ट्युनिसिया जाने भएपछि समुद्र नजिक भएकोले इन्फिदा हामामेट एयरपोर्ट छानियो । त्यहीँ बस्न बुकिङ पनि गरियो । पछि त्यहाँबाट ट्युनिस जाने, एक रात मात्र त्यहाँ बस्ने, दुई रातको लागि राजधानीमा नै बस्ने भइयो । मित्र देवेन्द्र श्रेष्ठको जोडी पनि शुक्रबार उडेर सोमबार फर्किने भएपछि हामी आइतबार नै सिधै ट्युनिस पुगेर तीनै रात उतै बस्ने निर्णयमा पुग्यौं । हाम्रो छोटो भेटघाट भए पनि ३४ औं वर्ष गाँठको एक साँझको बसाइ निकै अविस्मरणीय रह्यो ।

हामी बसेको होटेल अगाडिको चिडियाखानामा घुम्दै गर्दा राम्रो अङ्ग्रेजी बोल्ने एक महिलाले हामीलाई “तिमीहरू उत्तर अमेरिकाबाट आएका हौ ?” भनेर सोधिन् । यो प्रश्न हाम्रो लागि नयाँ थिएन । यसअघि मोरोक्को र इस्तानबुल जाँदा पनि धेरैले हामीलाई मेक्सिकन वा पेरुभियन भनेर अड्कल काटेका थिए । हामीले आफूहरू एशियाबाट आएको भनेपछि पनि उनीहरू धेरैजसो देशको नाम लिँदै अनुमान गर्थे, तर नेपाल भने कसैले भन्न  सक्दैनथे । हामीले ती महिलालाई पनि अझै अनुमान गर्न भन्यौं । सगरमाथा र बुद्धको कुरा गर्दा पनि उनले अनुमान लगाउन सकिनन् । अन्ततः रमजानको समयमा पानी समेत पिउन नपाउँदा दिमागले काम गर्नै सकेन भन्दै उनी हाँस्दै हार मान्न बाध्य भइन् । उनका श्रीमानले ठट्टा गर्दै भने, “तिमीलाई यति कुरा त थाहा हुनुपर्ने हो ।”

त्यत्तिकैमा प्रसङ्ग बदल्दै उनले जिज्ञासा राखिन्, “तर किन ट्युनिसिया नै तिमीहरूको गन्तव्य बन्न पुग्यो ?” उनका प्रश्नमा केवल जिज्ञासा मात्र थिएन, अलिकति आश्चर्य पनि मिसिएको थियो । किनकि संसारका धेरै पर्यटकीय, लोकप्रिय ठाउँहरू छाडेर टाढाबाट ट्युनिसिया पुगेको कुराले उनीलाई रोचक लागिरहेको थियो ।

प्रश्नको जवाफ अलि रमाइलो तरिकाले दिन खोजेँ । मैले भनेँ, “मेरो एक जना साउदी नामका ट्युनिसियन साथी थिए । एक दिन तिम्रो देश घुम्न आउनेछु भनेको थिएँ । उनले पनि नेपाल आउने वाचा गरेका थिए । तर पछि हाम्रो सम्पर्क टुट्यो । यतै कतै भेटिएला कि भनेर  उनलाई खोज्दै म यहाँ आइपुगेको हुँ ।” मेरो यो उत्तर सुनेर उनी मुस्कुराइन् र “तिम्रो हराएको साथी भेटियोस्” भन्दै शुभकामना दिइन् ।

बातचितकै क्रममा थाहा भयो कि उनीहरू धेरै वर्षदेखि क्यानडामा बस्दै आएका रहेछन्  । रमजानको यो एक महिनाको अवसरमा परिवारसँग समय बिताउन आफ्नै देश फर्किएका रहेछन्। छोटो समयको त्यो भेटघाट अपरिचितहरूबीच भएको भए पनि निकै आत्मीय लाग्यो। संसारका फरक–फरक कुनाबाट आएका मानिसहरू क्षणिक रूपमा भेटिँदा पनि जीवनका कति कथा आदानप्रदान हुने रहेछन् भन्ने अनुभूति भयो।

