तपाईँ इमानदार र कर्तव्यनिष्ठ नागरिक हो भने, भ्रष्टाचारको सक्दो मलजलका लागि योगदान गर्न तत्पर रहनुहोस्, भ्रष्टाचारको जयगान गर्नुहोस् ।

भ्रष्टाचारको महिमा गाउने यस लेखुवाको दिमाग सहीमा छ कि छैन भनेर तपाईँ अन्योलमा नपर्नुहोला ।  ईश्वरको महिमामा जस्तै भ्रष्टाचारको गरिमामा पनि मेरो आध्यात्मिक चेत समर्पित भएकोले यी पंक्तिहरू कोर्न म सकसकाएको हुँ। बेलाबखतमा यो लठुवा निकै आध्यात्मिक हुने गर्छ। अब आध्यात्मिक व्यक्तिले संसारका हरेक कार्यव्यापार वा सांसारिक गतिविधि ईश्वरकै इच्छाअनुसार भएका हुन् भन्ने कुरा मनैदेखि स्वीकारेको हुन्छ भन्ने कुरामा शङ्का छैन। तसर्थ भ्रष्टाचारजन्य कार्यव्यापार पनि ईश्वरकै इच्छाअनुसार हुने गर्छन् भन्ने कुरा स्वीकार्नै पर्ने हुन्छ। त्यसैले यहाँ भ्रष्टाचारको महिमा फलाकेर अप्रत्यक्ष रूपमा ईश्वरइच्छाको महिमा को रटना लगाएको पुष्टि गर्न खोजिएको हो ।

भ्रष्टाचारमा कति आकर्षण छ भन्ने कुरा धेरै अगावै मेरो एकलौटी हक भएकी ठानिएकी जोईबाटै म प्रष्ट भएको थिएँ । आफ्ना अनगिन्ती आदेश जारी गर्ने क्रममा उनले एक दिन  भनेकी थिइन् – ‘ ठूलाबडाको भ्रष्टाचार भन्ने अचारको बारेमा बेलाबेलामा सुन्ने गर्छु। ठुलाबडाले खाने अचार पक्कै पनि स्वादिलो होला भन्ने मलाई लाग्छ। हामीले पनि चाखौं न त्यो अचार एक बाजी । स्वादे जिब्रो के तिनीहरूको मात्रै छ र ? बजार गएको बेला एक सिसि त्यो अचार नलिई नआउनुहोला है।’
जवाफमा म मुसुक्क हाँसेको मात्रै थिएँ।
‘अरु कुराको जस्तै मेरो यो अचारको माग पनि हाँसेर टार्ने होइन नि। ल्याउनुभएन भने मैले जानेकी छु।’ उनले हल्का धम्काएकी थिइन् ।
मेरी गौप्राणी जस्ती सुधी एकाघरकी श्रीमतीलाई समेत भ्रष्टाचारले आफ्नो मायाजालमा राम्रैसँग गाँजिसकेको रहेछ भन्ने थाहा पाएर म दङदास परेको थिएँ ।

भ्रष्टाचार निर्मूल गर्ने ,यसलाई जरैदेखि उखेल्ने र यो कुविचारजन्य आचार हो भनेर यसप्रति  शून्य सहनशीलताको बरताव  गर्ने रागतान बेलाबेलामा अलाप्ने गरिन्छ । तर भ्रष्टाचार किन आवश्यक छ भन्ने विचार यस्तो रागतान अलाप्नेको मगजमा सहज ढङगले नपचेर अपच भएकाले यी कुरा रन्किएका र भन्किएका हुन् भन्ने ठम्याई आफूलाई भ्रष्टाचारको उम्दा विश्लेषक ठान्ने यस अक्षर कोरुवाको छ । मेरो ठम्याईलाई झुटो हो भन्ने ठहर गरी त्यसको पुष्टि समेत गर्न सक्नेले मल चपाएर मतिर थुकिदिए पनि मैले कुनै उजुरबाजुर गर्नेछैन भन्ने मेरो ठोस प्रतिज्ञा छ ।

