अमर स्रष्टा मास्टर मित्रसेनको जीवनीमा आधारित ऐतिहासिक युद्ध–उपन्यास हो लाहुरेको रेलिमाई’ । ३९० पृष्ठको यो कृति साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । अनामिका गौतमले तयार पारेको यस पुस्तकको आवरण आकर्षक र सुन्दर छ । यसको लेखक हुन् – विजय हितान ।

ब्रिटिश गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त हितान हाल बेलायतको वातावरणीय संघस्थानमा कार्यरत छन् । उनले ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हुन् । पर्या–साहित्यमा विशेष परिचित हितान युद्धसाहित्य लेखनमा पनि सक्रिय देखिन्छन् । विभिन्न विधामा कलम चलाउने हितानका एक दर्जन पुस्तक प्रकाशित छन् भने  उनका लाहुरेको रेलिमाई’ उनको पहिलो आख्यान हो ।

मास्टर मित्रसेन थापाले पहिलो विश्वयुद्ध ताका रचेर गाउनुभएको चर्चित गीत लाहुरेको रेलीमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको” बाट यस पुस्तकको शीर्षक राखिएको हो । यसरी शीर्षकमार्फत लेखकले स्रष्टाप्रति र पुर्खाप्रति सम्मान प्रकट गरेका छन् ।

यो गीत कालजयी त छँदै थियो, पुस्तकको शीर्षक बनेपछि अब आउँदो पुस्ताले अझ बढी सम्झनेछन् । यस कृतिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९’ पनि जितेको छ ।

भारतको भाग्सु निवासी मास्टर मित्रसेन त्यति बेला भारतीय गोरखा सैनिक थिए । उनले बेलायतको पक्षबाट पहिलो विश्वयुद्धमा लडेका थिए । सन् १९१४ को अगस्त १ मा १८ वर्षको उमेरमा भाग्सु धर्मशाला छाउनीबाट प्रस्थान गरेका थिए ।

त्यसपछि उनी पठानकोट, अमृतसर, बम्बै, इजिप्टको स्वेज नहर हुँदै फ्रान्सको मार्से र बेल्जियमको सिमाना, हाल “फ्लाण्डर्स फिल्ड” भनेर चिनिने यिप्रसम्म पुगेका थिए ।

उनको डायरीमा लेखेकै पाइन्छ – यो लाहुरेको रेलिमाई गीत त्यहीं यिप्र हालको फ्लाण्डर्स फिल्डमा रहँदा लेखेका थिए । म आफै पनि फ्लाण्डर्स फिल्डमा पुगेर त्यस बेला सहादत प्राप्त पुर्खाहरूको समाधि स्थल र यिप्र गेटको भित्तामा मार्बलमा कुँदिएर राखेका नामावलीको टिपोट गरेर ल्याएकी थिएँ । ती नामहरू मेरो नियात्रासंग्रह ‘फ्लाण्डर्स फिल्डमा तमोरका सुसेली’मा समेटेकी छु ।

उपन्यासमार्फत फ्लाण्डर्स फिल्डको बारेमा मित्रसेनले लेखेको पढ्दा अत्यन्तै भावुक भएँ फेरि । सोचें ती गेटको भित्तामा कुँदिएका नामहरू शायद मित्रसेनसँगै भारतबाट गएका थिए । र उनकै सामु क्षतविक्षत भएका थिए शायद !

त्यस बेला संसारकै मान्छे लडेका थिए त्यसमा पनि गोर्खा सैनिक दुई देशबाट सरिक हुन आएका देखिन्छन् । यिप्र गेटमा मलाया रेजिमेन्टका गोर्खाली नामहरू पनि देखें । त्यस गेटमा पहिलो विश्वयुद्धका मात्र नामहरू समेटिएका छन् । तरै पनि थुप्रै देशका नामहरू देख्दा त्यो यिप्र गेट नै थरथर काँपे झैं लागेको थियो मलाई ।

अहिले उक्त ठाउँमा हरेक वर्ष नोभेम्बर ११ मा संसारकै आर्मीहरू भेला भएर युद्धमा सहादत प्राप्त पुर्खाहरूको सम्झनामा सलामी दिन्छन् । मौन धारण गर्छन् । उक्त दिन त्यहाँ निक्कै ठूलो मेला लाग्छ । त्यहाँ युद्ध सकेको एक वर्ष पुग्दा उहीं सहादत प्राप्त सैनिकहरूलाई खाडल खनेर पुरेको माटोमाथि रातो पप्पी फूल फुलेको थियो रे । उहीं दिनदेखि उक्त फूललाई लडाइको प्रतीक मानिएको हो ।

