‘सातौं बाह्रखरी कथा प्रतियोगिता – २०८२’ मा प्रथम कथा हो ‘एक मान्ठ एक देउता’ । यस कथाका लेखक हुनुहुन्छ जाजरकोटका शिवराज शाही जसले प्रथम कथाका लागि दुई लाख राशि हात पार्नुभयो । शाही नेपाली साहित्यवृत्तमा उति चिनिएको नाम होइन, तर गुमनाम नाम नै पनि होइन । यसअघि उहाँले ‘चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता २०८१’ मा समेत प्रथम स्थान हासिल गर्नुभएको थियो ।

तीन वर्षअघि साहित्यपोस्टमा आफ्नो पहिलो कथा प्रकाशन गरी औपचारिक लेखनयात्रा शुरु गर्नुभएका शाही स्नातक दोस्रो वर्षमा अध्ययनतर हुनुहुन्छ । लेखन–यात्राको छोटो समयमा दुई ठूला कथा पुरस्कारहरू हात पार्नुले उहाँको लेखनकौशल र कथा लेखनमा दर्बिलो उपस्थितिलाई प्रस्तुत गरेको छ । प्रस्तुत छ, बाह्रखरी कथा प्रतियोगिताका विजेता शिवराज शाहीसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गर्नुभएको कुराकानीको सम्पादित अंशः

….

सर्वप्रथम तपाईंलाई बाह्रखरी कथा प्रतियोगितामा प्रथम कथा ‘एक मान्ठ एक देउता’का लागि बधाई । तपाईंले आफ्नो कथा प्रथम भएको जानकारी कुन माध्यमबाट प्राप्त गर्नुभयो ?

धन्यवाद । ‘एक मान्ठ एक देउता’ प्रथम भएको पूर्व जानकारी थिएन । पुरस्कार वितरण कार्यक्रममा आउँदै गर्दा अरु प्रतियोगी कथाकार झैं ‘उत्कृष्ट २५’का रूपमा आएँ । मेरो कथा प्रथम भएको जानकारी सर्वप्रथम कार्यक्रममा घोषणा भएपछि नै थाहा पाएँ । कार्यक्रममा आउँदै गर्दा किताबको कभर याद गरेको थिएँ । उत्कृष्ट कथाहरूको उक्त पुस्तकको कभरमा मेरो कथाको थिम आएको हो कि झैं लागेको थियो । तर अन्य कथाको भाव पनि यस्तै हुन सक्थ्यो । यसर्थ, नतिजाका बारेमा मलाई पूर्वजानकारी तथा अनुमान केही थिएन ।

तैपनि, उत्कृष्ट २५ मा आफ्नो कथा छनौट भएपछि सर्वोत्कृष्ट वा उत्कृष्ट तीनभित्र पर्ने कुरामा आशावादी हुनुहुन्थ्यो होला नि !

कथाले केही राम्रो गर्छ भन्ने आशा थियो, तर प्रथम, द्वितीय वा तृतीय, मेरो कथा तीनवटै हुँदैन भन्ने भएर बसेको थिएँ । प्रतियोगिता भएपछि मापनका विविध पक्षहरू हुने नै भए । मेरो भाषाशैली तथा आञ्चलिकताले ती मापनका पक्षहरूसँग मेल खाँदैनन् कि भन्ने थियो । अर्को चाहिँ, यो कथाबाट म स्वयं चाहिँ सन्तुष्ट थिएँ । उत्कृष्ट २५ मा परेपछि त्यसपछि के हुन्छ भन्ने बारे मैले सोच्दै सोचिनँ । अहिले पनि मैले केही सोचेको छैन ।

विजेता घोषणाको समयमा कथासँगै तपाईंको नाम घोषणा तपाईंको कानसम्म पुग्दाको पहिलो अनुभूति कस्तो थियो ?

खुशी त अवश्य नै लाग्यो, तर यसले म हौसिएको भने छैन । अघिल्लो वर्ष भक्तपुरमा चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगितामा प्रथम भएको थिएँ । त्यसबेला चाहिँ अलिक फरक खालको महसुस भएको थियो । योपटक चाहिँ त्यस्तो केही पनि भएन, सामान्य नै लाग्यो ।

पुरस्कार राशि हात पारिसक्नुभयो, साथीहरू पार्टी पर्खिएर बसिरहेका होलान् ?

