दुर्मति कलिका कोपले महाराज नल दुर्दशाग्रस्त बने । जुवाका दाउमा पुष्करसँग आफ्नो समस्त श्रीसम्पत्ति र सिंगो राज्यसमेत हारेर उनी दरबारबाट दीन–हीन अवस्थामा नितान्त एक्लै जब बाहिर निस्कन लागे, त्यसबखत केवल उनकी प्रियतमा, अनन्य पतिव्रता दमयन्ती पतिकी अनुगामिनी बनिन् । त्यसबेला उनीहरूको अवस्था दयनीय थियो, राजा नलका शरीरमा केवल अधोवस्त्र थियो भने दमयन्ती पनि एकवस्त्रा थिइन् ।
अब यकायक पुष्कर नै विदर्भदेशका महाराज बनेका थिए र उनले कडाइका साथ के शाही घोषणा जारी गरिदिएका थिए भने : जसले नलसँग अलिकति पनि सद्भाव राख्नेछ त्यसलाई मृत्युदण्ड दिइनेछ । नयाँ राजाको यस्तो क्रूरतापूर्ण घोषणाले गर्दा सारा जनता डरले थरहरि भएका थिए, त्यसैले आफ्ना प्रिय महाराज नलप्रति आफ्ना हृदयमा अगाध प्रेम हुँदाहुँदै पनि कसैले उनलाई स्वागत सत्कार गर्ने साहस गर्न सकेन ।
यस्तो संकटमय परिस्थितिमा राजा नल आफ्नी प्रियतमा दमयन्तीका साथ तीन रातसम्म नगरका अन्तिम सीमानामा भोकभोकै, केवल पानी पिएर दीन–हीन अवस्थामा रहे । सारा जनताको मन भित्रभित्रै रोइरहेको थियो, तर सबैलाई ज्यानकै जोखिम थियो, राजाको त्यस्तो दुर्दशावस्था देखेर पनि नदेखे झैं गरे ।
भोकले ग्रस्त भएपछि राजा नल फल–मूलको जोगाड गर्न भनेर त्यहाँबाट अगि बढे, दमयन्ती लुरुलुरु पछि पछि लागिन् । यसरी धेरै दिनसम्म भोकभोकै हिंडेपछि एक दिन नलले एउटा सघन वनमा केही सुनौला पंखवाला दिव्य पक्षीहरू देखे । उनले मनमनै सोचे :
यी पक्षीहरू नै अब मेरो भक्ष्य हुन सक्दछन्, अनि यिनका पखेटाहरू मेरो धन ।
अनि, उनले आफ्नो एकमात्र अधोवस्त्र फुकालेर चूपचाप ती सुनौला पक्षीहरूलाई झ्याप्प छोपे । तर, हरे दुर्भाग्य ! ती पक्षीहरू त उनको त्यो वस्त्र नै चुच्चाले च्यापेर भुरुरुरु उडिगए ।
उड्दा उड्दै ती पक्षीहरूले राजा नललाई दीनभावले निहुरमुण्टो लगाउँदै धरतीमा नग्न खडा भएको देखेर मानवी वाणीमा भने :
हे दुर्बुद्धि नरेश, हामी त जुवाका पासा हौं अनि तिम्रो वस्त्र हरण गर्न नै पक्षीको रूप धारण गरेर आएका हौं, तिमी यो वस्त्र लगाइ–लगाइकन जुवाका खालबाट उठेर हिंडेको हामीलाई पटक्कै मन परेको थिएन, क्या !