सन् १९९८ मा म च्याउ कम्पनीमा काम गर्दाखेरि साउदीसँग मेरो निकै राम्रो सम्बन्ध बनेको थियो । हामीले पछि रेस्टुरेन्ट खोलेपछि पनि उनले लामो समयसम्म डेलिभरीको काम गरेर सहयोग गरिरहे । यसरी हाम्रो सम्बन्ध धेरै वर्षसम्म निरन्तर चलिरह्यो । उनले एक विदेशी महिलासँग विवाह गरेका थिए र दुई छोरा तथा एक छोरीसहित राम्रोसँग जीवन बिताइरहेका थिए ।

तर धेरै लामो समयपछि फेरि भेट हुँदा उनको जीवन पहिले जस्तो थिएन । अहिले उनी आधा समय यहाँ र आधा समय ट्युनिसियामा बस्ने गरेको बताए । श्रीमतीसँग पारपाचुके भइसकेको र अर्को आफ्नै देशको महिलासँग विवाह गरेका रहेछन् । सबै कुरा सुन्दा मन अलि दुखी भयो । निकै व्यवस्थित र सुखी देखिएको जीवन पनि समयसँगै कति बदलिँदो रहेछ भन्ने महसूस भयो । तर अन्ततः जीवन भने यस्तै उतारचढावबीच निरन्तर अगाडि बढिरहने रहेछ ।

हामी जहिले भेट हुँदा पनि ‘ह्याप्पी न्यु एअर’ भनेर हात मिलाउने गर्दथ्यौँ । हामी नेपाली रेस्टुरेन्टमा नयाँ वर्ष भन्दै पटक पटक भेला हुने गरेको देख्दा ऊ अचम्म पर्थे । र पछि लौ त्यसो भए प्रत्येक दिन नँया वर्ष भन्दै जिस्किएका थिए । नभन्दै यो त हाम्रो थेगो नै बन्यो ।

ट्युनिसिया को मेदिना (Medina) परम्परा मुख्यतः पुरानो सहरको जीवनशैली, व्यापारिक गतिविधि र सामुदायिक संस्कृतिसँग गहिरो रूपमा जोडिएको हुन्छ । ‘मेदिना’ भन्नाले इस्लामिक कालमा विकसित पुरानो सहर वा बस्तीलाई जनाउँछ, जहाँ साँघुरा गल्लीहरू, परम्परागत घरहरू, मस्जिदहरू र साना पसलहरूको घनत्व देखिन्छ ।

ट्युनिसियाको मेदिनामा परम्परागत रूपमा ‘सूक’ (बजार) को विशेष महत्त्व छ । यहाँ हस्तकला सामग्री, कपडा, छालाजन्य उत्पादन, गहना, मसला तथा अन्य स्थानीय उत्पादन बेच्ने साना पसलहरू पुस्तौंदेखि सञ्चालनमा छन् । ग्राहकसँग मोलमोलाई गर्ने चलन अझै जीवित छ, जसलाई मेदिनाको विशिष्ट सांस्कृतिक अभ्यासका रूपमा लिइन्छ ।

मेदिनाका घरहरू बाहिरबाट साधारण देखिए पनि भित्रपट्टि आँगन (courtyard) सहित आकर्षक ढंगले निर्माण गरिएका हुन्छन् । परिवार–केन्द्रित जीवनशैली, छिमेकी बीचको आत्मीयता र धार्मिक गतिविधिहरू यहाँको सामाजिक संरचनाका महत्त्वपूर्ण अङ्ग हुन् । विशेषगरी मस्जिद वरिपरि सामाजिक जीवन केन्द्रित हुने परम्परा आज पनि स्पष्ट रूपमा देख्न सकिन्छ ।

