साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

धोका पाएर लेखक भएको हैन- सुरेश बडाल

युवापुस्तामाझ लोकप्रिय, साहित्यपोस्टका स्तम्भकार सुरेश बडाल ससाना घटना परिघटनालाई टपक्क टिपेर सुन्दर कथानक र्सिजना गर्न खप्पिस छन् । देशका मूलधारका संचारमाध्यममा विशेष प्रेमलाई केन्द्रमा राखेर लेखिएका सिर्जनाहरु प्रसारित गरी युवापुस्तामा चर्चित बनेका बडाल फाइन प्रिन्टबाट आफ्नो पहिलो पुस्तक रहर लिएर पाठकमाझ साझा भएका छन् ।

प्रस्तुत छ, उनै नवपुस्ताका लोकप्रिय लेखकसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अशं:

सुरेशजी, “रहर”ले तपाईँलाई पुस्ताकाकारमा पढ्न चाहाने पाठकलाई लामो समय कुरायो है !

लगभग त्यस्तै भयो भनौं । अघिल्लो वर्षको चैतमा आउनुपर्ने पुस्तक केही प्राविधिक काम अनि पछि कोरोना महामारीका कारण ढिलो हुन गयो ।

अन्ततः रहरको कभर सार्वजनिक भयो । गुदी त पढ्नै पर्यो, बोक्राकै बारेमा थोरै बताइदिनुहोस् न !

बोक्राका बारेमा बताउनु पर्दा आवरण एक जना विदेशी इलुस्ट्रेटरले बनाउनु भएको हो । पुस्तकका बहुसंख्यक कथाहरु बालमनोविज्ञानमा आधारित भएका कारण रंगीचंगी रहरहरु संगालेको किशोर हुँदै गरेको बालकको चित्र भएको आवरण साह्रै सुन्दर देखिएको छ । धेरै पाठकले आवरण सुन्दर लागेको र पुस्तक कस्तो होला भन्ने कौतुहल जागेको कुरा मलाई बताउनु भएको छ ।

मलाई थाहा भएसम्म “रहर”को विधा अहिलेसम्म खुलाइएको छैन । खासमा यो आख्यान हो कि सिर्जनात्मक गैरआख्यान ?

रहरको विधा मज्जाले खुलाइएको छ । यसमा दुविधा मान्नुपर्ने कारण छैन । यो कथासंग्रह हो । यसमा तेह्रवटा फरक फरक कथाहरु रहेका छन् । सुरुमा चाहिँ संस्मरणात्मक शैलीमा लेखिएका केही कथाहरुका कारण हामीले केही फरक विधामा राख्न मिल्छ कि भनेर सोचेका पनि थियौं । तर सबै कथाका शैली त्यो नभएको र कथानकहरु सबै काल्पनिक नै भएका कारण हामीले कथासंग्रह नै भनेका छौं ।

रहरमा संग्रहित कथाहरुका प्रकृतिका बारेमा बताइदिनुहोस् न !

कथाहरु विशेषगरी मनोविज्ञानमा आधारित छन् । बाल, यौन अनि किशोर मनोविज्ञानका छन् । केही प्रेमका विषयमा पनि छन् । अनि बाँकी सामाजिक, राजनीतिक विषयका पनि छन् । कथावाचनका हिसाबले केही कथाहरु संस्मरणजस्ता लाग्न सक्छन् । तर काल्पनिक घटनाहरु भएका कारण ती कथा नै हुन् । तीनवटा कथा त साना आकारका उपन्यासजस्ता पनि लाग्न सक्छन् । समग्रमा भन्नुपर्दा पञ्चायतकालीन समयदेखि अहिलेसम्मको समय समेटेर सरल भाषामा फरक फरक टेक्निक अपनाएर मीठो किताब लेखेको छु ।

“रहर”मार्फत् कथामा नयाँ प्रयोग गर्न खोज्नु भएको हो ? यसले नेपाली कथा लेखनमा नयाँ शैली स्थापित गराउने कुरामा कतिको आशावादी हुनुहुन्छ ?

