताका लागि स्थायी र अन्तराको बाह्य सङ्गठन अनिवार्य मानिन्छ । तिनको गीतमा भूमिका निम्नलिखित हुने गर्दछ—

स्थायी भागः गीतको थालनीमा आउने दुई हरफलाई स्थायी भाग भनिन्छ । यहाँ सिङ्गो गीतको प्रतिनिधित्व हुन सक्ने सूक्तिपूर्ण दुई हरफहरू हुन्छन् । यी दुई हरफहरूमध्ये कुनै एक वा दुवै हरफ पनि प्रत्येक पछिल्ला अभिव्यक्तिभन्दा पछाडि दोहोरिएर आउने हुनाले यसलाई स्थायी भाग भनिएको हो । यो अभिव्यक्तिको शिर हो । यसले समग्र गीतको भावगत प्रतिनिधित्व गर्ने गर्दछ । साथै पटक पटक दोहोरिएर आउँदा पनि पुनरावृत्ति जस्तो नलाग्नु र गीतको सौन्दर्यवृद्धिमा बारम्बार भूमिका खेलिरहनु स्थायी भागको विशेषता हो ।

अन्तरा भागः गीतको मध्यभागमा आउने प्रायः चार हरफको संरचनालाई अन्तरा भाग भनिन्छ । यस खण्डमा अनुभूतिको विस्तार हुन्छ । स्थायी भागमा व्यक्त विचारलाई पुष्टि गर्नेखालका सन्दर्भहरूको संयोजन गरी पुनः स्थायी भागसँग जोडेर सत्यलाई सूक्तिमा रूपान्तरण गर्ने काम यस खण्डमा हुने गर्दछ । अन्तराको काम अनुभूतिको विस्तार हो तर अनावश्यक विस्तारले गीतलाई सुन्दर होइन, कुरूप बनाउँछ ।

अभिव्यक्तिको पूर्णता र अपेक्षित संरचनाः एउटा सिङ्गो गीत एउटा पूर्ण सङ्कथन हो । एउटा सुन्दर र पूर्ण गीतका लागि एउटा स्थायी र दुइटा अन्तरा अनिवार्य मानिन्छन् । गीतमा अन्तराको विस्तार जति पनि हुन सक्छ । लोकदोहोरी गीतमा त अन्तराको विस्तार अनन्त हुन सक्छ । यसमा एउटा स्थायीमा केन्द्रित भएर घण्टौँ मात्र होइन, दिनभरि र रातैभरि पनि गाइरहन मिल्ने गरी अन्तराहरू थपिँदै जान्छन् तर राष्ट्रिय गीत तथा आधुनिक गीतमा एउटा स्थायी र दुइटा अन्तरा भएको गीतलाई उत्तम, तीनओटा अन्तरासम्मको गीतलाई मध्यम र त्यसभन्दा लामो गीतलाई त्यत्ति मन पराइँदैन । गीत गायनप्रति लक्षित गरी लेखिने हुनाले र सङ्गीतका लागि पनि समय चाहिने हुनाले तीनदेखि साढे तीन मिनेटसम्ममा गाएर सकिने गीतलाई उत्तम मानिएको हो जसका लागि उल्लिखित उत्तम संरचना अपेक्षित छ ।

स्थायी र अन्तराको संयोजन गीतको बाह्य बनोट हो तर एउटा गीत सबल बन्नका लागि आन्तरिक बुनोट पनि त्यत्तिकै शक्तिशाली हुनुपर्छ । भावगत संयोजन शक्तिशाली भयो भने गीत सबल बन्दछ र सफल पनि बन्दछ । एउटा गीतको स्थायी भाग स्रष्टा अनुभूति वा विचारको केन्द्र हो भने अन्तरा भाग स्थायी विचारको पुष्टि हो । यसमा वर्णनात्मकताभन्दा सूक्तिपूर्णता बढी अपेक्षित हुन्छ । लयात्मकता यसको अनिवार्य पक्ष हो ।

