वसन्त पञ्चमी केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन । यो ज्ञान, कला, भाषा र सिर्जनशील चेतनाको सामूहिक उत्सव हो । माघ शुक्ल पञ्चमीका दिन श्रद्धा, भक्ति र साधनासहित मनाइने सारस्वतोत्सवले विद्या र विवेकको महत्त्वलाई स्मरण गराउँछ । हिउँदको कठोरताबाट प्रकृति उम्कँदै गर्दा जसरी नवजीवनको सञ्चार हुन्छ, त्यही अनुरूप मानव चेतनामा पनि नवीन ऊर्जा, जिज्ञासा र सिर्जनात्मक आकांक्षा जागृत हुन्छ । यसै परिवर्तनको प्रतीकस्वरूप वसन्त पञ्चमीका दिन विद्या, वाणी र विवेककी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । प्राचीन कालदेखि शैक्षिक क्षेत्रमा विद्यार्थीहरूले सरस्वती पूजा गर्दै आएको परम्परा आज व्यापक सामाजिक र सांस्कृतिक महत्त्वसहित विशेष पर्वका रूपमा विकसित भएको छ । संगीत, कला, साहित्य र ज्ञानकी प्रतीक देवी सरस्वतीको स्तोत्रपाठसहित आराधना गरेमा अध्ययनमा एकाग्रता, बौद्धिक स्पष्टता र विद्या आर्जनको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक सांस्कृतिक विश्वास रहेको छ । यही शुभ अवसरमा स–साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने परम्पराले ज्ञानयात्राको पवित्र प्रारम्भलाई अर्थपूर्ण बनाएको छ ।
भगवती सरस्वती सत्वगुण सम्पन्न हुनुहुन्छ । देवीका अनेक प्रसिद्ध नामहरू – वाक्, वाणी, गीः, गिरा, भाषा शारदा वाचा धीश्वरी, बाह्री, गौ, सोमलता, महाविद्या, महावाणी, भारती, आर्या, कामधेनु, वेदगार्भा, धीश्वरी र वाग्देवी आदि प्रसिद्ध नामले सम्बोधन गरिन्छ ।
परम्परादेखि आधुनिकतासम्मको विश्वास
सरस्वतीलाई ज्ञान, चेतना र अभिव्यक्तिको प्रतीक मानिन्छ । वेद, पुराण र शास्त्रहरूमा उहाँलाई वाणी, संगीत, साहित्य, विज्ञान र कलाकी अधिष्ठात्री देवीका रूपमा चित्रित गरिएको छ । सेतो वर्ण, वीणा, पुस्तक र हंस यी सबै प्रतीकहरूले शुद्धता, विवेक, सन्तुलन र सृजनशीलतालाई जनाउँछन् । आजको डिजिटल र ज्ञान आधारित समाजमा सरस्वतीको अर्थ अझ व्यापक बनेको छ । विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र, सिर्जनात्मक उद्योग, सूचना प्रविधि र नवप्रवर्तन, सबै क्षेत्रमा सरस्वती चेतनाको निरन्तरता देखिन्छ । ज्ञान अब केवल ग्रन्थमा सीमित छैन; यो डिजिटल, एआई प्रविधि, संवाद र सहकार्यबाट विस्तार भइरहेको छ ।
पूजा, संस्कारको प्रचलित अभ्यास
वसन्त पञ्चमीका दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा हाम्रो शैक्षिक संस्कारको सुन्दर पक्ष हो । पुस्तक, कलम, वाद्यवादन र सिर्जनात्मक सामग्रीको पूजा गर्दा ज्ञानप्रति सम्मान र अनुशासनको महत्व बढेर जान्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, आदि प्रिय लाग्ने भएकाले आजका दिन सरस्वतीको पूजनका लागि जल, दुध, दही, मखन, धानको लावा, सेतो तिलको लड्डु, उखु, मधु, श्वेत चन्दन, श्वेत फल, पुष्प, श्वेत अलंकार, अदुवा, मुली, शर्करा, तण्डुल, शुक्ल मोदक, घृत, नरिवल तथा यसको जल बदरीफल, बयर, बेल, अदुवा अर्पण गरिन्छ । यसपछि प्रसिद्ध सरस्वती वन्दना पाठ गरिन्छ ।
सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी चाऽष्टमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।
पूजा अर्चना गर्दा यस मन्त्रका साथै जन जिब्रोमा झुण्डिने अन्य मन्त्रलाई पनि विषेश महत्त्व दिएर उच्चारण गरिन्छ ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।
अर्थात् विद्याकी देवी भगवती सरस्वती कमलको फूल, चन्द्रमा, हिउँ र मोतीको हार जस्तो श्वेत (सेतो) वर्ण भएकी र श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा–दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नु भएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताद्वारा सदा पूजित हुनुहुन्छ ।
ज्ञान, विवेक र नैतिकता