नोभेम्बर महिनामा यिप्र क्षेत्रमा त्यस फूललाई विशेष महत्वका साथ बिक्रीवितरण गरिन्छन् । ‘देश गुनाको भेष, कपाल गुनाको केस’ भन्ने उखान झैं पशुपतिमा जाँदा फूल र पूजा सामग्री बेच्नेको खोसामारमा परिन्छ । यिप्रा जाँदा त्यस्तै पप्पी फूल बेच्नेको खोसामारमा परिन्छ । यिप्रा गेटको ओरिपरि पप्पी फूलको ठूल्ठूला दोकानहरू र अगाडिपट्टि ठूलो युद्ध म्युजियम छ । युरोपियनहरूले युद्धको इतिहासलाई जतन गरेर म्युजियममा संग्रह गरेका छन् । अहिले ती म्युजियम घुम्न आउने पर्यटकले टिकट खरिद गर्दा त्यहीँबाट देशको अर्थतन्त्र चलिरहेको छ ।

बेल्जियमको लुभेन शहरमा हिटलरले युद्धताका प्रयोग गरेको बिल्डिङ पनि सुरक्षित राखेका छन् । युद्धमा प्रयोग गरिएका हात हतियार र आफ्नो सन्तानहरूको शव खोज्दै हिंड्ने आमाहरूको करुणामय स्टाचुहरू राखेर भिजिटर तानिरहेछन् । युरोपियनहरू पैसा बटुल्न सारै सिपालु छन् । युद्धसँग सम्बन्धित यस्ता स्थानहरू कति हो कति युरोपमा घुमेरै सकिन्न त्यहींबाट पनि अनुमान लाउन सकिन्छ कि पहिलो र दोस्रो विश्व युद्धमा सबै भन्दा धेरै विध्वंश युरोपमा भएको थियो ।

सात लाख सैनिक लिएर हिटलरले अरू देशका भूभाग कब्जा गर्न अघि बढिरहेको बेला तिनलाई परास्त गर्न गोर्खाली फौजले निक्कै ठूलो भूमिका खेलेको कुरो इतिहासमा पढ्न पाइन्छ । यस पुस्तकमा मित्रसेन स्वयमले पनि त्यो भयङ्कर समयलाई यसरी वर्णन गरेका छन् – “दुश्मनको नाडी छाम्न दुईचार राउन्ड मसिनगन फायर गर्न के थालेका थियौं, उल्टै हामी उपर जर्मन हवाई हमला सुरु भयो । को हो कताबाट ड्वमड्वम टिप् बर्शिं थाले । हामी तीनछक पर्यौं । टेलिफोनमार्फत पछाडि आर्टिलरी सपोर्ट मागेँ । लगत्तै हाम्रो आर्टिलरी रेजिमेण्टले तोप हान्न सुरु गर्‍यो । कुनै तोपका गोली पारीको डाँडामा, कुनै नदीमा त कुनै हाम्रै सामुन्ने खस्थे । कुन दुश्मनको, कुन हाम्रो, छुट्याउनै गाह्रो । माटो, ढुङ्गा, हिलो र दश्मनका बास्ना आकाश माथिमाथि उडेर तल जमिनमा बज्रिन्थे ।

टाउकोको टोपीसँगै एउटा शरीरको माथिल्लो भाग मेरै ट्रेन्च अगाडी खस्यो । त्यो देखेर नौनारी गले । छातीको कारण फट्याएर बाहिर निस्केला जस्तो गरेर मुटुको कम्पन बढेर आयो । त्यो अर्धशरीर नरसिंहको जस्तो देखिन्थ्यो । झल्याँस्स उसलाई सम्झेँ । ऊ मेरो युद्धको जोडी हो । हामी एउटै जुवाले नारेका हलगोरू थियौँ ।”