हो, छन् ।

प्रथम भएको कथा ‘एक मान्ठ एक देउता’को पृष्ठभूमि तथा लेखनका बारेमा छोटोमा बताइदिनुस् न ।

मलाई मातृ–संघर्षका बारेमा केही कथा लेख्न मन थियो । यो कथा लेख्नुको कारण चाहिँ कस्तो छ भने – जहिल्यै मेरो मुवाजीहरूले भनिसिन्थ्यो – ‘एउटी आमाका लागि सन्तान जस्तो भए पनि एकदम प्यारो हुन्छ’ । मलाई यो वाक्यले छुन्थ्यो । यही कुराको थिम समाउँदै जाँदा यो कथा बनेको हो । यसर्थ, यो आमाहरूले सन्तानलाई गर्ने माया र मातृ–संघर्षको कथा हो ।

भूगोल तथा आञ्चलिकताको कुरा गर्दा जाजरकोटको माथिल्लो भाग कुशे गाउँपालिका – जहाँ मेरो घर हो – त्यहाँको पृष्टभूमिमा जुम्लासँग जोडिएको कथा हो यो । कस्तो हुन्छ भने, त्यो भेगमा जुम्लादेखि जाजरकोट तथा जाजरकोटदेखि जुम्ला बिहे गर्ने चलन छ । यही सन्दर्भमा भूगोल र आञ्चलिकता कथामा आएको छ ।

यो कथा बाह्रखरी कथा प्रतियोगिताकै लागि भनेर लेख्नुभएको थियो ?

पुरस्कारकै लागि वा यो प्रतियोगिताकै लागि भनेर लेखिएको कथा यो होइन । लगभग ८–९ महीना अगाडि नै मैले यो कथा लेखिसकेको थिएँ । ६ महीना लगाएर लेखेको यो कथालाई ३८ ड्राफ्टमा पूरा गरेको हुँ ।

कथामा पात्रताका कुरा आउँछ । यो कथामा पात्रता को वा कहाँबाट टिप्नुभएको छ ?

पात्रताको कुरा गर्दा यो कुनै एक निश्चित पात्रको कथा त हुँदै होइन किनकि साहित्यमा पात्रहरू थुप्रै व्यक्तिहरूको अनुभव जोडेर बन्छन् । यसर्थ, थुप्रै आमा तथा हजुरआमाहरूको मातृ–संघर्ष र मनोविज्ञान बोकेको प्रतिनिधि पात्रको कथा चाहिँ हो ।

तपाईंको बाल्यकालमा घरमा पठनको वातावरण कस्तो थियो ? लेखनको शुरुवात कसरी भयो ?

बाल्यकालमा औपचारिक शिक्षाको वातावरण राम्रै थियो, तर साहित्य नै भनेर पढ्ने वातावरण थिएन । पढ्ने भनेकै कोर्सबुक हो भन्ने मान्यता थियो । मैले पहिलो उपन्यास (कर्णाली ब्लुज) पढेको भनेकै एसईई दिएपछि हो ।

सानोमा हजुरआमाहरूले, आमाले, फुपूहरूले एकदमै राम्रा दन्त्यकथाहरू सुनाउनुहुन्थ्यो । ती कथाहरूको छाप कतै न कतै मेरो मानसपटलमा गढेको रै’छ । त्यसलाई उजागर गर्ने काम कहाँ चाहिँ आएर भयो भनेपछि – म मेरो अध्ययनको सिलसिलामा मधेश गएँ, त्यसपछि म हेटौंडा फर्किएँ । त्यहाँ मेरो पठन अलिकति फराकिलो हुँदै गयो । पढ्दै जाँदा आफ्नो भेगका कथाहरू कतै भेटिनँ । जताततै नाम मात्र देखेँ, तर आफ्नो भेगको कथा भेटिनँ । यो कुरालाई लिएर एक पोइन्टमा गएर मलाई एकदमै गाह्रो भइरहेको थियो । त्यसपछि मलाई मेरो भेगको कथा मैले नै लेख्नुपर्छ भन्ने लाग्यो । के लेख्ने त ? – सोचेँ, आमाको कथा लेखौं, आमा–बाहरूकै संघर्षको कथा लेखौं । त्यसपछि लेख्न शुरु गरेँ । त्यसपछि, तीन–चार वर्ष पहिले मेरो पहिलो कथा साहित्यपोस्टमा छापियो, र कथा लेखन सँगैसँगै प्रकाशनको यात्रा पनि शुरु भयो ।

तपाईंले ‘एक मान्ठ एक देउता’ ३८ ड्राफ्टमा तयार भयो भन्नुभयो । तपाईंले यो विशेष कथामा यति धेरै मिहिनेत गर्नुभएको हो कि तपाईंको लखनको तरिका नै यही हो ?

