नेपाली चित्रकलामा कहिलेकाहीँ कुनै कलाकारको अनुपस्थितिले खाली ठाउँ मात्र छोड्दैन, एउटा युगको धड्कन नै रोकिएझैँ अनुभव गराउँछ । ‘मुहार’ चित्रण र ‘दृश्य’ चित्रमा अद्वितीय शिल्प–कौशलका धनी कलाकार आलोक गुरुङको २०८२ साल मंसिर २६ गते शुक्रबार भएको असामयिक निधनको समाचारले मेरो मनमा शून्यता छाएको छ । उहाँसँगको आत्मीय चिनाजानीका कारण मात्र होइन, नेपाली चित्रकलामा उहाँले रोप्नुभएको पहिचान र अनुशासनको वृक्षका कारण पनि उहाँको अभाव लामो समयसम्म खड्किरहने छ ।

कलाकार गुरुङलाई नेपाली कलाजगतमा स्थापित मुहार तथा दृश्यचित्रका सशक्त शिल्पीका रूपमा स्मरण गरिन्छन् । विशेषतः ‘पोट्रेट’ अर्थात् अनुहारको आकृति–रचनामा उहाँको दक्षता अग्रपङ्तिमा राखिन्छ । ठूलाबडादेखि सर्वसाधारणसम्म अनेकौँ व्यक्तित्वहरूले उहाँको क्यानभासमा आफ्नै पहिचानको कलात्मक रूप पाउने अवसर पाए । उहाँको चित्रणमा अनुहार बाह्य रूप होइन, व्यक्तित्वको अन्तःस्वर र जीवनानुभवको सौन्दर्यपूर्ण आवरण बन्न पुग्थ्यो ।

क्यानभास वा कागजमा रङका विविध आयामहरू प्रयोग गर्दै पृथक भावभूमि निर्माण गर्नु उहाँको विशेषता थियो । तर यस उपलब्धिसम्म आइपुग्दा उहाँले सहज यात्राको सुखद अनुभव सँगाल्न भने मुस्किलले मात्र पाउनुभयो । गरिबीको पीडा वा दैनिक आवश्यकताभन्दा पनि ‘कलाकार कसरी बन्ने ?’ भन्ने चिन्ताले उहाँलाई लामो समयसम्म अस्थिर बनायो । यही बेचैनीले उहाँलाई अनुशासन, अभ्यास र आत्मविश्वासको कठोर साधनामा डोर्याइरह्यो ।

वि.सं. २०१० सालमा जन्मिनुभएका गुरुङ उहाँका पिता रामशरण गुरुङ भारतीय सेनामा कार्यरत भएकाले उहाँको बाल्यकाल भारतका विभिन्न स्थानहरूमा बित्यो । आमा वीरमादेवी गुरुङको स्नेहिल काखमा हुर्केका उहाँ दुई दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । तर सानैमा भाइको निधन भएपछि उहाँ एक्लोपनको अनुभूतिसँग परिचित हुनुभयो । तनहुँ जिल्लाको क्यामिन गाउँस्थित आरुबोट उहाँको पुर्ख्यौली थलो भए पनि लाहुरे जीवनको बाध्यताले परिवार भारतकै विभिन्न ठाउँमा बस्यो । यद्यपि कतिपय वर्ष उहाँ मामाघर तनहुँको पोर्थक गाउँमा आउने–जाने गर्नुहुन्थ्यो, जहाँ ग्रामीण जीवनका उकाली–ओराली, भारी बोकेर हिँड्ने श्रमजीवी जीवन र पहाडी भूगोलको लयले उहाँको संवेदनशील मनमा गहिरो प्रभाव छोड्यो । पेन्सन क्याम्प, रामबजार पोखरामा उहाँको अस्थायी बसोबास थियो ।  कलाक्षेत्रमा उहाँको यात्रा निरन्तर संघर्षले बनेको थियो । यथार्थवादी कलामा वस्तुको आकृति, अवस्थिति, संरचना, सन्तुलन र रङको स्वाभाविकता उतार्न प्रकृतिका क्षणहरूलाई आँखाले मात्र होइन, मनले पनि ग्रहण गर्नुपर्छ भन्ने विश्वास उहाँको अभ्यासमा देखिन्थ्यो । प्रकृतिसँग घुलमिल हुँदै उहाँले रङको रहस्य खोज्नुभयो– प्रकाशको सूक्ष्म परिवर्तन, छायाँको गहिराइ, मानवीय त्वचाको ‘जीवन्त टोन’ र वातावरणीय रङ–सन्तुलन ! यही कारण उहाँका दृश्यचित्रमा प्रकृतिको शान्त लय र व्यक्तिचित्रमा जीवित संवेदनाको स्पन्दन सहजै अनुभव गर्न सकिन्छ ।

यसरी रङ प्रयोगको अनुशासन र अनुभवको संयोजनले उहाँलाई यस्तो सर्जक बनायो जसले दृश्य र व्यक्तिचित्र दुवै क्षेत्रमा सौन्दर्य र यथार्थको सन्तुलित भाषा निर्माण गर्न सफलता दिलायो । अन्ततः नेपाली चित्रकलामा उहाँको योगदान कलात्मक उपलब्धि मात्र होइन, संवेदनशील दृष्टि र श्रमशील साधनाको प्रेरक पाठ पनि बन्न पुग्यो ।