पृष्ठ ९८ बाट साभार यो बडो दर्दनाक युद्ध कथा हो । मित्रसेनको टिमले १० मार्च १९१५ तिर उहीं फ्ल्याण्डर्स फिल्ड भन्ने क्षेत्रमा लडेका थिए, जुन युद्ध अघिल्लो वर्षदेखि जर्मनीले ओगटेर बसेको भूभाग न्यु सेफललाई फिर्ता लिन आरम्भ गरिएको थियो । मित्रसेनको टोलीले यस ठाउँको हरेक युद्धहरू बडो बहादुरीका साथ लडेको थियो ।

अनुमान गर्न सकिन्छ युद्ध कति भयानक हुन्छ भनेर । त्यहाँ कर्तव्यपथ बाहेक अरू कुनै बाटो, गल्ली या गन्तव्य हुँदैन । कुनै झ्याल हुँदैन जहाँबाट जहानपरिवार हेरेर मुस्कुराउन् । युद्ध, युद्ध हो जहाँ युद्धभूमि र उद्धववीरहरू हुन्छन् अनि युद्धको बेला आफ्नो बाउअघि आए पनि गोली चलाउँछु भनी खुवाइएको शपथ रिँगिरहेको हुन्छ दिमागमा ।

यहीं युद्धमा मित्रसेनले आफ्नो प्राण भन्दा प्यारो नम्बरी नरसिंहलाई रहस्यमय तरिकाले गुमाएका थिए । नम्बरीले सहादत प्राप्त गरेछ भनेर लगभग माया मारिसकेको अवस्थामा अचानक अस्पतालमा भेट हुन्छ । नरसिंहलाई घाइते अवस्थामा भेट्दाको खुशी शब्दले बयान गर्न सकिंदैन । भावुकतामा डुबाउँछ त्यस दृश्यले ।

युद्ध भनेकै त्यस्तै हो को कहाँ पुगेर घाइते हुन्छ । को कहाँ पुगेर दुश्मनको कब्जामा पर्छ त्यस्तै नरसिंह पनि जर्मनीहरूको घेरामा परेर बन्दी बनेको हुन्छ । त्यस क्षेत्रमा जर्मनले हार बिहोर्न नपरेको भए, मित्रसेनले नम्बरीलाई फेरि कहिल्यै देख्ने थिएनन् कि ! नम्बरी भन्छन्, “दुश्मनको यातना सहनु भन्दा गोली लागेर मर्नु राम्रो ।”

“अब हामी पैदल सेना धावा बोल्न तम्तयार थियौं । हुकुम मात्र पर्खेर बस्यौं । १० बजेदेखि पछाडिबाट आर्टिलरीले फायर पावर दिन सुरु गर्‍यो । आकाशमा तुवाँलो फाट्दै थियो तापनि तोपका गोला अगाडी पड्कँदै गरे । १०:३० बजे गोला झर्न बन्द भएपछि अघि बढिहाल्नु पर्ने थियो । तर कुहिरोले गर्दा २५-३० गजभन्दा अगे देख्न सकिने थिएन । भाग्सुको जस्तो चरक्क घाम यता नपाउँदा लाग्थ्यो, यताको घाम युद्धले तर्सिएको छ । पूर्व दिशामा ११ बजेतिर बल्ल अप्ठ्यारो मानीमानी लुकीछिपी घाम झुल्कियो । अनि उज्यालोले धर्ती रङ्गीन बन्दै गयो ।”

पृष्ठ ९९ बाट साभार यी हरफहरूले मान्छे जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि आशावादी भैरहन्छ । युद्ध भूमिमा दुश्मनको गोलाबारुद छल्दै भए पनि म बाँच्नु पर्छ भन्ने साहस बोकेका हुन्छन् हरेक लडाकुले । र त युद्ध बलियो हुन्छ अथवा एकको हार अर्कोको जीत हुन्छ शायद ! माथिका हरफहरू पढिरहँदा लाग्छ – मास्टर मित्रसेन सेना मात्र थिएनन्, उनी देश्भक्त्त र प्रकृतिप्रेमी पनि थिए ।

चार वर्ष लामो पहिलो विश्वयुद्धमा सहादत प्राप्त गर्नेहरू अझै पनि अमर भएर बाँचेका छन् । यिप्रजस्ता धेरै ठाउँमा रहेका विभिन्न देशका समाधि स्थलहरूमा हरेक वर्ष उनीहरूलाई सलामी दिइन्छ र सम्झिन्छन् जिउँदा मान्छेहरूले । तर युद्ध सकिएपछि बाँचेका धेरैजना कटौतीमा परे, लालबुक बोकेर रित्तै फर्के । उनीहरूले न त सलामी पाए, न त चित्त बुझ्दो सुविधा नै। सबै मास्टर मित्रसेनजस्ता साहसी थिएनन् । युद्धले धेरैको बल, बैँस, आँट र हिम्मत खोसिसकेको थियो । बाँकी जीवन पनि युद्धको पराकम्पनले हल्लिरहेको थियो । बेलायतले त्यति बेला के दिएको थियो होला र चित्त बुझ्दो तलब र भत्ता ?