४. बाह्य बनोटका आधारमा गीतका प्रकार
गायनमा गइसकेपछि गीतको बाह्य बनोटमा त्यत्ति ध्यान दिइँदैन । त्यसले श्रोतामा पार्ने प्रभावबाट नै गीतको शक्तिको मूल्याङ्कन हुने गर्दछ तर लेखनका समयमा भने बाह्य बनोटको विशेष भूमिका रहने गर्दछ । नेपाली गीत सङ्गीतका क्षेत्रमा हेर्दा दुई हरफे स्थायी र चार हरफे अन्तराको शास्त्रीय नियममा बाँधिएर लेखिएका मात्र नभएर त्यसबाहिरका प्रयोगशील गीतहरू पनि उत्तिकै लोकप्रिय भएका देखिन्छन् । नेपाली गीतमा स्थायी भागको रचना एक, दुई, तीन, चार वा त्योभन्दा बढी हरफहरूमा पनि भएको देखिन्छ ।

प्रायः लोकगीतमा एउटै हरफमा स्थायी भागको रचना भएको पाइन्छ र तुकबन्दी पनि त्यत्तिमा नै अटाएको देखिन्छ । जस्तैः

(क) आलुदम चाना, छोटो जिन्दगी नि लै लै लामो सम्झना ।
(ख) पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात, मस्र्याङ्दी सलल ।
(ग) राइझुमा, झुमा क्या मस्क्याकी छ हो राइझुमा ।
कतिपय राष्ट्रिय तथा आधुनिक गीतहरूमा पनि एक हरफे स्थायी भाग लोकप्रिय बनेको देखिन्छ । जस्तैः
(क) आमा, मरेँ म भन्दै ऊ सहिद भएर बाँच्यो । (राष्ट्रिय गीत)
(ख) तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडेँ म । (आधुनिक गीत)

दुई हरफको स्थायी भाग गीतको मूल संरचना नै हो त्यसैले यसका प्रशस्त उदाहरणहरू पाइन्छन् । तीन हरफको स्थायी भाग भएका केही गीतहरू पनि नेपाली साङ्गीतिक क्षेत्रमा पाइन्छन्, चार हरफको स्थायी भएका धेरै गीतहरू पाइन्छन् भने त्यसभन्दा बढी हरफका स्थायीहरू पनि नेपाली गीतमा प्रयोग भइसकेका छन् ।
यसरी नै अन्तराको निर्माण दुई हरफमा पनि भएको देखिन्छ । हरेक दुई दुई हरफको रचना गर्दै जाँदा गीतले पूर्णता पाएका उदाहरणहरू प्रशस्त पाइन्छन् । तीन हरफका अन्तराको प्रयोग पनि लोकप्रिय नै मानिन्छ । स्थायी भागमध्येको एक हरफको पुनरावृत्ति भएका हरेक गीतमा तीन हरफको अन्तरा पाइन्छ । चार हरफको अन्तरा गीतका लागि सुन्दर मानिन्छ तर कैयौँ गीतहरूमा त्योभन्दा बढी हरफका अन्तराहरू पनि पाइन्छन् । त्यति मात्र नभएर वर्तमानमा प्रचलित पप, ¥याप भनिने अत्याधुनिक गीतहरूमा त आन्तरिक अनुप्रासका माध्यमबाट ताल निर्माण गरिएको एउटा सिङ्गो अनुच्छेद वा एउटा निबन्ध, समाचार वा सूचना नै पनि गीतको अन्तरा भएर आएको देखिन्छ ।

कविता र गीतको प्रत्यक्ष सम्बन्ध हुने गर्दछ । त्यसैले कतिपय रचनाहरू लेखनमा कविता र गायनपछि गीत बनेका छन् । निम्नलिखित गीतहरू सुरुमा कविताका रूपमा लेखिएका हुन्—

(क) कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो ?
(देवकोटाको ‘यात्री’ कविता)

(ख) ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्
सृष्टिको फूल रोपेर त्यस्तो कसरी लतारिस् ।
(देवकोटाको ‘मुनामदन’ खण्डकाव्य)

(ग) तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो, खेल्यो, वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा ।
(सिद्धिचरणको ‘ओखलढुङ्गा’ कविता)