भ्रष्टाचार राम्रो आचार हो भन्ने बुझेर नै हाम्रो मुलुकले यस क्षेत्रमा प्रगति गर्दै गएको छ । हरेक वर्षा हाम्रो मुलुक भ्रष्टाचारको क्षेत्रमा शीर्षस्थ स्थान ओगट्ने दिशामा अगाडि लम्कँदै पनि छ । यसका लागि मुलुकको राजनैतिक र प्रशासनिक नेतृत्व बलियो प्रशंसाको हकदार छ।

भ्रष्टाचारलाई निरन्तर जारी राख्नुपर्ने धेरै कारणहरू छन् । भ्रष्टाचारलाई छेकाबार लाउने हो भने अड्डाखानाका कामदारको काम कारबाहीमा छिटो छरितोपन कसरी आउँछ ? निर्णय प्रक्रियामा शीघ्रता कसरी आउँछ ? नयाँ नौला काम गर्ने जाँगर कसरी पलाउँछ ? पाडो पाए पनि पाडी पाए पनि गोठालाले बिगौती मात्रै पाउने हो भने उसले घाँसपातको लागि जोस जाँगर किन गर्छ ? गोठालाले बिगौतीका सँगसँगै घिउका हर्पे पाए भने पो सिङमाङमा घिउ छ , पचाउने मेरो जिउ छ भन्दै फुर्तिफातीका साथ कार्यसम्पादन गर्लान् त । नयाँ नेपाल बनाउन नयाँ उत्साह जगाउन जरुरी छ  र त्यो उत्साह नयाँ नयाँ घिउका हर्पेले मात्रै सञ्चार गर्न सक्छ भन्ने मेरो दाबी छ । सकारात्मक प्रेरणा जगाउनको लागि अतिरिक्त आय दिलाउने भ्रष्टाचारी व्यवहार अत्यन्त जरुरी छ।

राष्ट्रको सेवा गर्न चौबीसै घण्टा तत्पर छु भनेर शपथ खाएका राष्ट्रसेवकहरू देशसेवामा अहर्निश खटिएका छन् । धामा गरेर प्रतिस्पर्धामा खरो उत्रिएका राष्ट्रसेवकलाई सरकारले दरकार अनुसारको पगार नदिई केबल  खरो धान्ने चारा मात्रै दिएर  उनीहरूलाई हाराबारा पारी ठूलो अन्याय  गरेको छ । प्रतियोगिताको ठूलो जङ भङ्ग गरेर वा भनौँ फत्ते गरेर आएका राष्ट्रसेवकलाई केवल दाल भात ढुकुमा डल्याउन , सार्वजनिक यातायातमा हल्लाउन र डेराडन्डामा कुकुर्क्याउन पाइन्छ  ? पिजा , बर्गर ,रोस्ट ,सेकुवा, भुटुवा र त्यसका लागि हितकारी सितन प्रयोजनका लागि छ्याकनको अनि घर ,बङगला ,घोडा गाडीको लागि थप आम्दानीको के तिनीहरूलाई दरकार छैन ? अनि तिनीहरूका छोराछोरीलाई के आम जनताका छोराछोरीसरह  सरकारी स्कुलमा हेलिदिने ? उनीहरुलाई महँगो प्राविधिक शिक्षा नदिलाउने ?  भ्रष्टाचारमा लगाम लगाएर त्यसलाई तमाम पार्ने हो भने के उनीहरुले त्यस्ता तत्त्वलाई सलाम गर्लान् त ? भ्रष्टाचारलाई अनाचारको रूपमा होइन पुरस्कारको रूपमा हेरिनु जरुरी छ। हाजिर गरेबापत पगार र काम गरेबापत थप आम्दानीको कारोबार गर्न राष्ट्रसेवकले पाउनुपर्छ भन्ने मेरो जोडदार माग छ ।

