छालबाटोमा रमेश भुसालले व्यक्त गरेका पर्यावरणीय दृष्टिकोणमा प्रवेश गर्नुअघि म इको–राइटिङ् वा पर्यासाहित्यबारे केही आधारभूत कुरा उठाउन चाहन्छु । अंग्रेजीको इको शब्द इकोलोजी वा इकोसिस्टमको छोटकरी रूप हो । इकोलोजी अर्थात् पर्या-शास्त्र भनेको इकोसिस्टम अर्थात् पर्या–प्रणाली अध्ययन गर्ने विज्ञान हो । वायु, जल, माटो, ताप, आकाशजस्ता पञ्चतत्वसँग मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरक्रियाबाट निर्माण भएको हुन्छ इकोसिस्टम । एक तत्त्वमा भएको परिवर्तनले अर्को तत्वलाई प्रभाव पार्न सक्छ । अन्ततः सम्पूर्ण वातावरण असन्तुलित बन्न सक्छ । यही पारस्परिक सम्बन्ध बुझेर लेखिएको साहित्य नै इको–राइटिङ्ग वा पर्यासाहित्य हो ।
परम्परागत साहित्यले प्रेम, पीडा, राजनीति, सामाजिक पहिचान वा मानवअधिकारलाई केन्द्र बनाउँछ । तर हावा, पानी, माटो, वन्यजन्तु, वनस्पतिजस्ता प्राकृतिक तत्त्व र नदी, पहाड, हिमाल, सागरजस्ता प्राकृतिक संरचनाको अस्तित्व, तिनको संरक्षण र संवेदना व्यक्त गर्ने साहित्यिक अभ्यास अत्यन्त न्यून छ । मैले बारम्बार भन्दै आइरहेकोछु- भानु दिवस मात्र होइन, भालु दिवस पनि मनाऔँ; मानवअधिकार मात्रै होइन, माटो र नदीका अधिकारबारे पनि लेखौँ । यही नै पर्यासाहित्यको मूल मन्त्र हो ।
अब ‘छालबाटो’ तर्फ फर्कौं । रमेश एक वातावरण विज्ञानका विद्यार्थी, अनुभवी पत्रकार र कुशल यात्रु हुन् । उनका यी तीन विषेशताको संयुक्त प्रभावले छालबाटोलाई साहित्यिक गहिराइ प्रदान गर्न सफल भएको छ । शिर तिब्बतमा, ढाड नेपालमा र खुट्टा भारतमा टेकिएको एक सजिव प्राणीजस्तो लाग्ने कर्णाली नदीलाई पछ्याउँदै लेखिएको यो कृति नियात्रा मात्र होइन वैज्ञानिक दस्तावेज पनि हो ।
यदि रमेश वातावरण विज्ञानका विद्यार्थी नहुँदा हुन् त कर्णालीको पानीको शुद्धता र अक्सिजन जाँचिदैनथ्यो । यदि उनी यात्री नभएका भए पैदल, गाडी, राफ्टिङमार्फत् कर्णालीको अंतरङ्ग यात्रा सम्भव हुने थिएन र यदि उनमा लेखक र पत्रकारिताको कलम हुँदैनथ्यो त छालबाटो जस्तो जीवन्त गैरआख्यानको कृति जन्मिँदैनथ्यो ।
उनले तिब्बतदेखि हिमालयसम्म र कर्णाली जलाधार क्षेत्रको भूगर्भीय इतिहास कोट्याएकाछन् । वैज्ञानिक याङ वाङको जीवाश्म अनुसन्धानलाई उद्धृत गर्दै उनले करिब ७० लाख वर्षअघि तिब्बती पठारको उष्ण वातावरणको कथा सुनाउँछन् । टेक्टोनिक प्लेट ठोक्किएपछि तिब्बत आजको ५ हजार मिटर उचाइमा पुगेको भौगर्भिक तथ्यलाई साहित्यिक संवेदना मार्फत प्रस्तुत गर्ने उनको शैली विलक्षणकै छ ।
यात्रामा संगै गएका साथी र स्थानीयहरूसँग गरिएको संवाद पुस्तकको मेरुदण्डजस्तै लाग्छ । सहयात्री भूगर्भशास्त्री क्यारेन बेनेट र रमेशबीचका संवादले रोचक प्रसङ्ग उठाएका छन् । क्यारेन भन्छिन्, “हामी टेथिस सागरको अवशेषमाथि बसेका छौँ ।” यो पढ्दा पाठकलाई तिब्बती पठारमा साक्षात् भूगर्भशास्त्रको कक्षाकोठामा बसिरहेको अनुभूति हुन्छ ।