ठूलै प्रयोग गर्न खोजेको वा नयाँ ट्रेन्ड सेट नै गर्न खोजेको भन्नु अतिशयोक्ति होला । तर आख्यानमा फरक स्वाद भने पक्कै पाउनुहुनेछ पाठकहरुले । संख्याका हिसाबले तेह्रवटा भनिए पनि हरेक कथाभित्र उपकथाहरु छन् र उपकथाहरुभित्र पनि कुनै कुनै वाक्यमा पनि बेग्लै कथा भेट्न सकिन्छ भन्ने लाग्छ मलाई । म एकदम सरल भाषामा ससाना घटनाहरुलाई कथामा बुन्ने काम गर्छु । ती साना कुराहरुमा कुनै गहिरो भाव पाठकहरुले भेट्नुभयो भने म आफूलाई सफल ठान्नेछु । त्यसैले सरलतामा पनि मीठा कथा भन्न सकिन्छ है भन्ने कुरा स्थापित गराउन सक्छु भन्ने आत्मविश्वासचाहिँ छ ।

तपाईँबाट धेरैले प्रेम कथा वा उपन्यासको अपेक्षा गरेका थिए, तर “रहर”मार्फत् पाठकलाई सप्राइज्ड दिनुभयो है !

यो कुराचाहिँ आवरण सार्वजनिक भएपछिको प्रारम्भिक प्रतिक्रियाहरुमा मैले पनि प्रशस्तै पाएको छु । प्रेमकै विषयमा लेखिएको कुनै उपन्यास नै आउने हो कि भन्ठान्नु हुने पाठकहरु सरप्राइज्ड हुनुभएको रहेछ । तर रहरले उपन्यासले दिनेभन्दा कम सन्तुष्टिचाहिँ दिँदैन । पाठकहरुले धेरैवटा उपन्यास पढेको अनुभूति गर्न सक्नुहुनेछ । र प्रेमका विषयहरु पनि यसमा छुटेकाचाहिँ छैनन् ।

प्रकाशन गृहहरु खुब आलोचित छन् पछिल्लो समय, तपाईँले चाहिँ कतिको दुःख पाउनु भयो ? 

प्रकाशन गृहहरुका पनि आफ्नै समस्याहरु छन् । मैले नजिकबाट अनुभव गरेको छु । त्यसैले कसैसँग खासै गुनासो छैन । म त आफूलाई सबैभन्दा भाग्यमानी नयाँ लेखक भन्न रुचाउँछु । फाइनप्रिन्टबाट पुस्तक आउँदैगर्दा पनि अन्य प्रकाशकहरुसमेत उत्साहित भएको पाएको छु । शुभकामना अनि सल्लाह सुझाव पाएको छु । नयाँ लेखकलाई योभन्दा ज्यादा अरु के चाहियो र ।

फाइन प्रिन्टसँग कसरी जोडिन पुग्नु भयो ?

फाइनप्रिन्टसँग जोडिएको कथा पनि बेग्लै रोमान्चक छ । यसका निम्ति म लेखक सुबिन भट्टराई र पत्रकार, सम्पादक बिमल आचार्यलाई धन्यवाद भन्न चाहन्छु । सुबिन दाइको सिफारिशमा बिमल दाइले मेरा केही लेखहरु मुलधारको पत्रिकामा छपाइदिएपछि म फाइनप्रिन्टको नजरमा परें । र अजित बराल दाइको प्रोत्साहनपछि रहर तयार भयो ।

फाइन प्रिन्टबाट पुस्तक आउनुभनेको स्थापित लेखक हुनु हो भन्ने मानक स्थापित छ देशमा, कस्तो महसुस गरिरहनु भएको छ ?