उहाँका चित्रहरू हेर्दा लाग्छ– मानिसको अनुहार आकार मात्र होइन, जीवनका असंख्य कथाहरूको आवरण पनि हो । आँखाभित्रको मौनता, ओँठको किनारमा प्रतिविम्बित सुन्दरता, निधारको हल्का रेखामा लुकेको संघर्ष आदि । यी सबैलाई उहाँले कुशल रङ र रेखाले बोल्न सिकाउनुहुन्थ्यो । मुहार चित्रमा उहाँको दक्षता यति सूक्ष्म थियो कि चित्र हेर्दा मानौँ व्यक्ति स्वयं अगाडि उभिएको अनुभूति हुन्थ्यो ।

उहाँसँगको मेरो पहिलो स्मृति कलाकारहरूको टोलीसँग गरिएको सिक्किम यात्रासँग गाँसिएको छ । यात्राका प्रत्येक साँझ उहाँ आफ्ना कलाकार जीवनका पानाहरू पल्टाउनुहुन्थ्यो । कहिले राजदरबारका पोट्रेट बनाएका अनुभव सुनाउनुहुन्थ्यो, कहिले विभिन्न जिल्लाहरूमा घुम्दै चित्र बनाएर जीवन धानेका दिनहरू सम्झनुहुन्थ्यो । ‘पञ्चायत कालमाा राजा, रानीका प्रशस्तै पोट्रेट बनाएको छु ।’ उहाँ गर्व र सरलताबीचको स्वरमा भन्नुहुन्थ्यो– ‘त्यसले आर्थिक अवस्था मात्र सुधारेन, मेरो पोट्रेट कलालाई पनि परिपक्व बनायो ।’ उहाँका शब्दहरूमा अनुभवको परिपक्वपन र आत्मविश्वासको शिल्प–कौशल मिसिएको हुन्थ्यो ।

त्यही यात्रामा उहाँले बारम्बार दोहोर्याउने अर्को कथा थियो– साइकल चढेर ‘थोराङ्ला पास’ पार गरेको अविस्मरणीय अनुभव ! त्यो साहसको कथा थिएन; त्यो कलाकारको आत्मबल, प्रकृतिप्रतिको प्रेम र सीमालाई चुनौती दिने मनोवृत्तिको कथा पनि थियो । उहाँका आँखामा त्यो सम्झना झल्किँदा, मलाई लाग्थ्यो– चित्रकार मात्र होइन, उहाँ जीवनका उकालाहरू चित्रित गर्ने यात्री पनि हुनुहुन्थ्यो ।

मेरा लागि सबैभन्दा भावुक सम्झनाहरू भने उहाँले मेरो मुहार क्यानभासमा उतार्दा बिताएका ती दिनहरू हुन् । एक सातासम्म कलाकार डी. राम पाल्पालीको निवासमा हरेक दिनको केही घण्टा म उहाँको अगाडि बसिरहेँ । उहाँले मेरो अनुहारका भावभङ्गी मात्र होइन, मेरो मौनता, संघर्ष, खुशी र मुस्कानभित्रको अदृश्य अर्थ खोजिरहनुभयो । कहिलेकाहीँ उहाँ लामो समयसम्म नबोली हेर्नुहुन्थ्यो । जस्तो कि रङ हाल्नुअघि मनको रेखाचित्र बनाइरहनुभएको होस् । जब चित्र पूरा भयो, मैले आफ्नै अनुहार मात्र होइन, आफूभित्र लुकेको अर्को व्यक्तिलाई पनि फरक आँखाले देख्ने अवसर पाएको थिएँ ।

पछि, मेरो अनुरोधमा उहाँले मेरा मित्र राजन राईको ममतामयी आमाको मुहार चित्र बनाउनुभयो । त्यो चित्रमा उहाँले अनुहारसँगै असी उकालो उमेरकी आमाको जीवनभरको श्रम, मातृत्वको शान्त गरिमा, पहिरनमा लुकेको सांस्कृतिक पहिचान यी सबैलाई रहस्यमय संवेदनशीलताका साथ उतार्नुभयो । चित्रले बोल्थ्यो, सम्झनाले सास फेर्थ्यो र समय स्थिर भई सौन्दर्यमय भावना जगाइदिन्थ्यो ।

आज उहाँको अनुपस्थितिमा ती सबै क्षणहरू मनको ग्यालरीमा झुन्डिएका चित्रझैँ उज्याला भएर उभिएका छन् । कलाकारहरू शरीरले विदा हुन्छन्, तर उनीहरूको स्पर्श रङ, रेखा र स्मृतिमा बाँचिरहन्छ । उहाँका क्यानभासहरूमा आकृतिबद्ध भएका अनुहारहरू समयसँगै पुराना होलान्, तर उहाँले देख्न सिकाएको मानवीय संवेदनाको दृष्टि भने कहिल्यै कदापि पनि पुरानो हुने छैन ।

