अहिले एआईको प्रयोग व्यापक रुपमा बढेको छ । कतिसम्म भने अहिले सुनो एआई एपबाट त गीत सिर्जना गर्नेदेखि संगीत दिनेसम्म काम भइरहेको छ । सुनोको लोकप्रियता देखेपछि ओपन एआईका प्रमुख कार्यकारी साम अल्टम्यानले प्रख्यात भारतीय संगीतकार एआर रहमानसँग हालै भेटेका छन् ।

संगीतका शिखर र एआईका पण्डित दुवै मिलिसकेपछि अहिले नयाँ परियोजनामा काम भइरहेको छ । त्यसलाई दुवैले ‘सेक्रेट माउन्टेन’ नाम दिएका छन् । यस परियोजनामार्फत अब एउटा यस्तो कृत्रिम सांगीतिक संसार तयार हुनेछ, त्यस प्लेटफर्ममार्फत संसारभरका संगीत सर्जकहरुले अझ अद्भुत सांगीतिक सिर्जना गर्न सक्ने छन् ।

रहमानले सामाजिक सञ्जालमा यसबारे खुलासा गर्दै भनेका छन्, ‘यो परियोजनाले भारत र संसारभरका युवा सर्जकहरुले सिर्जनात्मक र सकारात्मक परिवर्तनका लागि एआईलाई भरपूर प्रयोग गर्न सक्ने छन् ।’

सेक्रेट माउन्टेनलाई रहमानको गुड फेलाज स्टुडियो र क्युकी डिजिटल मिडियाले निर्माण गरिरहेका छन् । यिनले डिजिटल ‘मेटा ब्यान्ड’ बनाउने छन् । यो ब्यान्डमा एसिया, अफ्रिका, आयरल्याण्ड लगायतका सांगीतिक विशेषताहरु हुने बताइएको छ ।

सुनो एआईको सहयोगले अहिले नेपालमा संगीत सिर्जना गर्ने र त्यसलाई युट्युबमा हाल्ने चलन बढ्दो छ । तिनले राम्रै दर्शक तथा स्रोताहरु पनि बटुलिरहेका छन् । यस्तोमा एआर रहमानको यो नयाँ प्रोजेक्टले एआईलाई विश्वास नगरिहाल्नेहरु पनि आकर्षित गर्ने सम्भावना रहेको केहीको धारणा छ ।