यसरी नै अनेकौँ बालकविताहरू बालगीत बनेका छन् । अनेकौँ कविताहरू लोकप्रिय गीत बनेका छन् र कैयौँ खण्डकाव्य र महाकाव्यका अंशहरू तथा गीतिनाटक र नाटकका अंशहरू गीत बनेका छन् । यसका आधारमा हेर्दा जुनसुकै संवेगात्मक, कवित्वपूर्ण र लयात्मक सिर्जनालाई गीत बनाउन सकिन्छ भन्ने कुरा थाहा पाइन्छ ।

५. गीत कसरी लेखिन्छ ?
उल्लिखित विविध संरचनाका बारेमा जानकारी प्राप्त भइसकेपछि गीत लेख्न सजिलो छ तर एउटै गीतमा सबैखाले प्रयोग सम्भव छैन । कुनै एउटा संरचनालाई अँगालेर त्यसमा स्थायी र अन्तराको सङ्गठन मिलाउँदै गएर सुन्दर गीत बनाउन सकिन्छ । यसका लागि सुरुमा कुनै एउटा विषयवस्तु सोचेपछि त्यसलाई स्थायी र अन्तराको संरचनामा ढाल्नका लागि शब्दहरूको छनोट गर्नुपर्छ । यसको रचना गर्दा सुरु सुरुमा तीनओटा चरण नै अपनाउन सकिन्छ । जस्तैः

विषयवस्तुः नेपाली सुन्दरीको चित्रण
प्रमुख शब्द वा तुकः छोरी, मोरी, गोरी, चोरी आदि ।
संरचनाः एउटा स्थायी, दुइटा अन्तरा ।
लयविधानः ४+४+४+२ = १४ अक्षर सवाई छन्द

पहिलो चरणः शब्दसंयोजन— यस चरणमा गीतका लागि सोचेको विषयवस्तुलाई वहन गर्न सक्ने कम्तीमा चारओटा अनुप्रासमूलक शब्द (तुक) हरूको चयन गर्नुपर्छ र ती शब्दहरूसँग मिल्ने लयको छनोट गर्नुपर्छ । जस्तैः माथि उल्लेख गरिएका छोरी, मोरी, गोरी, चोरी आदि शब्द र सवाई छन्द आदि ।

अब यी शब्दहरूमा दुइटालाई स्थायी भागमा अन्त्यानुप्रास वा मध्यानुप्रास मिलाएर राख्नुपर्छ र बाँकी दुइटालाई अन्तराको तेस्रो हरफमा स्थायीसँग अन्तरसम्बन्धित गराएर राख्नुपर्छ । स्थायी र अन्तराका लागि छनोट गरिएका उल्लिखित शब्दहरूसँग पूर्वापर प्रसङ्ग मिल्ने गरी अगाडि र पछाडि राख्न मिल्ने अन्य शब्दहरूको चयन गर्नुपर्छ । ती शब्दहरूले विषयवस्तुलाई समेटेको हुनुपर्छ ।

अन्त्यानुप्रासमा राख्दा

यही माटोमा जन्मिएकी नेपालकी छोरी
माटोजस्तै प्यारी अनि हिउँजस्तै गोरी

मध्यानुप्रासमा राख्दा

जन्मसँगै नेपालकी छोरी बनिन् उनी
हेर्दाहेर्दै हिउँजस्तै गोरी बनिन् उनी ।

विषयवस्तुको उठान भइसकेपछि तिनलाई अर्थसँग जोड्नका लागि दोस्रो चरणमा जानुपर्छ ।

दोस्रो चरणः अर्थसंयोजन— यस चरणमा गीतका लागि आवश्यक सिद्धान्तमा सचेत रहेर निर्धारित विषयवस्तुको विस्तार गरी पूर्वनिर्धारित लयमा कम्तीमा एउटा स्थायी र दुइटा अन्तरा लेख्नुपर्छ । जस्तैः

