अटव्य जंगलका बीचमा रहेको एकान्त धर्मशालामा भोक प्यास र थकाइले लखतरान परेर बेहोश जस्तो भई भुसुक्कै निदाएकी दमयन्ती थकाइ मरिसकेपछि यकायक बिउँझिइन् । उनी आँखा मिच्दै उठिन् र आफूसँगै सुतेका नललाई नदेखेर पहिले झस्किइन् अनि आत्तिइन् र क्रमशः डराउन थालिन् । उनले वरपर हेरिन् । बार बार बोलाइन् । धेरै ठूलो स्वरले पुकारिन् तर कतैबाट केही जवाफ आएन । आओस् पनि कसरी ? नल त दमयन्तीलाई एक्लै छोडेर, कलिद्वारा आविष्ट भएर हिंडिसकेका थिए ।

उनको धैर्य टुट्यो, डर, आशंका र सन्त्रासले उनी विक्षिप्त जस्तै बनी विलाप गर्न लागिन् :

हे स्वामिन्, हजुर मलाई किन त्याग्नुहुन्छ ? म अब मरें, नष्ट भएँ, यो निर्जन वनमा मलाई सारै डर लागिरहेछ, मलाई एक्लै छोडेर कहाँ जानुभयो ? मैले त हजुरलाई सधैं प्रेम गरेकी छु, मबाट के भूल भयो र मलाई छोडेर जानुभयो ? हे प्राणप्रिय म आफ्ना लागि शोक गर्दिनँ, मलाई त हजुर कुन अवस्थामा हुनुहुन्छ होला भनेर पो पीर लागिरहेछ । हे राजन् ! भोकै प्यासै थाकेर साँझका बेला वृक्षमूलमा विश्राम गर्न लाग्दा मलाई छेउमा नदेखेपछि हजुरको के दशा होला ?

यसरी करुण विलाप गर्दै दमयन्ती विक्षिप्ता झैं यता उता दौडिन थालिन् । उनी बारम्बार विह्वल भएर लड्दथिन्, अनि फेरि उठेर रुन कराउन थाल्दथिन् । आखिरमा अत्यन्त शोकसन्तप्त बनेर लामा लामा श्वासप्रश्वास लिँदै तीव्र आवेगका साथ पतिव्रता दमयन्तीले यसरी आक्रोश व्यक्त गरिन्:

जसका अभिशापले निषधनरेश नल दुःखसन्तप्त भएर एकमाथि अर्को क्लेश झेलिरहेछन्, त्यस दुष्टलाई हामीलाई भन्दा पनि बढी दुःख आइपरोस्, त्यसले त कसैले नपाएको दुःख पाइजाओस् !

अनि, त्यस हिंस्रक प्राणीहरूले व्याप्त भयंकर जंगलमा आफ्ना प्रिय पतिलाई खोज्दै खोज्दै हे राजन् ! हे राजन् ! पुकार्दै यताउता दौडन लागिन् । उनी कुररी झैं करुण विलाप गर्दै अगि बढ्दै थिइन् । जंगली गोरेटोका छेउमा एउटा विशालकाय भोको अजिंगर पसारिइरहेको थियो । त्यसले अचानक दमयन्तीलाई आफ्नो विशाल हाब्रो बाएर आफूतिर खिच्न थाल्यो । गोडातिरबाट उनलाई निल्ने चेष्टा गर्न लाग्यो । उनी नललाई नै बोलाई बोलाई आत्तिदैं विलाप गर्न लागिन् । त्यसैबेला एउटा व्याधा त्यस गहन वनमा शिकार गर्न आएको रहेछ, त्यसले दमयन्तीको आवाज सुन्यो अनि दौडेर उनका छेउमा आयो ।

एउटी कमलनयनी लोभलाग्दी रमणीलाई अकेली देखेर रोमाञ्चित हुँदै, त्यस व्याधाले तत्काल तीखा अस्त्रको प्रहारले त्यस अजिंगरलाई टुक्रा टुक्रा पारिदियो र पहिले त उनलाई बचायो, अनि स्वादिष्ट जंगली कन्दमूल खान दियो । खाइसकेपछि मायालु भाकामा सोध्न लाग्यो:

हे मृगनयनी, तिमी कसकी स्त्री हौ ? यस घनघोर जंगलमा कसरी आइपुग्यौ ? कसरी यस्तो कष्टमा पर्‍यौ ?