आलोक गुरुङ अब हामीबिच हुनुहुन्न, तर नेपाली चित्रकलाको अनुहारमा उहाँले कोरेको कलात्मक उचाइ अझै जीवित छ । जब म आफ्नै मुहार चित्रतर्फ हेर्छु, त्यहाँ उहाँको हातको स्पर्श स्पन्दित हुन्छ । उहाँको विश्वास, धैर्य र कलात्मक हृदयभित्रको उज्यालो अझै पनि धड्किरहेको म महसुस गर्छु ।

कलाकार आलोक गुरुङको सिर्जनात्मक जीवनको परिमाण र प्रभाव दुवै उल्लेखनीय छन् । उहाँले जीवनभरिमा हजारौँ मुहारचित्र सिर्जना गर्नुभयो, जसले नेपाली समाजका विविध व्यक्तित्वहरूलाई कलात्मक अमरत्व प्रदान गरेका छन् । व्यक्तिचित्रबाहेक उहाँले दृश्यचित्र तथा अन्य सिर्जनात्मक अभिव्यक्तिहरूमा पनि आफ्नो क्षमता प्रमाणित गर्नुभएको थियो । केही वर्ष उहाँले ठमेल र सामाखुसीमा डेरा लिएरसमेत चित्रकर्मलाई जीवन्त यात्रामा हिँडाउनुभएको थियो ।

त्यसैगरी उहाँका कलाप्रदर्शनीहरूले देश–विदेशमा उहाँको कलात्मक उपस्थितिलाई फैलाए । वि.सं. २०१३ मा दमौलीमा र २०१४ सालमा पोखरामा आयोजित एकल चित्रकला प्रदर्शनीहरूले उहाँको प्रतिभालाई व्यापक दर्शकमाझ पुर्याए । वि.सं. २०३१ मा वरिष्ठ कलाकार दुर्गा बराल र गोपाल श्रेष्ठसँग संयुक्त रूपमा सम्पन्न दुई–व्यक्ति चित्रकला प्रदर्शनीले नेपाली चित्रकलाको सामूहिक संवादलाई समृद्ध बनाएको सन्दर्भ पनि यहाँ स्मरणीय हुन्छ । यसबाहेक सामूहिक कलाकार्यशालाहरू तथा प्रदर्शनीहरूका माध्यमबाट उहाँले हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका विभिन्न स्थानहरूमा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।

गुरुङको अर्को विशिष्टता ‘लाइभ डेमोस्ट्रेशन’ थियो– दर्शककै अगाडि प्रत्यक्ष चित्रसिर्जना गर्ने चुनौतीपूर्ण क्षमता । सिर्जना फाइन आर्टस् कलेज (लाजिम्पाट) र ललितकला क्याम्पस (भोटाहिटी) मा उहाँले कला प्रस्तुत गर्दा सिर्जनाको प्रक्रियालाई नजिकबाट अवलोकन गर्ने अवसर मलाई पनि मिलेको थियो । 

वरिष्ठ कलाकार गुरुङ नेपाल सरकारबाट क्षेत्रीय प्रतिभा पुरस्कार सन् २०१७ र अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीद्वारा सन् २०१८ मा उहाँ सम्मानित हुनुभएको थियो । वि.सं. २०८० मा प्रदान गरिएको ‘गण्डकी प्रज्ञा कला सम्मान’ बाट सम्मानित हुनुभयो, जसले उहाँको दीर्घकालीन योगदानको औपचारिक कदर गरेको छ । तथापि, उहाँले नेपाली चित्रकलामा पुर्याउनुभएको योगदानको तुलनामा राज्यस्तरीय सम्मान अझ व्यापक हुन सक्थ्यो भन्ने अनुभूति पनि स्वाभाविक रूपमा मनमा उब्जिन्छ । कलाकारहरूको मूल्याङ्कन प्रायः समयपछि मात्र हुन्छ; त्यस अर्थमा उहाँको सिर्जना र योगदानले भविष्यका पुस्तालाई निरन्तर प्रेरित गरिरहने छ ।

यसरी मुहारचित्रको सूक्ष्म संवेदना, दृश्यचित्रको रङ–लय, अन्तर्राष्ट्रिय प्रदर्शनीहरू, शिक्षणात्मक प्रस्तुतिहरू र अविचल साधनाले आलोक गुरुङलाई नेपाली चित्रकलाको इतिहासमा स्मरणीय व्यक्तित्वका रूपमा स्थापित गरेको छ । उहाँका क्यानभासहरूमा कैद अनुहारहरू समयसँगै धमिलिदै जालान्, तर उहाँले स्थापित गरेको कलात्मक दृष्टि र यथार्थवादी सौन्दर्यबोध नेपाली कला–परम्परामा दीर्घकालसम्म जीवित रहनेछ । यिनै शब्दहरू माध्यमबाट म नेपाली चित्रकलाका आलोक प्रिय कलाकार आलोक गुरुङप्रति हार्दिक श्रद्धा अर्पण गर्छु ।