नेपालमा जन्मिएकी नेपालकी छोरी
हेर्दाहेर्दै लाग्न थाल्यो हिउँजस्तै गोरी

कहिले पुग्छे खेतबारी कहिले पँधेरामा
कहिले आउँछे दिउँसै घर कहिले अँधेरामा
कत्ति कुद्न सक्छे होली चञ्चले यो मोरी
नेपालमा जन्मिएकी नेपालकी छोरी ।

हिजो गाई हेर्न गा’की उतै हराइछे
जङ्गलमा बाघ देख्दा निकै डराइछे
आज खेतबारीमा गई छर्न थाली तोरी
नेपालमा जन्मिएकी नेपालकी छोरी ।

यत्तिको रचनालाई हामीले गीत नै मान्ने गरेका छौँ । यस अभिव्यक्तिमा गीतका लागि चाहिने स्थायी र अन्तराको संरचना र नियम पनि मिलेको छ, सवाई छन्दको लयविधान पनि मिलेको छ, विषयप्रति सचेतता र निरन्तरता पनि छ र स्रष्टाको आशय पनि अभिव्यक्त हुन थालेको छ । यहाँ प्रयोग भएका अनुप्रासमूलक शब्दहरूको अन्तरसम्बन्ध तथा शब्द र अर्थका बिचमा तालमेल मिलेकै छ तर यहाँ कवित्व छैन, एउटी नेपाली युवतीको सरासर वर्णन मात्र छ । अर्थात् यहाँ गीतकारको आँखा मात्र बोलेको छ । उसले जे देखेको छ, त्यही लेखेको छ । विषयवस्तुको सपाट वर्णनले गीत सुन्दर हुँदैन । बाहिरी अस्थिपञ्जर चाहिँ निर्माण हुन्छ तर भित्र प्राण भरिएको हुँदैन । अब यसमा सशक्त भावसंयोजन गर्नका लागि तेस्रो चरणमा जानुपर्छ ।

तेस्रो चरणः भावसंयोजन— यस चरणमा गीतका लागि आवश्यक सिद्धान्त, विषयवस्तुको विस्तार र लयविधानमा सचेत भएर विभिन्न विम्ब र प्रतीकहरूको प्रवेश गराई शब्द, अर्थ र भावको संयोजन गर्नुपर्छ । यस चरणमा गीतकारको आँखाले देखेको कुरालाई हृदयको भाषामा व्यक्त गर्नुपर्छ । मानवीय संवेगलाई च्वास्स छुने गरीको अनुभूति प्रवाह गर्नुपर्छ । जस्तैः
हिउँसँग खेल्दै हिँड्ने हिमालकी छोरी
सिँगारपटार नगरी नै कत्ति राम्री मोरी !

बादलुझैँ कालो कालो केश फुकाउँछे
पहाडको घुम्टोभित्र मुख लुकाउँछे
फेवातालभित्र खेल्ने चन्द्रजस्तै गोरी
सिँगारपटार नगरी नै कत्ति राम्री मोरी !

झरनाको तालसँगै गीत गाउँछु भन्छे
मखमली फूलजस्तै प्रीत लाउँछु भन्छे
शीतसँग खेल्दाखेल्दै मन मेरो चोरी
सिँगारपटार नगरी नै कत्ति राम्री मोरी !

यस अभिव्यक्तिमा स्थायी र अन्तराको संरचना पनि मिलेको छ, अर्थको निरन्तरता पनि छ, नेपालकी छोरीको वर्णन गर्न हरेक हरफमा कुनै न कुनै प्राकृतिक विम्ब एवं प्रतीकहरूको प्रयोग गरिएको छ र स्त्रीसौन्दर्यका साथै प्रेमिल भावको गम्भीर संयोजन पनि गरिएको छ । यहाँ आएका हिमालकी छोरी, सिँगारपटार नगरी सुन्दरी, बादलको केश, पहाडको घुम्टोमा मुख लुकाउने, फेवातालभित्रको चन्द्रमा, झरनाको तालमा गीत गाउने, कहिल्यै नओइलाउने मखमली फूलजस्तै प्रीत लाउने, शीतसँग खेल्ने आदि पद तथा पदावलीभित्र लुकेको अर्थको गहिराइमा नेपालीपनको जति पनि व्याख्या र विश्लेषण गर्न सकिन्छ । यहाँ नेपाल नभनी नेपाली प्राकृतिक, सांस्कृतिक एवं जीवनपद्धतिगत गरिमाको चित्रण छ भने नेपाल र नेपाली सुन्दरीबिचको अन्योन्याश्रित सम्बन्धको स्थापना पनि छ । यसरी भन्नुपर्ने कुरालाई कुनै विम्ब, प्रतीक वा संवेगात्मक शब्दचयनका माध्यमबाट सुललित तरिकाले व्यक्त गर्न सकियो भने त्यसले दिने अर्थ पनि हृदयसंवेद्य हुने गर्छ ।