मेदिना केवल ऐतिहासिक ठाउँ मात्र होइन, आज पनि जीवित संस्कृति हो जहाँ पुरानो जीवनशैली र आधुनिक जीवन सँगै चलेको देखिन्छ । यही कारणले ट्युनिसियाको मेदिना पर्यटकहरूका लागि मात्र होइन, स्थानीय मानिसको दैनिक जीवनको पनि महत्त्वपूर्ण हिस्सा बनेको छ । ट्युनिसियाको मेदिना घुम्दा हामीलाई नेपालका पुराना बजार असन वा इन्द्रचोक क्षेत्र जस्तै अनुभूति भयो । टाढाको उत्तर अफ्रिकामा रहेको ट्युनिसिया र हिमालपारिको नेपालबीच सांस्कृतिक दूरी धेरै भए पनि पुराना शहरहरूको जीवनशैली भने कताकता मिल्दोजुल्दो लाग्यो ।

पर्यटन विकासका लागि सरकारले विभिन्न समयमा केही नयाँ क्षेत्रहरू निर्माण गरेको देखिन्छ । विशेष गरी सन् १९७० दशकपछि विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले समुद्री किनार आसपास होटेल, मरिना, मनोरञ्जन केन्द्र र व्यवस्थित आवास क्षेत्र बनाउने नीति लिइएको थियो । यही नीतिको परिणामस्वरूप यास्मिन हामामेट, सुस नजिकको पोर्ट एल कान्ताउई, मोनास्टिर–स्कानेस क्षेत्र र जेरबा टापुका केही पर्यटकीय बस्तीहरू विकसित भएका हुन् ।

यी नयाँ क्षेत्रहरू प्रायः पुराना ऐतिहासिक शहरहरूभन्दा अलगै योजनाबद्ध रूपमा निर्माण गरिएका छन् । यहाँ फराकिला सडक, आधुनिक होटेल, किनमेल केन्द्र, समुद्री किनारका रिसोर्ट र पर्यटकलाई लक्षित सेवा–सुविधाहरू तयार गरिएको पाइन्छ । यास्मिन हामामेटलाई भने ट्युनिसियाको सबैभन्दा स्पष्ट रूपमा योजनाबद्ध नयाँ पर्यटन शहरका रूपमा लिइन्छ, जहाँ कृत्रिम मेदिना समेत निर्माण गरिएको छ ।

ट्युनिसियाको पर्यटन संरचना हेर्दा पुराना ऐतिहासिक मेदिना भएका शहर र नयाँ रिसोर्ट क्षेत्र सँगसँगै विकास गरिएको मिश्रित मोडेल देखिन्छ । एकातिर सयौं वर्ष पुरानो सांस्कृतिक सम्पदा सुरक्षित राखिएको छ भने अर्कोतर्फ आधुनिक पर्यटक सुविधासहित नयाँ शहरहरू निर्माण गरिएको छ । यसरी ऐतिहासिक विरासत र आधुनिक पर्यटन विकासलाई सन्तुलनमा राख्ने प्रयास ट्युनिसियाको पर्यटन नीतिको प्रमुख विशेषता मानिन्छ ।

ट्युनिसको सबैभन्दा रमणीय र फोटो खिच्न उपयुक्त गाउँहरूमध्ये एक ‘सिडी बु साइद’ रहेछ । यस ठाउँको विशेषता नीलो–सेतो रङका घरहरू हुन् । जसले समुद्रको नीलो पानीसँग अनौठो मिलन देखाउँछ । समुद्रको किनारमा स्थित यो गाउँ साँच्चै शान्त र रोमाञ्चक भएको कारण पर्यटकलाई बस्न, घुम्न र फोटो खिच्न निकै नै लोभ्याउने रहेछ । त्यहाँ रहेको ट्युनिसियाको एक मात्र बेन रहिम कफी कम्पनी जर्मनीमा खोलेर कतारसम्म पुगेको जानकारी पाइयो । यो विशेष प्रकारको कफी अन्यभन्दा फरक र उत्कृष्ट पनि रहेछ ।

