लगातार तीन दिनदेखि परेको झरीले थामिने नामै लिइरहेको थिएन । सुरेन्द्रले झ्यालबाट बाहिर हेर्‍यो । तल बगैंचामा फूलका बोटहरू एकोहोरो पानीले चुटिएर निहुरिएका थिए । पर कम्पाउन्ड पर्खालनेर ठूलो शिरीषको रूख पनि बेला बेला ह्वार्र ह्वार्र आइलाग्ने बतासको प्रहार सहँदा सहँदा लाचार देखिन्थ्यो ।

हातको फोन कतिखेर खुल्यो र आँखा त्यसैमा अल्मलियो सुरेन्द्रले पत्तै पाएन ।

दुई मिनेट स्क्रिनमा औंला सार्दै गएपछि एक्कासि केही सम्झिए झैं अडियो सुरेन्द्र । फोन गोजीमा घुसार्यो र मुखै खोलेर आफैंलाई हप्कायो, “यो फोनमा जति खोजे पनि नभेटिने के त्यस्तो रहस्य खोज्दैछु म ? वर्षौं भैसक्यो स्क्रीनमा औंला चलाएको तर यो जिन्दगीमा कामलाग्दो कुरा भेटेको केही होइन ! यो वाहियात फोनलाई कतै लगेर फ्याँक्न पाए बरु सन्चो हुने थियो !”

रिसाएको अभिनय गर्दा एक किसिमको रमाइलो पो लाग्यो उसलाई ! घरमा एक्लै थियो ऊ, त्यसैले निर्धक्क नाटकीय अभिनय गर्दै जोडले भन्यो, “जीवन पनि एउटा नाटकै त हो ! आखिर मान्छे कति गम्भीर मात्र भैरहन सक्छ र ! अरूको अगाडि सिरियस देखिए पनि आफूले आफैंलाई हँसाउने छुट छ मान्छेलाई ।”

गोजीमा टिङ्ग बजेको आवाजले झस्कियो सुरेन्द्र ।

“अब फेरि कहिले आउने केटिएम ?” सुप्रियाको म्यासेज थियो ।

अघिल्लो हप्ता मात्र गएको थियो सुरेन्द्र काठमाडौं- अफिसको कामले । चार दिन बसेर विराटनगर फर्केको थियो ऊ । त्यही बेला अन्तिम दिन काठमाडौंमा भेट गरेको थियो उसले सुप्रियासँग- धेरै वर्षपछि ।

स्थायी बासिन्दा त ऊ काठमाडौंकै हो, तर छ महिनाअघि अफिसले दुई वर्षको लागि विराटनगर पठाएकोले तीनटोलियामा सानो फ्ल्याट लिएर बसेको थियो ऊ । विराटनगर, मधुमारामा माइती भएकी उसकी श्रीमती दुई वर्ष यतै बस्ने योजनाले उत्साहित हुँदै दुई साना छोरा र छोरी लिएर ऊसँगै आएकी थिइन् । आज शनिबारको दिन, दिदीबहिनीहरूको भेलामा मोमो खाने र टिकटक बनाउने योजना सहित छोराछोरीलाई लिएर उनी माइतै गएकी थिइन् । सुरेन्द्र भने केही जरूरी कामको बहानामा डेरामा एक्लै बसेर सिनिमा हेर्ने मूडमा थियो ।

“कता हो ? हरायौ त ?” ह्वाट्सयापमा फेरि म्यासेज आयो ।

“घरमै छु ।” जवाफ लेख्यो सुरेन्द्रले ।

“विराटनगरमा घर बनाइसक्यौ कि क्या हो ?”

“होइन ! डेरा हो ।”

“छुट्टीको दिन सबैजना घरमा रमाइलो भैरा होला !” सुप्रियाले परिस्थितिको जाँच गरिन् ।

“एक्लै छु ।”

“किन नि? भाउजूहरू कता ?”

“संगीता माइत गएकी छिन्, अनि केटाकेटी पनि । भर्खरै पुर्याएर आएको ।”

“कुन गाडी अरे तिम्रो ?”

“हुन्डाई !”

“एसयुभी हो ?”

“हो, टक्सन ।”

“यत्रो वर्ष कन्ट्याक गरेनौ । तिम्रो गाडीमा घुम्न पाइएन ।”

“विराटनगर आऊ न घुम्न ।”

“छ्या विराटनगर त के आउनु त्यो गर्मीमा ।”

“कहाँ घुम्छ्यौ त ?”

