कल्पना राई ‘खुसी’को ‘काम, कोरियाको गर्मी र …’ को पठनमा मैले प्रगीतात्मक अभिव्यक्ति देखें । गद्यकवितामा यदि प्रगीत तत्त्व मुखर हुन्छ भने त्यो अब्बल मानिन्छ । काव्यकारका निजी आत्माभिव्यक्ति जब प्रबल शक्तिका साथ विस्फोट हुन्छ तब त्यो प्रगीतात्मक भएर आउँछ र स्वभावैले भावमय रहन्छ । यस अर्थमा यो रचनामा प्रगीत तत्त्वले छुट्टै पहिचान जनाउँछ ।

कविमा प्रबल भावानुभूतिले प्रकम्पन ल्याउन थालेपछि त्यसले सहज र मनोज्ञ निकासको माध्यम खोज्छ । यस्तो क्षणमा कि आत्मपरक निबन्ध कि प्रेमपत्र कि भक्ति गीत, (ईश्वरीय तत्त्व परक) कि साहित्यिक प्रगीतलाई माध्यम बनाएर काव्यकार मुखर हुन्छ । सशक्त भावपूर्ण विस्फोटको स्थितिमा पुग्दै रहँदाको आत्माभिव्यञ्जना स्वभावैले गीतिमय हुन्छ– प्रगीतात्मक । देवकोटा, रिमाल, सिद्धिचरण, माधव घिमिरे, व्यथित, भिक्षु आदिका कविता प्रगीतात्मक गुणधर्मले स्वतः अलंकृत छन् । यस पृष्ठभूमिबाट कल्पनाको यो रचना पठनीय छ । धेरै कविताभित्रको अन्यतम रचना हो यो भन्ने ठानेका छु – यो मेरो पठन हो । अलिक कठोरताले भनौं– प्रगीतत्व रहेन भने गद्यकवितालाई कविताको कोटिमा पुग्न हम्मे पर्छ ।

कविताले कर्मक्षेत्र विश्रामको क्षण, अपेक्षा र थकित अवस्थाको आशङ्का यिनै चार कुरामा केन्द्रित रही पूर्णता लिएको छ । भावबोधका दृष्टिले निश्छल र सम्पूर्ण छ । काव्यका पाठकहरूलाई भाष्यबीज छरेको छ यसले ।

श्रमिक युवा नारी कर्मक्षेत्रमा जुट्ता मातृभावले प्रकट हुन्छे र औजार– यन्त्रहरूलाई सन्तानको भावले हेर्छे । प्रत्यक्ष रूपले आफूले भोगेको अनुभवलाई आलङ्कारिक अभिव्यक्ति दिएर आमा र सन्तानको सम्बन्धलाई बडो छुने ढंगले व्यक्त गरिएको छ । यन्त्रलाई सजीव ठान्ने र अझ मानवको स्थितिमा उठाएर आमाको नजरले हेर्ने भाव भरेर सिर्जनालाई श्रेष्ठता प्रदान गरेको छ । यो स्तुत्य छ । त्यस बाहेक काव्यकारको मनोजगतको उच्चता र अभेद दर्शनलाई समेत पुष्ट गरेको छ । नारीत्व कठोर–नीरस परिस्थितिमा पनि मातृभावले मुखर हुन खोज्छ भन्ने ध्वनि बुझिन्छ भने काव्यको महिमा नचुलिने होला र !