“विद्या धनम् सर्वधनम् प्रधानम्” अर्थात् विद्या नै सबैभन्दा ठूलो धन हो, भन्ने शास्त्रीय भनाइ वर्तमान सन्दर्भमा अझ सशक्त बन्दै गइरहेको छ । सूचना धेरै भए पनि विवेकको अभाव हुँदा समाज दिशाहीन हुन्छ । सरस्वतीको उपासना मूलतः विवेक, नैतिकता, सहिष्णुता र जिम्मेवार नागरिकको अभ्यास हो । हंसले जस्तै दुध र पानी छुट्याउने क्षमता आजको सूचनाको भीडमा अत्यावश्यक छ । आलोचनात्मक सोच, अनुसन्धान संस्कृति र सत्यनिष्ठ अभिव्यक्ति नै आधुनिक सरस्वती चेतनाका आधार हुन् । सरस्वती भनेको विद्या, चेतना र ज्ञानको प्रकाश हो । यसैबाट समुन्नत समाजको निर्माण हुन्छ । यसका लागि सरस्वतीको आराधना गर्नु पर्दछ । अविद्या र अज्ञानताको अँध्यारो पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहना हुन् । त्यसैले विद्या र बुद्धिको सम्पन्नताका लागि शुद्ध भई सरस्वतीको पुजा गर्नुपर्छ ।
वैदिक शास्त्रका अनुसार देवी सरस्वतीको हातमा रहेको पुस्तक ज्ञानको प्रतीक, सङ्गगीतको प्रतीक वीणा, एकाग्रता र सृष्टिको प्रतीक माला तथा नीरक्षीर विवेकी दुधबाट पानी छुट्याउन सकिने राजहंस जसले विवेकशील संसारमा रहेर पनि निर्लिष्ट र साधक व्यक्ति नै विद्याको अधिकारी हुन सक्ने जनविश्वास रहेको छ ।
सामाजिक र धार्मिक अभ्यास
नेपालका विभिन्न समुदायमा यस दिनसँग जोडिएका सांस्कृतिक अभ्यासहरू लोकनृत्य, परम्परागत अनुष्ठान र सामूहिक उत्सव, सामाजिक एकता र सांस्कृतिक निरन्तरताका उदाहरण हुन् । सरस्वती पूजादेखि नै नेपालका गुरुङ जातिको प्रसिद्ध धार्मिक नृत्य “घाटु“ प्रारम्भ हुने, वलामी जातिमा यस दिन मात्र परम्परागत विवाह गर्ने प्रचलन तथा बालबालिकाहरूको नाक कान छेड्नका लागि यस दिन पवित्र, पावन र उपयुक्त मानिन्छ ।
कैय्यन ठाउँमा वसन्त पञ्चमीलाई माघिया पञ्चमी वा श्रीपञ्चमी समेत भनिन्छ । वायु पुराणमा महादेवीका “श्री” र “सरस्वती” दुई रूपमा तथा प्रसिद्ध मार्कण्डेय पुराणमा “पधिम्नी” नामक विद्याकी देवीलाई लक्ष्मीको स्वरूप स्वीकार गरिएको छ । पञ्चमी तिथिका आधारमा मनाइने पर्वहरू जस्तै ऋषिपञ्चमी, नागपञ्चमी, विवाह पञ्चमी मध्ये श्रीपञ्चमीलाई सर्वोत्कृष्ट मानिएको छ ।
पुराणमा देवी सरस्वतीलाई विद्या, ज्ञान, विज्ञान, प्रविधि, कला, साहित्य, वाणी र सङ्गीतकी देवीका रूपमा वर्णन गरिएको छ । प्राचिन पौराणिक मान्यता अनुसार राधा, पद्या, सावित्री, दुर्गा र सरस्वतीका रूपमा भगवान श्री कृष्णका विभिन्न अवस्थाबाट प्रकट भएका थिए तथा माधवको कष्ठबाट उत्पन्न भएकी देवीको नाम सरस्वती रहन गएको भेटिन्छ । यसै क्रममा श्रीमद्देवी भागवत र श्री दुर्गा सप्तशतीमा समेत आद्याशक्तिद्धारा आफूलाई तीन भागमा अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वती विभक्त गरेकोे प्रसङ्ग रहेको छ ।
वेदमा जलदेवीको प्रख्यात सरस्वतीको शाब्दिक अर्थ तलाउ बाली रहेको तथा विश्वास एवं मान्यता अनुसार ब्रह्म, विष्णु र महेश्वर देवताहरूले समेत देवी शारदाबाट ज्ञान शिक्षा प्राप्त गरेको उल्लेख छ । महाभारतमा वेदकी जननी, जैन धर्ममा श्रुतिदेवी, बौद्ध धर्ममा प्रज्ञादेवीका रूपमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गरिन्छ । सरस्वतीको महिमा, गरिमा र प्रभाव असीम रहेको तथ्य ऋग्वेदको सूत्र १२५ को आठौं मन्त्रमा वर्णन गरिएको छ ।
समकालीन सन्दर्भ : शिक्षा र सिर्जनशीलता
शिक्षा केवल रोजगारीको साधन मात्र होइन, यो सामाजिक रुपान्तरणको इन्जिन हुनु पर्दछ । विज्ञान, प्रविधि, कला र मानविकीबीचको संवाद र सहकार्यले नव प्रवर्तन र समाजलाई गतिशील बनाउनु पर्छ । सरस्वती पूजा त्यसैको प्रतीकात्मक स्मरण हो । ज्ञानलाई शक्ति बनाउने र शक्तिलाई सेवा बनाउने कार्यमा हामी सबै जुट्नुपर्छ ।
वसन्त पञ्चमीले प्रकृतिको पुनर्जागरणसँगै मानव मनमा आशा, सौन्दर्य र सिर्जनशीलताको बीउ रोप्छ । यही अवसरमा हामी सबैले ज्ञानको सम्मान, निरन्तर अध्ययन र समाजप्रति उत्तरदायित्वको संकल्प लिनु आवश्यक छ ।
सरस्वती पूजा, ज्ञान, परम्परा र विद्याको दिव्य उत्सव हो । यो पर्वले हामीलाई शुद्ध सोच, जिम्मेवार अभिव्यक्ति र सृजनशील कर्मतर्फ प्रेरित गर्छ । ज्ञान, विवेक र करुणाको समन्वयबाट समृद्ध समाज निर्माण सम्भव भएको हुँदा सरस्वती मातालाई सम्मान गर्दै यस पर्वको महत्त्वलाई सबैले अझ बढी आत्मसात् गर्नुपर्ने देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 