“बरु भेंडेटारतिर लैजाऊ ।”

“गएकी छ्यौ ?”

“छैन, तर सुनेको मैले, राम्रो छ अरे ठाउँ ।”

– 0 – 0 – 0 –

सत्र वर्षअघि बागबजारको एउटा कम्प्युटर इन्स्टिच्युटमा सुप्रियासँग पहिलो पल्ट भेट भएको दृश्य उसको आँखा अगाडि यति ताजा भएर उत्रियो मानौं त्यो भर्खरै हिजोको घटना हो । इन्स्टिच्युट ज्वाइन गरेको पहिलो दिनदेखि नै देख्दै आएको थियो सुरेन्द्रले- टिचरले केहीबेर सिकाइसकेपछि अभ्यासको लागि छुट्याएको समयमा सुप्रिया सिकाएको पाठको अभ्यास गर्न छोडेर प्रायः कम्प्युटरको स्क्रीनमा पेन्ट-ब्रशले चित्र बनाउने गर्थिन् । त्यही बहानामा सुरेन्द्रले एकदिन उनको कुर्सीको नजिक उभिएर उनले चित्र बनाएको हेर्न थाल्यो । पहाडको डाँडा, अनि डाँडा पर्तिर पहेंलो घाम, रूखको हाँगामा दुईवटा चरा; निक्कै पारा ल्याएकी थिइन् उनले । माउस समाएर त्यसरी कुशलता पूर्वक उनले चित्र बनाएको देख्दा कम्प्युटर भन्ने कुरा उनको लागि नौलो होइन भन्ने बुझिन्थ्यो । नजिकै उभिएर हेरिरह्यो सुरेन्द्रले ।

तर, त्यसरी हेर्नु त एक बहाना मात्र थियो, वास्तवमा सुरेन्द्र उनीसँग नजिक हुने मौका खोजिरहेको थियो । त्यही मौकामा उनले बनाउँदै गरेको चित्रबारे केही टिप्पणी गरेर बोल्न मन भित्रभित्र आँट बटुल्दै थियो ऊ । तर, उसको त्यो मानसिक धरमरलाई पछाडि छोड्दै सुप्रियाले नै उसलाई फ्याट्ट सोधेकी थिइन्, “ल भन मिस्टर, यो सनसेट हो कि सनराइज हो !” यसरी उनीहरूको पहिलो बोलचालको शुभारम्भ भएको थियो ।

“खै, उभिएर हेर्दा त सनसेट जस्तो देखिन्छ !” उसले सानो आवाजमा जवाफ दियो ।

त्यो सुनेर सुप्रिया खुलेरै हाँसेकी थिइन् । “उभिएर हेर्दा सनसेट देखियो भने अब बसेर हेर !” उनको बोलीमा पुरानो मित्रताको जस्तो खुलापन थियो । त्यो खुलापनले सुरेन्द्रलाई पनि सहज हुन सजिलो भयो । एउटा कुर्सी तानेर नजिकै बस्दै उसले भन्यो, “यो सनसेट नै हो ।”

“किन ? कारण देऊ ।”

सुरेन्द्रले एक पल नियालेर हेर्‍यो र भन्यो, “कारण-सारण मलाई थाहा छैन, तर हेर्दा घाम डुब्न लागेको जस्तो देखिन्छ, बिहान जस्तो देखिंदैन ।”

“होइन, यो सनराइज हो ।” उनले आत्मविश्वासका साथ भनिन् ।

“कसरी ?”

“हेर यहाँ हाँगामा यो चरा छ । त्यसको मतलब चराहरू अहिले जागेका छन् र गुणबाट बाहिर निस्केका छन् । यदि सनसेट भएको भए चरा यहाँ हुँदैनथ्यो । गुणमा फर्किसकेको हुनेथियो ।”

“अरे बाफ्रे ! तर्क त तिमीले वकिलको जस्तो गर्यौ ! तर म एउटा कुरा भन्छु- सुन ।”

“के ?”