ती रहरलाग्दा पक्षीहरू जुवाका पासाकै मायावी रूप रहेछन् भन्ने थाहा पाएपछि, अनि यकायक आफूलाई नग्नावस्थामा रहेको बोध भएपछि राजा नलले प्रियतमा दमयन्तीलाई भने :
हे मेरी प्यारी महारानी, हेर जसका क्रोधले गर्दा मेरो सारा श्रीसम्पत्ति र राज्यसमेत खोसियो, म भोकले भुतुक्क भएर दुःखित र पीडित बनें, जीवन–निर्वाहका निम्ति अन्न पनि पाउन सकिरहेको छैन, जसका कारण निषधदेशका मेरा प्यारा प्रजाहरूले समेत मेरो सत्कार गर्न सकेनन्, यी तिनै पासा हुन् जो अहिले पक्षीको मायावी रूप धारण गरेर मेरो अधोवस्त्रसमेत लुटेर जाँदैछन् । म अब अत्यन्त विषम परिस्थितिमा पुगेको छु, असह्य दुःखका कारण मेरो चेतना नै लोप हुन लागिरहेछ । म तिम्रो पति हुँ, त्यसैले तिम्रा हितका लागि यो कुरा भन्दैछु, ध्यान दिएर सुन है, हेर ! यहाँ धेरै वटा बाटा छन्, तीमध्ये जुन दक्षिणतिर गएको छ त्यो बाटो ऋक्षवान् पर्वत नाघेर अवन्तिदेश पुग्दछ । आगाडि देखिएको यो महान् विन्ध्यपर्वत हो र यिनी समुद्रगामिनी पयोष्णा नदी हुन् । यहाँ महर्षिहरूका धेरै आश्रम छन् जहाँ प्रचुर मात्रामा फलमूलहरू पाउन सकिन्छ । अनि, यो विदर्भदेशको मार्ग हो । अनि यो कोसलदेश जाने बाटो हो । दक्षिणदिशामा यसपछि आउने देशलाई दक्षिणापथ भन्दछन् ।
नलले यसरी बारम्बार सबैतिरका बाटोको बयान गरिरहेपछि, भोक प्यास र दुःखले अत्यन्त दुर्बल बनेकी दमयन्तीले करुण स्वरमा नललाई यसो भनिन् :
हे प्रियतम महाराज, हजुरको मानसिक संकल्पका बारेमा जब म बारम्बार विचार गर्दछु अनि मेरो हृदय उद्विग्न बन्दछ, मेरा अंगप्रत्यंग शिथिल बन्दछन् । हजुरको राज्य खोसियो । धन खोसियो । हजुरका शरीरमा एक धरो वस्त्र पनि छैन, भोक र थकाइले हजुर बेहोश झैं हुनुभएको छ, यस अवस्थामा यस्तो निर्जन वनमा हजुरलाई असहाय अवस्थामा एक्लै छोडेर म कसरी कतै जान सक्दछु र ? हे महाराज, जब हजुर यस भयानक जंगलमा थाकेर हारेर, भोकले पीडित भएर, पहिले भोगेका सुखको चिन्तन गर्दै अत्यन्त दुःखी हुन लाग्नुहुन्छ त्यसबेला म सान्त्वनाद्वारा हजुरका सन्तापको निवारण गरुँली । जान्नेहरू भन्दछन् : समस्त दुःखको शमनका लागि पत्नीसमान औषधि अर्को छैन, मैले साँच्चै भनेको ।
उनका कातरतापूर्ण यस्ता करुण वाणी सुनेर राजा नलले भने :
हे सुमध्यमा दमयन्ती, तिमी जे भन्छौ त्यो एकदमै सत्य हो । वास्तवमा दुःखी पुरुषका लागि पत्नीसमान मित्र वा औषधि यस जगत्मा अरु कुनै छैन । हे भीरु ! म तिमीलाई त्याग्न त पटक्कै चाहन्नँ । तिमी यति धेरै शंका किन गछ्र्यौ? हे अनिन्दिते, बरु म मेरो शरीर त्याग्न सक्दछु तर तिमीलाई त्याग्न सक्दिनँ ।
दमयन्तीले भनिन् :
हजुर यदि मलाई त्याग्न चाहनुहुन्न भने किन त मलाई विदर्भदेशको बाटो देखाउँदै हुनुहुन्छ त ? हे राजन्, मलाई थाहा छ– हजुरले स्वयं मलाई त्याग्न सक्नुहुन्न । तर हे महीपते, यो घोर आपत्तिले सताएको अवस्थामा केही भन्न सकिन्न, हजुरले मलाई त्याग्न पनि के बेर ? हे नरश्रेष्ठ, हजुरले विदर्भतिर जाने बाटो देखाइदिएर उसै पनि शोकार्ता हजुरकी दमयन्तीको शोक अझै बढाइदिनुभएको छ । यदि हजुरको यस्तै इच्छा छ भने हामी दुवै विदर्भतिर लागौं ।
नलले भने :
विदर्भदेश तिम्रो माइती हो । जति तिम्रो प्यारो उति नै मेरो पनि प्यारो देश हो । तर यस्तो आपदावस्थामा पुगेका बेला म कुनै हालतमा पनि त्यहाँ जान चाहन्न । एक दिन म समृद्धिशाली राजा थिएँ, त्यस अवस्थामा त्यहाँ गएर मैले तिम्रो हर्ष बढाएको थिएँ । आज आफ्नो राज्यबाट वञ्चित भएको अवस्थामा तिम्रो शोक बढाइरहेको छु । यस दशामा म कसरी त्यहाँ जान सक्छु र ?
