ओइलिएको फूल फुलाउनू जस्तै

सहयोगको नाममा

पटक पटक क्यानभासमा उतारेर,

आफ्नो दुनो सोझ्याएर छाडेपछि

बिहान बेलुका गर्जो टार्न नपाएर

राज्यबाट विश्वास गुमाएपछि

फेरि,

बाँच्नका लागि बालुवामा

आशाका बिरुवा रोपिरहेछन्

शक्तिका भरमा

बगरमा क्रसर खोलेर बस्तीमा नदी छिरेपछि

घरैमा दिन कटाइरहेछन्

हिंड्न नसक्ने ससाना स्कूले बालबालिका

शिशिर ऋतुको समापनसँगै पूर्वी क्षितिज रिसाएर मेघ गर्जाउँदा मुटुमा चट्याङ परेको आभास गर्छन् मानबहादुर । बिपी राजमार्गको सिन्धुली मुलकोट–५ खण्डको नागबेली मार्गको भित्तामा सजाइएका सीसै–सीसाको लस्करबाट आफ्नै सर्वस्व गुमाएको बस्ती हेरेर टोलाउँछन् । विगत सम्झेर आफैंमा हराउँछन् । मुलकोटका बाढी पीडित ।

बिपी राजमार्ग, अनि लुक्ला जाने कोसी पारि रामेछापको विमानस्थललाई आधार बनाउँदै मुलकोटमा खुलेका मध्यम खालका केही होटल सञ्चालकको पनि अवस्था उस्तै छ ।

गत असोज ११ र १२ गते आएको सुनकोसीको बाढीले मुलकोट बजार, सित्खा, खैरनी, रातमाटालाई डुबाएर बगर बनाएपछि उब्जिएको जीवनको निराशा र सबैबाट उडेको भरोसालाई देखेर टोलाउन बाहेक के नै पो गर्न सक्छन् र !

राजमार्गको नागबेली बाटोको भित्तामा सजाइएका ऐनाको लस्करभित्रै लुकेको सेतेदेवी मन्दिर र पूर्वपट्टिको नाङ्गे डाँडास्थित सहिद पार्कबाट तल नदी तीरलाई नियालेर झस्कँदै मानबहादुर माझी सोच्छन्, ‘असोजआँ त्यो विपद् नआइदिएको भए ! घरभरि अन्नपात हुन्थ्यो, पशुपति आधारभूत विद्यालयमा बौद्धिक अपाङ्गता भएको छोरो पनि पढिरहेको हुन्थ्यो । तर अहिले त सम्पत्तिको नाममा एउटा भैंसी मात्र बाँकी छ त्यसलाई खुवाउने दानापराल समेत छैन ।’

‘सुनकोसीको वेग शान्त भएको भए, छालहरूले आफ्नो बाटो नफेरेको भए र्याफ्टिङको मज्जा लिन आउनेलाई गाइड गर्दा, अझ आफ्नै हातले खियाएको ढुङ्गाबाट मुन्छेलाई वारिपारि गर्दा कति आनन्द आउँथ्यो,’  उनी सम्झन्छन् ।

असोजमा आएको बाढीले उनको घरखेत मात्र बगाएन उनको विश्वास र भरोसालाई पनि बगर बनायो । सुनकोसीको शान्त वेग अचानक आक्रान्त भएर बस्ती छिर्‍यो । नदी तटका घरवास नै उजाडियो ।

सडक किनारमा अवैज्ञानिक तरीकाले खोलिएका क्रसर उद्योगले बस्तीलाई बगर बनाउन महत्त्वपूर्ण भूमिका खेलिदियो । बाटो नै फेरिएपछि केको डर र ! नदीलाई । पहुँच र दम्भमा खोलिएको क्रसरको सहयोगले ६० घर डुबायो केही बगायो । सयौं मान्छेका घर– खेत बारीलाई खहरेको सहयोगमा बगर बनाइदियो ।

नयाँ बाटो बनाएर पुरानो तटदेखि करीब दुई सय मिटर माथि नदी छिर्‍यो र बस्तीमा बालुवा र लेदो भरिदियो ।

‘घर खेतबारी पशुचौपाया पनि पुरिदियो । बाँकी राख्यो त केवल हड्डी र छालाको शरीर, दुखेको मन मात्र’ मानबहादुर सम्झन्छन् ।

राहतका नाममा आएका सामग्रीले केही दिन गुजारा त चल्यो तर खेतबारी बगर भैदियो । आजभोलि बिहान बेलुका छाक टार्नसमेत धौधौ छ मानबहादुरलाई । बाढीपछि परिवार तितरबितर भयो ।

‘काम खोज्न शहर गएको कान्छो फर्केर आएको छैन’ उनी भन्छन् ।

‘सरकार नि छ र ?’ प्रश्न सोध्ने पत्रकारलाई नै उनी प्रश्न गर्छन्, ‘पत्रकारले लेखेर नि केही हुँदैन, कसैले केही गर्दैन । बरु यही बालुवामा बालीनाली उमार्न सक्यो भने अर्को साल खान पाइएला ।’