त्यसो त ट्युनिसियामा कफी संस्कृति केवल पेय पदार्थको रूपमा मात्र होइन, सामाजिक जीवनको महत्त्वपूर्ण हिस्सा पनि हो । यहाँ कफी पसलहरू भेटघाट, परिवार र साथीहरूसँग समय बिताउने र आराम गर्ने स्थानका रूपमा प्रयोग हुन्छन् । पश्चिमा देशहरूमा पब कल्चर जस्तै प्रचलित छन् । परम्परागत रूपमा हल्का मीठो कफी वा मिन्ट टी प्रचलित छ, र ग्राहकको स्वाद अनुसार कस्टमाइज गर्ने चलन छ । पुरानो मेदिनाका साँघुरा क्याफे वा आधुनिक रिसोर्टका आरामदायी टेरेसहरूले ट्युनिसियामा कफी अनुभवलाई स्वाद मात्र नभई सांस्कृतिक र सामाजिक अनुभव पनि दिने गर्दछ । चिया र कफीसँगै चुरोट वा हुक्का पिएर गफ गर्नु यहाँको सामान्य दैनिकी हो । अझै पनि धूम्रपान सम्बन्धी कुनै कडा नियम नभएको कारण जहाँ जसले पनि नियमित धूम्रपान गरेको देखिन्छ ।

त्यहाँ पुग्नुभन्दा अगाडि सार्वजनिक यातायातको अवस्था बारे केही जानकारी लिने क्रममा अन्य विकसित मुलुकहरूमा जस्तो भरपर्दो नरहेको बुझियो । टिकट पहिले बुकिङ गर्ने, आउने–जाने टिकट लिने भन्ने चलन रहेनछ । रेल सेवाको चाहिँ व्यवस्था रहेछ । जति बेला स्टेसन पुगियो, टिकट काट्यो गयो । टिकट नकाटे पनि सुरक्षा ढोकाहरू नभएको कारण जरिवाना हुने कुरा भएन । टिकट चेक गर्ने आए पैसा तिरे हुने । अचम्मको कुरा, रेल भाडा अति सस्तो । ट्युनिसको एक कुनाबाट अर्को कुनामा जहाँ गए पनि एक जनाको एक दीनार र दुई जनाको १.६ दीनार ।

त्यहाँको ट्याक्सी सेवामा अलि बढी ध्यान दिनुपर्ने कुरा सुनिए पनि वास्तवमा सबैले मिटर नै चलाउने रहेछन् । भाडा एकदम सामान्य तर अलि टाढाको यात्रामा भने अलि मोलमोलाइ गर्ने चलन रहेछ । कहिलेकाहीँ त अरू गाडीले पनि रोकेर कता जाने हो भनेर सोध्ने अनि राजी भए लिएर जाने रहेछ । रमजान भएको कारण उनीहरूको खाना खाने बेलामा बाटो पूरै सुनसान थियो । हामी चार जना ट्याक्सी कुरेको होला भनेर एक जनाले गाडी रोकेर हामीलाई पुर्‍याइदिने भ यो। बाटोमा कुरा गर्दै जाँदा  “तिम्रो घरमा लगे पनि हुन्छ” भनेको त उसले नो प्रोब्लेम भन्दै  बाटो मोडेर लान थाल्यो । तर हामीले जिस्केको भनेर फर्काउनुपर्‍यो । गाडी र रेलको भाडा किन सस्तो भनेर थाहा पाउन पेट्रोलको मूल्य कति होला भन्ने कौतूहल भयो । एक लिटरको झन्डै १.२५ दीनार पर्ने रहेछ ।बस र रेलको आउने–जाने समय लेखिए पनि भनेको समयमा नआउनु यहाँको सामान्य चलन नै रहेछ। त्यसमा पनि रमादानको समय भएकाले इफ्तार खुल्ने बेलामा त सबै काम–काज केही बेरका लागि रोकिने नै भयो ।

