बलिवेदीबाट एक्कासि उडेको आर्त–चीत्कारले छोइएर मेरा पतिज्यू मूर्छा पर्नुहुन्छ । एक त अजङको गुफा, तर्साउने खालको अँध्यारो, त्यसमाथि गुफाभित्र गुम्सिन थालेदेखिकै रोगी भएको उहाँ, म बहिरी यस्तोमा मूर्छा पर्नु अनौठो कुरो होइन तर उहाँको मूर्छा साह्रै डरलाग्दो किसिमको छ । पानीको खाँचो छ उहाँलाई ।
उहाँलाई चकमन्नमा सुताएर मभित्रको पत्नीत्व पानी खोज्न भौँतारिन्छ । छिः यो गुफा पनि कस्तो ! पानीको सम्भावना मेटिएझैँ लाग्छ । यताहुँदो कतै गुफाभित्रै त छ बलिवेदी ।
बलिको निम्ति ल्याइएकोलाई पर्साउने चलन त हुँदै होला । बासँग उहिले–उहिले बलि लिएर जाँदा पर्साउने गरेको देखेकी थिएँ, तर आजभोलिको हिसाबअनुसार म बूढी रे !
सिउँदोमा सिन्दूर पर्नुभन्दा पहिलेको विचार हुन सक्छ, आजभोलिको विचारसँग नमिल्ला । जे होस्, पर्साउने चलन बाँचेकै छ भने निश्चय नै कतै न कतै पानी हुनैपर्छ ।
तर पानी देखिँदैन, बरु देखिन थाल्छन् मान्छेहरू । मेरो विवाह हुनुभन्दा पहिलेका किसिमका मान्छे होइनन्, आजभोलिका किसिमका मान्छेहरू जिङ्ग्रिङ्ङ कपाल, ओठमा कलेँटी अनि अनुहारभरि छ्यापछ्याप्ती अँधेरो तर पढे–लेखेका, जान्ने सुन्ने ।
यस्ता किसिमकाहरूलाई त सत्ते–सत्ते देखेकी थिइनँ बाका पालामा । त्यतिखेर हो, पढाइ भन्ने कुरो ‘दुर्गा–कवच’ वा चार–पासमा सीमित थियो, तापनि उनीहरूका अनुहारमा आजभोलिको जस्तो अँधेरोको मोसो थिएन ।
निहुरिएको शिर निहुरिएकै छाती । के किसिमको आतङ्क ओच्छिएको छ यस गुफाभित्र कुन्नि, ती सबैका सबै अनुहारहरू एउटै लाममा गुथिँदै जान्छन् । गुथिँएकाहरूको उमेर मेरो कान्छो भाइको उमेरको वरपर छ ।
समय केही बित्ता अझ पर पुगेपछि क्रमशः जुलुसको रूपमा चोला फेर्दै जान्छ त्यो लाम । हेर्दा–हेर्दा त्यो जुलुस त्यस गुफाको साँगुरो गल्लीभित्र पस्न थाल्छ ।
जुलुस त पहिले-पहिले पनि देखेकी हुँ मैले । पहिलेपहिलेको जुलुस र आजभोलिको जुलुसको बीचमा ठूलो अन्तर छ । पछाडि फर्कने इच्छा छैन मेरो । फेरि पनि केही न केही खड्कन्छ ।
जुलुसमा न मागहरू लेखिएका पोस्टरहरू नै देखिइरहेका छन्, न त गुञ्जिरहेका छन् मागहरूका नारा नै । कस्तो किसिमको जुलुस हो यो कुन्नि । भाग लिनेहरू सबका सब मौन छन्, चकमन्न छन् र चिसा छन् ।
त्यस किसिमको जुलुसतिर टीकाटिप्पणी उडाइदिनुपर्ने हो मैले । आजभोलिकाहरू अलिकति कुरामा टीकाटिप्पणी गरिहाल्छन् । त्यसो गर्न खप्पिस स्वास्नीमान्छेहरू कति छन् कति ।
पढे–लेखेकी त म पनि हुँ । उनीहरूलाई पनि तर्साउने किसिमले मैले पनि टीकाटिप्पणी गर्नुपर्ने हो, तर त्यसो गर्ने इच्छा छैन । इच्छालाई बिम्झाउने चेष्टा गरूँ भने पनि म शताब्दी होइन, पत्नी हुँ ।
मभित्र सुरक्षित पत्नीत्व मूर्छा परिरहनुभएको पतिको निम्ति पानीको खोजीमा छ । हो पानी ! पानी सञ्जीवनी हुन सक्तछ उहाँको निम्ति ।
जुलुसमा सामेल भएका ती अनुहारहरूले पनि पानी खाएकै होलान् । पानी खाएर नै जुलुसमा भाग लिन सक्ने उमेरका भएका होलान् । पानी त जीवनको निम्ति नभइनहुने वस्तु हो ।
मेरा बाबुबाजेका पालासम्म त पानीको सदाबर्त पनि थियो । पत्नी नै भए पनि म आमाजातकी । हिजोआज न पानीमा बन्देज पो छ कि ! आमाजातकीको विचार गर्ने विषय हो यो । आमाजातकी भएकीले त्यस सम्बन्धको मेरो अटकल धमिलो छ, तर गुफाभित्रको यो साँगुरो बाटोसँग यी परिचित छन् भने पानीबारेमा परिचित छैनन् भनेर कुन किसिमले विश्वास गर्ने ?