विश्रामको क्षण र परिवेश अशान्त, शुष्क र विरक्त लाग्दो हुँदो हो । किन्तु कल्पनालाई उनी हुर्केको परिवेशले, त्यसबाट निर्माण भएको मनोभावले र त्यहाँ रहँदा देखेको, भोगेको र बुझेको चेतना – प्रकाशले काव्य–सृजनको क्षणमा प्रचुर ताकत भरिदिएको छ । यसलाई म उनको सांस्कृतिक परिवेशबाट स्वतः प्राप्त उर्जा ठान्छु । यसलाई काव्यभाव सजाउने अलङ्कार मान्दछु । सांस्कृतिक, नृत्य–गीत, वाद्य वा लय र तालको स्मृति–संयोजनलाई कल्पनाले सन्तुलित गरेकी छन् । अन्यथा ध्वनिदूषण र अशान्त स्थितिमा रात्रिविश्राम गर्न बानी पार्नु कसरी ? हिजोका दृश्य र ध्वनिलाई कोरियामा स्मृतिका माध्यमले जोडेर अनि असहज क्षणलाई सहज–रूचिकर वा संगीतमय भएको परिकल्पना गरेर रुपान्तरण ल्याउनु सामान्य कला चातुर्य होला र ! असहज स्थितिलाई परिकल्पनाको चेतनाले सहज–मधुर बनाउनु आर्य चिन्तनको मनोवृत्तिको झिल्का त आएको होइन, उपहारमा, संगतमा ? तर सुन्दर छ ।

रात्रिविश्राम गर्ने ठाउँको परिवेशलाई कल्पना बिजुली बत्ती र अप्रिय ध्वनि संचार गर्न पंखाको घुमाइबाट बडो मार्मिक भावले सादृश्य उपस्थित गर्छिन् । गला बिग्रेको- स्वर खराब भएको गायकले मधुर गायन गर्ला र ! कथ्य (प्रस्तुत विषय) ध्वनि गर्ने पंखा हो तर अप्रस्तुत विषय नै बढी ध्वनित भैदियो भने के लाग्छ | कतै न कतै त व्यंग्य–प्रहार पनि बन्ला कि ? यथार्थ चाहिँ यति नै हो – रुक्ष ध्वनिले उनको विश्राम कक्षलाई बेशक दुःखी बनाएको छ ।

कविताको शीर्षकमा गर्मी छ । संस्कृत वाङ्मयमा ध्वनिकाव्यलाई अब्बल दर्जा मिलेको छ । घुम्ने पंखाको एकोहोरो–एकतर्फी वायुवितरणले शरीरको कुनै भाग शीतल र कुनै भाग तप्त (तातेको) पसिना पसिना हुन्छ । यो भनाइ सरल ढंगले हेर्‍यो भने – असंसदीयझैँ लाग्छ । किन्तु त्यो पंखाले हावाको वितरणमा समानता नदेखाएको प्रसंगले नेपाली राजनीति र न्याय–प्रशसनमाथि गहिरो र अविस्मरणीय चित्र–विम्ब जोडेको छ । गजब छ– सादृश्य विधान । कुनै दिन झुक्किएर गद्य कवितामाथि काव्यशास्त्रीय अध्ययन भयो भने यो खालका कविता अझ ग्राह्य हुन जालान् कि भन्छु ।

थोरै थपौं– किरात संस्कृतिमा संवादको अभिव्यञ्जना अत्यन्त सांकेतिक र ध्वन्यात्मक हुन्छ । आज चलेको ‘लाल कान्छी (टेलिश्रृंखला ?) को सम्वादले दर्शकलाई शब्द शक्ति र ध्वनि काव्यको परिचय लिन सहयोग पनि गर्ला । विकसित मुलुकमा कामदारको विश्राम कक्ष त्यो कोटिको हुनु आश्चर्य लाग्दो र नौलो ध्वनि हो । कोरिया युगबोध लिंदैन, त्यो मात्र प्रदर्शनकारी भौतिक विकास हो, भित्र भने जीवन कष्टकर छ भन्ने हो त ? शायद जापानका कामदारको गुनासो विश्राम कक्षमाथि नहोला । यहाँनेर साहित्यिक अभिव्यक्तिले यथार्थ देखाएका हो भने विदेशी कामदारको लागि त्यस्तै हो भनेर बुझ्ने हो कि ! कि बुझ्ने कम्पनी विपन्न थियो । कामदार पठाउने अड्डाको नजर त्यता पुग्दैन, द्रव्यमा मात्र पुग्छ भन्नु पर्छ कि वा ! कसरी बुझ्नु ? के कल्पनाले काल्पनिक संसार नै उभ्याएकी हुन् त कवितामा ? भाषिक सामर्थ्य प्रशस्त छ । शब्दमा नृत्य गर्छिन्, विम्वमा खेल्छिन् । अप्ठेरोमा पनि रमाएकै देखिनु गजब होइन |

