एउटा जिन्दगी बनाउन
धेरै कुरा छोड्नु पर्ने रहेछ
सबैभन्दा पहिले तिमी छोडियौ
बिस्तारै घर छोडियो
आफन्त र साथीभाइ
पहिल्यै छुटिसकेका थिए
राजधानी आउँदासम्म त
देश साथमै थियो
उडेपछि त्यो पनि छोडियो
मैले घरका लागि घर छोडेँ…..
२०७० सालको कुरा हो, जतिबेला म वैदेशिक रोजगारका लागि युएई जाने तयारी गर्दै थिएँ । त्यो मेरो पहिलो विदेश यात्रा थियो । कलिलो उमेरमा धेरैथोक छोडेर म विरानो देश, जहाँ म सपनामा पनि पुगेको
थिइनँ, त्यहाँ जाँदै थिएँ । “तपाईं तुरुन्त काठ्मान्डु जानु पर्ने भो ! उतै गएसी तपाईंको टिकेट कम्फम् हुन्छ ! छिटो जानु होला !” भनेर मेनपावरको मान्छेले फोन गरेपछि केही दिनमै म झापा छोडेर काठमाडौँ आएँ ।
खाँदै गरेको रेडियोको जागिर छोडिदिएँ । सानै भए पनि रेडियोले दिएको एउटा परिचय थियो, त्यो छुट्यो । हावाको तरङ्गबाट गाउँगाउँसम्म मेरो आवाज पुग्थ्यो, त्यो छुट्यो । रेडियोले भेटाइदिएका साथीभाइ छुटे । त्यही रेडियोले जुराइदिएको र मैले सबैभन्दा धेरै माया गरेकी प्रेमिकासँगको साथ छुट्यो । बेलुका नाइट बसमा झापा छोड्दै थिएँ, बिहान ९/१० बजेतिर प्रेमिकासँग भेटघाट थियो । अन्तिम पटक अङ्गालो मार्दै उनले भनिन्, “धेरै पैसा कमाएर छिटै आउनु है ! म पर्खिरहेको हुने छु !” मलाई उनको पर्खाइमा शङ्का थिएन र आफ्नो भाग्यमा पनि । त्यसैले मैले केही भनिनँ ।
निजी सम्पत्तिको नाममा एउटा पुरानो साइकल थियो । रेडियोमै काम गर्ने गार्ड दाइको छोरालाई दिएँ, सित्तैमा । म विदेश जाने थाहा पाएपछि त्यो भाइले भनेको थियो, “दाइ तपैँको साइकिल चैँ मलाई दिनु है !” मैले सजिलै
“हस्” भनेर दिएँ पनि । घरकाले सोद्धै थिए, “साइकिल के गरिस् ?” त्यो भाइलाई सित्तैमा दिएँ भनेर मैले भन्न सकिनँ । किन भने बेचेको भए कम्तिमा हजार, पन्ध्र सय पक्कै आउँथ्यो । त्यो ठूलै रकम थियो मेरो लागि त्योबेला । तर, त्यो भाइको माया लाग्यो र मैले पैसा मागिनँ । कुनै दिन ऊ बाइक अथवा कार चढ्ने भएछ भने मैले साइकल दिएको कुरा उसले सम्झिने छ । मलाई यस्तो लाग्यो । तर दुर्भाग्य ! बाइक चढ्ने हुनुभन्दा पहिल्यै उसले आत्महत्या गरेछ ।
काठमाडौँ आएको १०/१५ दिनपछि युएई जाने टिकट पक्का भयो । किनमेलसँगै विदेश जाने सबै तयारी पूरा भइसकेको थियो । जाहज चढेर उड्न मात्रै बाँकी थियो । मन खुशी जस्तो पनि, दु:खी जस्तो पनि, रमाइलो जस्तो पनि, नरमाइलो जस्तो पनि भइरहेको थियो । मनको अवस्था छिनछिनमा परिवर्तन भइरहेको थियो । न त खुलेर खुशी हुन सकेको थिएँ । न त खुलेर दु:ख व्यक्त गर्न नै सकिरहेको थिएँ । मन यसै कता कता हराइरहेको थियो । नयाँ देशमा पुगेर टन्न पैसा कमाएको कल्पनाले मन दङ्ग थियो एकातिर । अर्कोतिर सबथोक छोडेर जानुको पीडा मनमा थियो । केही पाउने आशामा
धेरैथोक छुटे । सबैथोक छोडेर रित्तो मन बोकेर हिँड्नै लाग्दा अचानक मेरो ध्यान मेरो शरीरमा अल्झिएको जनैमा गयो । यो जनैलाई के गर्ने अब ? भनेर म केहीबेर अलमलमा परेँ । अहिलेसम्म मेरै शरीरमा टाँसिएर बसेको जनैलाई अचानक कसरी फाल्नु ? भन्ने पनि लाग्यो । फेरि सोचेँ, विदेश लगेर पनि यसलाई के गर्नु ?
