चार वर्षसम्म अनवरत खटेर काम गर्दा ‘बृहत्तर नेपाली शब्दकोश’ प्रकाशमा ल्याउन सम्भव भयो । यसप्रकार, शब्दकोश निर्माणमा, स्नातक तहमा मलाई पढाउने मेरा आदरणीय गुरु एवं नेपालीका सर्वोच्च भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको उत्तराधिकारी हुन पाएकोमा मलाई असीम गर्वको अनुभूति भएको छ ।

……………….

प्रत्येक व्यक्तिले आफ्नो मनको भाव अर्को व्यक्तिलाई प्रकट गर्ने माध्यम नै भाषा हो । भाषाका प्रकार पनि दुइवटा हुन्छन्– कथ्य (बोलिने) र लेख्य (लेखिने) । जहाँसम्म लेख्य भाषाको चर्चा आउँछ, त्यसभित्र विभिन्न विधा (कथा, कविता, आख्यान, निबन्ध, प्रबन्ध, यात्रा, नियात्रा, नाटक, मुक्तक आदि) पर्दछन् । कथ्य भाषामा जस्तोसुकै बोले पनि त्यो व्यक्तिको निजी मामला हो ।

तर लेख्य भाषा भने बोल्दा वा सुन्दा राम्रो लाग्ने, लेखाइ हेर्दा सुन्दर लाग्ने हुनुपर्छ । त्यसै कारणले होला, वर्णविन्यासको शुद्ध प्रयोगलाई साहित्यमा हृदयतः स्वीकारिन्छ । असली विद्वानको परख नै शिष्ट परम्परामा रहेको वर्णविन्यासको सही प्रयोगद्वारा हुन्छ ।

नेपालमा नेपाली भाषाको मानक शब्दकोश प्रकाशित गर्ने अधिकारप्राप्त संस्था नेपाल प्रज्ञा प्रतिष्ठान हो भन्ने नेपाली भाषा प्रयोगकर्ताहरूको मान्यता थियो । त्यसमाथि कुठाराघात गर्दै ‘नेपाली बृहत् शब्दकोश’ को सर्वप्रथम वि.सं.२०४० मा प्रथम संस्करण,  त्यसपछि वि.सं.२०५८ मा अर्को संस्करण (जुन शब्दकोशको इतिहासमा भाषिक अपराधको प्रामाणिक दस्तावेज ठहरिएको छ), अनि २०७२ को संस्करणसम्म आइपुग्दा प्रज्ञा प्रतिष्ठानले साबिकदेखि शुद्ध रूपमा रहेको वर्णविन्यास (हिज्जे) मा चरम विकृति ल्याएर भाँडभैलो मच्चायो र यस्तो प्रक्रिया दोहोर्‍याएर बल्दो आगोमा घीउ थप्ने मात्र काम गर्‍यो ।

मैले जीवनमा लामो समयसम्म आजीविकाका लागि अंग्रेजी भाषामा काम गरें । वि.सं.२०३७ मा मेरो पहिलो पुस्तक ‘गौतम्स हाइ स्कूल ग्य्रामर अयान्ड कम्पोजिशन’ प्रकाशित भयो । त्यसपछि अंग्रेजी ग्य्रामरका अन्य पुस्तक र अंग्रेजी शब्दकोशहरू पनि प्रकाशित हुँदै गए । यो कार्य वि.सं.२०६६ सम्म नै निरन्तर चालू रह्यो । प्रकाशित पुस्तकहरूकै संशोधन, परिमार्जन तथा परिवर्द्धनमा लाग्दा मलाई अन्यत्र हेर्ने वा अर्को नयाँ काम गर्ने फुर्सद नै भएन । बी. ए. मा मुख्य विषय नेपाली लिएर पढेको भए तापनि आफ्नो मातृभाषा तथा राष्ट्रभाषा नेपालीमा काम गर्न सकिनँ । मनमा ठूलो चाहका विपरीत, आजीविकाको लागि अर्कै भाषामा काम गर्नु पर्‍यो । तर वि.सं.२०६७ देखि भने मैले त्यो कामलाई विराम दिएर आफ्नो मन रमाउने नेपाली भाषामा घोत्लन थालें ।

यसबीच नेपाली भाषा प्रयोगकर्ताहरूले नेपाली वर्णविन्यासमा भित्र्याइएका विकृतिविरुद्ध सशक्त अभियान शुरू गरिसकेका थिए । त्यसका संयोजक शरच्चन्द्र वस्तीले त्यस्तो विकृतिका प्रवर्तक, प्रवर्द्धक तथा संवाहकहरूलाई उनीहरूकै मान्यताविरुद्ध उभ्भिन बाध्य पारेर ‘नेपाली कसरी शुद्ध लेख्ने ? (नेकशुले) – २०६९’ जारी गराउन सफलता पाउनुभएको थियो । कहिल्यै भेट नहुने चन्द्र र सूर्य झैं विपरीत भाषिक धारका दुई भाषा–महारथी प्रा.बालकृष्ण पोखरेल तथा प्रा.मुकुन्दशरण उपाध्यायलाई भाषाको विकृतिविरुद्ध एउटै थलोमा उभ्याई डा.तारानाथ शर्मा, कृष्णप्रसाद पराजुली, डा.कुमारबहादुर जोशी तथा कमल दीक्षित लगायतको संलग्नतामा जारी भएको नेकशुले–२०६९ नेपाली भाषालाई आत्मघाती कुमार्गबाट हटाएर आत्मोन्नतिको सही बाटोमा डोर्‍याउने सशक्त उपक्रम थियो ।

