न कुनै मार्ग चाहियो, न कुनै अनुमति ! बस्, मनलाग्दी हुन्छन् – लहडैलहडमा, उडेलिरहन्छन् विचारका पतिङ्गर, उखेल्छन् सतहीका झारपात । बडो सम्झिनलायक अनि सम्झाउन लायक हुन्छन्, यी याद ।

===

हैन यो याद बढो बत्तमिज हुँदा रहेछन् यार ! न यिनलाई रात थाहा हुन्छ न दिन थाहा हुन्छ । न विहानको समय थाहा हुन्छ न सन्ध्याकालीन समय नै । यो प्रकृति बढो ध्यानमग्न हुँदा पनि मतलब छैन यी यादहरूलाई । कमसेकम मानिसलाई निन्द्रामा हुँदा त छोडिदिनु नि ! निन्द्रामा सपनी बनाएर आफ्नो छुट्टै संसार बनाउन उद्दत रहन्छन् यी यादहरू ।

ओहो ! संसार नि कस्तो साह्रै अचम्मको, चमक त ताराहरूको भन्दा ज्यादा, ताप सूर्यको भन्दा पनि बढ्ता, वेगको पनि के कुरा रह्यो र ? चल्या छ चल्या छ, रोक्ने कुनै छाँटकाँट छैन । चैत-वैशाखको जस्तो हुण्डरीझैँ एकतमासले चल्या छ । मानिसलाई नखोजेर, मिहिनेत नगरेर पाइने चिज मध्येको याद पनि एक होला । कहिले प्रेमको संसारमा गगनको महत्त्व बखान गर्या छ, कहिले धरतीको धुलो बर्गल्याछ त कहिले तारासँग आकाशगंगामा लुकि-चोर खेल्याछन्, यी यादले । पानीको लहर नदीका छालजसरी प्रेमिल भैदिन्छन् । नदीले किनारसँग लाइरहेको पिरती कस्तो मुग्ध, सुगन्धित हुन्छ । त्यसरी नै यी यादले बर्गेलेको प्रेम पनि मुग्धित हुन्छ ।

याद नै हुन् प्रेम चुम्न जाने, घृणा समेट्ने, पीडालाई छट्पटाउने, दिललाई तड्पाउने, भड्काउने । कस्तो शान्त बसेको मनलाई यसरी भड्काइरहने कस्ता बत्तमिज हुँदा रहेछन् यी याद ! बढो आश्चार्य लाग्छ, कुनै बेला दिललाई जिस्काएर आफू मस्त गगनमा उड्न सक्ने कस्तो साहस भरेका हुन् यी यादले, खै ?

दुनियाँ यताको उता र उताको यता किन नहोस् आफ्नै अगाडि आकासै खसेर भुँइमा झरेपनि कुनै मतलब छैन यी यादलाई । अरुको दैनिकीसँग मतलब छैन, उसको आवश्यकताको खयाल छैन यी यादलाई । यिनलाई त बस् आफ्नो अस्तित्व सिद्ध गर्नु छ, रमाउनु छ । फूलका बगैँचामा डुलेका छन् । पहाडको विचरण गरेका छन् । उकाली चढेर शिखर पनि चुम्दछन्, अनि झरेर ओरालीको फेदमा भवरमा पनि डुब्या छन् । कहिले समतल हुनु छैन, उचाल्या छ, खसाल्या छ, हैन यी यादले गर्न खोजेको चाहिँ के हो ?

समयको पत्तो छैन, मानिस को सँग छ ? के गरिरहेको छ ? मतलब छैन, समय छ कि छैन त्यो पनि मतलब छैन, ऊ चाहन्छ कि चाहँदैन ? त्यो पनि मतलब छैन । उसको दैनिकी भित्र पर्छु कि पर्दैन ? उसलाई कहीँ बस्नु छ कि ? कहीँ जानु पो छ कि ? अहँ यी यादलाई आफ्नो सिवाय सबै महत्त्वहीन जस्ता लाग्छन् । उठे याद, बसे पनि याद । खाए याद, नखाए पनि याद । गफ गर्दा याद, नगर्दा नि याद । हिँडे याद, नहिँडे पनि याद । ढले याद, नढले पनि याद । मानौं जिन्दगानीमा सास हैन यादले जीवन फुकिरहेको छ । ओहो ! यी यादले गरेको आतङ्क, सहिनसक्नु छ यार !

याद पनि कस्ता कस्ता के ? भर्खर कुराकानी गर्यो अझ एकछिनमा फेरि याद, कुरा नगरी बसौँ भन्यो यादले यसरी खेल्छ कि धड्कन नै काबुमा आउँदैन, मन नै स्थिर हुँदैन, दिमागको पनि केही जोर चल्दैन यी यादसँग । उसले खायो होला कि नाइँ ? ऊ के गरिरहेको होला ? कतै उसलाई पनि यादहरूको आतङ्क त छैन ? कतै मलाई जसरी याद आउँछन्, छिचोल्छन्, जिस्क्याउँछन्, लहडी बनाउँछन् कि ? बिराम पो छ कि ? केही पीडा पो छ कि ? केही भन्न पो खोजिरहेको छ कि ? ओहो ! कहाँ पुग्न सक्दैनन् यी यादहरू ?