सिडी बु साइदबाट फर्किने क्रममा प्रत्येक घण्टामा रेल आइहाल्छ भन्ने सोचेर कार्थेज आर्किओलोजी पस्यौं । युनेस्को विश्व सांस्कृतिक धरोहरमा सूचीकृत प्राचीन रोमन र फिनिसियन सभ्यताका अवशेषहरू तथा आसपासका ऐतिहासिक संरचनाहरू अवलोकन गर्दै समय बितायौं । तर फर्किने बेला झन्डै दुई घण्टा रेल कुर्नुपर्‍यो । ट्याक्सीमा फर्किन पनि सकिन्थ्यो, तर त्यहाँ भेटिएका एक गायक र बाद्यवादक सँगको रमाइलो कुराकानीले छुटिन मन लागेन ।

उनले आफू इटालीको दक्षिणी भागमा अवस्थित प्रमुख सहर Napoli (Naples) बाट आएको बताएपछि, हामी उस्तै–उस्तै ठाउँमा जन्मेका रहेछौँ भन्दै झन् आत्मीयता बढ्यो । रमाइलो गफ भयो, फोटो पनि खिचियो ।

रेलबाट झरेपछि दिउँसो सिडी बु साइदमा कफी पिउँदा देखेकी तर नबोलेकी एक युवतीसँग परिचय भयो । कलेज सकेर काम गर्दै गरेकी जापानी युवती नाना एक्लै चार देश घुम्न निस्केकी रहिछिन् । सम्पर्क आदान–प्रदान भयो । अब हाम्रो भेट जापानमा हुन्छ कि बेलायतमा—समयले नै देखाउनेछ ।

ट्युनिसबाट इन्फिदा जाने रेल पनि झन्डै डेढ घण्टापछि मात्र आयो । रेलमै भेटिएकी अलिअलि अङ्ग्रेजी बोल्ने नाक–कान–घाँटी विशेषज्ञ महिला डाक्टरले त्यहाँको यातायात सेवाबारे विस्तृत जानकारी दिइन् । रोचक कुरा के थियो भने त्यहाँ थोरैले मात्र अङ्ग्रेजी बुझ्ने भएकाले बाटो सोध्दा मानिसहरू केही परसम्म सँगै हिँडेर नै देखाइदिने चलन रहेछ । यसले पर्यटन विकासका लागि अङ्ग्रेजी भाषाको ज्ञान कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा अझ स्पष्ट बनायो ।

फर्किने क्रममा ट्याक्सी ड्राइभरसँग त्यहाँको जीवनबारे धेरै कुरा बुझ्ने अवसर मिल्यो । हामीले दिएको समयमा उनकी जेठी छोरीको विद्यालय छुट्ने बेला परेकाले उनी छोरीलाई पनि सँगै लिएर आएका रहेछन् । छोरीलाई लिएर काममा निस्केका उनी हामीलाई एयरपोर्टसम्म पुर्‍याउँदै गर्दा बाटोभरि आफ्नो परिवार, कामकाज र दैनिक जीवनका कुरा सुनाइरहे ।

 

यस दृश्यले धेरै वर्षअघिको नेपाल सम्झायो । त्यति बेला नेपालमा पनि ट्याक्सीको अगाडिको सिटमा साथी वा परिवारका सदस्य राखेर ग्राहकलाई एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने चलन सामान्यजस्तै थियो ।

त्यहाँको राजनीतिक अवस्थाबारे सोध्दा उनले अहिलेका राष्ट्रपति राम्रो मार्गदर्शन दिइरहेका छन् र उनी पेशाले प्रोफेसर पनि हुन् भनेर जोड दिए । तर लामो समयदेखि चलिरहेको राजनीतिक खिचातानीका कारण थुप्रै समस्या जेलिएका छन्, जुन तुरुन्त समाधान हुने अवस्था छैन । बेरोजगारी, विशेषतः युवामाझ, बढ्दो क्रममा छ । अवसरको खोजीमा धेरै युवा देश छोड्न बाध्य छन् ।