यस्तो छ – कथा लेखनको शुरुवाती चरणमा मैले एक महीनामा चारवटा कथा पनि लेखेँ । एउटा पोइन्टमा गएर के लाग्यो भने – कथाको संख्या धेरै हुनुभन्दा त्यसको स्तरीयता राम्रो हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि मेरो लेखन एकदमै धीमा भयो । अहिले त वर्षमा मुस्किलले दुईवटा कथा लेखिरहेको हुन्छु ।

अर्को के पनि हुन्छ भने, म कथा लेख्नलाई अलिक मुडी मान्छे छु । कुनै कुराले नछोएसम्म, केही नलागेसम्म म लेख्नै बस्तिनँ । कहिलेकाहीँ तीन–चार महीना केही नलेखी यत्तिकै डुलेर बस्दिन्छु । जब दिमागमा पात्रहरू आउन थाल्छन्, निद्रा लाग्न छाड्छ तब विस्तारै विस्तारै पात्रहरूको बारेमा सोच्न र लेख्न थाल्ने हो । यसर्थ, मेरो कथा लेखनको प्रोसेस चाहिँ धीमा नै छ ।

यो कथाको सन्दर्भमा चाहिँ, अघिल्लो वर्ष दशैंमा घर गएको थिएँ । घरबाट फर्किनेबेला, बाटामा त्यस्ता मान्छेहरू (आमा–हजुरआमाहरू) हिँड्दै आउनुपर्छ । गाडी त छ, सुलभ छैन, बाटो जोखिमपूर्ण छ । त्यहाँ कति आमाहरू हुन्थे जो आफ्नो सन्तानका लागि, उसको भविष्य र स्वास्थ्यका लागि आफ्नो ज्यान नै जोखिममा राखिरहेका देखिन्थे । म हस्पिटलहरू पनि गइरहेको हुन्छु – यहाँ सन्तानका लागि आमाहरूले गरिरहेको संघर्ष देख्छु । यस्ता धेरै कुराहरूले छोएर, झकझकाएर तीन–चार महीना दिमागमै कथा खेलाएपछि लेख्न शुरु गरेँ । लेख्दै जाँदा शुरुमा मलाई एकदम कठिन लागेको थियो । तर जब पहिलो र दोस्रो ड्राफ्ट निकालेँ, त्यसपछि त एउटा आदत लाग्यो – जहिल्यै पनि त्यही कथा दोहोर्याएर लेखिबस्ने । यही क्रममा ३८ ड्राफ्टसम्म पुगेको हो यो ।

अन्त्यमा, पुरस्कार जितिसकेपछि संग्रह निकाल्ने भन्ने आफ्नै चाहना र बाहिरी दबाब पनि हुन्छ । तपाईंको तयारी चाहिँ के छ ?

संग्रह निकाल्ने कुनै तयारी छैन । त्यतातिर सोचेको छैन, र तत्काल निकाल्दिनँ पनि । जतिबेला मैले कथा लेख्न शुरु गरेको थिएँ, त्यतिबेला साहित्यपोस्टमा कथा–कविताहरू पठाइबस्थेँ । त्योबेला मलाई पुस्तक निकाल्न अति मन थियो । चार–पाँच महीना लगातार लेखेर एउटा संग्रह तयार पनि गरेको थिएँ । तर अहिले विस्तारै लेख्दै गएपछि लेखनको आनन्दको छ, पात्रसँग नजिक भएर लेख्दै जाँदा अहिले मलाई संग्रहको मोह–माया अलिकति पनि छैन । त्यसैले, संग्रह निकालिहाल्नुपर्छ भन्ने लागेको पनि छैन ।