पाटन मङ्गल बजारपछाडि टायलको छानो भएको, कार्नेसमा चुनोट लगाएको, टुँडालमा लहरै गमला र झ्यालमा मैनाको पिंजडा झुण्ड्याएको एउटा घर छ । भोलामान श्रेष्ठको घर त्यही हो । ऊ कालो, अग्लो, बयालीस वर्षको, बोलचालमा फरासिलो, लेनदेनमा मिलनशील प्रकृतिको मानिस थियो । चार पुस्ताअगाडिदेखि वंशमा एउटाएउटा मात्र छोरा भएर आएको हुनाले धनको कमी थिएन ।
उसको जिज्यूबाजे, बाजे बुबासम्मको पनि व्यापार एउटै थियो- भोटबाट ऊन झिकाएर बेच्नु । तर भोलामानलाई भने त्यो कारोबार मन परेको थिएन । बाबुको देहान्त भएपछि उसले त्यो व्यापारलाई बिलकुलै तिलाञ्जलि दिइदियो र कहिले काठको, कहिले दाउराको, कहिले ढलौटे भाँडाको व्यापार गर्न थाल्यो । किन हो कुन्नि उसको मन कुनै व्यापारमा पनि स्थिर हुन सकेन । एउटा व्यापार एकडेढ वर्ष गर्थ्यो, त्यसलाई छोड्थ्यो फेरि अर्को समात्थ्यो ।
भोलामानकी स्वास्नी मोतीमाया भादगाउँको दुरु साहूकी छोरी हो । ऊ डल्लीडल्ली, मोटी, गोरी, कानभरि टुकी लगाएकी, अठतीस वर्षकी थिई । उसलाई धवःस्वाँको खूब सोख थियो । अक्सर त्यो फूल ऊ कपालमा घुसार्ने गर्थी ।
भोलामानलाई सन्तानको चौपट्टै रहर, उनन्चालीस वर्षसम्म पनि छोराछोरी केही नभएको हुनाले र आफ्नो वंशमा नै सन्तानको कमी भएकोले निःसन्तान पो हुन्छु कि भन्ने उसलाई डर थियो ।
उसको हृदयको पुकार ईश्वरको कानमा पुग्यो क्यारे । तीन वर्षअगाडि उसले छोरो पायो । उसको छोरो ज्यानचाको अनुहार त राम्रो थिएन । ऊ कालो, दुब्लो, सिँगाने थियो । तर तोतेबोली पिंजडाको मैनाको भन्दा मीठो गरेर बोल्थ्यो । “बाली राम्रो अर्काको बालो राम्रो आफ्नो” भन्छन् । उसलाई त्यही छोरो पनि हुनसम्म राम्रो थियो, हुनसम्म प्यारो थियो ।
भोलामान बाहिरबाट घर आइपुग्नासाथ ज्यानचा कोठाको ढोकैदेखि उसलाई औंलामा समातेर भित्र पसाउँथ्यो र ऊ सधैं बस्ने ठाउँमा हातले थप्पथप्प हानेर ‘दिछँ दिछँ’ (बस्नोस् बस्नोस्) भन्थ्यो । ऊ बस्नासाथ उसको मुखमा नली ल्याएर मिलाइदिन्थ्यो । रित्तो हुक्काचाहिं कोठाको छेउमा पडिरहेको हुन्थ्यो । आफ्नो छोराको बालकौतुक, बालक्रीडामा भोलामान मुग्ध थियो, मग्न थियो ।
एकदिन छोरालाई म्वाइँ खाइरहेको, सुमसुम्याइरहेको बेलामा मोतीमायाले आफ्नो लोग्नेसँग सोधी, “तपाईंलाई मेरो माया बढ्ता लाग्छ कि ज्यानचाको ?”