“के भने … ‘तिम्रो तर्कमा दम छैन’ ।”

यो सुन्नासाथ उनले रिसाएको अभिनय गर्दै तल्लो ओठको कुनो तन्काएर माथितिर फू गरेर फुकिन् जसले गर्दा उनको निधारको कपाल फुर्र माथितिर उड्यो ।

“किन ? किन दम छैन ?” त्यसपछि उनले सुरेन्द्रतिर फर्किएर आमने-सामने भई आक्रामक शैलीमा सोधेकी थिइन् ।

सुरेन्द्रले पनि प्रतिवादमा जोशिएर भनेको थियो- “साँझ पर्ने बित्तिकै चरा गुण फर्किहाल्छ भन्ने छ र ? अब बेला भयो भन्ने घण्टी थोडै न लाग्छ जसले कि चरालाई गुणतिर फर्काइहालोस् !”

“ल ठीक छ, त्यसो भए सनसेट । मैले मानें । तिमीले जित्यौ । तर यो जीतको खुशियालीमा तिमीले मलाई आज खाजा खुवाउनु पर्छ ।”

पहिलो दिनको बोलचालमै उनको यो प्रस्ताव पाएर पुलकित भएको थियो सुरेन्द्र । इन्स्टिच्युटबाट बाहिर निस्केर अलि परको एक पसलमा मोमो खाँदै गफ गरेको त्यस दिनबाट शुरु भएको मित्रता एक महिना नबित्दै दुईतर्फी प्रेम-सम्बन्धमा परिणत भयो । ती दिनहरूमा आफूलाई संसारको सबैभन्दा भाग्यमानी मानिस ठानेको थियो सुरेन्द्रले । हरेक दिन जसो हुने भेटमा उत्पन्न हुने ठट्टा, बहस र झगडाहरूको रसले उनीहरूको दुई वर्षे प्रेम-कहानी छपक्क भिजेको थियो ।

ती शुरूका दिनहरूमा सुप्रियासँग काठमाडौंका कुनाकाप्चाका नयाँ-नयाँ ठाउँहरू घुम्दै, मीठामीठा खानेकुरा खाँदै, उनीसँग ठट्टा, बहस र बनाबटी झगडामा रमाएको सम्झियो सुरेन्द्रले । भेटेको बेला सानै भए पनि केही उपहार लगिदिएको मन पर्थ्यो सुप्रियालाई । चाहे त्यो एउटा क्याटबरी चकलेट होस् वा नक्कली मोतीको माला, उपहार पाएर प्रसन्न, मीठो मुस्कान मुस्काउँथिन् उनी ।

सुरेन्द्रलाई लाग्थ्यो- सुप्रियाको खुशीको लागि ऊ त्यस्ता सानातिना कुरा मात्रै त के र, बरु जीवनको सर्वस्व नै सुम्पिन तयार छ । तर साथसाथै, यथार्थको धरातल पनि भुल्नुहुँदैन भन्ने चेतना लिएर उसले गाउँमा आफ्नो सानोतिनो जाय-जेथा र पारिवारिक संघर्षको सम्पूर्ण गाथा सुप्रियालाई सुनाइदिएको थियो । हुन त ऊ बारम्बार भन्ने गर्थ्यो- तिम्रो लागि म सुनको तारा मात्र होइन, जून पनि झारेर ल्याइदिनेछु । तर, अक्सर ऊ यसो पनि भन्ने गर्थ्यो, “हेर सुप्रिया, हामी एक-अर्कामा हाँसी-खुशी जीवन बिताउने एकजोडी चरा हौं । त्यो तिमीले कम्प्युटरमा बनाएको साना दुई चरा सम्झ त, विधाताले तिमीलाई त्यो दिन  हामी दुईकै चित्र बनाउन लगाएका थिए । हामी दुई जीवनभर सानो गुँडमा बसौंला, ढिंडो र गुन्द्रुक खाएर बाँचौंला !”

ठट्टै-ठट्टामा बोलिएका यी गम्भीर शब्दहरूमा वास्तवमै सुरेन्द्रको अन्तर्मनको कोमल भावना मिसिएको हुन्थ्यो । उसका त्यस्ता कुरा सुनेर मुसुक्क हाँसिदिन्थिन् सुप्रिया र भन्ने गर्थिन्, “ल अब साहित्य छाँट्न शुरू गर्‍यो कान्छाले !”