यस क्रममा नेकशुले–२०६९ लाई समेत समावेश गर्दै वि.सं.२०७१ मा मैले ‘नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा’ पुस्तक प्रकाशित गरें । यसमा नेपाली वर्णविन्यासमा भित्र्याइएका विकृतिहरूको निर्मम चिरफार गरिएको थियो । उक्त पुस्तकको विमोचनका अवसरमा संयुक्त अक्षरका खुट्टा काट्ने अराजक नियमविरुद्ध शरच्चन्द्र वस्तीद्वारा मन्तव्य व्यक्त भएको थियो, जसले उक्त नियम कायम रहेमा केही वर्षभित्रै देवनागरी लिपिमा नेपाली भाषा लेखिने प्रचलन समाप्त हुने स्थिति छर्लङ्गै पारेको थियो । त्यसले भाषाप्रेमीहरूमा तीव्र रोष र विद्रोहको बीउ रोपियो र नेपाली भाषा बचाउ आन्दोलनको सूत्रपात भयो । सो आन्दोलनमा शरच्चन्द्र वस्ती, डा.बलदेव अधिकारी तथा म चूडामणि गौतम एकाकार भएर लाग्यौं ।

आन्दोलन चर्कंदै गयो र त्यसकै परिणामस्वरूप, सरकारबाट प्राप्त भएको करोडौं अनुदानको धनराशि खर्चेर आफैंले सृजना गराएको ‘नेपाली बृहत् शब्दकोश’ (नवम संस्करण, २०७२) लाई  वि.सं.२०७३ कार्तिक ३० गते ‘सच्याउने’ शब्द राखेर खारेज गर्न प्रज्ञा प्रतिष्ठान बाध्य हुनुपर्‍यो । नेपाली शब्दकोशको इतिहासमा यस्तो विस्मयकारी ‘अनर्थ’ भएको यो पहिलो दुर्घटना हो । आफ्नो शब्दकोश आफैं खारेज गर्ने यो दुनियाँकै  पहिलो र एकमात्र ‘एकेडेमी’ हुन पुगेको छ ।

प्रज्ञा प्रतिष्ठानले शब्दकोश बदर गरेपछि आन्दोलनको लामो अवधिभर कहिल्यै कतै नसुनिएको र नदेखिएको ‘अन्तर्राष्ट्रिय सञ्जाल’ भन्ने नाम धारण गरेको अचम्मको ‘भुइँफुट्टा जीव’ देखियो । उक्त शब्दकोशको २०५८ को संस्करणबाट शुद्ध हिज्जेका आगन्तुक शब्दहरू रातारात समाप्त पार्ने र राज्यसत्ताको आडमा विकृत वर्णविन्यासकै प्रयोग गराउने लिंडेढिपी नछोड्ने सत्ता–भत्ताधारी (प्रज्ञा, त्रिविका) हरूद्वारा जन्माइएको त्यो सञ्जाल भाषिक क्षेत्रमा घोर निर्लज्जता र चरम बहुरूपी चरित्रको ज्वलन्त नमूना थियो ।

मैले भने आफ्नै घरको कोठाभित्र बसेर पनि भाषिक विकृतिविरुद्ध आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै २०७१ सालयता आठवटा पुस्तकहरू– १. नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, २. गौतम व्यावहारिक नेपाली शब्दकोश, ३. मानक नेपाली शब्दकोश, ४. नेपाली शुद्धाशुद्ध ज्ञान, ५. विवादित वर्णविन्यासको नेपाली शब्दकोश, ६. वर्णविन्यास बिगार्नेहरूको भन्डाफोर, ७. नेपालको संविधान र वर्णविन्यास (हिज्जे),  तथा ८. वर्णविन्यासघातीहरू कानूनको कठघरामा, लेखी प्रकाशित गरें । नेपाली भाषाको वर्णविन्यासको विकृतिविरुद्ध विभिन्न पत्रिकामा मेरा कैयौं लेखहरू पनि छापिइसकेका छन् ।