त्यसपछि मैले कम्तिमा म विदेश बसिन्जेल जनै लगाउँदिन भनेर मनमनै घोषणा गरेँ । तर, साथमै भएको जनैलाई कहाँ फाल्ने त ? आफैँलाई प्रश्न गरेँ । यति पवित्र चिजलाई जहाँसुकै फाल्ने कुरा पनि आएन । त्यतिकैमा मैले बागमती सम्झिएँ । त्यसपछि युएई उड्ने अघिल्लो दिन पशुपति गएर बागमतीमा जनै बगाई दिएँ । प्रवासको ठाउँमा जनै पाउने हो कि होइन ? त्यो पनि थाहा थिएन । त्यसैले यो पापको भारी बोकेर जानु हुँदैन भन्ने लाग्यो र पशुपतिनाथसँग क्षमा माग्दै बागमतीमा जनै बगाएँ । मैले जनै नलगाएका कारण कसैलाई हानी नोक्सानी हुन्छ भने त्यसको लागि मलाई माफ गरिदिन पनि मैले पशुपतिनाथसँग आग्रह गरेँ । जनैबिनाको शरीर बोकेर म युएई उडेँ । १० वर्ष युएई बस्दा मैले कहिल्यै जनै लगाइनँ ।
बिस्तारै जनै लगाउने मेरो बानी हराउँदै गयो । छुट्टीमा नेपाल गएको बेला भने मैले जनै लगाउनु पर्छ । त्यो पनि घरमा पूजाकर्म भयो भने र आमासँग मन्दिर जानु पर्ने भयो भने अनिवार्य लाउनै पर्छ ।
“भोलि त नुहाएर जनै ला नि !” आमा सम्झाउँदै भन्नुहुन्छ, “कस्तो होला ! जनै पनि लाउँदैन । भोलिपर्सी ससुराली जाँदा के गर्छ होला ?”
म मुस्कुराउँछु र आमाले भनेको मानिदिन्छु केही दिनलाई भए पनि । जनै लाउनु पर्ने कर्म सकिएपछि मैले त्यसलाई फुकालेर तुलसीको मठमा चढाइदिन्छु, जसरी पहिले बगामतीमा चढाएको थिएँ ।
आमा फेरि कराउनु हुन्छ, “अघि पो फुकालिसकेछ एल्ले त ! नेपाल बसुन्जेल त लगा न ! मर्दैनस् त !”