भोलामान दिलको सोझो स्पष्टवक्ता थियो । उसले सफासफी भनिदियो, “तेरोभन्दा यसको माया धेरै नै बढ्ता लाग्छ ।”
मोतीमायाले हाँसेर फेरि सोधी, “मेरै जीउबाट यो निस्केको । म भएसम्म यस्तो छोरो कति आउँछ कति । कसरी यसको माया बढ्ता हुने ? मेरो पो बढ्ता हुनुपर्ने ।”
भोलामानले भन्यो, “तँबाट यो निस्केको हो । महीबाट नौनी निस्कन्छ । किन हामी महीलाई भन्दा नौनीलाई ज्यादा चाहन्छौँ, मोल तिर्छौं ?” मोतीमायाले झन् हाँसेर सोधी, “उसो भए म मही, खालि पानी ? सारा नौनी ज्यानचा ?”
भोलामानले भन्यो, “हो । स्वास्नीहरू त मही, अमिलो पानी, सन्तान नै नौनी हुन् । हृदयमा उत्साह दिने, नशानशामा ताकत दिने, फुर्ती दिने ।”
आफ्नोभन्दा ज्यानचाको माया बढ्ता लाग्छ भनेर लोग्नेले भनेकोमा मोतीमायालाई केही दुःख लागेन, किनभने उसलाई पनि त लोग्नेको भन्दा ज्यानचाको माया बढ्ता लाग्थ्यो नि । लोग्नेमाथि स्वास्नीको माया, स्वार्थी माया र सन्तानमाथि स्वच्छ माया हुन्छ ।
ज्यानचा ती आमाबाबुको कस्तो प्यारो ! अझ यथार्थतः मोतीमायाभन्दा भोलामान उसको माया ज्यादा गर्थ्यो । मोतीमाया कहिलेकाहीँ केही विघ्न गरेको बेलामा उसलाई हप्काउँथी, हलुकासाथ थप्पड पनि दिन्थी । छोरोमाथि भोलामानको हात भने पक्षाघात भएका मानिसको हात जस्तै कहिल्यै उठ्तैनथ्यो । भनाइको मतलब ज्यानचा भोलामानको छाती, कलेजा, मुटु अझ त्योभित्रको रगत जस्तो प्यारो थियो ।
० ० ० ०
हिउँदका दिन, आजकाल भोलामान कलकत्तामा थियो । कुनै व्यापारमा पनि उसको मन स्थिर नभएर, सब छोडेर, नयाँ व्यापार गर्ने विचारले ऊ उहाँ गएको रे । उसको व्यापारको सार यही थियो- कलकत्ताबाट कश्मीरा ल्याएर नेपालमा बेच्नु । काम पनि सफा, दाम पनि सफा, फेरि हरेक हिउँद देश डुल्न पनि पाइने ।
कश्मीरा किनेर नेपालतर्फ चलान गरिसकेपछि उसले आफ्नो छोरो, प्राण जस्तै प्यारो छोरो, बुढेसकालको एक मात्र छोरो, ज्यानचालाई खेलौना किन्यो । ऊ कलकत्तातिर हिंड्ने बेलामा उसले आफ्नो छोराको चिउँडोमा हात राखेर अतिशय प्यारले “तिमीलाई के ल्याइदिऊँ” भनेर सोध्दा ज्यानचाले तोते बोलीमा “खेलौना” भनेको थियो । त्यसैकारण उसले एउटा सुटकेसभरि खेलौनैखेलौना किनिदिएको – भुँडी थिचिदिंदा भुकभुक भुक्ने कुकुर, टाउको थिच्दा चुर्रचुर्र बोल्ने चरा, पुच्छर र सूँड आफैँ हल्लाउने हात्ती, एक हात माथि उड्ने जहाज, बाटाको पानीमा बहने जहाज, लीगमा दगुर्ने रेल, ङिच्चङिच्च दाँत देखाउने बाँदर केके हुन् केके ।
तीन दिनअगाडि मंसीर सत्ताइस गते नेपाल आइपुग्छु भन्ने चिठी आफ्नी स्वास्नी मोतीमायालाई छोडेर तीन दिनपछि ऊ कलकत्ताबाट नेपाल रवाना भयो ।