भ्रष्टाचारको अस्तित्व रह्यो भने मात्रै दिलो ज्यान अर्पिएर काममा खटिनेहरूले अतिरिक्त कमाइ गर्ने वातावरण सृजना हुन्छ । अतिरिक्त कमाइ भएपछि अतिरिक्त खर्च पनि गर्न सकिन्छ अर्थात् क्रयशक्ति बढ्छ  । अनि मात्रै मांस मदिरा व्यापारी , घरजग्गा कारोबारी, निर्माण सामग्री व्यवसायी र सवारी साधनका व्यवसायी एवं लत्ताकपडा र सौन्दर्य सामग्री कारोबारीकहाँ ग्राहकहरूको घुइँचो लाग्छ। अनि पछि आर्थिक क्षेत्र चलायमान पनि हुन्छ। आर्थिक क्षेत्रलाई चलायमान बनाउने अन्तर्य भ्रष्टाचारभित्रै लुकेको छ। यसलाई गम्भीरता साथ मनन गर्नु जरुरी छ ।

एउटा विख्यात उखान छ – घुस नखाने कर्मचारी र भुस नखाने सुँगुर हुनै सक्दैनन् ।     उखानले अभिव्यक्तिलाई, भाषालाई र राजनीतिज्ञको भाषणलाई चोपिलो एवं रसिलो बनाउने  प्रभावकारी काम गर्छ। त्यसैले उखानको अस्तित्व कायम राख्न जरुरी छ। तसर्थ उपर्युक्त उखान संरक्षण गर्ने प्रयोजनका लागि पनि भ्रष्टाचारजन्य काम कारबाहीको खाँचो पर्छ ।

उद्योग र व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो । उद्योगी व्यापारीले सामान्य नाफामात्रै आर्जन गर्ने हो भने ठूलो पुँजीको निर्माण हुन सक्दैन । त्यसैले असामान्य आर्जन गर्नका लागि भ्रष्टाचार आवश्यक पर्छ । उद्योगी व्यापारीले नाफाखोरी र कालोबजारीजन्य भ्रष्टाचार गर्न पाए भने सबल पुँजीको निर्माण हुनसक्छ । निर्मित पुँजीले थप उद्योग व्यवसाय खुल्छन् र ती उद्योग व्यवसायीले मुलुकको श्रम र सामग्री खपत गरेर अर्थव्यवस्थाको सबलीकरण गर्न सक्छन् अनि मात्र हाम्रो अर्थतन्त्रको आकार बढ्न सक्छ ।  यही मूल मर्मलाई दृष्टिगत गरेर उद्योगी व्यापारी र हरेक थरी पेसा व्यवसायीका लागि  भ्रष्टाचार एक बलियो  आधारको रूपमा उनीहरूलाई मुहैया गराउनुपर्ने हुन्छ ।

भ्रष्टाचारको क्षेत्रमा काम गर्नका लागि मुलुकमा संवैधानिक र अन्य निकायहरू स्थापित छन्। भ्रष्टाचार भएन भने तिनीहरूले के काम गर्ने  ? यति उजुरी दर्ता भए ,यति फर्स्यौट भए र यति आधारहीन ठहरिए भन्ने फेहरिस्त  ती निकायले कसरी तयार गर्ने ? फेरि भ्रष्टाचारको उजुरी पर्नु एउटा महत्वपूर्ण कुरा हो , अत्यन्त सबल पक्ष हो ।  मुलुकमा उजुरबाजुर गर्नको लागि कुनै छेकथुन छैन ,बडो प्रजातान्त्रिक माहोल छ भन्ने कुरा दुनियालाई देखाउन पनि भ्रष्टाचार विरुद्धका उजुरीबाजुरीको दर्ता र तिनको तालीकीकरण भ्रष्टाचारजत्तिकै अत्यन्त आवश्यक छ ।  फेरि भ्रष्टाचार निमिट्यान्न पारेर यस क्षेत्रमा काम गर्ने संवैधानिक निकायलाई बिजनेसविहीन बनाउनु असंवैधानिक कर्तुत पनि  हो, यो क्षम्य हुनै सक्दैन भन्ने मेरो दाबी छ।

