यो निबन्ध एउटा विशुद्ध लेखकको लेखन र पठन अनुभव हो । लेख्नु, छापिनु मात्र होइन त्यसलाई पढिनु पनि त्यत्तिकै ठूलो कुरा हो । अझ किताबको रूपमा छापिनु र छापिएपछि बिक्रेताका माध्यमबाट पाठकहरूसम्म पुग्नु अझै ठूलो कुरा हो । यौटा लेखकले आफ्ना अनुभूतिहरूलाई अक्षरबाट व्यक्त गर्दा ती अभिव्यक्ति सबैको साझा हुन्छ । यसरी सार्वजनिक सिर्जनालाई पाठकीय आँखाले हेर्ने र मनले पढ्ने काम हुँदा त्यसको औचित्य सार्थक हुन्छ । त्यतिबेला लेखक आत्मसन्तुष्टिको चरम आनन्दमा रमाउँछ ।

यद्यपि समकालीन लेखन, प्रकाशन र पठनमा सक्रिय मन जागरुक छैनन् । प्रविधिहरूको विकासले लेख्ने, पढ्ने र छाप्ने सिलसिला क्रमशः सुस्ताउँदै गइरहेको छ । मान्छेका व्यस्तताले बनाएको बेफुर्सदका कारण किताबहरूले पाठक पाउन सकिरहेका छैनन् । पहिलेजस्तो खोजीखोजी किताब पढ्ने र बिक्री हुने परम्परा ध्वस्त भइसकेको छ ।

यद्यपि पढ्नेहरू पढिरहेका छन् । फुटपाथहरूमा खडेबाबा भएर पनि पढिरहेका छन् । किताब पढ्नेहरू रुचिअनुसार पढ्छन् । कतिले यसो हेरेको जस्तो गर्छन्, पढ्दैनन् । कसैले हेरेको बहानामा पढेर किताबै खान्छन् । यसरी पढेर किताब खानु वा पढ्नु एउटा राम्रो बानी हो ।

तथापि कतिपय मान्छे पढ्नु भनेपछि आफूलाई ‘मरेतुल्य’ ठान्छन् । पढ्ने मनै गर्दैनन् । किताब पढ्नलाई ‘अल्छी’ मान्छन् । किताबको अक्षरहरूमा आँखा लगाउन मन गर्दैनन् । किताबमा एकैछिन मन लगाएर पढ्न फिटिक्कै चाहँदैनन् । तर, कतिपय मान्छे यस्ता किताबप्रेमी हुन्छन्, यतिसम्म पढ्न मन गर्ने हुन्छन् कि किताब पाएपछि खुब पढ्छन्, एकोहोरो पढेको पढेकै गर्छन् । आध्योपान्त किताब पढेर नसिध्याएसम्म उनीहरूले त्यो किताब हातबाट छाड्दै, छाड्दैनन् । अक्षरशः किताबभित्रका अनुभूतिहरूमा चासो र स्वाद लिएर आफू तृप्त भएर पढ्छन् । किताब पढिसकेपछि आनन्दित महसुस गर्छन् ।

वास्तवमा योभन्दा ठूलो सन्तुष्टि र आनन्द सायद उनीहरूले अरूबाट पाउन सक्दैनन् । र, भन्छन्– ‘किताब पढेर मैले धेरै ज्ञान हासिल गरें । मैले नदेखेको धेरै ठाउँ पढेर देख्न पाएँ । मैले नपुगेको ठाउँ पढेर ती धेरै ठाउँमा पुगेँ । मैले नचिनेका धेरै महान् विभूति व्यक्तित्वहरूलाई चिन्ने अवसर पाएँ । किताब मेरो ज्ञानको भण्डार हो । किताब मेरो प्यारो साथी हो ।’

यसरी पढ्नेहरू पुस्तक पसलमा पुगेर पनि पुस्तक छानिरहेका हुन्छन् । छानिएका किताबहरू पढिरहेका हुन्छन् । बसेर पनि पढिरहेका हुन्छन् । उभिएर पनि पढिरहेका हुन्छन् । कति त सुतेर पनि पढिरहेका हुन्छन् । पढ्दापढ्दै सुतिसकेका हुन्छन् । किताबसँगै मस्त निन्द्रामा पनि सायद किताबै पढिरहेको देख्छन् होला कि !