साथीभाइ र इष्टमित्रमाथिको माया उनीहरूबाट आफू जतिजति टाढा भयो, उतिउति टाढा हुँदै जान्छ । परन्तु प्रेमिका र सन्ततिमाथिको माया भने आफू जतिजति टाढा हुँदै गयो उ उतिउति नजीक हुँदै आउँछ । भोलामानको ज्यानचामाथिको माया परदेशमा झन्झन् बढेर आयो । कहिले घर पुगूँला, कहिले उसको मुख हेरुँला, कहिले उसका अमृतका गोली जस्ता तोतेबोली सुनूँला जस्तो उसलाई लागिरह्यो ।
० ० ० ०
राति करीब साढे आठ बजेको समय शुक्लपक्ष भएको हुनाले टहटह जून लागिरहेको थियो । भोलामान एउटा भरिया अघिअघि लगाएर मङ्गलबजार पछाडि आफ्नो घरढोकामा पुग्यो । उसले आशा गरेको थियो – ऊ आउने थाहा पाएर स्वास्नी ठाँटबाट पारेर बसेकी होली, छोरो खुशी भइरहेको होला । तर त्यहाँ भने अर्कै घटना पर्यो । बाहिर मूलढोकामै ताल्चा मारेको ।
भोलामान स्वास्नीको त्यस्तो दुर्व्यवहारमा एक पटक क्रोधित भयो, एक पटक विस्मित । गरोस् के ? उपाय अरू केही थिएन । आफ्नो घर न हो भनेर मूलढोकाको खैमल, रीसको झोकमा जबरजस्ती उखेलेर उक्लियो । माथि पनि आफ्नो कोठाको ताल्चा भाँचेर भित्र पस्यो, बत्ती बाल्यो ।
क्षुधित, तृषित, थकित बिचरो भोलामान !
भोलामान आएछ भनेर उसलाई भेट्न उत्निखेर आई । अजिमासँग उसको नातागोता केही पर्दैनथ्यो, तर उसले छिमेकी र ज्यादै बूढी भएकी हुनाले ‘अजिमा’ ( बूढीआमा) भन्ने साइनो लाएको थियो । भोलामानले भन्यो – “म आज आइपुग्छु भनेर चिठी पठाएको थिएँ । चिठी आइपुगेनछ कि । नत्र ऊ किन माइत जान्थी ।”
अजिमाले भनी, “हो, तिम्रो चिठी अस्ति आएको थियो रे । तिमी आज आइपुग्छौ भनेर मोतीमाया भन्थी पनि । ऊ हिजो दिउँसोदेखि पो माइत गएकी छ ।”
अजिमाबाट यति कुरा सुन्नासाथ भोलामानलाई रीसले खपिसक्नु भएन । ऊ भित्रभित्रै यसै मुर्मुरियो । “म आज आइपुग्छु भन्ने थाहा पाईपाईकन माइत गएर बसेकी ? पख्लिस्, तेरो जात्रा गर्न मैले जानेको छु । एक महीना म परदेश जाँदाखेरि तेरो चरित्रमा यत्रो हेरफेर ?” क्रोधावेशमा उसले मनमनै केके भन्यो केके, निक्कै बेरसम्म भोलामान नबोलेर बसिरहेको हुनाले अजिमा पनि उसलाई सहानुभूति देखाएर गई ।
मोतीमायामाथि भोलामानको जति रीस उठ्यो त्यसको दोब्बर स्नेह उसको ज्यानचामाथि थियो । उसले एक्लो कोठामा एक्लै बडबडायो, “त्यो त मरेर गए पनि वास्ता छैन । पोलेको खरानी हनुमन्तेले बगाओस् वास्ता छैन । ज्यानचालाई लिएर किन गई ?” अनि फेरि भित्र मनमनैले भन्न लाग्यो, “हो, ऐले ज्यानचा भएको भए कति खुशी हुन्थ्यो ! यतिका खेलौना देखेर कति दङ्ग पर्थ्यो । कति तोतेबोली बोल्थ्यो ! कति मीठामीठा कुरा गर्थ्यो !”