म आफैं त्यस्तो परिवारसँग बिल्कुल सम्बन्धित छु, जसका बाजे र बडाबाउ दोस्रो विश्वयुद्धमा लडेका थिए । बडाबाउले सहादत पाए, बाजे फर्के। तर उनले खासै धेरै पेन्सन पाएको सम्झना छैन । “के गर्नु, बुढी, पेन्सन थाप्न कालेम्पुङ पुग्ने खर्च र थापेर फर्किनुमा खर्च सकिन्छ,” भन्दै बजैसँग गुनासो गरेको अझै पनि सम्झना छ । छोरा गुमाएको पीडा मिसिएको युद्धको अनुभव बाजेले सधैं सुनाइरहनुहुन्थ्यो । सन् १९८५ (वि.सं. २०४२) मा उहाँ बितेपछि त्यो कथा सुन्ने मेरा कान पनि टुहुरा भए ।

उपन्यासमा चित्रण भएको मित्रसेनको भोगाइ त्यही पुस्ताका धेरै सैनिकहरूको साझा अनुभव थियो । तर कतिले लेखे, कतिले लेखेनन् । जसले लेखे, उसले पछिल्ला पुस्तालाई इतिहास पढायो, युद्ध सम्झायो । युद्ध विनाश हो, युद्ध गर्नु हुँदैन भन्ने चेत पनि दियो ।

तर यति भनिरहँदा मलाई “बुझ्नेले युद्ध श्रीखण्ड, नबुझ्नेले खुर्पाको बिँड” भन्ने भनाइ सम्झिन्छन् । किनभने अझै पनि विभिन्न देशमा युद्ध भइरहेकै छ । विश्वयुद्ध मात्रै बाँकी छ । साना देशहरू युद्ध लड्दा बेलायत र अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरू निश्चयै केवल हेरेर बसिरहेका छैनन् । भित्रभित्रै चलखेल र शक्ति प्रदर्शन गरिरहेका छन् । ठूला देश प्रत्यक्ष रूपमा अगाडि नआएसम्म विश्वयुद्ध हुँदैन भन्नेमा ढुक्क त हुनु पर्छ ।

यहाँ लेखकले, मास्टर मित्रसेनले पानीजहाजको लामो यात्रामा भोग्नुपरेका अनेकौं समस्या पनि उजागर गरेका छन् । साथै लाहुरेका साहसिक हिम्मत र बहुकलाको सर्वत्र चर्चा पनि पाइन्छ पुस्तकमा । मित्रसेनले युद्धमा सिग्नलर अर्थात् सन्देश प्रवाहकको रूपमा महत्त्वपूर्ण कर्तव्य निर्वाह गरेका छन् । तर, त्यसको कदर नगरिएकोमा उनको चित्त दुखाइ रहेको छ । अनेकौं जोखिम पार गर्दै ट्रेन्चमा जीवन बिताएका घटनाहरू पढ्दा पाठक अवश्य स्तब्ध बन्छन् ।

“लडाइँमा हिंडेका सेनाले मौका पाउँदा रमाइलो पनि गरेका छन् । बेल्जियम बस्तीमा पुग्दा  ”लाहुरेको रेलिमाई फेसनै राम्रो”  गीत (मित्रसेनरचित) सबैले सुन्ने गरी दोहोर्याई-तेहेर्याई गाएर रमाएका छन् । ९ मे १९१५ मा फेस्तुबर्तमा गोलाबारुदको मारमा परेर खुट्टामा चोट लाग्दा घाइते भै, केही दिन अस्पताल भर्ना भएर उपचारपछि पल्टनमा फर्के । २५ नोभेम्बर १९१५ मा माजिङ्हममा भव्य परेड भयो । सो निरीक्षण गर्न ब्रिटिश सम्राट् जर्ज पाँचौँ सवारी होइबक्सेको थियो । सम्राट्ले सम्बोधनको क्रममा गोर्खाली सेनाका बहादुरीपूर्ण कार्यबाट आफ्नो साम्राज्यको सार्वभौमसत्ता र अस्तित्व जोगिन र यसको विस्तारमा अविस्मरणीय देन रहेको उल्लेख गरिबक्सियो ।” यसरी यो किताबभित्र पहिलो विश्वयुद्धको सबै इतिवृत्तान्त पढ्न पाइन्छ । त्यसैले यो किताब पहिलो विश्वयुद्ध सम्बन्धी बलियो दस्ताबेज हो यसलाई सबैले पढ्नु जरूरी छ ।