फाइनप्रिन्टसँग आबद्ध धेरै अग्रज लेखकहरु स्थापित भएका कारण यो कुरा सत्य पनि हो । यसले मलाई पक्कै पनि उत्साहित बनाउँछ । तर स्थापित हुनलाई ब्राण्डजत्तिकै महत्वपूर्ण आफ्नो कर्म पनि हो । मैले धेरै सिक्नु छ, धेरै मेहनत गरेर लेख्नु छ । क्षमता भएको मान्छेले सही प्लेटफर्म पायो भने असम्भव केही पनि छैन ।

हिप्पीको नेपाली अनुवाद गर्दै हुनुहुन्थ्यो, कहाँ पुग्यो ?

मैले गर्ने काम सकिसकेको छु । सायद अरु प्राविधिक कामहरु हुँदै छन् ।

नयाँ उपन्यास पनि लेखिसक्नुभयो क्यारे ! रहरले झैँ पर्खाउने हो कि !

नयाँ उपन्यासले सायद रहरले जत्ति चाहिँ नकुराउला ।

न्वारन गर्नु भयो ?

न्वारन मनमा त गरेको छु तर अहिले रहरलाई नै हुर्काउनु बढाउनु छ ।

रहर, हिप्पीको अनुवाद, अनि उपन्यास, देशमा थप एक पूर्णकालीन लेखक थपिएको हो ?

अहिले नै भनिहाल्न हतार होला । म लेखनबाहेक अरु पनि काम गरिरहेको मान्छे । पूर्णकालीन लेखक हुनलाई लेखनले नै जीवनयापन गर्ने वातावरण बन्नुपर्छ । अघिल्लो पुस्ताका लेखकहरुले साठीको दशकमा एउटा स्वर्णयुग नै ल्याइदिनु भयो । धेरै जना पूर्णकालीन लेखक बन्नुभयो । त्यो देखेर धेरै आश पलाएको पनि थियो । तर सत्तरीको दशकको यो अन्त्य अन्त्यमा आइपुग्दा पनि नयाँ लेखकहरुलाई पूर्णकालीन बन्न अझै सजिलो अवस्था छैन ।

पठनसंस्कृति अहिलेभन्दा धेरै गुना बढ्नु पर्छ । पुस्तकहरुमा संख्याका आधारमा भन्दा पनि गुणवत्ताका आधारमा काम गर्नुपर्छ । अहिले त संसारभर नै नेटफ्लिक्स, अमेजन प्राइमजस्ता ओटिटी प्लेटफर्महरुले साहित्यिक पुस्तकहरुमा सिनेमाहरु बनाउँदै छन् । हाम्रा कथाहरु पढ्ने, हेर्ने, सुन्ने माध्यमहरुमा पनि समयअनुसार व्यापक क्रान्ति हुने हो भने लेखकहरु पूर्णकालीन बन्न सक्ने अवस्था नआउला भन्न सकिंदैन ।

थोरै रमाइलो कुरा गरौँ, मलाई एउटा गीत याद आइरहेछ, “मायामा धोका पाएँ, अनि गजलकार भएँ म,” । तपाईँको लेखन यात्रा पनि यस्तै कुनै मोडबाट प्रेरित त छैनन् ?

हाहाहा । सिधै भन्नुपर्दा म खासै गुडलुकिंग मान्छे हैन । मसँग अरु धेरै आकर्षणका तत्त्वहरु पनि थिएनन् होला । त्यसकारण तपाईंले संकेत गर्न खोज्नु भएजस्तै रोमान्सवाला मेरो प्रेम भएन । बरु लेखकका रुपमा अनलाइन, ब्लग इत्यादिमा देखापर्न थालेपछि भने माया गर्नेहरु धेरै पाएँ । मायामा धोका पाएर लेखक भएको हैन, बरु लेखक भएपछि माया पाएको मान्छे हुँ म ।

फेसबुक स्टाटसदेखि लिएर विभिन्न सञ्चारमाध्यमसम्म प्रेम तथा रोमान्सको बारेमा लेख्नु हुन्छ । जवान र अविवाहित हुनुहुन्छ । गोप्यसुत्रबाट थाहा पाएअनुसार तपाईँलाई औधी प्रेम प्रस्ताव आउछन् रे हो ?