छालबाटोले परम्परागत यात्रामा नपाइने पृथ्वीको इतिहास पाठकलाई सुनाउँछ । यही विशेषताका कारण यो कृति पर्यासाहित्यको उत्कृष्ट उदाहरण बनेको छ ।
चुवा खोलामा डोजरले पहाडलाई चिरेको दृष्य देखेर क्यारेन चकित पर्दै भन्छिन्, “यति निर्दयी तरिकाले पहाड किन काटिएको ?” हाम्रो सरकारले सडकलाई विकासको प्रतीक बनाएको छ तर अनियन्त्रित सडक निर्माणको क्रममा ‘डोजरे विकास’ले गत दशकमा शताब्दी बराबरको भूक्षय गराएको कुरा लेखकले वडो संवेदनशील तवरले प्रस्तुत गरेका छन् ।
कर्णालीजस्ता नदीहरू हिमश्रृङ्खला उत्पत्ति हुनुभन्दा पहिल्यै बगिरहेका थिए भन्ने वैज्ञानिक तर्क पुस्तकमा बारम्बार आउँछ । यसरी भूगर्भीय ज्ञान हाम्रो साहित्यमा आएको देख्दा मलाई खुशी लागेको छ ।
छालबाटोमा पर्वत निर्माण र रासायनिक अपक्षयले कार्बन डाइअक्साइड घटाई पृथ्वीलाई चिसो बनाएको तथ्य उल्लेख छ । हिमशृङ्खलाले कार्बन–सिंचनका रूपमा काम गरेको तर्क निकै वैज्ञानिक लाग्छ । भौगर्भिक इतिहासको अगाडि मानव इतिहास कति क्षणिक छ भन्ने यथार्थ पनि पुस्तकमा समेटिएको छ ।
यात्रामा एक स्थानीय युवाले “कर्णालीमा शव काटेर बगाउने” परम्पराको कुरा सुनाउँदा लेखक स्तब्ध हुन्छन् । हरिद्वार भएर बग्ने गंगानदीमा मैले पनि हजारौँ तीर्थयात्रुले स्नान गरेका, पुराना लुगा फुकालेर पानीमा बगाएका र विभिन्न स्वरूपका मूर्ति सेलाएका जस्ता धार्मिक संस्कार प्रत्यक्ष देखेको छु । यस्ता प्रथा प्रदूषणका चरम उदाहरण हुन् ।
गुम्बामा भेटिएका बौद्ध गुरु पेमाले चीनको कारखानाबाट फैलिएको प्रदूषण र भविष्यमा ‘अक्सिजन बोकेर हिँड्नुपर्ने’ भयावह अवस्थाको चिन्ता गरेका छन् । उनका शब्दमा आजको मानवीय गतिविधिप्रति सबैभन्दा ठूलो आक्रोश झल्किन्छ ।
अर्का सहयात्री दीप नारायण शाह जस्ता विशेषज्ञले कर्णालीको पानी, अक्सिजन र जैविक विविधता परीक्षण गर्छन् । नदी थुनिँदा, यसको प्रभाव घट्दा माछाका लागि आवश्यक अक्सिजनमा ह्रास आउन सक्ने चिन्ताले उनी कुँडिन्छन् । तथापि “किक–स्याम्प्लिङ” गरेर कर्णालीमा १०–१२ प्रजातिका जलचर भेटाउँदा जैविक विविधतामा त्यति ह्रास नआइसकेकोले उनी शान्तिको स्वास फेर्छन् । यतिबेला म हाम्रो बाग्मती नदीलाई सम्झन पुग्छु । काश ! बाग्मतीमा पनि कर्णालीमा जस्तै यति धेरै जलचर पाइयोस् न भनेर गम खान्छु ।
डल्फिनलाई ‘बायोलोजिकल इन्डिकेटर’ मानेर संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने तर्क दीपनारायणले उठाएका छन् । नेपालमा नदीलाई संरक्षित क्षेत्र भनेर घोषणा गर्ने चलन नहुँदा नदी परिस्थिति झनै संकटमा परेको लेखकले दर्साएका छन् ।
“हाम्रो पालामा जाडोमा हिउँ पर्थ्यो, वर्षायाममा पानी पर्थ्यो । धेरै साल भयो हिउँ परेको छैन ।” स्थानीय दलबहादुरको यो पीडा जलवायु परिवर्तनको सिधा असर हो । तिनीसँगको यो संवादपश्चात् रमेशले औद्योगिक क्रान्तिदेखि आजसम्म कार्बन उत्सर्जन १ अर्ब टनबाट ३५ अर्ब टन पुगेको तथ्य प्रस्तुत गरेका छन् । विज्ञानका तथ्यहरूलाई यसरी साहित्यमा समेटेर जनचेतना बढाउनु नै इको–राइटिङको मूल उद्देश्य हो ।