उसले सूटकेस खोलेर भएभरका सब खेलौना एकएक गरेर जाँच्यो । हात्तीको सूँड भाँचिएको रहेछ । अरू सब साबुत ।
रीसले उसको भोक मरेको हुनाले उसलाई खाने मन लागेन । ऊ यसै सुत्यो । दिनभरिको थकाइले एक झमट त ऊ मस्त निदायो, तर आधा रातमा बिउँझ्यो । त्यसपछि उसलाई निद्रै लागेन । मनमा नाना कुरा खेल्न थाले । हृदयमा स्वास्नीमाथिको क्रोध र छोरामाथिको स्नेहको घातप्रतिघात चल्न थाल्यो ।
बिहान मिरमिर मिरमिर उज्यालो भएपछि ऊ दोलाई ओढेर झ्यालमा आएर टुक्रुक्क बस्यो । कुहिरो टम्म लागेको थियो, नजिकैको पदार्थ, घर, रूख आदिपर्यन्त केही देखिंदैनथ्यो । रित्तो खर्पन बोकेर भुइँचा आफ्नै झ्यालमन्तिरबाट जान लागेको देखेर भोलामानले उसलाई माथि बोलायो र एक मूठी मसला दिएर भन्यो, “म हिजो बेलुका आइपुगें भनेर भादगाउँमा गएर भनिदे ।”
उसको वचनलाई भुइँचाले तिरस्कार गर्न सकेन, मसला पनि पायो, फेरि अनि भोलामानले ढलौटे भाँडाको व्यापार गर्दा भुइँचाले एउटा अम्खरा उधारो लगेको थियो, त्यसको रुपियाँ आजसम्म तिरेको थिएन । भुइँचा भादगाउँतिर लाग्यो ।
० ० ० ०
अन्दाजी पौने एघार बजेको समय, भोलामान आफ्नै हातले भात पकाई खाईपिई गरेर कोठामा झ्यालनिर घाम तापेर बसिरहेको थियो । त्यहीँ एउटा पुरानो टेबिल, उसले त्यसैमाथि कलकत्ताबाट छोरालाई ल्याएका खेलौनाहरू लहरै मिलाएर राख्यो । ऊ मनमनै तर्कना गरिरहेको थियो- “अहिले स्वास्नी र छोरो आउलान् । त्यसलाई चाहिं भित्र पस्नासाथ एक पटक घोक्याएर कोठाबाट बाहिर निकालूँला अनि नबोलूँला । ज्यानचालाई चाहिं काखमा लिएर म्वाइँ खाऊँला, सब खेलौना देखाऊँला, रोजाऊँला, दिऊँला ।”
भुइँचा आइपुग्यो । भोलामानले ऊसित सोध्यो-
“भनिदिस् ?”
“भन्दें ।”
“के भने त ?”
“तपाईं नै हुइँ जानस् रे ।”
“म ?”
“ह्व ।”
“कसले भनेको ?”
“दुरु साहूले ।”
“मोतीमायालाई भेटिस् ?”
“देखेन ।”
“ज्यानचालाई ?”
भुइँचाले भोलामानलाई टुलुटुलु हेरिराख्यो ।
“देखिस् ?”
“देखेन ।”
“जा त ।”
भुइँचा गयो । ऊ भर्याङ ओर्लिन पाएको थिएन भोलामानले उसलाई डाक्यो । ऊ फेरि आयो ।
“उसो भए मोतीमाया आउन्न रे ?”
“हुइँ जानस् रे ।”
“मै जाने रे ?”