भ्रष्टाचारविरोधी अभियानका नारा फलाक्ने एनजिओ र आइएनजीओ पनि हामीकहाँ प्रशस्तै छन्। अब भ्रष्टाचार नै भएन भने तिनीहरू के सबै काम छाडी पुच्छरमा हात जस्ता भएर बस्ने ?  तिनले के काम गर्ने ? कुन अभियानमा हिँड्ने ? कस्ता नारा लगाउने ? के सम्बन्धी गोष्ठी र संगोष्ठी वा कार्यशाला गर्ने ? डलर खतम वा हजम कसरी पार्ने ? त्यसैले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको अस्तित्व र उनीहरूको हकहित संरक्षणका लागि पनि भ्रष्टाचार भइरहनु आवश्यक छ । करोड खर्च गरेर लाखको अत्यन्त महत्त्वपूर्ण उत्पादनशील कार्य गर्ने गैर सरकारी संस्थाहरू मुलुकका हितकारी टनिक हुन् ,मेरुदण्ड हुन् भन्ने कुरा सच्चा नेपाली नागरिकले कहिल्यै भुल्न हुँदैन । मुलुकको उत्पादकत्व बढाएर देश समृद्ध पार्नमा यी संस्थाहरूको ठूलो योगदान छ भन्ने कुरा एक सच्चा इमानदार  नेपाली नागरिक भएकै नाताले म लेख्दैछु ।

अर्कोतिर राजनीतिमा ज्यान समर्पण गरेर लागेकाहरू बुद्धि भ्रष्ट भएका बबुरा त कदापि होइनन् । ठूलो त्याग र बलिदान गर्दै राजनीतिमा होम्मिएकाहरूलाई भ्रष्टाचार नगर भनेर हात बाँधिदिने हो भने राजनीतिक क्षेत्रमा अघि बढ्न को तम्सिन्छ ? राजनीतिकर्मीको खडेरी पर्दैन मुलुकमा ? फेरि  नेताको चुनावखर्च के सदाचारले तिरिदिन्छ ? उनका लागि नभई नहुने दरबार ,घरबार, मोटरकार के त्यत्तिकै बर्सिन्छ ? राजनीतिकर्मीले आफन्त पोस्न  र रोजाना कबाफ पाक्ने चुलो झोस्न पनि भ्रष्टाचारको अहम भूमिका हुन्छ । त्यसैले मुलुकको प्रशासनको मूल मियोको अभिभारा बोक्नका लागि ठूलो त्याग  तपस्या गरेका राजनीतिकर्मीको हकहित चिताउनेले भ्रष्टाचारविरोधी बकबक कहिल्यै गर्न हुँदैन । त्यत्रो महाभारत गरेर ल्याएको गणतन्त्रको भार थाम्ने राजनीतिकर्मीको भलो चिताउनु सबै असल नेपाली नागरिकको परम कर्तव्य पनि हो । भ्रष्टाचारका फाइल खोल्ने वा बन्द गर्ने निहुँमा राजनीतिक समीकरण बनाउन वा भत्काउन पनि भ्रष्टाचारकै अस्तित्व अत्यावश्यक छ भन्ने कुरामा दुई मत हुन सक्दैन ।

यस्तै यस्तै कुराहरूलाई दृष्टिगत गर्दा भ्रष्टाचार हाम्रो मुलुकको लागि पोषक तत्त्वको रुपमा रहेको छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग हुन्छ । त्यसैले तपाईँ इमानदार र कर्तव्यनिष्ठ नागरिक हो भने, भ्रष्टाचारको सक्दो मलजलका लागि योगदान गर्न तत्पर रहनुहोस्, भ्रष्टाचारको जयगान गर्नुहोस् ।