सोधपुछ गर्ने नियतले म जुलुसमा मिसिन पुग्छु, तर फेरि पनि पहिले जस्तै नै मौन छ, चकमन्न छ त्यो जुलुस । बरु निर्णयको अन्तरङ्ग क्षणमा यी कुराहरू स्वीकार गर्नैपर्छ कि मैले त्यो जुलुस बरु मेरो प्रश्नले अप्रसन्न भएको छ भन्ने कुरा हो, उनीहरू मेरो पानीसम्बन्धी खोजीनितीले खुशी हुन सकेका छैनन्, किनभने उनीहरूको स्वीकारिएको सम्मोहनलाई भाँच्ने पक्षमा छैनन् उनीहरू, न त खण्डित हुन दिने पक्षमा नै छन् उनीहरूबाट अङ्गालो मारिएको चकमन्न स्थितिलाई । मौनमा चिप्लिएको चिप्लियै हराउँदै जान्छन् उनीहरू त्यो साँगुरो सुरुङभित्र ।
यस्तो स्थितिमा मभित्रको पत्नीत्व झन् साह्रो जिज्ञासु बन्नुपर्ने हो । मौनको त्यो स्थिति निश्चय नै जिज्ञासालाई काउकुती लगाइदिने खालको छ, तर पतिज्यू डरलाग्दो किसिमले मूर्छा पर्नुभएको छ ।
उहाँ मेरो आत्माको मधुर स्मृति । पानी पतिको मूर्छाजन्य स्थितिको निम्ति साह्रै ठूलो औषधि । पानीबारेमा चिन्तालाई छाडेर कसरी यो जुलुसलाई छामछामछुमछुम गर्ने मैले !
जुलुस पातलिँदै जान्छ । पातलो हुँदाहुँदै गुफाको गल्ली भित्रभित्रै हराउँछ ।
त्यो दिशालाई छाडेर पानी खोज्ने विचारले म फेरि अर्को दिशातर्फ हानिन्छु । जहाँ जीवन छ, त्यहाँ पानी त फेला पर्नु नै पर्ने हो, तर त्यतातिर पनि पानी देखिंदैन । न कसैले पानीमाथि पनि एकाधिपत्य कायम गर्दिइसकेको छ कि ! त्यसैले पो हो कि पानी नदेखिएको, असम्भव केही छैन ।
वैज्ञानिक युग न ठहर्यो यो ! मान्छेको खुट्टाले चन्द्रलोकलाई टेकेको बेला के ठेगान पानीलाई छोप्न न कुनै विशाल बिर्कोको आविष्कार पो भएको छ कि ! जे होस्, टाढा-टाढासम्म पनि पानी देखिंदैन ।
यस गुफाभित्र बाटोका कति हाँगा फाटेका छन् कति । त्यस बाटोमा पानी फेला नपरे अर्को बाटोमा त पाइएला नि । म फेरि अर्कोतर्फको बाटो समात्छु, तर यता पनि पानी देखिंदैन । बाटो साह्रै जेलिएको छ । हुन सक्छ— न बाटो बिराइरहेकी छु कि !
पानी पाइँदै पाइन्न । पानीको सट्टा बरु देखिन्छ एउटा भलादमी किसिमको व्यक्ति, तर ऊ चौबाटोमा किन पो उभिइरहेको होला कुन्नि ! निश्चय नै यो उत्सुकताको विषय हो ।
चौबाटोमा या त ट्राफिक पुलिसका सिपाही उभिने गर्छन् या त चौकिदार । खबरदार ! तर उसको हुलिया त्यस्तो खालको छैन । ट्राफिक पुलिसको सिपाही वा चौकिदार भए निश्चय पनि इशारा समातेको हात मतिर उठ्ने थियो ।
लौ, उसको अनुहारमा पनि मौन टाँसिएको रहेछ । अब परेन फसाद । यस गुफाभित्र के तत्त्व छ कुन्नि ! जोकोही पनि मौन अनि सम्मोहित झैँ देखिन्छन् । उसले पनि मुख खोलेन भने मेरा मूर्छा परिरहनुभएका पतिज्यूलाई पानी कसरी पुर्याउने !