म भने हाँस्छु मात्र । किन भने आमालाई दिने जवाफ मसँग हुँदैन ।
अहिले जापानमा पनि जनैबिनाको शरीर बोकेर म हिँडिरहेको छु । प्रवासको ठाउँमा जनै लाउने अरु साथीहरू भेटेको छु । तर, मलाई भने लाउन मन लाग्न छोड्यो । विदेशको ठाउँमा जे पनि खान पर्छ, जहाँ पनि खान पर्छ, जस्तो पनि खान पर्छ । जनै लगाएको मान्छे नियममा बस्न पर्छ भनेर जनै लाउने बेलामा नै भनेका थिए गुरुबाले । त्यसकारण जब म नियममा बस्न छोडेँ, अथवा भनौँ जब मलाई अब म नियममा बस्न सक्दिनँ भन्ने लाग्यो, तब मैले जनै नलाउने घोषणा गरेँ । नियम मिचेर जनै लगाउनु आफैँमा पाप हो भन्ने लाग्यो र खोलेर चढाइदिएँ पवित्र ठाउँमा । तर, जनै र जनै परम्पराको म विरोधी चाहिँ हैन । यति हो, म जनै लाउँदिनँ । मलाई पाप नलगागोस् ।
=================
मलाई के थाहा ? त्यो मेरो व्रतबन्ध गरेको हो भनेर । व्रतबन्ध भनेको के हो ? र किन गरिन्छ ? भन्ने कुरा थाहा नहुँदै मेरो व्रतबन्ध गरिदिए । व्रतबन्ध गर्दा म कति उमेरको थिएँ ? त्यो त थाहा हुन सकेन । तर, म भर्खर दुई कक्षामा भर्ना भएको थिएँ । भर्ना भएको थिएँ भन्दा
पनि मेरो पढाइको सुरुवात नै दुई कक्षाबाट भएको हो । नेपालमा मैले एक कक्षा पढ्नु परेन । किन भने नागाल्यान्डबाट बसाइँ सरेर आउँदा त्यहाँ पनि म दुई कक्षामै पढ्थेँ । नागाल्यान्डबाट बसाइँ सरेर नेपाल आएको एक वर्षसम्म मैले स्कुलमा पाइला टेक्न पाइनँ । एक वर्षपछि मात्रै मेरो भर्ना गरिएको हो सिधै दुई कक्षामा । झापाको चकचकीमा हाम्रो बसोबास थियो । मैले पढ्ने स्कुल भने गोलधापमा थियो- श्री जनजागृती मा.वि.।
घरको आर्थिक अवस्था गतिलो नभएकोले मेरो व्रतबन्ध घरमै गर्ने अवस्था थिएन । पैसा थिएन भने त्यति सानै उमेरमा मेरो व्रतबन्ध गरिदिनु पर्ने बध्यता बाउ-आमालाई किन पर्यो होला ? घरमा व्रतबन्ध गर्ने अवस्था नभएपछि बुबाको मामाको छोराको घरमा दाइहरुको गर्दा उहाँहरुसँगै मेरो पनि गरिदिने सल्लाह भएको रहेछ । यसको मतलब मेरो सामूहिक व्रतबन्ध भएको हो । बुबाको मामाको छोराको घर हल्दीबारी । हिँडेर जानु पर्थ्यो । अरु कुनै साधनको विकल्प थिएन । गाउँमा यदाकदा साइकल त थिए । तर, आफ्नो सुविधाका लागि अर्काको साधन माग्ने कुरा पनि आएन । फेरि म सानै
थिएँ, साइकल कुदाउने उमेर भएकै थिएन । यता उमेर भएर पनि बुबालाई भने साइकल कुदाउन आउँदैन थियो । त्यसैले साइकल माग्नुको अर्थ थिएन ।
चकचकीबाट हल्दीबारीसम्म हिँडेर ठ्याक्कै कति सयम लाग्थ्यो ? थाहा हुन सकेन । तर, बालापनका गोडाहरुलाई त्यो दुरि धेरै टाढा लाग्थ्यो । किन भने अरुबेला पनि हामी त्यहाँ गइरहन्थ्यौँ बूढामावली भन्दै । घरमा दाजु र म । हामी दुबै जनाको एकसाथ व्रतबन्ध गर्ने कुरा बुबाले अघिल्लो दिन मात्र हामीलाई थाहा दिनुभएको थियो । व्रतबन्ध भन्ने शब्द सुनेदेखि नै मनमा अनेक कौतुहलता भइरहेको थियो ।