प्रेम-कहानीको दुई वर्ष पूरा भैसकेको थिएन, एक दिन सुप्रियाले अरू साधारण दिन झैं उसलाई बानेश्वरको एउटा रेस्टुरेन्टमा बोलाइन् र आँखाबाट आँसु झार्दै आफ्नो विवाह अन्तै कतै हुन लागेको खबर दिइन् । अप्रत्याशित समाचार सुनेर सुरेन्द्रको मनमा कुन आघात भयो भनेर उसैलाई थाहा छ । स्तब्ध भयो ऊ । एक शब्द बोली निस्कन सकेन उसको मुखबाट । उता आँखाबाट दुई थोपा आँसु झारिसकेकी सुप्रियाका आँखामा भने त्यस पश्चात सुरेन्द्रले न कुनै ठूलो विमति देख्यो, न त उनको बोलीमा अलिकति विद्रोह नै छाम्न सक्यो उसले । बुवा-आमाको निर्णय अन्तिम भएको कारणले आफू लाचार र बाध्य भएको कथनमा अडिग हुँदै सुप्रियाले हावाको एक झोंक्काको प्रहार जस्तै गरी त्यस प्रेम-कथालाई दुखान्तमा पुर्याएर एक्कासि टुंग्याइदिएकी थिइन् ।

त्यसपछि सुप्रियासँग उसको कहिल्यै भेट भएन, न कुनै सम्पर्क नै भयो । विवाहको एक हप्ताअघि उनले पठाएको निम्तो स्वरूप “तिमीलाई मेरो विवाहको निमन्त्रणा छ, आऊ है” भनेर समय र स्थान पनि तोकिएको छोटो एस. एम. एस.लाई उसले आफ्नो फोनमा निकै पछिसम्म डिलिट नगरी राखेको थियो । विवाहमा ऊ गएन । पछि, एकदिन जब उसको त्यो नोकियाको सानो, नीलो मोबाइल सेट हरायो, सुप्रियाका ती अन्तिम शब्दहरू पनि उसको जीवनबाट हराएर गए ।

ती दिनहरूमा फेसबूक भन्ने कुरा नयाँनयाँ नै थियो । जब उनीहरू प्रेम सम्बन्धमा थिए, सुप्रियाले “तिमी पनि फेसबूक एकाउन्ट बनाऊ न” भनेर बेला बेला भन्ने गरेको कुरालाई सुरेन्द्रले त्यतिबेला अनावश्यक ठानेर बेवास्ता गरिदिएको थियो । त्यसकारणले गर्दा पनि, सुप्रियाको विवाहित जीवनको जानकारीबाट वा कुनै किसिमको सम्पर्कबाट निकै समय टाढै रह्यो सुरेन्द्र ।

एकदिन थापाथलीमा बाटो काट्दै गर्दा सुरेन्द्रले छेउको एउटा रोकिएको ट्याक्सीभित्र सुप्रियालाई झलक्क देख्यो । पछाडिको सीटमा उनी ट्याक्सीमा एक्लै थिइन् । पहिलो पल्ट विवाहित पहिरन र शृंगारमा अकस्मात देख्दा मनमा चिसो भएको थियो सुरेन्द्रलाई । उसले आफू देखिन चाहेन र फटाफट अगाडि बढ्दै मान्छेको भीडमा मिसिएर छेलियो । सुप्रियाले उसलाई देखिन् वा देखिनन् उसले थाहा पाएन । तर एकछिनपछि उनको ट्याक्सी छेवैबाट अगाडि बढेको चाहिं उसले देख्यो ।

सुप्रियाले विवाह गरेको लगभग चार-पाँच वर्षपछि सुरेन्द्रले पनि विवाह गर्‍यो, र मनको आघातलाई विस्तारै विस्तारै निको पार्‍यो । अझ छोराछोरी जन्मिसकेपछि त यदाकदा झझल्कोमा आउने सुप्रियाको अनुहार अझै धमिलो हुँदै गयो र अन्त्यमा त्यस वियोगान्त सम्झनाले उसलाई कुनै असर पार्न छोड्यो ।

निकै पछि, एकदिन अकस्मात फेसबूकमा देखापरेको सुप्रियाको फ्रेन्ड रिक्वेस्टलाई सुरेन्द्रले वर्षौंसम्म बेवास्ता गरेर छोडिदिएको थियो । तर, खै किन हो, अघिल्लो हप्ता काठमाडौं जानुअघि उसले त्यो पुरानो रिक्वेस्टलाई एक्सेप्ट गर्दै “हेलो सुप्रिया, के छ तिम्रो हालखबर” भनेर पठाएको एउटा सानो म्यासेजको झिल्कोले उनीहरूबीचको पुरानो मित्रता र प्रेमको आगोलाई अचानक ह्वार्रै बालिदिएको थियो ।