प्रस्तुत गीतमा विषयवस्तुको वर्णनमा संवेगात्मक भूमिका बढी छ । कुनै कुनै विषय यस्ता हुन्छन् जसमा दार्शनिक दृष्टिकोण राख्न सकिन्छ । अत्यन्त सानो र सामान्य जस्तो लाग्ने विषयलाई पनि कविले दार्शनिक दृष्टिले हेर्दा त्यो सुन्दर गीत बन्दछ । स्थायी र अन्तरासम्बन्धी माथिको संरचनाभन्दा केही फरक शैलीमा ‘पिपल’लाई एउटा जीवनदर्शन वा चिन्तनसँग जोडेर प्रस्तुत गर्दा यस्तो गीत लेख्न सकिन्छ—

पिपल हुँ म धैर्य गर जित बन्न सक्छु
जिन्दगीलाई गाउन मिल्ने गीत बन्न सक्छु

टेक्न मात्रै पाएँ भने पर्खालमा सर्छु
भेट्न कोही आए भने शीतल भै झर्छु
ढिलो सर्छु ढिलो बढ्छु धैर्य मेरो साथी
विश्वासमा बाँच्नेहरू पुग्छन् सबै माथि
पिपल हुँ म सङ्घर्षको मित बन्न सक्छु
जिन्दगीलाई…..

मै भगवान् बनिदिन्छु कोही आई पुज्दा
भक्तलाई नै जलाइदिन्छु चितासम्म पुग्दा
युगौँयुग बाँच्न सक्छु माटो टेक्न पाए
दुःखभित्रै हाँस्न सक्छु जीवन देख्न पाए
पिपल हुँ म मानवको हित बन्न सक्छु
जिन्दगीलाई…..

प्रस्तुत गीतमा स्थायी भाग दुई हरफको र अन्तराको मूल भाग चार हरफकै छ तर स्थायी भागसँग जोड्नका लागि नयाँ अनुप्रासका साथमा एक हरफ थप सिर्जना गरिएको छ । यहाँ एकातिर टेक्ने ठाउँ मात्र पाउनासाथ पर्खालमा पनि सर्ने, मान्छेलाई सबैभन्दा बढी अक्सिजन दिने, भगवान्का रूपमा पनि पूजा हुने, चितामा पनि पवित्र मानिने पिपलको विशेषताको चित्रण गरिएको छ भने अर्कातिर ढिलो सर्ने, ढिलो बढ्ने तर युगौँयुगसम्म बाँचिरहने पिपलले मानवलाई धैर्य र सङ्घर्षको पाठ सिकाउने जीवनदर्शनको पनि स्थापना गरिएको छ ।