व्रतबन्ध गर्ने दिन बिहानको राति नै हामीलाई उठाइयो र हिँडाइयो । हामीलाई चकचकीबाट हल्दीबारी पुग्नु पर्ने थियो । घरको हजुरआमा पनि आउनु भएको थियो भोजपुरबाट । उहाँ काकाकोमै अर्थात हल्दीबारीमा हुनुहुन्थ्यो त्यो दिन । आमा चाहिँ अलिक भरे ढिलो गरेर आउने सल्लाह भएको रहेछ । हामी अर्थात दाजु र मलाई बुबाले लिएर अघि लाग्नु भयो । साथमा हुनुहुन्थ्यो माइली फुपूका जेठा छोरा अर्थात दाइ । दाइ अलिक
गफाडी टाइपको हुनुहुन्थ्यो । यस्तो लाग्थ्यो दाइलाई थाहा नभएको विषय केही छैन । दाइसँग भेट नभएको थुप्रै वर्ष भइसक्यो । जहाँसम्म लाग्छ गफ दिने दाइको त्यो बानी अझै गएको छैन । मैले थाहा पाएसम्म दाइ अहिले स्थानीय तहको राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीति भनेको बोल्न जान्ने मान्छेहरूले नै गर्ने कुरा रहेछ भन्ने कुरा दाइबाट पनि थाहा पाएको हुँ मैले ।
व्रतबन्धका लागि घरबाट निस्किएको केही समयमै मैले अचानक सोधिहालेँ, “बुबा वर्तबन्ध भनेको के हो ? हाम्लाई किन काकाको घर लगेको ?” यो प्रश्न मेरा लागि जायज थियो । किन भने अघिल्लो दिनबाटै मनमा अनेक तर्कनाहरु उब्जिरहेका थिए । बुबाले जवाफ दिनुभन्दा पहिल्यै दाइ अर्थात फुपूका छोरा बोल्नुभयो, “तिमेरुलाई खसी पार्न लगेको हो । तिमेरु धेर छाडा भयौ ।” यति भनेपछि दाइ हाँस्नु भयो । दाइको जवाफ सुनेर बुबा पनि हाँस्नु भयो । मेरो दाजु पनि हाँस्यो । तर, म हाँस्न सकिनँ । किन भने व्रतबन्ध भनेको थाहा नभए पनि गाउँघरमा बोकालाई खसी पारेको मैले देखेको थिएँ । कति पटक त मेरै बुबाले पनि छिमेकीका बोका खसी पारेको मलाई थाहा थियो । त्यसैले दाइको जवाफले मलाई हँसाउन
सकेन । बरु थप अचम्ममा पारिदियो । बोकालाई खसी किन पारिन्छ ? थाहा थिएन । तर, उसको चिच्याटह थाहा थियो । उसको रुवाइ थाहा थियो । उसको दु:खाइ थाहा थियो । अनि हामीलाई खसी पार्नु पर्ने कारण चाहिँ के ? मनमा यही प्रश्न उब्जिरहेको थियो ।
“बुबा भन्नु न हाम्लाई काँ लगेको ?” थोरै डराएको स्वरमा मैले फेरि सोधेँ । “नकराई हिँड् न । त्याँ पुगेसी था पाइहाल्छस् त ।” बुबाले नरम स्वरमै भन्नुभयो । बुबाले यति भनेपछि म चुपलागेँ । गफाडी दाइको गफ सुन्दै हामी हल्दीबारी काकाकोमा पुग्यौँ, जहाँ हाम्रो व्रतबन्ध हुँदै थियो । हाम्रो मात्रै हैन, अरु ५ जनाको पनि त्यहीँ एकै ठाउँमा व्रतबन्ध हुँदै थियो । काकाका तीन छोरा, बुबाको अर्को मामाका दुई नाति र हामी दुई दाजु भाइ ।
काकाकोमा पुग्दा माहोल व्रतबन्धमय हुँदै थियो । एक छिनपछि आमा पनि आइपुग्नु भयो, साथमा केही कपडाहरु लिएर । व्रतबन्ध गरेको दिन नयाँ कपडा लाउनु पर्छ अथवा नयाँ कपडा लाउन पाइन्छ भन्ने पनि मैले त्यही दिन थाहा पाएँ । त्यसपछि भने मन अलिक खुशी हुन थाल्यो । एकछिन अघिसम्म त हामीलाई
“खसी पार्ने” भन्ने दाइको कुरा सम्झेर नै मन अर्कै-अर्कै भइरहेको थियो । नयाँ लुगा लाउन पाउने कुराले भने मनमा अर्कै खुशी दिन थालिसकेको थियो । किन भने दशैँमा बाहेक अरुबेला नयाँ लुगा किनिदिने हैसियत बाउको थिएन । यसको मलतब त्यो दिन दशैँभन्दा पनि ठूलो पर्व बन्दै थियो मेरा लागि ।