– 0 – 0 – 0 –

बतासको एक झोंक्काले खन्याएको चीसो पानीले शिरीषको रूख फेरि एकपल्ट जोडले हल्लियो । यस्तो लाग्यो सुरेन्द्रलाई मानौं सत्र वर्ष पुरानो पहिलो भेटमा सुप्रियाले रिसाएको जस्तो अभिनय गर्दै फू गरेर आफ्नै कपालमा फुकेको त्यो चञ्चले हावा समयको साथसाथ बदलिंदै, ठूलो-ठूलो र उग्र आकार लिंदै, आज फेरि उसको वरिपरि आँधीबेरी बनेर आइपुगेको छ ।

उसले गोजीबाट फोन निकाल्यो । फेसबूकमा चर्चा थियो, “यो आँधी बङ्गालको खाडीदेखि आएको हो ।”

फेसबूकमा एउटा सानो स्टेटस लेख्यो उसले,

“तर … यो आँधी त वास्तवमा काठमाडौंबाट आएको हो ।”

एकै छिनमा लाइक र कमेन्टको वर्षा हुन थाल्यो । साथीभाइ, नातेदारहरूले उसलाई सोध्दै थिए, “कसरी काठमाडौंबाट ? किन ? के लेखेको ?” इत्यादि । कोही त्यसको राजनैतिक अर्थ लाउँदै थिए । कोही पहिल्यै बुझेको जस्तो गरी “हो हो” लेख्दै थिए । कोही ठट्टामाथि ठट्टा थपेर अनेक कुरा लेख्दै थिए ।

– 0 – 0 – 0 –

काठमाडौं जानुभन्दा दुई दिनअघि “हेलो सुप्रिया, के छ तिम्रो हालखबर” भनेर लेख्ने बित्तिकै आएको उनको उत्साहित र मित्रवत जवाफले एक छिन त सुरेन्द्रलाई अचम्म नै लागेको थियो । यत्तिका वर्षपछि यस्तो सहज किसिमले कुरा गर्छिन् होला जस्तो पटक्कै लागेको थिएन । काठमाडौंमा भेट्ने इच्छा र प्रस्ताव पनि उनैको थियो । “जसरी भए पनि भेट है …  आएर फोन गर है … ” उनले पटक पटक म्यासेजमा लेखेकी थिइन् ।

अनि, काठमाडौं पुगेपछि ठमेलको एक रेस्टुरेन्टमा एक घण्टा सुमधुर गफ गर्दै बिताएका थिए उनीहरूले । पन्ध्र वर्षअघि बानेश्वरमा, त्यस्तै एक रेस्टुरेन्टमा अन्तिम पटक भेटेर विछोडको सन्देश लिएपछि पहिलो पल्ट फेरि एक पटक सुप्रिया उसको सामु थिइन् । कफी सुरुप्प पार्दै उनको अनुहारमा हेर्दा एकचोटी त यस्तो लाग्यो सुरेन्द्रलाई मानौं उनीहरू अझै त्यही पुरानै प्रेमिल समयमा छन् ।

“तिम्रो हसब्यान्डको बारेमा बताऊ न !” सोध्यो उसले ।

“ठीक छ । ही इज अ गुड म्यान । एउटा कन्स्ट्रक्शन कम्पनीमा काम गर्छ । इन्जिनीयर हो ।”

“राम्रो रहेछ त, ह्याप्पी फ्यामिली !”

“ह्याप्पी नै भन्नुपर्यो !”

“किन ‘पर्यो’ भन्यौ त ! ह्याप्पी छैनौ र ?”

“होइन, उसले टन्न पैसा कमाउँछ, तर के गर्नु, लोभी छ । उसको पैसा हेर्न दिंदैन ।”

“ए, हो र ? अनि, तिमी आफू के गर्छ्यौ नि ? कुनै जब-सब गर्छ्यौ ?”

“गर्दिनँ ।”

“कहिल्यै गरिनौ ?”

“गरिनँ ।”

त्यसै बीच अर्डर अनुसारका दुई-तीन आइटम बोकेर आएको वेटरलाई उनले भनिन्, “भाइ, सुन्नुस् त, मलाई दुई ठाउँमा मटन मोमो प्याक गर्दिनु है, अनि दुई अर्डर नै चिकन चिली बोनलेस पनि ।”

“क्यारी आउट हो म्याम ?”