“हव ।”
“ल जा।”
भुइँचा गयो । भोलामानको रीसको पारो झन्झन् चढेर चरम सीमासम्म आयो । ऊ एक्लै फतफतायो – “ए: म पो उसकहाँ जाने रे ? हुन्छ । मलाई पनि थाहा छ !”
अन्त्यमा छोराको स्नेहको चुम्बकले उसको हृदयलाई खिच्यो । फेरि उसले विचार गर्यो — “हुन्छ, मै जान्छु । जान्छु, ज्यानचालाई टपक्क टिप्छु, बोक्छु, आउँछु । न त्योसित बोल्छु, न त्यसका आमाबाबुसित ।”
दुई बजेतिरको समय थियो । भोलामान भादगाउँतिर लाग्यो । सन्ततिस्नेह साह्रै प्रबल हुन्छ ।
उतापट्टि –
मोतीमाया आफ्नी आमाको कोठाको सन्झ्यालमा नजाने अघि, कहिलेदेखि बसिरहेकी, मनमन नाना कुरा खेलाएर, टोलाएर डाँडामा हेरिरहेकी थिई । भोलामानले टाढैबाट ससुराको घरको झ्यालमा एउटी स्वास्नीमानिस देख्यो । ऊ हेर्दैहेर्दै आइरहेको थियो । नजिकै आइपुग्दा पनि उसले आफ्नी जहान मोतीमायालाई चिन्न सकेन, किनभने ऊ त्यस्ती मोटीघाटी मान्छे दुब्लाएर खप्लक्क परेकी थिई । मुखमा केही सिँगार थिएन – यहाँतक कि सिउँदोमा धवः स्वाँपर्यन्त घुसारेकी थिइन । उसको त्यस्तो मन परेको फूल ! निकै नजिक आइपुगेपछि बल्ल उसले मोतीमायालाई चिन्यो अनि भित्र ठान्यो – यो त बिरामी पो भएकी रहिछ कि क्या ?
मोतीमायाले भने लोग्नेलाई आफ्नो झ्यालमुन्तिर चोकैमा आइपुगेपछि मात्र झस्स देखी । उसलाई देख्नासाथ ऊ डाँको छोडेर रुँदै भित्र पसी । एउटा बत्तीले अर्को, अर्कोले अर्को सल्केको जस्तो मोतीमायाको त्यो रुदनले घरभरि रुवाबासी मच्चियो । भोलामान तल्लो तलाको भर्याङ उक्लँदै थियो माथिबाट सासू, ससुरा, स्वास्नी, साली र उनीहरूका पछिपछि अरू केटाकेटीहरू पनि रुँदै, चिच्च्याउँदै, डाँको छोड्दै उहीँ आइपुगे । भोलामान चकित पर्यो । अनि आत्तिएर उसले सोध्यो- “के भो ? के भो ? किन रोएको ?”
|
ससुराले रुँदैरुँदै भन्यो, “आज अठार दिन भयो ज्यानचा खस्यो…!”