दमयन्तीले सरलताका साथ सुँक्सुँकाउँदै आफ्नो सारा यथार्थ वृत्तान्त बताइन् ।

दमयन्ती अनन्य सुन्दरी थिइन्, उनका आकर्षक नितम्ब, पुष्ट कुचयुगल अर्धवस्त्रले ढाकिएका थिए । चन्द्रोपम समुज्ज्वल मुहार थियो, ठूलाठूला मादक नेत्रयुगल अनि उनको मोहक वाणीले त्यस व्याधालाई कामुक बनाइसकेको थियो । अनि त्यस शिकारीले निर्जन वनमा भेटिएकी शिकारजस्ती दमयन्तीलाई बलपूर्वक आफूतिर खिंच्न लाग्यो । त्यस्तो अनपेक्षित अप्रिय चेष्टा देखेपछि दमयन्ती क्रुद्ध भइन् र अग्निशिखा जस्तै उद्दीप्त बनेर त्यस व्याधालाई तत्काल शाप दिइन् :

यदि मैले निषधनरेश नलबाहेक अरु कुनै पुरुषलाई एकै क्षण कहिल्यै पनि चिन्तन गरेकी छैन भने त्यसै पातिव्रत्यका प्रभावले यो तुच्छ व्याधा यहीं प्राणहीन भएर लडिजाओस् ।

दमयन्तीले यति बोलिसक्नु मात्र के थियो त्यो हतमति शिकारी आगाले डढाएको रुख झैं निमेषभरमा प्राणशून्य बनेर भुइँमा ढलिहाल्यो ।

व्याधाको विनाशपछि कमलनयनी कोमलांगिनी दमयन्ती झ्याउँकिरीको झ्याउँझ्याउँले गुञ्जायमान त्यस सघन वनमा एकोहोरो अगि बढ्दै गइन् । त्यहाँ सिंह, चितुवा, बाघ, अर्ना, भालु र मृगजस्ता अनेकानेक पशुहरू छ्यापछ्याप्ती थिए । शाल, वेणु, धव, पीपल, तेन्दुक, चिउरी, पलाश, अर्जुन, अरिष्ट, सिमल, जामुनो, खयर, सखुवा, बेत, अमला, कदम्ब, बेल, वर, ताल, खजूर, हर्रो र बर्रोजस्ता अनगिन्ती जातका वृक्षहरूले त्यो विशाल वन ढपक्कै ढाकिएको थियो । अगि बढ्दै जाँदा दमयन्तीले अनेक पर्वत, निकुञ्ज र अद्भुत गुफाहरू पनि भेटिन् । कैयौं नदी, पोखरी, र दहहरूमा अनेकौं पशुपन्छी खेलिरहेको पनि देखिन् । भयानक नाग, पिशाच र राक्षसहरू पनि देखिन् । अद्भुत झरना र कन्दराहरू पनि देखिन् । अनेकौं विषालु जीवजन्तुले भरिएको त्यस भयावह जंगलमा विचरी दमयन्ती एक्लै व्याकुल बनेर प्राणप्रिय नललाई खोजिरहेकी थिइन् । उनका मनमा अब डर त्रास केही थिएन । केवल समाधिस्थ योगीले ब्रह्मको ध्यानमा आफूलाई लवलीन गराए झैं प्रियतम नललाई नै सर्वत्र मन प्राणले खोज्दै उनी त्यस गहन अटव्यमा एकोहोरो अगि बढ्दै गइन् । अन्तमा थाकेर एउटा शिलापट्टमा बसेर करुण स्वरले विलाप गर्न लागिन् ।

उनी शोकले काँतर बनेकी थिइन् । चेतन अचेतन सबै वस्तुहरू उनका लागि समान हुन लागे । अगाडि बढिरहेको सिंहलाई देखेर भनिन् :

हे मृगेन्द्र, तिमी त वनका राजा हौ, यहाँका स्वामी हौ । म विदर्भराजकुमारी दमयन्ती हुँ, म एक्लै यो वनमा मेरा प्राणप्यारा नललाई खोज्दै भट्किरहेकी छु । हे वनराज, तिमीले मेरा प्रिय नललाई कतै न कतै अवश्य देख्यौ होला, उनको कुशल समाचार सुनाएर कृपया मलाई आश्वस्त बनाऊ । यदि जानी जानीकन पनि केही बताउँदैनौ भने बरु आऊ मलाई खाऊ अनि यो असह्य दुःखबाट मुक्ति देऊ ।