यो गीतको न्यूनतम फ्रेम मात्र हो । यसभित्र अभिव्यक्त हुने अनुभूति, कवित्व वा जीवनदृष्टिचाहिँ प्रत्येक स्रष्टामा अलग अलग हुने गर्छ, जुन कुरा कसैले कसैलाई दिन सकिँदैन । त्यो प्रतिभा हो, प्रतिभा स्रष्टाको नितान्त निजी सम्पत्ति हो । गीत लेख्न सिक्दै गरेकाहरूका लागि यी चरणहरू सिर्जनाका आधार बन्न सक्छन् तर अभ्यस्त बन्दै गएपछि यी कुनै पनि कुराको आवश्यकता पर्दैन । स्रष्टाको हृदयमा एउटा शक्तिशाली भाव सिर्जना भएपछि त्यसका लागि आवश्यक शब्दछनोट, विम्बछनोट र लयछनोट आफैँ भइहाल्छ तर एउटा सफल गीत सिर्जना गर्ने हो भने चाहिँ निम्नलिखित कुरामा ध्यान दिनै पर्छ—
— जीवन र जगत्लाई हेर्ने साधारणीकृत दृष्टिकोण,
— स्रष्टा अनुभूति र भावक अनुभूतिको अन्तरसम्बन्ध,
— संवेगको उच्चतम प्रयोग र हृदयको प्रतिविम्बन,
— सुललित, कोमल, हृदयसंवेद्य र सङ्गीतमैत्री शब्दविन्यास,
— सत्यको सूक्तीकरण र शब्दको सङ्गीतीकरण

६. निष्कर्ष
अन्य विधाका तुलनामा गीत अलि बढी नै संवेदनशील मानिन्छ । गीतले सुतेको मान्छेलाई जुरुक्क उठाएर क्रान्तिमा होमिदिएको इतिहास पनि पाइन्छ र खुसीसाथ बाँचिरहेको मान्छेलाई तत्काल आत्महत्या गर्न लगाएको इतिहास पनि छ । एउटा नेताले घण्टौँ भाषण गर्दा जागृत हुन नसकेकाहरू एउटा गीतबाट जागृत भएका पनि छन् र दर्जनौँ किताबले दिन नसकेको ज्ञान एउटा गीतले दिएको प्रमाण पनि विश्वमा छ । त्यसैले एउटा गीतको शक्ति कति हुन्छ भनेर मापन गर्ने आधार त्यसले पाठकमा पार्ने प्रभाव हो । गीतको स्थायी अंश सुन्नासाथ यो सिकारु गीतकारले लेखेको हो कि स्थापित गीतकारले लेखेको हो भन्ने अनुमान लगाउन सकिन्छ । त्यसमा पनि वर्तमानका गीतकारहरू साहित्यिक र गैरसाहित्यिक दुवै पाइन्छन् । गैरसाहित्यिक गीतकारहरूको उद्देश्य विषयवस्तुको वर्णन वा सूचनाको सम्प्रेषण मात्र हुने गर्दछ तर साहित्यिक गीतकारको उद्देश्य कलात्मक प्रस्तुति र अपेक्षित जीवनदर्शनको स्थापना हुने गर्दछ । उपभोक्ताका दृष्टिले हेर्दा गीतहरू तीन प्रकारका देखिन्छन् । तेस्रो दर्जाका गीतहरूको सम्बन्ध कानसँग मात्र हुन्छ, ती कानभन्दा भित्र जान सक्दैनन् । एकछिन डाङडुङमा रमाउँछन् । तिनको आयु एक वर्षको पनि हुँदैन । दोस्रो दर्जाका गीतहरू तत्कालीन विषय र संवेदनालाई छुने र श्रोतालाई जुरुकजुरुक उठाउने खालका हुन्छन् । यिनले केही समय श्रोताको मन जित्छन्, रगत उमाल्छन् तर परिस्थितिको परिवर्तनसँगै गीतको आयु पनि समाप्त हुन्छ तर पहिलो दर्जाका गीतहरू सदावहार हुन्छन् । यिनको बास श्रोताको हृदय र मस्तिष्क दुवैमा हुने गर्दछ । हृदयको सम्बन्ध संवेगसँग हुने र मस्तिष्कको सम्बन्ध दर्शनसँग हुने हुनाले संवेगात्मक विषयप्रतिको दार्शनिक दृष्टिकोण भएका गीतहरू नै सार्वकालिक हुने गरेका तथ्यहरू विश्वमा पाइएका छन् । यसको प्राप्ति क्षणिक रहरबाट सम्भव छैन, अथक साधना, निरन्तर समर्पण र सिर्जनात्मक योगाभ्यासबाट मात्र सम्भव छ ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...