० ० ० ०

काठमाडौंबाट ९० किलो मिटरको दूरीमा रहेको मुलकोट सुनकोसीको नदी तटीय क्षेत्रलाई बाढीले खण्डहर बनाइदियो । त्यही बगरमा मनबहादुर जस्ता दर्जनौंको सपना बगेर गयो । कयौंलाई सुकुम्वासी बनायो ।

फागुनको मध्यसँगै मौसममा केही परिवर्तन देखिएको छ । केही न्यानो महसूस हुँदै छ । प्रकृति रिसाए पछिको विध्वंसले वरिपरि धुलोका कणले ढाकेर तुवाँलो जस्तो अझै कायम नै छ । परपर बोटवृक्ष पनि खहरेले छाडेका डोबको चोट भुलाउँदै स्वप्निल स्वर्गमा हराएको आभास गरिरहेका छन् ।

पूर्व क्षितिजलाई नै हल्लाउँदै आकाशमा कालो बादल मडारिन शुरू भइसकेको छ । सुनकोसी तीरको बस्तीमा बालुवा सेताम्मे टल्किएको छ । ढुङ्गा, ग्रेग्रायानका आड लागेर पारीपट्टिको सित्खा बजार नै सुनकोशीमा झर्ला झैं गरेर पहिरोको सिरानी बनेर बसेको छ ।

बगरमा रूपान्तरण भएको मुलकोटका ६० घरसँगै सानुको जीन्दगी पनि डुबेको छ । विगतले सताए, तर्साए पनि उनको जिन्दगी नै रित्तो बनाएको छ । घरमा खान नै नभएपछि कामको खोजीमा गएको उनको जुठे अझै आएको छैन । बिहान रिमरिम उज्यालो हुन नपाउँदै ‘गुड मर्निङ’ लेखिएका चित्र पठाएर उनलाई ब्यूँझाउने जुठे अहिले कुहिरोमा हराएको काग जस्तै हराएको छ । न त म्यासेज गर्छ न त आउँछ । न त कहिल्यै अनलाइनमा भेटिन्छ ।

‘यो सम्झनाको लत पनि कुलत नै रहेछ । मनैमन अँगाल्ने त्याग्ने फेरि पुरानै ठाउँमा आफैलाई फर्काएर कल्पनाको तरेलीमा रमाउने ! मन न त सबैसँग छरिएर बाँडिन मान्छ, न त रमाउन सकेको छ, भोक अभाव र तनाव भित्र लेक, बेंसी, फाँट र धुनभित्र लुकामारी खेल्दै सुख, दुःखका उकाली ओराली गर्न खोज्ने कस्तो निष्ठुरी ऊ !’ नाङ्गे डाँडामा बसेर तलको बगरतिर नियाल्दै उनी रुन्चे हाँसोका साथमा कल्पना गर्छिन् ।

“यो जुठे पनि हाम्रो दलका नेता जस्तै रहेछ ‘बा’ ! अप्ठेरोमा आउँछ सहज भएपछि हराइहाल्छ । शायद यो पनि ठग भै सक्यो कि ! नत्र त फर्केर आउनुपर्ने हिजो जस्तै सताउनु पर्ने । कसरी दिन काट्दी हो । सम्झनु त पर्ने ? शहरआँ छिरेपछि बिर्सिजाने ऊ पनि नेता नै रहेछ नि !” उनी सुनाउँछिन् ।

ओइलिएको फूल जस्तै छ बस्ती । केही सम्पन्न र पहुँचवालाले फेरि फुलाइसके । हामी जस्ता निरीहहरू बेवारिसे भयौं । केही भोक, प्यास र अभावमा छटपटाइरहेका छन् भने केही फेरि नयाँ शुरूआत गर्न बालुवामा जिन्दगी खोजिरहेका छन् ।

राज्यलाई नियन्त्रण गर्नेले गरीबको भोट मात्र देखेका छन् । समय मिले त्यसलाई तीनपानेमा खरिद गरिदिन्छन् । पछि ठाउँमा पुगेपछि पीडितका भाव उनीहरूका लागि लज्जाका विषय बन्छन् ।

उनीहरूका सबै कुरालाई विश्वास गर्दै आउने सर्वसाधारण भेडाकी बाध्यताको लगाम खिचेर, दुःखीको परिस्थितिलाई तीनपानेमा नियन्त्रण गर्ने उनीहरू भेडा ! सानु सम्झनसम्म सक्दिन । उनलाई यति थाहा छ जे गर्नुपर्छ आफैंले गर्नुपर्छ । यहाँ न त राज्य छ न त कोही । उनलाई पटक पटक सञ्चार माध्यममा पीडा सुनाउनु पर्दा दिक्क लाग्न थालेको छ ।

अभिभावक मात्र होइन यहाँ बालबालिका पनि बिचल्लीमा छन् । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न दम्भका आधारमा नदी किनारमा खोलिएको विद्यालयमा आवासीय सुविधा सहित अध्ययन गरिरहेका विशेष बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।