परम्परागत रूपमा महिलाहरू रोजगारीमा त्यति सहभागी नभए पनि शहरी क्षेत्रहरूमा जागिर खाने महिलाको संख्या बढ्दै गएको रहेछ । यसको प्रमाण हामीले रेलमै देख्यौँ । अङ्ग्रेजी बोल्ने एक महिलाले महिनाका केही दिन नानीघरमा हुँदा आधा दिन मात्र काममा आउने बताइन् । विभिन्न नजिकका स्थानहरूबाट कामका लागि ट्युनिसिया आउने यात्रुहरूमध्ये पनि महिलाहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो । यस यात्राले केवल स्थान र दृश्य मात्र होइन, मानिसहरूको जीवन, संघर्ष र आत्मीयता पनि नजिकबाट देखायो ।

सामूहिक परिवारमा रहे पनि उमेर पुगेपछि प्रायः केटाहरू घरजम गरेर छुट्टै बस्ने गर्दछन्। घरजग्गाको मूल्य पनि महँगो नै रहेछ। दुई छोरी मात्र भएका ट्याक्सी ड्राइभरलाई छोरा पनि चाहिएला नि भनेर सोध्दा, “हैन, यस्तो महँगीमा धेरै बालबालिका हुर्काउन सकिँदैन” भनेको कुरा निकै भाबुक थियो। हुन पनि भेडाको मासु एक किलोको ६० दीनार (झन्डै नेपाली तीन हजार) पर्ने रहेछ।

ट्युनिसियाको राजनीतिक इतिहास प्राचीन फिनिसियन र रोमन सभ्यताबाट सुरु भएर अरब–इस्लामिक शासन र त्यसपछि ओटोमन साम्राज्यको नियन्त्रणसम्म पुग्यो । सन् १८८१ मा ट्युनिसिया फ्रान्सको संरक्षित राज्य बन्यो । लामो राष्ट्रिय आन्दोलनपछि ट्युनिसियाले सन् १९५६ मा स्वतन्त्रता प्राप्त गर्‍यो । स्वतन्त्रतापछि हबीब बुरगिबाले आधुनिक धर्मनिरपेक्ष गणतन्त्र स्थापना गरे र लामो समयसम्म शक्तिशाली राष्ट्रपति प्रणालीमार्फत शासन गरे ।

सन् १९८७ मा जिन अल अबिदिन बेन अली सत्तामा आए र उनले कडा नियन्त्रणसहितको शासन चलाए । उनको शासनकालमा केही आर्थिक विकास भए पनि राजनीतिक स्वतन्त्रता निकै सीमित थियो । सन् २०११ मा भएको जस्मिन क्रान्तिले बेन अलीको शासन अन्त्य गर्‍यो र यसै आन्दोलनबाट अरब क्षेत्रमा व्यापक अरब स्प्रिंग मार्फत परिवर्तनको लहर सुरु भयो । त्यसपछि सन् २०१४ मा नयाँ संविधान जारी भयो र प्रजातान्त्रिक चुनावहरू सम्पन्न भए ।

सन् २०१५ मा भएका ठूला आतङ्कवादी हमलापछि देशमा आपतकाल घोषणा गरियो, जुन अहिले सम्म पनि कायम छ ।  सुरक्षा निकायलाई विशेष अधिकार  र सार्वजनिक गतिविधिहरूमा कडा निगरानी राखिन्छ । सन् २०२१ पछि राष्ट्रपतिले कार्यकारी अधिकारहरू अझ बढी आफ्नो हातमा केन्द्रित गरेका छन्, जसका कारण ट्युनिसिया फेरि कडा शासनतर्फ फर्किरहेको भन्ने चिन्ता व्यक्त गरिन्छ । आज ट्युनिसिया राजनीतिक अस्थिरता र आर्थिक समस्याबीच संघर्ष गरिरहेको देशको रूपमा चिनिन्छ । तर त्यहाँ भ्रमण गर्दा यस प्रकारको कुनै अनुभव भने भएन ।