तर, अघिल्लो दिनसम्म पनि हाम्रा लागि के कपडा किनिएको थियो ? हामीलाई जानकारी गराइएको थिएन । आज आमाले अचानक कपडाको पोको लिएर आउनु भयो । यसले पनि मलाई थप आश्चर्यचकित पारिरहेको थियो । आखिर कपडा किनियो कहिले ? किनेको भए हामीलाई किन थाहा दिइएन ? मनमा यस्तै-यस्तै प्रश्न उब्जिरहेका थिए । व्रतबन्ध गर्दा लगाउने पहेँलो लुगा चाहिँं हल्दिबारीकै काकाले किनिदिनुभएको थियो हामीलाई पनि ।
व्रतबन्ध गर्दा गरिने विभिन्न कार्यलाई म अचम्म मान्दै नियालिरहेको थिएँ । बिहानदेखि खाएको केही थिएन । भोकले उत्तिकै सताउन थालिसकेको थियो । व्रतबन्ध नसकी केही खान हुन्न भनेर बिहानै भनिएको थियो ।
भोकै बसीबसी यो के गर्नु परेको होला ? मनमा यस्तै सोच आउँथ्यो । कताकता लाज पनि लागिरहेको थियो । सबैभन्दा बेसी लाज त “भिक्षाम् देही” भन्दै चामल माग्दै हिँड्दा भएको थियो ।
गायत्री मन्त्र सुनाउने बेला भयो । हाम्रो व्रतबम्ध गराउने गोलधापका घिमिरे पण्डित बा थिए । आफूलाई व्रतबन्ध गराउने गुरुको सधैँ सम्मान गर्नु पर्छ भनेर त्यतिबेलै भनिएको थियो । त्यसकारण जहाँ जहिले भेटे पनि म गुरुबालाई नमस्कार गरिरहन्थेँ । भेट पनि भइरहन्थ्यो । मैले पढ्ने स्कूलकै छेउमा घिमिरे पण्डित बाको घर थियो । पण्डित बाले कानमा तीन पटक बिस्तारै मन्त्र सुनाउनु भयो । गायत्री मन्त्र, त्यो पनि संस्कृतमा । नेपाली त राम्रोसँग पढ्न लेख्न आइसकेको थिएन । त्यस्तोमा संस्कृतको मन्त्र मेरो कलिलो मस्तिष्कमा कसरी छिर्नु ? मैले मन्त्र बुझिनँ । बुझिनँं भनेर भन्न पनि सकिनँ । धन्न “यो मन्त्र कसैलाई सुनाउनु हुँदैन है” भन्नुभएकोले मलाई थोरै सजिलो भयो । कसैलाई सुनाउनै नमिल्ने भएपछि अथवा कसैलाई सुनाउनु नै नपरेपछि मलाई याद हुनु र नहुनेले केही अर्थ राख्ने कुरै भएन । त्यसैले मलाई ढुक्क भयो । कसैले “तेरो त वर्तबन्ध गरेको रैछ । मन्त्र त
आउँछ नि ? लु सुना त ।” भन्दा “गुरुले कसैलाई नसुनाउनु भन्नु भा’छ” भनेर म टारिदिन्थेँ । ठूलो हुँदासम्म पनि मलाई गायत्री मन्त्र भन्न आएन । कसैले भन्यो भने ऊ सँङ-सँगै चाहिँ भन्न सक्थेँ । तर, मैले मात्र भन्नु पर्यो भने भन्न आउँदैन । धेरै वर्षसम्म मैले मन्त्र याद नगरीकनै जनै लगाइरहेँ ।
व्रतबन्ध सकेर नयाँ लुगा फेर्ने पालो आयो । बुबाले एउटा प्लास्टिकको पोको मेरो हातमा थमाइदिनु भयो । एकछिन मैले पोको खोलिनँ । पहिले अरुको हेरेँ के के लगाउँछन् भनेर । सबैले नयाँ लुगा लगाए । मेरो दाजुले पनि पोको खोल्यो । तर, त्यसमा उसैका पुरानो लुगा थिए । उसले चुपचाप लगायो । दाजुको पोकोमा पुरानो लुगा देखेपछि म झस्किएँ । मेरोमा पनि नयाँ लुगा होला भन्ने लागेन । किन भने दाजुकोमा नभएको कुरा मेरोमा हुने कुरै भएन । तर, आमाले मेरो कुन चाहिँ पुरानो लुगा लिएर आउनु भयो त ? यो कुराले चाहिँ मलाई बेसी सकस बनायो । बिस्तारै पोको खोलेँ । झन् बेसी चकित भएँ । पोकोभित्र एउटा पुरानो सर्ट थियो । पुरानो हुनु त समस्या थिएन । तर, त्यो सर्टको केही टाँक खुस्किएर मैले लगाउन छोडेको थुप्रै भइसकेको थियो । घरमै कतै