कक्षा पाँचमा पढ्ने रिना स्कूल नगएको सात महिना भयो । घरबाट हिंडेर पुग्ने भए पो जानु । बौद्धिक अशक्त उनको विद्यालय जाने सपनालाई बाढीले अनिश्चित बनाइदियो । स्पष्ट आफ्ना मनका कुरा खोल्न नसक्ने उनलाई अहिले पनि विद्यालय जान त मन छ नि ! तर पुग्न सक्दिनन् । विद्यालयले पनि अहिले राखेर पढाउन नसक्ने बताएको छ ।

‘स्कूल जान त मन छ नि ! तर के गर्नु विद्यालयमा हामी बस्ने ठाउँ पुरिएको छ, बस्ने डेस्क बेन्च पनि पूरै भाँचिएका, उक्किएका छन् । हामी बस्न नमिल्ने भएको छ ।’ भविष्य के हो ? कसरी बाँच्नेसम्म थाहा छैन रिनालाई । तर यति थाहा छ पढ्नुपर्छ । विद्यालय जानुपर्छ ।

मुलकोट आसपासका २२ जना बालबालिका आवासीय रूपमा अध्ययन गर्थे पशुपति आधारभूत विद्यालय मुलकोटमा ।

बाढीसँगै अहिले उनीहरूको भविष्य बगेर गएको छ । विद्यालयले घेरोबारा नगरी उनीहरूलाई बचाउन नसक्ने भनेर घरैमा थन्क्याएको छ । साधारण बालबालिका पनि केही गरी विद्यालयको खेल मैदानबाट चिप्लिए सुनकोसीमा बग्ने सम्भावना धेरै छ ।

विद्यालय सञ्चालन गर्न अनुमति दिँदा विद्यालयको नक्साङ्कन गर्ने परिपाटी हुन्छ भन्ने न त रिनालाई थाहा छ न त पढ्न नपाएर घरैमा समय कटाएका अन्य विशेष बालबालिकाका अभिभावकलाई । कसैले बुझाउँदो हो जथाभावी पहुँचका आधारमा प्रतिकूल भूगोलमा विद्यालय खोल्न पाइँदैन भनेर !

विद्यालयमा थुप्रिएको बालुवा, लेदो, कंक्रिट त श्रमदान गरेर पन्छाइएको छ । तर सुरक्षित महिनावारी कक्षामा रहेका प्राथमिक उपचारकिट अहिले नि पुरिएको अवस्थामा छन् । त्यो कोठाभरि लेदो जस्ताको त्यस्तै छ ।

अहिले धुलाम्मे कक्षाकोठा र बगरमा रूपान्तरण भएको खेल मैदानमा सय जना जति ससाना बालबालिका पढिरहेका छन् । खेलिरहेका छन् ।

बिहानीको प्रार्थनामा शिरदेखि तीरसम्म धुलाम्मे भएका बालबालिकालाई अब कुन खालको समस्याले सताउने हो ! त्यसको कल्पना गर्न पनि राज्य शक्तिलाई फुर्सद छैन ।

राज्य त व्यक्तिका पछि लागेको छ । जनतालाई हेर्ने फुर्सद नै कहाँ छ र ? आफ्नो विरोधीलाई कहाँ लगेर फसाउँको नीतिमा छन् देशका ठेकेदारहरू के को जनता ? कहाँको पीडित ?

दललाई ‘को’ कसका पछि लागेको छ । कसले कसको झोला बोक्छ त्यसको हेक्का राख्नु छ ।

संघसंस्थालाई कागजमा प्रतिवेदन तयार गरेर एकदुई भिडियो र फोटो खिच्नु न हो ! संविधानले प्रदत्त गरेको बालबालिकाको पढ्न पाउने मौलिक अधिकारलाई कुण्ठित गर्दै एक शैक्षिक सत्रलाई पछि धेकेलेको छ ।

एक शैक्षिक सत्रले यी विशेष बालबालिकाको भविष्यमा कस्तो असर पार्छ कसले सोच्ने !

विपद्पछिको पुनः निर्माणका लागि संघ सरकारको उपस्थिति शून्य छ । नदी तटमा २ हजार ६१ सालदेखि सञ्चालनमा ल्याइएको विद्यालय भवन वरिपरि लगाइएको तारबारका केही भाग अहिले नि देखिन्छ तर अधिकांश भागमा बालुवाले पुरेको छ । स्थानीय सरकारसँग यसको व्यवस्थापन गर्न पैसो छैन रे !

विद्यालयलाई व्यवस्थित गर्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र सरकारसम्म पुगेका त छन् । तर कतैबाट आश्वासनभन्दा अरू पाएका छैनन् रे ! सोही ठाउँमा विद्यालय पुनर्निर्माण गर्ने कि स्थानान्तरण गर्नुपर्ने कसले खोज्ने हो । यही हेलचेक्र्याइँ कारण बालबालिकाको पढ्न पाउने मौलिक अधिकार कुण्ठित त हुने होइन ?