मेरो जिद्दीले मात्र जान राजी भएकी मीनु ट्युनिशिया टेक्ने बित्तिकै मौसम र सहयोगी मानिसहरू भेटेर दङ्ग परिन् । त्यहाँको मुद्रासम्बन्धी खासै जानकारी मैले लिएको थिइनँ, अरू ठाउँझैँ युरो सजिलै चल्ला नि भन्ने सोचेको थिएँ । केही पसल र क्याफेहरूमा कार्ड चले पनि सामान्य  बजारमा दीनार मात्र चल्ने रहेछ । त्यहाँको पैसा विदेशबाट लैजान पनि नपाइने र त्यहाँबाट बाहिर ल्याउन पनि नपाइने नियम रहेछ । जति खर्च भयो, बाँकी रकम पहिले साटेको रसिद देखाएर आफ्नै मुद्रा फिर्ता लिनुपर्ने कुरा पछि मात्र थाहा भयो ।  त्यसैले साटेको पैसा सबै सक्काइयो । फर्किने बेला सेक्युरिटीले दीनार छ कि छैन ? पाउण्ड कति छ ? भनेर सोधपुछ पनि गर्‍यो ।

पहिलो दिन इन्फिदाबाट ट्युनिश जाँदा पछि फर्किन सकिएला कि नाइँ भन्ने अन्योल थियो । त्यसैले ट्याक्सीवालालाई थप भाडा तिरेर यास्मिन हामामेटमा केही समय बिताएका थियौँ । फर्किने बेलामा इन्फिदामा अलि बसौँला भन्ने सोच थियो, तर त्यहाँ घुम्ने खासै ठाउँ रहेनछ । हाम्रो हाटबजारजस्तै सडकभरि तरकारी र फलफूल बेच्न राखेका दृश्य देखिए । त्यहाँ समय बिताउनुभन्दा फेरि हामामेट नै फर्किने निर्णय गर्‍यौँ ।

हामामेटको सबै व्यवस्था पर्यटकमैत्री लाग्यो । होटलमा स्वादिष्ट लन्च र डिनर, स्थानीय चिसो बियर, पुरानै जस्तो देखिने तर नयाँ संरचनामा बनेको मेडिना, घोडाको टाँगाबाट सहर परिक्रमा—सबैले यात्रालाई अझ रमाइलो बनायो । समुद्रमा पौडिएर सुनौलो बालुवामा सुत्दा लागेको गहिरो निद्राले मीनु निकै खुशी भई । समय अभावका कारण ‘क्वाड बाइक’ चलाउने धोको अधुरै रह्यो, तर समग्र अनुभव यति राम्रो रह्यो कि फेरि जाने अवसर पाएमा त्यो रहर अवश्य पूरा गर्नेछौँ ।

सहरमा देखिने जेरी हलुवा र अन्य मिठाइहरू, तिनको टाढासम्म फैलिएको मीठो सुगन्ध, बाटोमा उड्ने धुँवा र धुलोको गन्ध, अनि लामालामा हर्नको आवाजले नेपालमा बिताएका पुराना दिनहरूको सम्झना दिलायो । नेपालभन्दा ठूलो भूभाग भए पनि करीब एक करोड बीस लाख मात्र जनसंख्या भएको ट्युनिसिया, नेपालमा प्रयोगमा नआएको सडक पार्किङ शुल्क तिर्ने मेसिनबाहेक धेरै कुरा उस्तै–उस्तै महसूस भयो ।

साउदीसँगको लामो समयदेखिको सम्बन्धका कारण जसरी भए पनि एक पटक ट्युनिसिया टेक्ने रहर पूरा भयो । अब साउदीलाई भेटेर उसको नेपाल जाने वाचा पूरा गराउन सके अझ रमाइलो हुने थियो ।

यु के