कर्णालीमा जलविद्युत आयोजना बन्ने क्रममा गाउँले विस्थापित हुने तर उचित क्षतिपूर्ति नपाउने रोशन बुढाजस्ताका उदाहरण पुस्तकमा प्रस्तुत गरिएका छन् । तर माछा, डल्फिन र वन्यजन्तुहरू विस्थापित हुँदा तिनलाई कसले दिने मुआब्जा ? यही हो वातावरणीय न्यायको प्रश्न ।
कर्णालीलाई विद्युतको स्रोत होइन, विश्वप्रसिद्ध ट्रेल र पर्यटकीय गन्तव्य बनाउनुपर्ने मेघ आलेको विचार उल्लेखनीय छ । उनी भन्छन्, “नदी पृथ्वीको रक्तनली हो ।” नदी संरक्षणमा दशकौँ बिताएका मेघ यस यात्राका प्रमुख संयोजक हुन् ।
‘तपाईंहरू त जंगल मास्नुहुन्छ’ भन्ने आशयको रमेशको प्रश्नको उत्तर दिँदै राउटे बस्तीका चन्द्रमान शाही भन्छन्, “रूख खेती हो, मासिन्छ, फेरि पलाउँछ ।” प्रकृतिबाट आदिवासीले आफूलाई आवश्यकता परेको मात्र लिन्छन् भन्ने भाव उनको जवाफमा देखिन्छ । राउटे जातिका सरल जीवनयापनलाई नियाल्दा आधुनिक सभ्यताको उपभोगवादी चरित्रमाथि चर्को व्यंग्य गरेको महसुस हुन्छ ।
“मरेपछि मेरो खरानीको केही भाग गंगा नदीमा मिसाइदिनू र बाँकी हावामा छर्किदिनू ।” यो कुरा जवाहरलाल नेहरूले आफ्नो इच्छापत्रमा लेखेका रहेछन् । यो वाक्य पढिरहँदा मलाई आफ्नै कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’को सम्झना आयो । लाशलाई जलाउँदा हावा प्रदुषित बन्छ भने त्यसको अवशेष नदीमा बगाउँदा पानी प्रदुषित बन्छ । लाशलाई बरु माटोमा गाड्दा वा विद्युतीय दाहशाला जस्तो आधुनिक प्रविधि प्रयोग गरेर अन्त्यष्टि गरिँदा वातावरणमैत्री भइन्छ भन्ने सन्देश मेरो कविताले दिन खोजेको छ । यदि नेहरू आजको प्रदूषित गंगा नदी र दिल्लीको प्रदुषित वायुको युगमा बाँचिरहेका हुन्थे भने उनीजस्ता राजनेताले सम्भवतः यस्ता कुरा इच्छापत्रमा कोरेर छाड्ने थिएनन् होला ।
अन्ततः कर्णाली र गंगाको दोभानमा उभिएर रमेश नदीसँग बोल्दै आफ्नो लेखनलाई यसरी बिट मार्छन्-
नदी !
सँगै जान सकिएन, फर्की आउँला फेरि
समुन्द्रका कथा भन्नू, दर्की आउँदाखेरि ।
यसरी यदि लेखकमा पर्यावरणीय चेत नभएको भए छालबाटोजस्तो पर्यासाहित्यको पुस्तक लेखिँदैनथ्यो । आफ्नै अनुभूतिबाट म के भन्छु भने- यदि स्वयं पनि वातावरण विज्ञानको विद्यार्थी हुन्नथेँ भने, पर्या साहित्य लेखन र यसको अभियानमा नलागेको भए, रमेशलाई वातावरण पत्रकारका रूपमा चिनेको हुन्नथेँ भने र डा. गोविन्दराज भट्टराईको उत्तर–आधुनिक पुस्तकमा वर्णित इको–क्रिटिसिज्म पढेको नहुँदो हुँ त छालबाटोले ममा उति प्रभाव पार्दैनथ्यो र म यो समीक्षात्मक टिप्पणी लेख्न बस्दिनथेँ ।
अन्तमा, कर्णाली कुनै मानवीय अतिक्रमणबिना स्वतन्त्र र स्वच्छ बगिरहोस्- यही नै छालबाटोले प्रदान गर्नखोजेको इको-उपदेश हो । अबका दिनमा पर्यासाहित्यका यस्तै अब्बल कृतिहरू आइरहुन् । शुभकामना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ माघ २०८२, बुधबार 