थन्किएर बसेको थियो । त्यही टाँक खुस्किएको सर्ट व्रतबन्धको दिन बुबाले मलाई दिँदा मेरो हालत के भयो होला ? जब कि त्यहाँ मेरो दाजुबाहेक सबैले नयाँ लुगा लगाइसकेका थिए । सबैको सामु मैले त्यो सर्ट लगाउने आँट गर्न सकिनँ र ट्वाइलेट जाने निहुँ पारेर त्यो पोको बोकेरै गएँ । ट्वाइलेटमा पुगेर सबैभन्दा पहिले सर्टको टाँक हेरेँ । त्यसपछि म झन् दङ् परेँ । फुस्किएका सबै टाँक लगाइएको थियो । तर, सबै टाँकको रङ भने एउटै थिएन । मन एकछिन अमिलो भयो बाउको गरीबी सम्झिएर । बाउको गरीबीको बोध मलाई त्यतिबेलाबाट हुन थालेको हो । त्यही पुरानो सर्ट लगाएर म ट्वाइलेटबाट निस्किएँ । धन्न त्यहाँ “तेरो त पुरानो सर्ट रैछ” भनेर कसैले भनेन् । जसले गर्दा बाउको गरीबीले लज्जित हुनु परेन । त्यसरी पुरानो लुगामै व्रतबन्ध सकेर हामी घर फर्कियौँ । त्यसकारण पनि हुन सक्छ व्रतबन्ध र जनैप्रति कहिल्यै पनि मलाई मोह भएन । बस् बाध्यताले जनै चाहिँ लगाइरहेँ ।
घर आएपछि आमा खुब रुनु भएको थियो आफ्नो गरीबी सम्झिएर । आमा भन्दै हुनुहुन्थ्यो, “एक जोर लुगासम्म किनेर दिन सकिएन । धन्न त्यो पहेँलो कप्डा चैँ काकाले
किनिदे ।” आमा बोलिरहँदा म भने बुबाको अनुहारमा हेरिरहेको थिएंँ । गरीब बाउ हुनुको पीडा उहाँको अनुहारमा प्रष्टै झल्किन्थ्यो ।
भोलिपल्ट खुइलिएको टाउको र शरीरमा जनै भिरेर म स्कुल गएँ । साथीहरूले थाहा पाइहाले मेरो व्रतबन्ध भएको कुरा र सोधे, “तिम्रो वर्तबन्ध भाको हो ?” मैले हो भन्दै टाउको हल्लाएँ । “अनि हाम्लाई किन नबोलाको त ?” सामूहिक रुपमा एउटै प्रश्न तेर्सियो । म एकछिन अक्मकिएँ । जवाफमा केही भन्न सकिनँ र फिस्स हाँसेँ मात्र । पहिलो कुरा त, आफ्नो व्रतबन्धमा साथीहरू बोलाउनु पर्छ भन्ने थाहै थिएन । दोस्रो, थाहै भएको भए पनि मैले उनीहरूलाई बोलाउने थिइनँ । किन भने मेरो व्रतबन्ध मेरो घरमा भएको थिएन । कक्षामा व्रतबन्ध भएको म पहिलो विद्यार्थी भएँ । त्यसपछि साथीहरूलाई मेरो टाउको खेलउना भयो । बेला न कुबेला टाउकोमा प्याट्ट-प्याट्ट पारिरहन्थे । उनीहरूसँग म धेरै रिसाउन पनि सक्दिन थिएँ । किन भने म त्यस स्कुलमा बिलकुल नयाँ थिएँ । त्यो क्रम केही समय चल्यो । मेरो टाउकोमा कपाल पलाउन थालेपछि भने साथीहरुको त्यो चकचक बन्द भयो र म पनि पुरानो हुँदै गएँ ।
व्रतबन्ध भएपछि हजुरआमाले मलाई पहाड भोजपुर आफूसँग लाने हुनु भयो । भोजपुरबाट माइली फुपू झापा आएको बेला मलाई साथै लिएर फर्किनुभयो । फुपू तराइ आउने बेलामा हजुरआमाले खबर पठाउनु भएको रैछ, “मान्यो भने फर्किँदा त्यो कान्छो नातिलाई लिएर आउनु । मलाई साथी हुन्छ । म यतै पढाइदिम्ला !”