उसको मुखबाट यो निस्कनासाथ सासू र स्वास्नी झन्झन् छाती पिटेर रुन थाले । भोलामान पनि डाँकोमा डाँको मिलाएर रुँदै बीचै भर्याङबाट तल ओर्लेर थचक्क बस्यो ।
० ० ० ०
अतिशय मनस्तापले, आघात भएको भोलामान विक्षिप्त जस्तो भएर त्यही दिन आधारातमा उठेर भादगाउँबाट हिँड्यो । त्यस बेला ऊ कहाँ हिंडेको हो, किन हिँडेको हो, उही जानोस् ।
सर्वत्र जुनेली जून लागिरहेको, मंसीर महीनाको शीतले लुगा भिजिसकेको, ऊचाहिं बाटोघाटो छोडेर फाँटफाँट हिँडिरहेको थियो । कुन बाटो कसरी, बिहानीपख रातमा पाटन ऊ आफ्नै घरमा आइपुग्यो । आफ्नो कोठामा टेबिलमाथि लाइन मिलाएर राखेका खेलौनाहरू झिकेर झ्यालबाट सब हुऱ्याइदियो र बिछ्यौनामा सिरकले सर्वाङ्ग छोपेर रुन थाल्यो ।
भोलिपल्ट बिहान टोलका मानिसहरू उठे । उनीहरूको दृष्टि पर्यो ती फ्याँकिएका खेलौनामा । त्यो फ्याँक्नाको कारण टोलेहरूले बुझे, किनभने उनीहरूलाई उसको छोरो मरेको कुरा थाहा थियो । जसले जे भेट्टायो त्यसले त्यही टिप्यो, लग्यो आफ्नो घरमा छोराछोरीहरूलाई दिन ।
भोलामानले कति दिनसम्म त खानुपिनु केही गरेन । पछि एकदुई गाँस खान थाल्यो– बेकामको प्राणरक्षाको निम्ति भन्ने ठान्दै ।
उसको मस्तिष्कको कुन भाग, कुन स्नायु, शिरामा के हुन गयो कुन्नि, ऊ त एक प्रकारको बौलाहा जस्तो भयो । कसैसित नबोल्ने, बोल्नुपर्
यो भने एकोहरो कुरासिवाय नगर्ने, हिँड्दा पनि दायाँबायाँ कतै नहेर्ने, निहुरेर एकसुरमा जाने गर्न लाग्यो ।
|
कलकत्ताबाट उसले आफ्नो छोरालाई जो खेलौना ल्याइदिएको थियो पछि झ्यालबाट फ्याँकिदिएको थियो, ती खेलौना त्यो टोलका केटाकेटीहरू बराबर लिएर हिंड्थे । त्यो देख्यो कि ऊ टुलुटुलु हेरेर रुन्थ्यो । पछि त हुँदाहुँदा उसको मगज यस्तो विकृत भयो जुन ठाउँमा जुन खेलौना पनि देख्यो कि आँखा झिम्म नगरेर टुलुटुलु हेरिरहने, अनि रुने गर्न थाल्यो । साहित्य मात्र नवरसको हुने होइन, बौलाहाहरू पनि नवरसका हुन्छन् । यो भोलामान चाहिं करुणरसको बौलाहा भयो ।
कति दिन बिते, हप्ता बिते, मास बिते, वर्ष बिते । भोलामानको मस्तिष्क केही परिवर्तित भएन, उन्नत भएन । ऊ अहिले पनि उस्तै थियो जस्तो पहिलै थियो । जहाँ जुन खेलौना देख्यो कि निक्कै बेरसम्म टुलुटुलु हेरिरहन्थ्यो, हेर्दाहेर्दै अनि रुन थाल्थ्यो, निक्कै बेरसम्म रोइरहन्थ्यो ।
ऊ कहिले घर जान्थ्यो, कहिले जाँदैनथ्यो । कहाँ जान्थ्यो ? – के थाहा !
ऊ कहिले घरमा खान्थ्यो, कहिले खाँदैनथ्यो । कहाँ खान्थ्यो ? – के थाहा !
ऊ कहिले घरमै सुत्थ्यो, कहिले सुत्दैनथ्यो । कहाँ सुत्थ्यो ? – उही जानोस् ।
ऊ आधा फुलेका दाह्रीजुँगा झ्याप्प पालेको, मैलो लबेदा र सुरुवाल लगाएको, हिउँदवर्षा जहिले पनि उही ओढ्ने ओढेको र निहुरेर एकसुरमा हिँडेको हुन्थ्यो ।
मोतीमायाले पनि आफ्नो कर्म चिनी । धनसम्पत्ति त थियो, भएर के गर्नु ।
निःसन्तानको सम्पत्ति झण्डा नभएको राज्य जस्तै भयो । त्यसको के शोभा, के कदर !