अन्ततः पढ्ने पाठकहरू कुर्सीमा बसेर पढिरहेका हुन्छन् । चौतारीमा बसेर पनि पढिरहेका हुन्छन् । कतै बसमा जाँदा पनि एकछिनको बसाइमा पनि किताबमै आँखा लगाइरहेका हुन्छन् । पढ्नेहरू छैनन् होइन, छन् । धेरै छन् र धेरै किसिमका छन् । पढ्ने, पढन्तेहरू भएरै पत्रिकाहरू चलेका छन् । किताबहरू बिक्री भइरहेका हुन् । पढ्ने नभइदिए किताब छापिँदैनथ्यो । सिलासाङ्ला अलिकति भए पनि पढ्नेहरू भइदिएकैले प्रकाशक पनि हौसिएका छन् । बेच्नेहरूले पनि बेचिरहेका छन् ।

किताबमा प्रकाशकहरूले लगानी उठाउन पाएका छन् । अफसोस विचरा लेखकहरूले भने थोरै पाठकीय प्रशंसाबाहेक अरू पारिश्रमिक केही पाएका छैनन् । तिनै लेखकका किताब बेचेर बिक्रेताहरूले पनि कमिशन कमाएका छन् । नपढ्नेहरूको बिगबिगीमा यतिसम्म हुनु पनि ठूलै कुरा मान्नुपर्छ । ठूलो सफलता र उपलब्धिको कुरा ठान्नुपर्छ । यसैलाई पठन संस्कृतिको विकासको मापन मान्दै विचरा लेखकहरूले सन्तुष्टिको सास फेर्नुपर्छ । आखिर लेखन भनेको स्वान्तसुखायबाहेक अर्थोक केही होइन ।

पढ्ने पाठकहरू मैले धेरै–धेरै देखेको छु । धेरै किसिमका पढ्ने पाठकहरूलाई मैले किताब पढेको देख्न पाएर बेग्लै आनन्दको महसुस गरेको छु । कति पाठकहरू यस्ता पनि मैले देखेको छु जो कतै बसको यात्रामा जाँदा झोलाबाट किताब निकालेर पढ्न थालिहाल्छन् । कतै यात्रामा हिँडिरहेका पदयात्री यसो सुस्ताउन लाग्दा झोलाबाट किताबमा आँखा लगाएर आनन्दित हुन्छन् ।

मलाई लाग्छ यसरी किताबप्रेमी हुनु र किताब पढ्नु भनेको धेरै ठूलो कुरा हो । एउटा लेखकका लागि यस किसिमको दृश्य देख्न पाउनु पनि कम खुशीको कुरा हुँदैन रहेछ ।

आजका नयाँ पुस्ताका मान्छेहरू किताब भनेपछि ‘हाउगुजी’ ठान्छन् र किताब पढ्नुलाई ‘अल्छी’ मान्छन् । तथापि किताब पढ्नेहरू छन् । किताब किन्नेहरू छन् । किताब लेख्नेहरू छन् । किताब बेच्नेहरू छन् । किताबमा लगानी गर्नेहरू छन् । किताब सङ्कलन गर्नेहरू छन् । किताबको पुस्तकालय बनाएर त्यसैमा आनन्द लिनेहरू पनि छन् । किताब उपहार दिएर किताब पढ्ने बानीलाई बढाउने मान्छेहरू पनि छन् । सस्तोमा किताब बेचेर किताब पढ्नलाई प्रेरित गर्नेहरू पनि छन् ।

परन्तु हाम्रो समाजमा किताब पढ्ने ठाउँ धेरै छैन । पुस्तकालयहरू कमै छन् । त्यहाँ पुगेर आफूले मन पराएको र पढ्न खोजेको किताब पढ्न पाइने ठाउँ हुनुपर्छ । पढ्नलाई एकान्त पनि चाहिन्छ । पढ्नलाई अलिकति फुर्सद पनि मिल्नुपर्छ । मुख्य कुरा पढ्नलाई मन हुनुपर्छ ।

पढ्ने मन भएपछि कस्तै भीड, कामको चाप, दौडादौडमा पनि मान्छेले किताब निकालेर पढिहाल्छन् । कति किताब महङ्गो हुन्छ, किन्न सकिँदैन । कति किताब सस्तो हुन्छ तर किन्न पाइँदैन । यसका लागि किताब पढ्ने पुस्तकालय हुनुपर्छ । जहाँ एकैछिन भए पनि आफूलाई मन परेका किताबमा आँखा लगाउँन पाइन्छ । किताब पढेपछि धेरै कुरा थाहा पाइन्छ ।

अपितु, हामी कहाँ पुस्तकालयको अभाव छ, पढ्ने ठाउँ छैन । खाने ठाउँ छ, खेल्ने ठाउँ छ, घुम्ने ठाउँ छ । तर, पढ्ने ठाउँ खै ?