म पनि हजुरआमासँग बस्नलाई राजी भएँ । नयाँ ठाउँमा जान पाउने कुराले म खुशी भएँ र फुपूहरुसँगै म पनि भोजपुर लागेँ । मैले भोजपुर जान मन गर्नुको अर्को कारण पनि थियो, त्यो मेरो बाउको जन्मथलो थियो । मलाई आफ्नो बाउको थाकथलो हेर्न मन थियो ।
फेरि, हजुरआमाले मलाई नै रोज्नुका दुई कारण थिए । पहिलो कारण, मेरो व्रतबन्ध भएको थियो । हजुरआमाले व्रतबन्ध नगरेका केटाहरुले छोएको खानु हुन्न थियो । आफ्नो भात भान्सामा पनि सजिलो होस् भन्ने उहाँको अपेक्षा रहेछ । दोस्रो कारण, हजुरआमालाई म साह्रै ज्ञानी लाग्थ्यो । हजुरआमाले धेरैपटक धेरै जनाको अघि भनिसक्नु भएको थियो कि “मेरा नाति नातिनाहरुमा
सबभन्दा ज्ञानी यै छ ।”
हजुरआमाको यस कुराले मलाई मख्ख पार्थ्यो र जबर्जस्ती ज्ञानी हुन बाध्य पनि पार्थ्यो । हजुरआमाको त्यो ज्ञानी नाति ठूलो हुँदै गएपछि कति “अज्ञानी” भयो ? भन्ने कुरा थाहा नपाई हजुरआमा बित्नु भयो ।
भोजपुर गएपछि म हजुरआमासँग बस्न थालेँ । नजिकैको प्रा.वि. मा हजुरआमाले मेरो भर्ना पनि गरिदिनु भयो । हुन त छेउमा कान्छा काका पनि हुनुहुन्थ्यो । तर, हजुरआमाको गाँसबास फाल्टै थियो ।
“सकुन्जेल एक्लै पकाएर खान्छु । एक्लै बस्छु । नसकेका दिन देखा जाला !” हजुरआमा यस्तै भनिरहनु हुन्थ्यो ।
गाउँमा एक दिन एक जना दाइको बिवाह हुने भयो । डाँडामा दाइको घर । डांँडा मुन्तिर बेहुलीको घर । जन्त जान समस्या भएन । हजुरआमासंँगै म पनि गएँ । जन्ती फर्किएपछि साँझ “जन्तेबाख्रो” खाने चलन रैछ । भोज खानलाई अरु केटाकेटीहरूसँगै म पनि बसेँ उनीहरूको
छेउमा ।
“लु सबै केटाकेटीहरु एकातिर बस त !” भनेर भात बाँड्ने मान्छेले भनेपछि हामी बारीको एक कुनामा लहरै बसेका थियौँ पात ओछ्याएर । पहाडको ठाउँमा त्यो बेला खसीको मासु र धानको भात, धेरै दुर्लभ कुरा थियो । टपरामा केही मासुका चाना र झोल सहित भात आयो । एक दुई गाँस मात्र खाएको थिएँ होला, त्यतिकैमा हजुरआमाले सबैले सुन्नेगरी कराउनु भयो, “हन ! तँ जनै लाको मान्छे, काँ यिनेरूसित बसेर खाको ? यो त सारै लाटो छ, केई जान्दैन !”