पाटनका उद्भ्रान्त युवकहरू कहिलेकाहीं भोलामानलाई पाखुरामा समातेर आफ्ना घर लैजान्थे । ऊ केही नबोलेर लुरुलुरु जान्थ्यो पनि । बैठकमा लगेर उसलाई बसाउँथे र उसको अगाडि दुईचारओटा खेलौना राखिदिन्थे । खेलौना देख्नासाथ ऊ टुलुटुलु हेर्न थाल्थ्यो, हेर्दाहेर्दै रुन्थ्यो । अनि ती युवकहरूलाई रमाइलो हुन्थ्यो । उनीहरू उसको रुवाइ सुनेर पेट मिचीमिची हाँस्थे । पाटनमा भोलामान ‘फतामरी वें’ को नामले प्रसिद्ध थियो ।
० ० ० ०
छ वर्षपछि—
एकदिन भोलामान आफ्नै धुनमा, आफ्नै रङ्गमा हल्लिँदैहल्लिँदै काठमाडौं जुद्धसडकमा आइपुग्यो । त्यहाँ हाउसमा सजाएर राखिएका खेलौनाहरूमा सहसा उसका आँखा पर्न गए । बस, अनि त के थियो, थाल्यो टुलुटुलु हेर्न, त्यसपछि धुरुधुरु रुन । बाटो हिंड्नेहरू सब त्यहीँ जम्मा भए । उसको त्यस्तो अर्थ न बर्थको रुवाइ देखेर ती सब हाँस्न थाले । उनीहरूलाई तमासा भयो । एक्कैछिनमा त्यहाँ ठूलो भीड लाग्यो । हाउसवालाले भित्रबाट निस्केर भोलामानलाई त्यहाँबाट घचाड्यो, तर ऊ डेग चल्न मान्दैनथ्यो । हाउसवाला र भोलामानको खिचातानी देखेर भीडबाट अट्टहास निस्क्यो ।
त्यो भीडमध्येमा एउटाचाहिं दर्शक पाटने गुभाजू थियो । उसले अगाडि बढेर त्यो हाउसवालालाई डाक्यो र भोलामानको परिचय, जीवनी र ऊ पागल हुनाको कारण सबै बताइदियो । त्यो सुनेपछि हाउसवालाको हृदयमा गहिरो चोट लाग्यो किनकि उसलाई सन्ततिस्नेहको पूरापूर अनुभव थियो । उसका चार छोरा दुई छोरीमध्ये कुनै दूध चुस्ताचुस्तैमा, कुनै बामे सर्दासर्दैमा, कुनै टुकुटकु हिंड्दैमा, कुनै तोतेबोली बोल्दाबोल्दैमा मरेका थिए । जस्तै एक स्वर एक श्रुतिमा मिलाएर राखिएका दुई तानपुरामध्ये एउटा बज्यो भने अर्को पनि अनायास बज्न, घन्कन थाल्छ । त्यस्तै भोलामानको र हाउसवालाको हृदय एउटै वियोगी स्वरमा मिलेका थिए अतः ऊ रोएको देख्नासाथ यसको पनि मुटुमा भक्कानो पर्न लाग्यो । आँखामा आँसु, मूल फुटेको जस्तो भुलभुल भएर आउन थाल्यो ।
त्यो गुभाजुले भोलामानलाई फकाएर अँगालो हालेर लिएर गयो । अनि भीड पनि यत्रतत्र भए । तर हाउसवालाले भने भोलामानलाई आँखाले भेटेसम्म हेरिराख्यो– जस्तो एउटा आत्मीय बन्धुले समुद्रयात्रा गर्न जाँदा चढेको जहाजलाई अर्को आत्मीय जनले देखेसम्म बन्दरगाहबाट हेरिरहन्छ ।
(‘भीमनिधि तिवारीका प्रतिनिधि’ कथाहरूबाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