प्रथम भीसी कुलबीर थापाको सम्मानमा उनको नाम अंकित रेल समेत सञ्चालनमा ल्याएको छ बेलायत सरकारले । तर हाम्रो श्रम बेची खाने नेपाल सरकार राणाहरूले खोइ के गरे ? यो प्रश्न, प्रश्नमै रहेको छ । पहिलो विश्वयुद्धमा पुर्खाहरूले कमाएका नाम, वीरता र उहाँहरूको बहादुरीले आज हामी संसारभर शिर उच्चो गरेर जिउन पाएका छौं । हामीलाई नेपाली भन्दा कतिपय देशकाले चिन्दैनन् तर गोर्खा भन्दा ओह ! आइ सी भन्छन् ।

हामीलाई चिनाउने वीर गोर्खाली पुर्खाहरू, सगरमाथा र शान्तिदूत भगवान गौतम बुद्ध भन्दा अर्को वीरता हामीले के गर्न सकेका छौं र आफूलाई चिनाउन ? यस्ता कुराहरू सोच्दा मन आन्दोलित बन्छ घरी घरी ।

प्रथम भीसी विजेता कुलवीरलाई बेलायती सरकार र बेलायती जनताको तर्फबाट बधाई ज्ञापन गरिबक्सियो । बागदाद कब्जापछि पल्टनलाई इजिप्ट फोर्सको हिस्सा बनाएर प्यालेस्टाइन लगियो । ११ नोभेम्बर १९१८ मा फ्रान्सको कोम्पियन शहरमा जर्मनी र बेलायतबीच सन्धि भएपश्चात् युद्धविराम भयो । फौज बासराबाट बम्बै हुँदै साविकको छाउनी भाग्सु धर्मशाला फर्क्यो, धेरै मित्रहरूलाई गुमाएर । फर्केपछि सेना कटौतीका कारण मित्रसेनले ७ वर्ष २ सय ११ दिन मात्र काम गरेर सिपाही पदबाट निवृत्त हुनुपर्यो । उनले अवकाशपत्र (लालबुक) लाई मानवहत्या गरेबापत दिइएको प्रशंसापत्र ठानेर नलिएको कुरो आफैमा ठूलो विद्रोह थियो । त्यो पढ्दा लाग्छ हाम्रा पुर्खा बहादुर मात्र थिएनन् अनपढ भए पनि स्वाभिमानी थिए ।

डायरीका पानाहरू यसरी भरिएका छन्, “म किन युद्धबाट बाँचेर आएछु भन्ने पश्चात्ताप लाग्यो । उतै मृत्युवरण गरेको भए बरु यो विषम वेदना भोग्नु पर्ने थिएन । मेरा अङ्गहरू क्षतविक्षत पर्ने गरी किन जर्मनका तोप ममाथि पड्केनन् । र त्यहीं माटोमा म मिलिनँ ?”

साथै आफू युद्धबाट बाँचेर आएपछि कति महिना युद्धकम्पनले बिमार भएको कुरा पनि उल्लेख छ । त्यसपछि उनकी श्रीमतीले उनलाई त्यो कालो अँध्यारो मानसिक रोगबाट बाहिर निकाल्छिन् त्यसपछि जीवन साधारण रूपले अघि बढ्दै गर्दा फेरि महामारी फैलिन्छ । उहीं महामारीमा तीन सन्तान र श्रीमती गुमाउनु पर्छ ।

