साथी
नखानु चरेस , गाँजा, चुरोट, रक्सी तिमी
यसले तिम्रो केही भलो गर्दैन
उल्टै
तिम्रै स्वास्थ्य बिग्रिन्छ
तिम्रै सम्पत्ति रित्तिन्छ
तिम्रै आफन्त टाढा हुन्छन्
यसबाट टाढा रहनुमा नै तिम्रो भलाइ छ
भन्दै थिएँ
तर सुने नसुनेझैँ गरी तिमी
खै कहाँ भागेर गयौ !

खोज्दा खोज्दा महिनौँ लाग्यो
तर देखेँ
तिम्रो नाकमुखबाट उडिरहेको त्यो चुरोटको धुवाँले तिमीलाई
कुनै अर्कै दुनियाँमा उडाएको रहेछ
तिमीले इन्जेक्ट गरेको इन्जेक्सनले तिमीलाई
कुनै अर्कै दुनियाँमा पुर्‍याएको रहेछ
तिमीले निलेको त्यो ट्याबलेटले तिमीलाई
त्यही अर्कै दुनियाँमा शयर गराउँदो रहेछ
अनि यो पनि देखेँ कि
त्यो नहुँदा
तिम्रो सास पनि नचल्दो रहेछ
तिम्रो दिन दिनजस्तो नहुँदो रहेछ
तिम्रो रात रातजस्तो नहुँदो रहेछ
तिम्रो ओठमा एउटा मुस्कान पनि नआउँदो रहेछ

तिमीलाई
कहिले सडकपेटीमा सुतेको देखें त कहिले
बारको अगाडि बेहोशीमा पाएँ, त कहिले तिम्रै कोठामा लथालिङ्ग अवस्थामा पाएँ
कहिले ग्याङ फाइट गरिरहेको देखें त कहिले
जेलमा लठ्ठी खाइरहेको देखें
अनि
त्यही चिजको खोजीमा
तिमी ऋणको झोलमा डुबेको पनि मैले देखें

तिमी किन यस्तो दलदलमा फँसेको साथी ?
तिमीलाई थाहा छैन
त्यो झुपडीमा बसेर कोही तिम्रै बाटो हेरिरहेको छ !
त्यो कलेज जाने बाटोमा कोही तिमीलाई पर्खिरहेको छ !
अनि तिमी भने कुन दुनियाँमा हराएको साथी ?
कहिले आउँछौ तिमी त्यो दलदलबाट बाहिर ?
आमाले बनाएको मिठो खाना खान छाडेर
तिमी यो के सेवन गरिरहेको साथी ?
कोही पराइ भो त के भो
जिन्दगी त होइन नि पराइ !
यो आफ्नै हो
हामी आफ्नै हौं
यार यो दुई दिनको जिन्दगी हाँसीखुसी बिताऔँ

साथी हुँ, हप्काएको होइन तिमीलाई
सम्झाएको हुँ
तिमी जत्तिनै कारण देखाऊ
तर यो लत कुनै औषधी होइन
यो सेवन गर्दैमा तिम्रो घाउ मेटिने होइन
कोही पराइ फर्केर आउने होइन
ए साथी
अझै नि समय छ
लेऊ, मेरो हात समाऊ
त्यो बेहोशीको दलदलबाट बाहिर निक्ल
अनि यो सुन्दर धर्तीमा
एउटा नयाँ जीवनको सुरुवात गरौँ ।