अलि पाको मान्छेहरुलाई राजनीतिका कुरा गर्यो भने उत्साहित हुन्छन् । वृद्ध उमेरका आमा हजुरआमाहरु धर्मकर्म देउदेउताका कुरा गर्यो भने चाख मान्छन् । त्यस्तै मेरा उमेरका बहुसंख्यक युवायुवतीहरु प्रेम र रोमान्सका कुराहरु मन पराउँछन् । यसकारण पनि नेचुरल्ली मलाई यस्ता विषयमा लेख्दा रमाइलो लाग्छ र पढ्नेहरुलाई पनि मजा आउँदो हो । तर तपाईंको त्यो गोप्य सुत्र भने मलाई चिन्न मन लाग्यो । नढाँटी भन्नुपर्दा लेखकको रुपमा मन पराउनेहरु हुनुहुन्छ, वहाँहरुलाई सम्मान छ । त्यो विशेष खालको प्रेमको लागि त समय आउन अझै बाँकी नै छ सायद ।

विवाहको बारेमा के सोच छ ? अब त उमेर भएन र !

विवाह त गर्नै पर्छ । तर ठ्याक्कै यति नै उमेरमा गर्नुपर्छ भन्नेचाहिँ नहुँदो रहेछ । जब माथिबाटै जुरेर आएका कुनै जोडी कुनै संयोगले भेट हुन्छन् तब विवाह भएरै छाड्छ । सायद मेरो जीवनमा त्यो संयोग आइलाग्न बाँकी नै छ ।

अन्त्यमा, तपाईँले ठाउँमा पुग्नुभयो, लेखक बन्ने सपना बोकेका नवपुस्ताका लेखकलाई के सुझाव दिन चाहानुहुन्छ ?

यही भन्न चाहन्छु कि लेख्नासाथ छापिनै पर्छ भन्ने नसोच्नुस् । लेखन भनेको कालखण्डलाई जितेर चीरकालसम्म बाँच्ने हुनुपर्छ । त्यसकारण तयारी चाउचाउ झैं प्याकेट प्याट्ट फुटाएर फटाफट खाइहाल्ने जस्तो हतार गरेर लेखेका कुरा छाप्न नकुद्नुस् । प्रकाशकले छापेन भन्दैमा कसैलाई पैसा नै दिएर छाप्ने काम पनि नगर्नुस् । मैले त एउटा पुस्तक पाँच वर्षअघि नै लेखेर पनि जलाएको छु । सही समय र सही प्रकाशक भेट्न मैले वर्षौं पर्खिनु पर्यो । यो समयले मलाई परिपक्व बनायो । आज केही पाठक कमाएँ, जसले मलाई तँ अब पुस्तक लेख्न सक्छस् भनेर हौसला दिनुभयो । प्रकाशकले हामी छाप्छौँ तिमी ढुक्क भएर लेख भनेर खर्चसमेत दिनुभयो । स्थापित लेखकहरुले समेत सिकाउने, बुझाउने गरिरहनु भयो । यो साँच्चै एउटा नवलेखकका निम्ति भावुक बनाउने कुरा हो । आफ्नो कलममा विश्वास र धैर्यता देखाएर नै मेरा निम्ति यो सम्भव भयो ।

नयाँ साथीहरुलाई यही भन्छु, सपना पाल्नुस् तर सपना फुल्न पनि एउटा निश्चित याम आउनुपर्छ । त्यतिन्जेल पर्खनुस् । आफैँ नंगले घोटी घोटी सपनाको कोपिला नमार्नुस् ।

प्रतिक्रिया
Loading...