तर आत्तिहाल्नुपर्ने कुरा छैन । ऊ मौन भए पनि उसको अनुहारमा जुलुसमा भाग लिनेहरूको अनुहारमा झैँ अँधेरो पत्र टाँसिएको देखिँदैन । बरु टाँसिएको छ गम्भीर किसिमको उज्यालो ।
मौनमा पनि यस्ता उज्याला देखिनेहरूसँग धेरै–धेरै गुह्य कुराहरूको ज्ञान हुन्छ भन्ने सुनेकी थिएँ मैले बाका पालामा । के ठेगान ! यो आकृति मेरा मूर्छा परिरहनुभएका पतिज्यूको धन्वन्तरी हुन सक्तछ कि ! पानीबारे अवश्य नै थाहा हुनुपर्छ उसलाई ।
पतिज्यूको स्थितिमाथि प्रकाश पार्ने उसको अगाडि पानीसम्बन्धी प्रश्नको पोको फुकाल्न थाल्छु, तर ऊ कस्तो किसिमको मौनमा बाँधिएको छ कुन्नि, मेरो प्रश्नले छोइँदै छोइन्न, तर यो चौबाटो हो, एकान्त कुञ्ज होइन, चौबाटोमा मौन टिक्न सक्तैन ।
पतिज्यु मूर्छा पर्नुभएको भए तापनि मेरो बुद्धिसम्मत चेतना शून्य भइसकेको छैन । मेरो बुद्धिअनुसार त्यस्तो किसिमको मौन बकुल्ले मौन पनि हुन सक्तछ ।
हरेश खाइहाल्दिनँ म । फेरि र फेरि पनि पानीसम्बन्धी प्रश्नले उसलाई कोट्याउने चेष्टा गर्छु म । फेरि पनि उसको अनुहारको रङ मौनलाई खण्डित गर्ने पक्षमा भएजस्तो देखिँदैन । हुन सक्तछ ऊ ज्यादै उच्च स्तरको भलादमी होओस्, मेरो भाषा उसलाई छुने खालको नहोओस् ।
हो, मेरो भाषा पर्वते खोलाको आवाजजस्तो छ । यस तथ्यलाई मैले पनि स्विकारेकी छु । मेरा पतिज्यूको भाषा पनि केही त्यस्तै किसिमको छ । सुनेकी थिएँ— त्यस्ता किसिमका अनुहारहरू दार्शनिक र आलङ्कारिक भाषा रुचाउँछन् भन्ने । हुन सक्तछ— म स्वयम् पनि उसको सम्बन्धमा भ्रममा परेकी । जो सोचिरहेकी छु त्यो नभएर अर्थोकै कुरा पनि त हुन सक्तछ ।
हुन सक्तछ— उसको कानको जाली नै फुटेको ! हुन सक्तछ कुनै रहरलाग्दो आवाज सुनिरहेको । फेरि हुन सक्तछ, जोकोहीसँग बोल्ने झन्झट बेसाउनुभन्दा त चूप लाग्नु नै बेस भन्ठानेको पनि ।
तर म मूर्छा परिरहेका पतिकी पत्नी । मभित्रको पत्नीत्व सभ्यताको नाममा चूप लाग्न सक्तैन । पतिज्यूका निम्ति पानी अमृततुल्य । म उसलाई झिँजोल्न छाड्दिनँ ।
जे होस्, मौन भाँच्न बाध्य भइहाल्छ ऊ । मौनमा टाँसिएर पीडाजनक आवाज सुनिरहेको थियो रे ऊ । मेरो झिँजोलो उसलाई रुचिकर हुँदैन, तर म आफैंमा छु । आफ्नै धुनमा हुन्छु । त्यस किसिमको मेरो धृष्टतामाथि सम्भवतः उसलाई झोँक चल्छ ।
खास कुरो त के भने मभित्रको पत्नीत्वको ‘पति–पति’ भन्ने रटनालाई ऊ पटक्कै मन पराउँदैन । उसको भनाइअनुसार त न मैले मेरा पतिज्यूलाई चिनेकी छु, न मेरा पतिज्यूले नै मलाई चिन्नुभएको छ । हामी दुवै स्वयम् पनि आफैँलाई चिन्दैनौं भने फेरि चिनेको छ भन्ने दावा गर्नु नै झूटो कुरा हो रे !