हजुरआमाले कराएपछि म अलमलमा परेँ । के गर्ने ? के नगर्ने ? सोच्नै सकिनँ । “हैन सुन्दैनस् ? याँ आइज भनेको !” हजुरआमाले चिच्याउँदै आफू भएतिर बोलाउनु भयो । सबैका अघि हजुरआमाले त्यसरी गाली गरेको कुरा मलाई पटक्कै चित्त बुझेन । खाँदै गरेको मासुभात छोडेर म जुरुक्क उठेँ र सिधै घरतिर लागेंँ एक्लै ।
“खाएर जा ! आज घरमा भात पाक्दैन नि !” हजुरआमा फेरि कराउनु भयो । म मुर्मुरिँदै पछाडि नफर्की फटाफट
हिँडेँ । व्रतबन्ध गरेको मान्छेले अरु जोसुकैले छोएको खानु हुँदैन, जोसुकैसँग बसेर खानु हुँदैन भनेर हजुरआमाले पहिले पनि धेरै पटक भनिसक्नुभएको थियो । तर, मासुभातको धुनमा मैले त्यो कुरा भुसुक्कै बिर्सिएँ । सम्झिएकै भए पनि मैले पालना गर्ने थिइनँ होला । म ज्ञानी त छु । तर उत्तिकै भेडो पनि छु भन्ने कुरा हजुरआमाले पहिलो पटक महसुस गर्नु भयो । त्यसपछि त हजुरआमाको बोली नै फेरियो । उहाँले भन्नथाल्नु भयो, “यो ज्ञानी त छ । तर अलिक भेडो छ !” हजुरआमाले यसो भनिरहँदा म भने बिनाप्रतिक्रिया मुस्कुराउँथेँ मात्र । अहिले सम्झिंँदा लाग्छ, भेदभाव विरुद्धको त्यो मेरो पहिलो विद्रोह थियो ।
जनै लाउनु अनिवार्य थियो । मलाई भने पटक्कै मन लाग्दैन थियो । आफूले आफैँलाई सम्हाल्न सक्ने उमेर थिएन । त्यस्तोमा जनै सम्हालेर हिँड्नु परेको थियो । जनै लगाएपछि आफ्नै साथीहरूसँग पनि दुरि बढ्न थाल्यो । जोसुकैले छोएको खानु हुँदैन, जे पायो त्यही खानु हुँदैन भनेको सुनिरहन पर्थ्यो । पौडी खेल्दा धेरै पटक जनै हराएर गाली पनि धेरै पटक खाइयो । जनै हरायो अथवा चुट्टियो भने बोल्न पाइँदैन थियो । “मेरो
जनै हरायो” भन्न पनि बोल्नै पर्थ्यो । त्यसकारण पनि मैले त्यो नियमलाई चाहिँ खासै पालना गरिनँ ।
बिस्तारै ठूलो हुँदै गएपछि जनै लाउनै पर्ने बाध्यता कम हुँदै गयो । मैले पनि त्यसलाई महत्त्व कम दिन थालेँ । लगाउन त लगाउथेँ तर, त्यसका नियम पालना नगरीकन । जस्तो, सानो छँदा बिहान-बिहान जनैले पानी समाएर जप गर्न पर्थ्यो । गायन्त्री भन्न आउँदैन थियो । तर ओठ मात्रै हल्लाएर भए पनि जप गरिन्थ्यो । भात खानुभन्दा पहिले अप्सानी हालेर मात्र खानु पर्थ्यो । ती बानी छुटाइदिएँ ।
ती बानी छुटाए पनि जनै चाहिँ पछिसम्म पनि लाउनु पर्ने एक किसिमको बाध्यता जस्तै थियो । कसैले शरीरमा जनै नदेख्दा “हैन ऐलेसम्म वर्तबन्ध गरेको छैन ?” भनेर सोध्थे । अनि “गरेको छ त !” भनेर जवाफ दिँदा “हेर बाउन बिग्रेको” भनेर भन्थे । यी सब सुन्नु भन्दा जनै लगाइदियो ढुक्कै हुन्थ्यो । यही सोचेर पनि मैले प्राय: लगाएँ नै । उसो त घरमै पनि गाली खाइन्थ्यो जिउमा जनै नदेख्दा ।
जसरी कसैको साथमा हुनु र नहुनेले कुनै खास ठूलो अर्थ राख्दैन भने, अथवा कसैको साथमा हुनु र नहुनु बीचमा कुनै भिन्नता पाउँदैन भने मान्छेले त्यस्तो सम्बन्ध तोडिदिन्छ । यता मैले पनि जनै लाउनु र नलाउनु बीचमा खास तात्विक भिन्नता भेट्न छोडेँ । र जनैसँगको सम्बन्ध विच्छेद गरिदिएँ सधैँलाई । भन्नेहरुले त मलाई “बिग्रेको बाउन” भन्छन् । तर म सुनेको नसुनै गरिदिन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 