यिनको कुनै गन्तव्य नै छैन, न आदि छ , न कुनै अन्त । यिनको न कुनै स्थिर जागा छ, न कुनै ओत लाग्ने छाता । न  भौतिक वस्तु हुन्, न यिनको अभौतिक गुण छ । यी अपरिचित, अपरिभाषित चिज हुन् । यादको न कुनै परिभाषा छ, न कुनै तल, न कुनै थल, न कुनै वेग छ, न कुनै आवेग, न यसको प्रवेग छ, बस् एकोहोरो चल्या छन्, चल्या छन् एकतमासको वर्षा जस्तै । रोक्ने कुनै छाँटकाँटै छैन, यी जिन्दगानीका अविरल यात्री जस्ता छन् । बडो आतङ्ककारी हुँदा रहेछन् ।

कहिले दिमागको खुन पसिना चुस्या हुन्छन् त कहिले मनको रागलाई बैराग बनाएका हुन्छन् । कहिले बैरागलाई रागी, अनुरागी बनाएका हुन्छन् । न मनको गति सीमित छ न दिमागको गति सीमित छ बस् अन्तरद्वन्द्वमा स्थापित समाजवाद जस्तो बनाउन खोज्या छन् जिन्दगी । बिचरा जिन्दगी, जिन्दगानी बन्नुपर्ने बेला ठेला गाडी जस्तै गुडिरहेका छन् । आकाश हेर्दा पनि बादलले घेरे जस्तो र जमिन हेर्दा उबडखाबड गल्ली जस्तो बनिदिने, बनाइदिने यी यादहरू दोषी मात्रै होइनन्, अपराधी पनि हुन् ।

आत्माको चाहनामाथि बन्देज गर्दै उम्लिरहन्छन् । उमिल्दै वाफ बनी सारा संसारभरि फैलिन खोज्छन् । जिन्दगीलाई शून्यता, न्यूनता र नगण्यता बनाउने दुष्प्रयासमा हुन्छन् । बडो सङ्कटधारी हुँदा रहेछन । चैनको चैनता र आनन्दको परमानन्दलाई समेत छेउछाउ बस्न नदिने अनि यति धेरै बत्तमिज हुँदा पनि अझै प्रिय, मर्मस्पर्शी लाग्दा रहेछन्, जिन्दगीलाई यी याद ।

यिनै यादले नदीको किनारमा फुलेको सिरुलाई नै गुलाबको फूल देख्दा रहेछन् । हिलोमा सुकुमार भएर उभिएको कमललाई आलिङ्गन गर्न पुग्दा रहेछन् । मर्म स्पर्श गरी अवचेतन मनलाई जागृत गराएर सर्वस्व प्राप्तिको डङ्का पिट्दा रहेछन् । कल्पनाको सहरमा गगनको ओतले सुसज्जित हुँदै हावाको आलिङ्गनमा रमाउन खोज्ने यादको वस्तुगत र विषयगत चिन्तन कस्तो होला, के होला ?

यी कुन विचारधाराका होलान् ? प्रजातन्त्रवादी होलान् या लोकतन्त्रवादी ? या होलान्, गणतन्त्रवादी कि राजतन्त्रवादी ? कुन वादको घुम्टो ओढेको होला, इन्द्रेणीको रङ मिसिएको होला कि नहोला ? वादको घुम्टो रङ्गिन होला या रङ्गहीन ? वादले जन्माएको विचारधारा, व्यवहारिक धार, कतातिर ढल्किएको होला ? परम्परामुखी होला या आधुनिकको वकालत गर्ने होला ? आधुनिकमा पनि उत्तर आधुनिक होला या पूर्व आधुनिक ? वा प्रगतिशील, पुँजीवादी वा समाजवाद, कुन वादको वकालत गर्ने होलान् ?

ह्या, यी वादको चेतनाप्रति मेरो कुनै सम्बन्ध छैन, चासो छैन । मलाई त केवल अन्तर हृदयको कामना, हृदयको प्रेम र हृदयत: भावनामा रमाउने वाद चाहियो । यस्तो वाद होस् कि कल्पनाको सहायताले विपनाको सहर बनाओस्, प्रेमलाई वैराग्यता प्रदान गरी निष्कलङ्क बनाओस्, अस्तित्वलाई नै सर्वोपरी मानी स्वतन्त्रताको पराकाष्ठा बनोस् ।  भावनाको कदर स्वरुप सम्भावनाको खेती गर्न सिकाओस्, आनन्दको शिखरस्वरुप परमानन्दको अधीन हुन पाइयोस्, यी यादमार्फत् । यादले चढाउँछन् कहिले शिखर त कहिले पुर्याउँछन् पहाडको फेद । कहिले जिन्दगीको मझदारमा अड्काइदिन्छन् ।

न कुनै मार्ग चाहियो, न कुनै अनुमति ! बस्, मनलाग्दी हुन्छन् – लहडैलहडमा, उडेलिरहन्छन् विचारका पतिङ्गर, उखेल्छन् सतहीका झारपात । बडो सम्झिनलायक अनि सम्झाउन लायक हुन्छन्, यी याद । वास्तवमा याद गर्न लायक हुन्छन् अनि मनै नभए पनि हावाको वेगसँगै बहेर आउँछन्, टहल्छन्, नियाल्छन् र रमाउँछन् यी बत्तमिज यादहरू ।