यसैबीच वि.सं.२०७३ आश्विनमा भाषाशास्त्री बालकृष्ण पोखरेल गुरुले ‘नेकशुले–२०६९’ को मर्म तथा भावना अनुरूप ‘प्रयोगकर्ताको मानक नेपाली शब्दकोश’ निर्माण गराउन वहाँकै  निर्देशकत्व रहने गरी एक सम्पादक मण्डल बनाइदिनुभएको थियो । उक्त सम्पादक मण्डलमा डा.गोविन्दराज भट्टराई, चूडामणि गौतम, डा.राजेन्द्र विमल तथा शरच्चन्द्र वस्ती (संयोजक तथा सम्पादक) थियौं । त्यसपश्चात् हामी दुई (शरच्चन्द्र वस्ती र म चूडामणि गौतम) ले केही समय सो शब्दकोशको प्रारम्भिक काम पनि गर्‍यौं । तर विविध कारणवश शब्दकोशको काम अघि बढ्न सकेन ।

वि.सं.२०६७ देखि अंग्रेजी लेखन थपक्क थन्क्याएर नेपाली भाषामा घोत्लन थालेको कुरा मैले माथि लेखिसकेकै छु । यसबीच उक्त कार्य अघि बढ्न नसकेपछि म बालकृष्ण गुरुद्वारा दिइएको निर्देशन साकार हुने गरी ‘बृहत्तर नेपाली शब्दकोश’ निर्माणमा एकोहोरिएँ र वि.सं.२०७९ मा त्यसको प्रकाशन गर्न सफल भएँ । यसप्रकार, शब्दकोश निर्माणमा, स्नातक तहमा मलाई पढाउने मेरा आदरणीय गुरु एवं नेपालीका सर्वोच्च भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको उत्तराधिकारी हुन पाएकोमा मलाई असीम गर्वको अनुभूति भएको छ ।

‘बृहत्तर नेपाली शब्दकोश’ को तयारी गर्दा मैले कहिल्यै नबेहोरेको फजिती पनि भोग्नुपरेको थियो । कोरोना–१९ को प्रकोपपछि वि.सं.२०७६ चैत्र ११ गतेदेखि नेपाल सरकारले मानिसहरूलाई घरबाट बाहिर निस्कन निषेध गर्‍यो । अरू सबैलाई असजिलो लागेको पनि थियो होला । तर, मलाई भने नकारात्मक कुराले पनि सकारात्मक परिणाम दिंदो रहेछ भन्ने शुभ संकेत मिल्यो ।

म त्यसै दिन बिहानदेखि देवदेवीको पूजा सकी जलपान गरेर ८ बजेदेखि आफ्नो घरको माथिल्लो तलामा रहेको ल्यापटपमा काम गर्न थालें । यसरी रातको १० बजेसम्म काम गरिरहन्थें । दिउँसोको खाना, चिया, खाजा र विश्रामका लागि २ घण्टा कटाउँदा प्रत्येक दिन १२ घण्टा तल्लीन भएर काम गर्थें । चार वर्षसम्म यसरी अनवरत खटेर काम गर्दा ‘बृहत्तर नेपाली शब्दकोश’ नेपाली पाठकहरू सामु प्रकाशमा ल्याउन सम्भव भयो ।

वि.सं.२०८१ आषाढ ९ गतेका दिन सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाली वर्णविन्यासको विकृतिविरुद्ध फैसला दिएको छ, जुन हामीले पहिल्यैदेखि प्रयोग गर्ने गरेको शिष्ट परम्पराको अनुकूल हुन आएको छ । यसपछि, प्रज्ञा प्रतिष्ठान लगायत भाषा भाँड्नेहरूले व्यक्तिगत वा सामूहिक रूपमा निकालेका ‘अशुद्ध हिज्जे भएका’ अरू सबै शब्दकोश गलत ठहरिएर चूडामणि गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ मात्र विश्वका विभिन्न देश वा भागमा फैलिएर रहेका करीब ४ करोड नेपालीहरूको साझा शब्दकोश बन्न पुगेको छ । नेपालीहरूका लागि यो गौरवको प्राप्ति हो भन्ने ठान्दछु ।

थप महत्त्वपूर्ण कुरो त के भने इण्डिया, असमको ‘गुवाहाटी विश्वविद्यालय’ ले यसै शब्दकोशको आधारमा आफ्नो शब्दकोश तयार गर्न शुरू गरिसकेको छ । नेपाली भाषासँग सरोकार राख्ने उक्त कार्य सम्पूर्ण नेपालीहरूका लागि अत्यन्त उपयोगी हुन सकोस् भन्ने मलाई पूर्ण विश्वास तथा भरोसा पनि छ ।

कुरा यत्ति हुन् ।

(‘रचना’ को भाषा विशेषांक (भदौ-असोज २०८१) मा प्रकाशित ।)

रचना मितिः २०८१ भदौ १७ गते सोमवार

===

(भाषाविद् चूडामणि गौतमलाई हामीले व्यक्तिका रूपमा गुमाएका छाैं, तर व्यक्तित्वका रूपमा सधैँ हामीसँगै रहनुहुनेछ । उहाँका कीर्ति सदैव हामीसँगै रहनेछन् । यो सम्भवतः उहाँको भाषा सम्बन्धी अन्तिम आलेख हो । उहाँका कुरा मनन गरौँ, भाषा जोगाऔँ । – सम्पादक)