कतिपयले किताब खोजीखोजी किनेर पढ्छन्, र आफूले पढेको किताब अरूलाई पनि पढ्न दिन्छन् । ‘यो किताब यति राम्रो छ कि यो किताब पढेन भने पछुतो मान्नुपर्छ ।’ भन्छन् । यसरी किताब पढ्ने बानी गराउनेहरू छन् । किताबको महत्त्व बताउनेहरू छन् ।

यौटा लेखक, प्रकाशक र बिक्रेताका लागि दुःखको कुरा यो छ कि सरकारले पठन संस्कृतिलाई महत्त्व दिएको छैन । हरेक आर्थिक वर्षको बजेट भाषणमा फलानो, ढिस्कानो क्षेत्रमा यति विनियोजन गरिएको छ भनिन्छ । तर, साहित्य र साहित्यकार, प्रकाशनको निम्ति सरकारले केही गरेको छैन । ‘लेखनसत्ता’ लाई कुनै पनि ‘राज्यसत्ता’ ले सामान्य रूपमा पनि महत्त्व दिएको छैन ।

यति भइकन लेखकहरू आफूले आफैंलाई प्रोत्साहित गर्दै लेखिरहेका छन् । कसैले ‘लेख’ भनेर लेखकले लेख्दैन । कसैले अब ‘नलेख’ भनेर लेखकले नलेख्ने हुँदैन । तर, लेखकहरू आफूले लेखेको किताब आम पाठकसम्म पुग्न नसकेर दिक्क छन् । यस काममा सरकारले अलिकति मात्रै चासो राखिदिएदेखि लेखकलाई ठूलै ‘राहत मिल्ने’ थियो । प्रकाशकलाई पनि ‘आत्मबल बढ्ने’ थियो ।

आफूले लेखेको किताब प्रकाशकले छापिदिनु मात्र ठूलो कुरा हुँदैन । त्यो छापिएको किताब पाठकको हातमा पुग्नु त्योभन्दा अझ ठूलो कुरा हो । आज प्रकाशित कतिपय किताबहरू छापिनुपर्ने छापिएका छैनन् । छापिएका किताब पनि प्रकाशककै प्रकाशन भण्डारमा थन्किएका छन् । पाठकहरूले खोजेको किताब पाउन सकेका छैनन् । पाठकहरू राम्रो किताब पढ्न नपाएर छटपटिएका छन् । कति किताब ‘पुनः प्रकाशन’ को पर्खाइमा छन् । कैयौं किताब ‘अनुवाद’ को आशामा छन् । वास्तवमा अनुवाद साहित्यले विश्वसाहित्यमा नेपाली किताबको प्रवेश हुने थियो ।

किताबको विज्ञापन पनि धेरै हुँदैन । पत्रिकामा आउने समीक्षा पनि चिनाजानको बाहेक अरूको खासै हुँदैन । राम्रो किताब र राम्रो लेखकले स्थान पाउन धेरै कठीन छ । लेखक हुन कि धनी, कि नेतृत्वमा बलियो पकड हुनुपर्छ । सितिमितिको किताबले चर्चा पनि पाउँदैन । मूल्याङ्कन पनि गरिँदैन । ‘बरु फलानाको किताब पनि छापिएको थियो र ?’ भनेर शंका पो गरिन्छ ।

वास्तवमा किताबप्रेमी पाठकको मन कुन लेखकको किताब छापियो, कुन विधाको छापियो, यसमा चासो हुन्छ । नपढ्ने मान्छेको त कुरा सक्किगयो । पढ्ने मान्छेकै सन्दर्भमा पनि किताबहरूको बारेमा यथार्थ जानकारी खासै नहुँदा किताबप्रतिको मोह घट्दै जानु स्वभाविकै हो । यौटा विशुद्ध लेखकको अनुभवमा लेखक हुनुको ‘सन्तोष’ कम र ‘दुःख’ बढी छ ।