अगाडि पर्वत देखियो, त्यसैलाई सम्बोधन गरेर भन्न लागिन् :

हे पर्वतराज, तिमी अनेकौं सुन्दर उच्च शिखरले परिपूर्ण छौ । धेरै टाढा टाढासम्म पनि देख्न सक्दछौ । हे कल्याणमय महीधर, म तिम्रा निकट आएर तिमीलाई झुकेर प्रणाम गर्दछु । कृपया मेरो नलको कुशल समाचार मलाई सुनाइदेऊ । ती मेरा प्राणप्यारा बडा बुद्धिमान्, महाबाहु, पराक्रमी र सहनशील छन् । हे गिरिवर, तिमीले उनलाई कतै देख्यौ कि ? कृपया म तिम्रो शरणमा आएकी यो अबला दमयन्तीमाथि कृपा गर र उनको कुशलक्षेमको खबर देऊ ।

यसरी पगली जस्ती बनेर विलाप गर्दै उनी त्यसै पर्वतका छेउबाट उत्तर दिशातिर लागिन् ।

लगातार तीन दिन र तीन रात हिंडिसकेपछि दमयन्तीले एउटा भव्य ऋषिआश्रमयुक्त तपोवन देखिन् जो दिव्य वनस्पति तथा लताकुञ्जहरूको अनुपम रमणीय सौन्दर्यले भरिएको थियो । त्यहाँ वशिष्ठ, भृगु र अत्रिसमान तेजस्वी तपोनिष्ठ ऋषिहरू बस्दथे । कोही केवल जल पिएर, कोही केवल वायुसेवन गरेर, कोही केवल सुकेका पत्ता चबाएर तपोरत रहन्थे । त्यस दिव्य तपोवनमा पुगेपछि दमयन्तीको मनलाई अलिकति सान्त्वना मिल्यो । उनी त्यस आश्रममा प्रवेश गरिन् ।

त्यहाँ तपोवृद्ध महात्माहरू थिए । श्रद्धाले शिर निहुराएर उनले सबैलाई प्रणाम गरिन् । उनको उत्तम आदर सत्कार गरेर ती तपोधन ऋषिहरूले भने :

हे शुभे, भन, हामी तिम्रो कुन कार्य सिद्ध गरिदिउँ ?

ती मनोरमा सुन्दरी दमयन्तीले भनिन् :

हे भगवन्, हे निष्पाप पूज्य ऋषिगण, यहाँ हजुरहरू सकुशल त हुनुहुन्छ नि ? तपस्यामा कुनै विघ्नबाधा त छैन नि ?

तिनले भने :

हे यशस्विनी भद्रे, हामी सर्वथा सकुशल छौं । अब तिमी भन, हे सुन्दरी, तिमी को हौ अनि के गर्न चाहन्छौ ? तिम्रो उत्तम रूप र उत्तम कान्ति देखेर हाम्रा मनमा विस्मय पैदा भएको छ । धैर्य गर, शोक नगर, तिमी वनकी देवी हौ या यस पर्वतकी अधिदेवता ? अथवा यस पावनी नदीकी अधिष्ठात्री देवता ?

दमयन्तीले भनिन् :

हे तपोधन, न त म वनदेवी हुँ, न पर्वतकी अधिदेवता, न नदीकी अधिष्ठात्री नै । मलाई हजुरहरू केवल एउटी दुखिया मानवी हुँ भनेर जान्नुहोस् । हे द्विजगण, म विदर्भनरेश भीमकी पुत्री दमयन्ती हुँ । निषधनरेश पुण्यश्लोक राजा नरेश नल मेरा पति हुन् । दुर्दैवको क्रूर क्रीडाले गर्दा म आज उनीबाट वियुक्त भएर यस विकट अटव्यमा उनलाई खोज्दै भौंतारिइरहेछु । यदि चाँडै नललाई भेटिन भने म यो देह परित्याग गरेर आत्मकल्याण गर्नेछु । उनी पुरुषरत्न नल विना जीवन धारण गर्नुको प्रयोजन नै के छ र ?