“हो, क्यारी आउट ।”

“अनि, अब तिम्रो वाइफको बारेमा बताऊ ।”

“असल छिन्, सुन्दर छिन्, सुशील छिन् ।”

“वाह ! सुन्दर, सुशील, असल ! ल ठीक छ, बधाई छ ।” उज्यालो, ठट्यौलो मुस्कान पहिलेकै जस्तो देखेर सुरेन्द्रको छातीमा चसक्क भयो ।

“अर्को पाली आउँदा गाडी लिएर आऊ है !” सुप्रियाले अलि ठोस स्वरले भनिन् ।

“अर्को चोटी त अब बरु तिमी नै आऊ विराटनगर !” सुरेन्द्रको जवाफ पनि उस्तै थियो ।

“हा- हा, त्यति सजिलै कहाँ छ र मिस्टर ! बरु तिमी यतै फर्केर आऊ !”

जवाफमा मुसुक्क हाँस्यो मात्र सुरेन्द्र । बरु उनैले फेरि भनिन्, “यत्रो वर्षपछि भेट्दा मलाई खोइ गिफ्ट ल्याइदेको ?”

“ओहो, गिफ्ट पनि चाहिने ?” पहिलेकै जस्तो ठट्यौलो बोलीले जवाफ दियो सुरेन्द्रले ।

“अनि चाहिंदैन त ?” उनले यसरी भनिन् मानौं सुरेन्द्रबाट उपहारहरू पाउनु अझै पनि उनको अधिकार नै हो ।

यस्तै एक-दुई सामान्य प्रसङ्गमा कुरा गर्दागर्दै एक घण्टा एकै मिनेटमा बिते जस्तो भयो दुवैलाई । सुरेन्द्रले बील तिर्यो । त्यसपछि बाहिर निस्केर एक मिनेट उभिएर अन्तिम गफ गरेपछि सुप्रिया उनको स्कूटीमा चढेर गइन् । सुरेन्द्र ट्याक्सीमा एयरपोर्ट गयो ।

– 0 – 0 – 0 –

फेरि एकाएक भीषण गर्जन सहित यस्तो ठूलो हावा आयो, परको नरिवलको टुप्पो नै उडाएर लैजाला जस्तो देखियो । हावा अलिकति मत्थर भएपछि उसले तल आँगनमा हेर्‍यो । फूलका बिरुवा त सबै सोतर भैसकेछन् । धारा नजिकको बाल्टी पनि हावाले उडाएर पर पुर्याएको रहेछ । हेर्दाहेर्दै हावा फेरि हुँ SS गर्दै गर्जियो ।

गोजीबाट फोन झिक्यो उसले । दुई सेकेन्ड मात्र हेरेर फेरि गोजीमै राख्यो । अनि, बिस्तारै पाइला सार्दै, कोठामा एक छेउबाट अर्को छेउ टहल्दै सुरेन्द्रले प्रष्ट आवाज निकालेर भन्यो, “यो फोनमा अझै त्यस्तो के रहस्य खोज्दैछस् तँ, सुरेन्द्र, जो वर्षौं खोज्दा पनि भेट्दैनस् ? जिन्दगीमा कामलाग्दो कुरा केही भेटेको छस् तैंले यसबाट ? फ्याँक्न सक्दैनस् तँ यसलाई ?”

अनि त्यही सुस्त गतिमा ऊ सोफानेर सम्म गयो र फोनलाई फुत्त त्यही सोफामा फ्याँक्यो र आफैंलाई भन्यो, “आँखा खोलेर हेर सुरेन्द्र ! तँ सुप्रियामा अझै के खोज्दैछस् ? पहिले त तैंले उनमा सुख-दुःखमा ढिंडो र गुन्द्रुक खाएर रमाउने जीवनसाथी खोजेको थिइस्, सानो गुणमा रमाउने चरीको जोडी खोजेको थिइस् । तर तैंले देखिनस्, उसले त तँलाई मोमो, चाउमिन र उपहारहरूको बील मात्र थमाई ? त्यै पनि तैंले आफ्नो आँखामा पट्टी बाँधेरै यत्तिका वर्ष बिताइस् ? अहिले पन्ध्र वर्षपछि, जब तेरो अस्तित्व र वास्तविकता नितान्त फरक ब्रह्माण्डमा फल्दो-फुल्दो छ, तँ अझै पनि आँखामा पट्टी बाँधेर त्यही पुरानो ब्रह्माण्डमा किन फर्कन चाहन्छस् ?”