प्रसंग फेरौं – मान्छे जहिले पनि मनको चौतारी र छहारीको खोजीमा रहन्छ । दुःखमा होस् या सुखमा, बिसौनी चाहन्छ । कल्पना प्रिय संवादको कल्पना गर्छिन्, कामना राख्छिन् । कुनै संवाद र स्पर्शमा जोडिएपछि आनन्दको संचार हुन्छ र त्यतिले पनि सुखद निद्रा र सन्तोषको अनुभूति हुन्छ । थोरै, सानो झिल्का दिएर उनी अगि सर्छिन् । हो विछोडिएको जोडीको संझनाले आनन्दको निद्रा दिन्छ । कति मीठो कामना ! बोलीको झझल्को !

श्रमिकको कोरियाको जीवनमा सबैलाई आउला त निवासमा – गर्मी, हिउँद, झरी र खडेरी ? अनि एउटै शरीरमा कतै एशिया र कतै युरोप ? ध्वनि त खोज्नै पर्छ ।

प्रियको काखमा शिर राखेर सुत्ता सुखद् निद्रा त पर्छ किन्तु पछि साथीहरू ‘हात्तीपाइले’ रोगको आशंका गर्छन् । यो प्रसंग अलिक भिन्न छ, विशेष पठन माग्छ कि ! कवितामा घडी, मातृत्व, मेशिन, टिनको छानो, गीतको आभास, प्रेमीको संवाद, पाकेर गलेको हलुवावेद ( हल्ला वेद ?,कृतिमा मुद्राराक्षसले यहाँ ‘हलुवामा बालुवा’ बनाएको छ ), मर्न लागेको बत्ती जस्ता शब्दको संकेत र भाव संयोजन गरेर बुझ्न पाए काव्य–भाव अझ स्वादु होला कि भन्छु । अकुण्ठित प्रवाहबाट काव्यले पूर्णता लिन्छ । भावसौन्दर्यमा रचना उठेको छ । पढेर हामी पनि खुशी छौं ।

कल्पनाको कवि सिकारु वा आभ्यासिक होइन । उनको कवि प्रौढ छ, परिस्कृत छ मर्यादित छ । विषय र कथ्यलाई उचित विस्तार र उचित प्रबन्धमा ढाल्ने क्षमता अभिनन्दनीय छ । कथ्यकको विभाजन, तथा आदि र अन्त्यको सुसंगठित विधि–प्रक्रिया सरल छ ।

समग्र कविता आलङ्कारिक ढाँचामा छ । माधुर्यभित्र पनि मन्द र बाङ्गो मुस्कान छ । कतिपय वाक्यांश सरल भएर पनि चमत्कारपूर्ण र भावमय छन् । सूत्ररूपमा छन्, त्यसैले व्याख्येय छन् । किन्तु प्रगीतात्मक प्रवृत्तिको रचना भएकोको हुँदा व्याख्या वा विस्तारमा जानुभन्दा भावबोधकै स्थितिमा आत्मबोध गरेर तृप्ति लिने यत्न गर्दैछु । केही रमणीय भनाइ जो मलाई छुने खालका लाग्छन्–

(प्रतिलिपि अधिकार उल्लंघन,को मुद्दा लागे खपौंला उद्धरण गरें ।)

– एउटा बालकलाई मातृत्वको अनुभूति गराए जसरी

– म पनि बानी परेछु,

– बिछडिएको प्रेमीले बोलाइरहेछ (आभास)

– कठै, सकी नसकी बलिदिन्छे । मेरो सकिएको अनुदार हेर्न

– यौवनका परागहरू समयसँगै उडेर

– उसको कण्ठमा पक्षघात भएको छ

– एउटै शरीर एसिया र युरोप हुन्छ,

– जब खुट्टा तिमीलाई सुम्पन्छु

यो कविता पढेर आनन्द लिने भन्दा चिन्तन गर्न प्रेरित गर्ने हो कि भन्छु । कविताले साहित्य संसद्लाई झक्झक्याउँछ । सतही पठनबाट कविताको ध्वानि बुझिन्न कि भन्छु । सिर्जना मनोज्ञ छ । छुन्छ । कल्पनाको कलम नरोकियोस् ! शुभकामना !