यसरी आधा वस्त्रले ढाकिएकी आफ्नी प्रियतमा दमयन्तीलाई नलले बारम्बार सान्त्वना दिए । वास्तवमा सुनौला कपटी पक्षीहरूले आफ्नो एकमात्र अधोवस्त्र पनि उडाएर लगिसकेपछि नलले दमयन्तीको धोतीको एक भाग आफूले पनि लपेटेका थिए । यसरी ती दुवैले एउटै धोती बेरेर आफ्नो लाज ढाकिरहेका थिए ।
यस्तो दुरवस्थामा यता उति भौंतारिइरहेका, भोक, प्यास र थकाइले लखतरान परेका ती दुर्दैवग्रस्त दम्पति हिंड्दै जाँदा साँझपख एउटा धर्मशालाका सामु आइपुगे । त्यहाँ पसेर निषधनरेश राजा नल विदर्भराजकुमारी दमयन्तीका साथ धूलिधूसरित भूतलमा थकित भएर बसे । ती वस्त्रहीन, ओढ्ने ओछ्याउनेबाट समेत वञ्चित, दयनीय अवस्थामा पुगेका दम्पति थकाइले भुतुक्कै भएर त्यही धूलाम्य भुइँमा लड्नासाथ भुसुक्कै निदाए । कोमलाङ्गना विचरी दमयन्ती त आफ्ना प्रियतमका विशाल वक्षको आश्रयमा ढुक्क भएर गहिरो निद्रामा परिन् । तर चिन्ताग्रस्त राजा नल एकैछिनमा बिउँझिए र फेरि केही गरी पनि निदाउन सकेनन् । उनका मनमा विविध चिन्ता–लताका तन्तु–वितानहरूको जालो फैलिंदै जान लाग्यो ।
राज्यको अपहरण, मित्रवर्गद्वारा त्याग, घना अटव्य जंगलमा पाएका घनघोर कष्ट आदि बारम्बार उनका मनमा घुमिरहेका थिए ।
अब मैले के गर्नु उचित हो ? मैले अब प्राणत्याग गर्नु नै ठीक हो अथवा आफ्नी प्राणप्रिया दमयन्तीलाई त्याग्नु उचित हो ? मप्रति रहेको अनन्य अनुरागले विचरी यस्तो दुरवस्थामा पनि मेरो पाइला–पाइलाकी अनुगामिनी बनेकी छिन्, असह्य दुःख झेलिरहेकी छिन्, यदि मबाट अलग भइन् भने कदाचित् आफ्ना स्वजनहरूका समीप जान पनि सक्छिन् । मसँग रहेर त यिनी पतिव्रता नारीले केवल दुःखै मात्र पाउने हुन् । हुन त यिनलाई त्यागेपछि मनमा चिन्ता अवश्य लाग्ला तर सम्भव छ यिनी सुखी होऊन् ।
यस्तै कुरा मनमा बारम्बार आउन थालेपछि उनी के निश्चयमा पुगे भने दमयन्तीलाई परित्याग गर्नुमा नै कल्याण छ । उनले सोचे :
यिनी मनस्विनी छिन्, यशस्विनी छिन्, मेरो भक्त छिन्, पतिव्रता छिन्, पातिव्रत्य धर्मको तेजका कारण कसैले यिनलाई कुदृष्टिले हेर्ने हिम्मत गर्न पनि सक्ने छैन । यति सोचिसकेपछि उनले दमयन्तीलाई छोडिदिने निश्चय गरे ।
वास्तवमा दुरात्मा कलिका प्रभावले उनको बुद्धि बारम्बार दमयन्तीलाई छोड्नमै प्रवृत्त भइरह्यो । त्यसपछि राजा नलले आफ्नो वस्त्रहीनता र दमयन्तीको एकवस्त्रता माथि विचार गरेर त्यो धोतीलाई बीचमा काटेर आधा–आधा बनाउनु नै उचित सम्झे ।
अब म कसरी यो वस्त्रलाई बीचमा काटूँ, केही गरी उनी बिउँझियिन् भने ?
