दक्षिण कोरियाली लेखिका बेक से-हीले ३५ वर्षको उमेरमा आत्महत्या गरेकी छन् ।

सन् २०१८ मा ‘आई वान्ट टु डाइ बट आई वान्ट टु इट टिओकबोकी’ संस्मरण लेखेर चर्चामा आएकी उनको सो पुस्तक संसारभर २४ भाषामा अनुवाद भएको थियो । अर्को वर्ष ‘आई वान्ट टु डाई बट आई स्टिल वान्ट टु इट टिओकबोकी’ प्रकाशन गरेकी थिइन् ।

उनी लामो समयदेखि अवशादग्रस्त थिइन् । उनले आफ्नो अवशादको लामो समयदेखि उपचार गराइरहेकी थिइन् । अवशादको उपचारको क्रममा यी पुस्तकहरू जन्मिएका थिए ।

सियोलमा जन्मिएकी उनले सिर्जनात्मक लेखन अध्ययन गरेकी थिइन् । त्यसपछि उनले गएका पाँच वर्षयता एउटा प्रकाशन गृहमा सामाजिक सञ्जाल निर्देशकका रूपमा काम गरिरहेकी थिइन् ।

उनले आफ्नो मृत्युअघि नै अंगदानको घोषणा गरेकी थिइन् । उनले अंगदान संस्थालाई मुटु, कलेजो, फोक्सो र मृगौला दान गरेकी थिइन् ।

उनको पछिल्लो कृति ‘अ विल फ्रम बार्सिलोना’ केही साताअघि मात्र प्रकाशन भएको थियो ।

आफ्नो मानसिक रूपमा अस्वस्थ भएको खुलेर चर्चा गर्ने लेखिकाका रूपमा उनी चर्चित थिइन् । प्रायः कोरियामा खुलेर मानसिक स्वास्थ्यका बारेमा बोलिँदैन । त्यसैले उनी चर्चामा थिइन् ।

परिवारका तीन छोरीहरूमध्ये माहिली छोरी ब्याक से‑हीको संस्मरणमा लेखेकी छन्, ‘मेरो मनको अँध्यारो भाग खोल्नु पनि यसको उज्यालो भाग देखाउनु जत्तिकै प्राकृतिक कुरा हो भन्ने मैले महसूस गरेँ । त्यसैले यो पुस्तक निकाल्ने आँट गरेँ ।’

दक्षिण कोरियामा मानसिक स्वास्थ्य व्यापक रूपमा छलफल गरिने विषय होइन। कसैलाई मानसिक अस्वस्थ हुनुलाई पागल हुनु ठानिन्छ । यसैकारणले ‘आइ वान्ट टु डाइ बट आइ वान्ट टु इट ट्टोकबोकी’ क्रान्तिकारी पुस्तक बन्न पुग्यो । सन् २०२३ मा, ब्याकले पेन ट्रान्समिसन्सलाई भनिन्, ‘मेरो किताब पढेर पाठकहरूले जब यसले उनीहरूको जीवनको अँध्यारोमा उज्यालो देखाएजस्तो थियो । यो सुनेर म छक्कै परें। मैले सार्वजनिक रूपमा इमानदार भएर लेखेकी मात्र थिएँ । तर त्यही इमान्दारीमा धेरैले सान्त्वना पाएका थिए।’

लेखिकाले गत वर्ष मे महिनादेखि इन्स्टाग्राममा पोस्ट गर्न छोडेकी थिइन् । प्रशंसकहरूले उनको अन्तिम पोस्टमा ‘शान्ति पाउनू’ भनेर टिप्पणीहरू गरेका थिए ।

ब्याककी साथी एन्टन हुरले उनका संस्मरणलाई अंग्रेजीमा अनुवाद गरेकी थिइन् । उनले शुक्रबार इन्स्टाग्राममा लेखेकी छन्, ‘कोरियाली अंगदान प्राधिकरणले उनले दान गरेको मुटु, कलेजो, फोक्सो र मृगौलाले पाँच जनाको ज्यान जोगाएकी छन् भनी बताएको छ । उनले यो संसार त्याग्दात्याग्दै पनि अरूलाई पुण्य गरेकी छन् । उनका पाठकहरूलाई थाहा छ, उनी ज्यूँदै हुँदा पनि आफ्नो लेखनबाट लाखौं मानिसको जीवन बचाएकी थिइन् ।’