सन्दर्भ क्रमशः छ, नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघको २०७२ को प्रकाशन – नेपाली डायस्पोराका कविता |

 

काम, कोरियाको गर्मी र…

                                       – कल्पना राई ‘खुसी’

उफ् !

के सारो गर्मी ?

बर्सौँ बिते यसरी नै र यो वर्ष पनि बितिरहेछ

भित्तामा टाँगिएको घडीको सुईको तालमा टिक…. टिक…. टिक…

एउटा नाबालकलाई मातृत्वको अनुभूति गराए जसरी

अजङ्गका डरलाग्दा मेसिनहरूलाई

दिनभरि आफ्नै कोमल हातहरूले चलाउँदै खेलाउँदै बित्छ

मेसिनसँगको पौंठेजोरी…

म पनि बानी परेछु,

तिनैका घल्ट्याङ घल्ट्याङ आवाजहरूसँग

डाङङाङ र डुङगडुङ नै कर्णप्रिय गीत बनेछन्

तिनै प्राणप्रिय मेसिनहरूसँग साँझ जब बिदा हुन्छ तिनैको शिरमाथि रहेको टिनको छानोमा

निदाउने प्रयास गर्छु

अनि भुल्ने प्रयास गर्छु तनको थकान…

सिरानीमा जब टाउको राख्छु

तिनकै बेसुरिला गीतहरूले

बोलाइरहेको आभास हुन्छ

लाग्छ बर्सौं अघि

बिछोडिएको प्रेमीले बोलाइ रहेछ

कर्मको रोटी बेल्दा बेल्दा

प्यात्त पाकेर गलेको हलुवावेद जस्तो अनुहारमाथि खेतको बिच उभ्याएको बुख्याँचा भएर

जब टिनको डब्बा (घर) भित्र प्रवेश गर्छु

ढोकाकै छेउ किटिक्क थिचेर

मर्न लागेको बत्ती बाल्छु

कठै, ‘सकी नसकी बलि दिन्छे

मेरो सकिएको अनुहार हेर्न

कता कता उसले गिज्याउँदै हाँसेको प्रतीत हुन्छ

म एक टकले हेरी दिन्छु उसैलाई…

दुई पाइला अघि सार्छु

तान्छु आफ्नै शिरमाथि टाँगिएको पातलो डोरी

डोरीको करामत सुरु….

पसिना पसिनाले निथ्रुक्क शरीरमा

चिसो चिसो बतास लागे जस्तो

मेरो सिलिङमा झुन्डेको पङ्खा

पुच्छर निमोठ्ने बित्तिकै

हरेक दिन अनगन्ती फन्को मार्छ

मलाई आनन्द, खुसी र आराम प्रदान गर्न.. अनगन्ती वर्षहरू निलेर हो कि ?

यौवनका परागहरू समयसँगै उडेर

उसको कण्ठमा पक्षघात भएको छ

उसले पखेटा द्रूत गतिमा घुमाउँछे तर…

कण्ठमा पक्षघात

र त

म निदाएको बेला शिर हुँदै पाउसम्म पुग्न सक्दिन

ठिङ्ग उभिएर रोबोट भैं

एउटै दिशालाई हम्की रहन्छे

गर्मीको तापक्रम बुझेर कैले खुट्टा हम्की माग्छु कहिले शिर हम्की माग्छु

एउटै शरीर एसिया र युरोप हुन्छ

एकातिर गर्मी

अर्कोतिर हिउँद

एकातिर झरी

अर्कोतिर खडेरी

धन्य छौ मेरो पङ्खा

जब शिर तिम्रो काखमा राखेर निदाउँछु

बिहान साथीसँगी भन्छन्

अहो ! कस्तो मोटाएछे

जब खुट्टा तिम्लाई सुम्पिन्छु

बिहान साथी सँगी भन्छन्

होइन, हात्ती पाइलेको सङ्केत जस्तो छ नि ! अनि….

यस्तै यस्तै अरू थुप्रै अड्कलहरू ।