तर मलाई उसको दार्शनिक कुरो होइन, यतिखेर पानी चाहिएको छ । म गिडगिडाइहाल्छु— “तपाईंलाई धर्म हुन्छ, बिन्ती, यत्ति त भनिदिनुहोस् यहाँ पानी कहाँ पाइन्छ ?”
“पानी ! पानी ! कति पानीको रटना”— ऊ फेरि आफ्नो बुद्धिमत्ता थोपर्ने चेष्टा गर्छ, “तिमीहरूले साँच्चो किसिमले एक–दोस्रालाई चिनेको भए तिमीहरूलाई यसरी पानीको प्रश्नले पिरोल्ने थिएन ।”
“हरे ! तपाईं किन बुझ्नुहुन्न, मेरो पतिको मूर्छा डरलाग्दो किसिमको छ । मलाई पानी चाहिएको छ”— केही उत्तेजित हुन्छु म ।
“यहाँ पानी पाइँदैन ।”
उसको नकारात्मक उत्तरले म चिसिन्छु । सम्भवतः मेरो अनुहारमा ओछिन थालेको चिसो छाया पग्लिन थाल्छ क्यारे । केहीछिनपछि ऊ फेरि मौन भाँच्छ— “तर एउटा उपाय छ पानी पाउने ।”
“त्यस्तो के उपाय छ ?” म उत्सुक हुन्छु ।
“तिमीले आफूलाई बलि दिनुपर्छ ।”
“बलि ?”
“हो बलि । तिम्रो नैतिकताको बलि ।”
म मानौँ आकाशबाट खसेर भुइँमा थचारिन पुग्छु, तर ऊ फेरि तटस्थ भइदिन्छ । हरे ! उसको त्यो तटस्थपन कति चिमोट्ने खालको छ । सम्भवतः ऊ फेरि मौनमा चिप्लेटी खेलेर आवाज सुन्न थाल्नेछ ।
मभित्रको पत्नीत्वलाई अब कुनै सन्देह रहँदैन कि ऊ आवाजप्रिय मान्छे हो भन्ने कुरा । हो, ऊ आवाजप्रिय हो । त्यो पनि पीडाजनक आवाजप्रिय । पीडाजनक आवाज जन्माउन ऊजस्तोबाट कसैको घाँटी थिचिन सक्तछ, कसैको घरमा आगो लाग्न सक्तछ, कसैमाथि कोर्रा बर्सन सक्तछ ।
उसको त्यो रूपलाई अनुभव गरेर तर्सनुपर्ने हो म, तर्सिएर भाग्नुपर्ने हो, तर मलाई पानीको खाँचो छ, साँच्ची–साँच्ची खाँचो छ । मेरा पतिज्यूको मूर्छा साह्रै नै डरलाग्दो किसिमको छ । यति खेरसम्म ऊ मौनमा जमिसकेको छैन । मौनमा जमिहाल्यो भने फेरि झन् ठूलो फसाद !
म आफूभित्र कम्प फुटेझैँ अनुभव गर्छु । उसलाई मौन हुन दिने पक्षमा जान सक्तिनँ म । उसलाई झिँजोल्दै फेरि भन्छु— “म तयार छु बलि हुन ।”
“त्यसो भए लौ आऊ, म तिमीलाई बलिवेदी देखाइदिन्छु ।” ऊ बोल्छ । म सम्मोहित झैँ उसको पछि लाग्दै जान्छु । ऊ त्यही साँगुरो गल्लीभित्र पस्छ, जहाँ मेरो बोधमा टाँसिएको एउटा सिङ्गो जुलुस नै हराएको थियो ।
उसको र मेरो बीचको दूरीलाई पुछ्ने हो भने उसको आवाजप्रियताको सम्बन्धमा कुराकानी गर्न सकिन्छ, तर पटक्कै ओठ खुल्दैन मेरो । म स्वयम् मौनलाई नै सहायक स्थिति मान्न पुग्छु–मौनमा लिप्सिएको लिप्सियै ।
सन्तोष मान्नुपर्छ मैले, बलिवेदीमा आउने एक्ली म मात्र होइन । बलि हुन चाहनेहरूको एउटा लाम नै छ । राम्रो कुरा हो— लाममा गुथिएकाहरू इन्द्रियबोधलाई मार्न सहायक सिद्ध हुन सक्तछन्, नत्र त इन्द्रियबोधको आँखामा छारो हाल्न साह्रै–साह्रै मुश्किल ।
बलिवेदीमा सम्भवतः कसैमाथि प्रहार हुन्छ क्यारे । त्यहाँबाट उडेको अति चीत्कारले मेरा पतिज्यू छोइनुभएझैँ म स्वयम् पनि छोइन्छु । पतिज्यू मूर्छा पर्नुभएको भए तापनि म मूर्छा पर्दिनँ । मूर्छा परेँ भने पतिज्यूको मूर्छा कसले बिम्झाउने ! यस्तोमा सम्हालिन सक्नुपर्छ मैले ।