यी मित्रसेनको जीवनका अति नै पीडादायी पलहरू हुन् । तर ऊ एक बहादुर सैनिक समस्याहरूसँग जुद्धै आफूलाई अघि बढाउन सफल हुन्छन् । उनलाई अन्तिमसम्म साथ दिन आमाको ठूलो योगदान रहेको देखिन्छ । आमा नै भजन कीर्तन गाउने हुनाले शायद उनलाई पनि संगीतप्रति मोह जागेको हुन सक्छ । आमानै उनका संगीतका गुरु हुनुहुन्छ भन्दा गल्ती नहोला । ‘संसारमा सबैभन्दा राम्री आमा’ भन्ने टंक बुढाथोकीको गीत यहाँ सार्थक भएको छ । हामीलाई निस्वार्थ माया आमा बाहेक कसैले दिन सक्दैनन् ।

यस्तो महायुद्ध फेरि कहिल्यै लड्न नपरोस् भन्ने कामना पनि उनले गरे । शेष जीवन गोर्खाली समाजको सेवामा समर्पित गर्ने अठोट लिए । त्यस क्रममा उनले दोकान चलाए, गीत–भजन गाए, नाटक लेखे र खेले ।

सन् १९३२ मा पुर्खाको थलो बागलुङ, राखुपुल्ला भ्रमण गरी आफ्ना भाइ–खलक (थापामगर)लाई भेटे । सन् १९३७ को मे महिनामा सांस्कृतिक टोली लिएर काठमाडौं आए । रत्नदास प्रकाशसँग मिलेर गीत गाए । युवराज महेन्द्रको जन्मदिनमा राजदरबारमा गीत गाउँदा राजा त्रिभुवनबाट बक्सिस पाए । त्यस्तै, श्री ३ जुद्धशमशेरको नातिको पास्नीमा जाउलाखेल दरबारमा निम्ताइएर नेपाली झ्याउरे भाका र भजन गाए । त्यति बेला श्री ३ जुद्धले “तिमी त आशु कलाकार रहेछ्यौ” भन्दै प्रशंसा गरे र बक्सिस पनि दिए । साथै नेपालका जुनसुकै कुनामा गएर नेपाली संगीत प्रस्तुत गर्ने र ती गीतहरू भारतमा रेकर्ड गर्ने अधिकारसहित लालमोहर प्रदान गरे । मित्रसेन सत्सङ्गमा ठाउँ–ठाउँमा पुग्थे ।

लेखक विजय हितानले यिनै मित्रसेनको सम्बन्धमा गहिरो अध्ययन र अनुसन्धान गरी यो कृति तयार पारेका हुन् । डायरीको स्वरूपमा, रोचक शैलीमा प्रस्तुत यस उपन्यास लेख्दै उनले प्रथम विश्वयुद्धसँग सम्बन्धित गोर्खाली युद्धस्मारक र संग्रहालयहरू पनि अवलोकन गरे । करीब छ वर्षको मेहनतपछि तयार भएको यो ग्रन्थ केवल मित्रसेनबारे जानकारी दिन मात्र होइन, प्रथम विश्वयुद्धमा गोर्खालीहरूको सैन्य परिचालन बुझ्न पनि उपयोगी दस्ताबेज बनेको छ । यद्यपि मित्रसेनको अन्तिम अवस्थाबारे भने यसमा खुलाइएको छैन ।

यस्तो अनुसन्धानमूलक उपयोगी ग्रन्थ तयार गरेकोमा लेखक विजय हितान निश्चय नै प्रशंसा र धन्यवादका पात्र हुन् । म जस्तो साधारण पाठकले यत्रो महान युद्धग्रन्थमा गल्ती खोज्नु त सम्भव छैन । पुर्खाले भोगेको त्यो समयसँग साक्षात्कार गराउन उनले आफ्नो रोजीरोटी त्यागेर वर्षौंसम्म मित्रसेनसँग सम्बन्धित ठाउँ–ठाउँमा घुमे र अनुसन्धान गरे । त्यसैले यो पुस्तकमा त्रुटि छैन, बरु हरेक हरफ पढ्दा पुर्खाहरूको आशीर्वाद बगेझैं अनुभूत हुन्छ ।

अन्त्यमा, म ननलाहुरेनी स्रष्टाबाट लेखक विजय हितान दाइलाई एक गोर्खे सलाम अर्पण गर्दछु । किताब पढेर चूप लाग्न मन लागेन, त्यसैले केही लेखी टोपलेकी हुँ । मेरो यस पाठक प्रतिक्रियामा कतै त्रुटि भेटिए अज्ञानी सम्झेर माफ गरिदिनु होला ।