– उनी सोच्दै थिए । एकाएक उनले धर्मशालाको त्यस कोठाको कुनामा एउटा नांगो तरबार चम्किरहेको देखे । उनी सरक्क उठे र त्यही तरबारले त्यो धोतीलाई बीचमा काटेर दुई टुक्रा बनाए । आधी टुक्रा धोतीले दमयन्तीको शरीरलाई राम्ररी लपेटिदिएर आधी वस्त्र आफूले लपेटेर, विदर्भराज–कुमारी दमयन्तीलाई निदाइरहेको अचेत अवस्थामा त्यहीं छोडेर उनी शीघ्रतासाथ त्यहाँबाट बाहिर निस्किए ।
अलिकति अघिमात्र के बढेका थिए उनका मनमा विचार पल्टियो र फेरि हतार–हतार त्यसै धर्मशालामा दमयन्तीका निकट आइपुगे । त्यहाँ दमयन्तीलाई दीन–हीन अवस्थामा आधा वस्त्रमा लपेटिएर गहन निद्रामा डुबेकी अनाथ निर्दोष बालिका झैं देखेर उनको मुटु छिया–छिया भयो अनि उनी भक्कानो छोडेर रुन लागे ।
हेर, पहिले जुन मेरी प्रिया दमयन्तीलाई वायुदेव र सूर्यदेवले समेत देख्न पाउँदैनथे तिनै प्यारी आज नांगो भुइँमा अनाथ बनेर सुतिरहेकी छिन् । अहिले यिनी आधी धोतीमा लपेटियेर निदाइरहेकी छिन् जब यिनी बिउँझलिन् तेसबेला पगली झैं होलिन् र यिनको के दशा होला ? यो भयंकर वन क्रूर पशु र विषालु सर्पहरूले ढाकिएको छ, मबाट वियुक्त बनेर यिनी एक्लै यो वनमा कसरी विचरण गर्लिन् ? हे प्रियतमे महाभागे, तिमी धर्मले आवृता छौ, आदित्य, वसु, रुद्र, अश्विनीकुमार र मरुद्गण यी सबै देवी देवताहरूले तिम्रो रक्षा गरुन् ।
यस भूतलमा जसको रूप र सौन्दर्यको समानता राख्ने कोही छैनन् त्यस्ती परमरमणीया प्राणप्रिया दमयन्तीप्रति यति कुरा भनेर राजा नल त्यस ठाउँबाट जुरुक्क उठेर फटाफट अगि बढे । त्यसबेला कलिले उनको सारा विवेक–शक्ति अपहरण गरिसकेको थियो ।
राजा नललाई एकातिर कलिले तानिरहेको थियो, अर्कातिर दमयन्तीको अगाध प्रेमले । अतः उनी बारम्बार केही अगि बढ्दै फेरि फर्किएर त्यहीँ आउँदै गरिरहेका थिए । त्यस समय राजा नलको हृदय विकट दुविधामा फँसेको थियो । पिँग मचिए जसरी दुई विपरीत दिशामा हुत्तिरहेको थियो । अन्तमा कलिले प्रबल आकर्षणका साथ उनलाई तान्यो । धेरै बेरसम्म करुण विलाप गरेर आफ्नी प्राणप्रिया दमयन्तीलाई सुतिरहेकै अवस्थामा छोडेर उनी शीघ्रताका साथ बाहिर निस्किए ।
कलियुगको दुर्दमनीय प्रभावले उनको बुद्धि भ्रष्ट भएको थियो । त्यसैले मनका अनेकौं विचार–जालमा जेलिँदै एक्ली अनाथ दमयन्तीलाई त्यसै दुरवस्थामा छोडेर राजा नल अगि बढिरहेका थिए ।
प्रिय पाठक बन्धु,
उपाख्यान : ५ अर्को हप्ता…
………….
महाभारत, वनपर्व, ६१ र ६२ अध्यायबाट
२०८२ साल माघ ९ गते शुक्रवार, ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