यतिखेर त्यो आवाजप्रिय व्यक्ति यहाँ उपस्थित भइरहेको भए त्यस सम्बन्धमा केही उपाय भनिदिने थियो होला, तर ऊ कुन्नि कता पो हराएको छ— लामलाई हेर्न व्यस्त भइरहेका मेरा आँखालाई छलेर ।
अब म लामतिर आँखा चिप्लाउन छाडिदिन्छु । लाममा ती अनुहारहरू पनि सामेल थिए, जसलाई मैले जुलुसमा देखेकी थिएँ । तर यो लाम ज्यादै ठूलो छ । मेरो बोधको जुलुसजस्तो बन्न सक्छ यो लामबाट । साँच्ची कतिबेरसम्मको समय लिने हो बलिको निमित्त यस लामले ! हुन सक्तछ, यस समयभित्र सयौँ सयौँ सूर्य मरोस्, मरेर फेरि जन्म लियोस् ।
तर मेरा पतिको मूर्छा डरलाग्दो मात्र होइन, साह्रै डरलाग्दो किसिमको छ । समयभित्र पानी पुर्याउन सकिनँ भने चकमन्नमा सुतिरहनुभएको उहाँ सधैँ सधैँका निमित्त चकमन्न हुन के बेर ! छिटो सकेसम्म छिटो बलि हुनुपरेको छ मैले, तर मेरो अगाडि बलि हुनेहरूको यत्रो हूल, म भने स्वास्नीमान्छे ! सम्भव होला जस्तो लाग्दैन मलाई ।
त्यो आवाजप्रिय अनुहार अगाडि भइदिएको भए त्यस सम्बन्धमा पनि कुनै उपाय भनिदिने थियो कि ! तर ऊ त आफ्नै ठाउँमा मौनमा चिप्लिएर पीडाजनक आवाज सुन्दै होला । सुनेर त्यसै–त्यसै आनन्दित भइरहेको होला ।
म फेरि लामका अनुहारहरूलाई छाम्ने प्रयत्न गर्न थाल्छु । लामका साराका सारा व्यक्ति आआफ्नै पालोको निम्ति हतारिएका छन् भने मलाई पहिलो मौका दिने नै कसले !
बरु लामका अनुहारतिर बरालिनुभन्दा लाममा गुथिनु नै बेस । मौका चुक्यो भने झन्झन् पछि पर्ने सम्भावना छ । झन्झन् थपिँदै गइरहेको छ लाम । म लाममा गुथिन्छु । मेरो अगाडि लाममा गुथिएका सबैका सबै टाउकाहरू मलाई यमदूतको टाउकोमा साटिँदै गएझैँ अनुभव हुन थाल्छ ।
यमदूतको टाउकोमा साटिएर कालपास मेरा पतिज्यूलाई ताकेर हुर्याउने जमर्को लिएझैँ लाग्छ, तर त्यस्तो लागेर पो के हुन्छ ! कुनै जादू शक्तिले मेरो अगाडिको त्यो लाम भत्किने होइन क्यारे ! न कुनै जादू शक्तिले बलिको निम्ति मलाई उडाएर बलिवेदीनिर पुर्याइदिन सक्छ ।
अगाडिकाहरूको नैतिक हत्या होइन सकुन्ज्याल आफ्नो नैतिक हत्याको निमित्त बाध्यता, कस्तो किसिमको विवशता । कुन्नि कतिन्ज्यालसम्म पर्खनुपर्ने हो । तर म पर्खिन्छु ।
सन्तोषलाग्दो के छ भने मेरो पछाडि पनि बलि हुन चाहना राख्नेहरूको लाम बढ्दै गइरहेको छ । त्यसको अन्त्य कहाँ पो हुने हो कुन्नि, त्यो मलाई थाहा छैन । म पर्खिन्छु । मेरा अगाडिका पनि पर्खिरहेछन् र मेरा पछाडिकाहरू पनि पर्खिरहेछन् पानी, लगातार… अनवरत… ।
(दौलतविक्रम विष्टको कथासंग्रह ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ बाट ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