हुत्तिएर झ्यालनेर गयो ऊ, र बाहिर हेर्‍यो । शिरीष र नरिवल मध्यम बतासमा सुसाउँदै थिए । अब बतास एक पललाई रोकिन्छ, शान्त हुन्छ, तर एक मिनेट बित्न नपाईं अर्को झोंका आउँछ भन्ने उसलाई थाहा थियो । तर त्यो अब आउने बतासको झोंकालाई दुई हातले ठेलेर रोक्न चाहन्थ्यो सुरेन्द्र । भएभरको बल लगाएर त्यो आँधी रोक्न चाहन्थ्यो ऊ ।

दुवै हात फिजाएर छाती थाप्यो उसले र जोडले कराएर बोल्न पुग्यो ऊ, “सुप्रिया, तिमीलाई मैले, हाम्रो भेटमा, जीवनका सम्बन्धहरू र त्यसभित्र अनुभव हुने वास्तविक खुशीहरूबारे प्रश्न गरें, तर तिमीले मेरो घर र गाडीबारे प्रश्न गर्यौ । पहिले पनि, जुन बेला मैले तिमीबाट भावनात्मक माया खोजेको थिएँ, त्यो बेला तिमीले सदैव तिमीले मबाट झिना-मसिना भौतिक उपहारहरू मात्र खोज्यौ । अनि फेरि, यत्तिका वर्षपछि, पुरानो प्रेमको सम्झनालाई मित्रताको रूप दिन जब मैले हात बढाएँ, तिमीले त्यसलाई एक झोला मोमो र चिकन चिली पोको पारेर घर लैजान सकिने एक तुच्छ अवसरको रूपमा हेर्यौ ।”

अनि एकाएक दौडिएर बेडरूममा गयो र ठूलो ऐनामा आफूलाई हेर्‍यो । आफ्नै प्रतिबिम्बलाई ट्वाल्ल हेर्दा प्रतिबिम्बले कुटिल मुस्कान सहित आफूलाई सम्बोधन गर्दै बोलेको देख्यो उसले, “सुरेन्द्र, पुरानो प्रेमलाई मित्रताको रूप दिन हात बढाएको कुरा गरिस् तैंले ! तर … तर … तेरो मित्रताको रूप र सीमा के हो तँ आफैंले विचार गरेको छस् ? कुन मित्रताको कुरा गर्दैछस् तँ ? यदि उनको असली चेहरा थाहा पाइसकेको छस् भने तँ किन उनीसँग अरू मित्रता चाहन्छस् ? तर, यदि होइन, उनका झिना-मसिना व्यावहारिक त्रुटिहरूलाई तँ माफ गर्न तयार छस् भने, यो मित्रतामा तँ आफू चाहिं आफ्नो नियतमा शंकारहित छस् ?”

प्रतिबिम्बको कुरा सुनेर सुरेन्द्र स्तब्ध भयो । अनि, आफूलाई प्रष्ट्याउने प्रयासमा मुख खोलेर “होइन ….  म त … के भने …” भनेर लरबराउँदै गर्दा प्रतिबिम्बले अझै जोडले कराउँदै भन्यो, “धिक्कार छ तेरो त्यो अन्धो प्रेमलाई ! धिक्कार छ तेरो यस्तो धमिलो मित्रतालाई ! र, धिक्कार छ तेरो अन्तर्दृष्टिमाथि लागेको कुहिरोलाई !”

रसाएका आँखा पुछ्यो सुरेन्द्रले, र बाथरुम गएर आँखामा दुई-चार अँजुली पानी छ्याप्यो । अनि फेरि बैठकमा फर्कियो र सोफाबाट फोन उठायो । झ्यालनेर आयो ऊ र बाहिर हेर्‍यो । हावा र पानीको एक आपसको प्रतिष्पर्धा कायम थियो ।

गोजीबाट फोन झिक्यो र ह्वाट्सयाप खोल्यो सुरेन्द्रले, र सुप्रियासँग आदान-प्रदान भएका म्यासेजहरूलाई माथिदेखि तलसम्म एकफेर हेर्‍यो । त्यसपछि एकाएक उसले ती सबै म्यासेजहरूलाई एकै चोटी डिलिट गरिदियो ।