उनको वेदनामय गाथा सुनेपछि ती सत्यद्रष्टा तपस्वीहरूले भने :

हे कल्याणि, हे शुभे, हामी आफ्नो तपोबलले के देखिरहेका छौं भने– तिम्रो भविष्य परम कल्याणमय रहेको छ । तिमीले चाँडै नै निषधनरेश नलको दर्शन पाउनेछ्यौ । हे भीमकुमारी दमयन्ती, तिमीले ती पुरुषश्रेष्ठ नललाई सर्वथा स्वस्थ र निश्चिन्त रूपमा भेट्नेछौ । तिम्रा पति दुःखमुक्त, श्रेय सम्पदाले सम्पन्न भई शत्रुदमन गरेर यशस्वी राजाका रूपमा प्रतिष्ठित भएको अवस्थामा तिमीले चाँडै नै देख्नेछ्यौ, सौभाग्यवती भव !

यति भनिसकेर ती सबै तपस्वीगण त्यो रमणीय आश्रमसहित यकायक अदृश्य भए । यो अनौठो घटना देखेर दमयन्ती परमविस्मयमा परिन् ।

उनी सोच्न लागिन् : के मैले यो सपना देखेकी हुँ ? यो कस्तो अद्भुत घटना घट्यो । ती तपस्वी र त्यो आश्रम कता हरायो ? ती नदी, वनस्पति, फलफूल मण्डित मनोरम वृक्ष कता विलीन भए त ?

त्यसपछि उनी उदास र निराश भइन् । अनि फेरि विलाप गर्दै अगि बढिन् । अगाडि अशोक वृक्ष देखियो । दमयन्तीले विलाप गर्दै भनिन् :

विशोकां कुरु मां क्षिप्रमशोक प्रियदर्शन

वीतशोकभयाबाधं कच्चित् त्वं दृष्टवान् नृपम् ?

नलं नामारिदमनं दमयन्त्याः प्रियं पतिम्

निषधानामधिपतिं दृष्टवानसि मे प्रियम् ?

एकवस्त्रार्धसंवीतं सुकुमारतनुत्वचम्

व्यसनेनार्दितं वीरमरण्यमिदमागतम्

यथा विशोका गच्छेयमशोकनग तत् कुरु

सत्यनामा भवाशोक अशोकः शोकनाशनः ।

(महाभारत, वनपर्व, ६४ अध्यायका श्लोक १०४ देखि १०७)

हे प्रियदर्शन अशोक, चाँडै मेरो शोक दूर गरिदेऊ । के तिमीले शोक, भय र बाधाले रहित शत्रुदमन राजा नललाई देखेको छौ ? मेरा प्रियतम, दमयन्तीका प्राणवल्लभ निषधनरेश नलमाथि अवश्य तिम्रो दृष्टि परेकै होला । तिनले धोतीको आधा टुक्राले आफ्नो सुकुमार शरीर ढाकेका छन् । उनका अंग अंग सुन्दर छन् । ती वीरवर नल ठूलो संकटले पीडित भएर यस वनमा आएका छन् । हे अशोकवृक्ष, तिमी मलाई शोकमुक्त गराइदेऊ । जसले शोकनाश गर्दछ उसैलाई त अशोक भनिन्छ नि, हे दयालु अशोक यो पतिविरहिता शोकाकुलिता दमयन्तीको शोक हरेर आज आफ्नो नाम सत्य र सार्थक तुल्याऊ ।

यसरी शोकार्त हुँदै दमयन्ती विह्वलताका साथ घना जंगलभित्र प्रवेश गर्दै गइन् । अनेक रुख, नदी, पर्वत, मृग, गुफा आदि उनका सामु आइरहन्थे । उनी ती सबैका बीचबाट एकोहोरो प्रियतम नलको चिन्तन गर्दै विलाप गर्दै अगि बढी नै रहेकी थिइन् ।

त्यसै बखत अचानक उनले त्यस विशाल अटव्यमा एउटा व्यापारीदलको लश्करलाई भेटिन् ।

क्रमशः…

प्रिय पाठक बन्धु, नल–दमयन्ती (उपाख्यान : ६) आगामी शुक्रवार प्रस्तुत गरिनेछ ।

….

महाभारत, वनपर्व, ६३ र ६४ अध्यायमा आधृत ।

२०८२ साल माघ १६गते शुक्रवार, भीष्म द्वादशी,

ॐअक्षरालयः ।