अनि … त्यसपछि … ह्वाट्सयापबाट सुप्रियाको नामलाई ब्लक गर्यो ।

त्यसपछि …  उसले फेसबूक खोल्यो … र … फेसबूकबाट पनि उनलाई ब्लक गरिदियो ।

अनि अन्त्यमा … सुप्रियाको फोन नम्बर समेत ब्लक गरिदियो । सोफामा आएर बस्यो, र लामो स्वास तान्दै भन्यो उसले, “गुड बाइ … फरेभर !”

अनि अन्त्यमा, एउटा अर्को म्यासेज लेख्यो उसले, “संगीता, म आऊँ अब लिन ?”

“आउनु भए हुन्छ ।”

“केटाकेटी के गर्दै छन् ?”

“मामाघरमा रमाइरहेका छन् नि !”

“आज उनीहरूलाई उतै छोडिदेऊ ।”

“हुन्छ । उनीहरू त रमाएर यतै बस्ने भनिरहेका छन् । आखिर भोलि पनि छुट्टी नै छ ।”

गाडी लिएर ससुराली घरको गेटसम्म पुग्यो सुरेन्द्र । तर गाडीबाट ओर्लिएन । “ज्वाइँ साब, आउनू न !” भन्ने सासु-ससुराको अनुरोधलाई आफ्नो जरूरी काम र हतार भएको भन्ने बहानाले पन्छाउँदै सुरेन्द्रले श्रीमतीलाई ससुरालीको गेटबाटै टिप्यो र फर्कियो ।

बाटोमा संगीताले सोधिन्, “केटाकेटीलाई किन उतै छोडिदेऊ भन्नुभएको ?”

सुरेन्द्रले पुलुक्क हेर्‍यो । श्रीमतीका चतुर आँखामा ठट्टायुक्त मधुर, कुटिल मुस्कान देख्यो उसले । तर केही उत्तर दिएन । गम्भीर देखिने प्रयास सहित अगाडि हेर्दै गाडी चलाइरह्यो ।

“आज त साह्रै रमाइलो भयो, मोमो पनि धेरै खाइयो, टिकटक पनि मज्जाले बनाइयो । अचार चाहिं अलि पीरो बढी भए जस्तो छ, हजुरलाई ल्याइदिएकी छु, रिता दिदीहरू अर्को हप्ता आउने अरे, सानिमाहरू अर्को महिना तीर्थ गर्न बद्री-केदार जाने अरे, यस पाली त हाम्रोमा पनि पुराण लाउने अरे, हामी अब जोगबनी कहिले जाने, भान्जाको व्रतबन्धमा के दिने” बाटोभरी कानमा एकोहोरो ठोकिएका शब्द छिचोल्दै सुरेन्द्रले डेराको गेटभित्र गाडी छिरायो ।

“निक्कै रोमान्टिक मूडमा हुनुहुन्छ !” संगीताले भनिन् र किचनतिर पसिन् ।

झ्यालछेउ उभिएर बाहिर हेर्दै पर्खियो सुरेन्द्रले । पानी र बतास दुवै रोकिएको थियो । केही बेर पर्खिएर हेर्दा पनि अरू बतास चलेन । वातावरण पूरै सामसुम थियो ।

संगीताले दुई कप चिया लिएर आइन् र चिया टेबुलमा राखिन्, अनि सोफामा नजिकै आएर बसिन् । चूपचाप दुई-तीन पटक चिया सुरुप्प पारेपछि सुरेन्द्रले भन्यो, “तिमी र म घुम्न जाने भोलि !” सटिक ढङ्गले यसरी भन्यो सुरेन्द्रले मानौं ऊ कुनै आदेश दिइरहेको थियो ।

“होइन, यस्तो आँधीबेरी चलेको बेला कहाँ जाने ?” संगीताले उदेक मान्दै सोधिन् ।

“आँधीबेरी अब सकियो संगीता,” शान्त स्वरले जवाफ दियो उसले ।

अनौठो मान्दै संगीताले  एक पल उसको अनुहारमा हेरिन् र सोधिन्, “जाने चाहिं कहाँ ?”

उसले फेरि एकपल्ट चिया सुरुप्प पार्‍यो र भन्यो, “भेंडेटार !”