म निराश भएर त्यो ग्याँस च्याम्बरमा फर्किन बाध्य छु । यस्सो हेर्दा, त्यो ग्याँस च्याम्बर सात सितारा होटल भन्दा भव्य लागे पनि भित्र बस्नेहरू कसरी निस्सासिएर मर्ने गर्छन्, त्यसको हेक्का राख्ने दुःख कसैले किन गर्थ्यो ? मैले उम्किएर आमाको काखमा चिर विश्रान्ति खोजें, तर मेरी आफ्नै आमाले मलाई फेरि त्यसै ग्याँस च्याम्बरमा हुल्दै छिन्, मेरो करूण चीत्कार सुनेर पनि नसुनेझैं गरेर अब म मुक्ति खोज्न कहाँ जाऊँ ?
यसै मुक्तिको खोजीमा त मैले माइत भनिने बैकुण्ठमा पाइला टेक्ने दुस्साहस गरेकी थिएँ । ‘एक्कासि किन आइपुगिस् ?’ भन्ने आमाको धारिलो प्रश्नको जवाफमा जब मैले ‘अब म यहीं बस्छु, त्यो नर्कमा फर्किन्न’ भनेर जवाफ दिएकी थिएँ, आमाले ट्वाल्ल परेर एकछिन तलदेखि माथिसम्म नियालिराख्नुभयो, विस्मय र विक्षोभमा । मैले आफ्नो सानो हरियो झोला र सातवर्षे कलिलो छोरो त्यही बिसाएँ । मेरो लागि खाट-पलङको त कुरै छैन, कुनै कोठा खाली थिएन । छोरा अतुल्य र मलाई बूढा बावु आमाकै ओछ्यानमा अटेसमटेस गरी सुत्ने ठाउँसम्म दिइयो आमाको मायाले ।
राति सुत्ने बेलामा बुवाले बुझाउन खोज्नुभयो, ‘छोरी तैंले धेरै नजाती गरिस् । यसरी घर छाडेर हिंड्नु कुल घरानकी छोरीको लच्छिन होइन ।’ जवाफमा म हुँक्क-हुँक्क गरी रून थालें । मेरो छोरो अतुल्य मेरो जीउमा झन् लप्रक्क भिजेको मजेत्रोझैं ल्याप्प टाँसियो ।
आमाले पनि भन्नुभयो, ‘दुई-दुईवटा लोग्ने गरिस्, अझ कतिवटा गर्छेस् ? जुन दिनदेखि एउटा लोग्ने छोडेर अर्को गरिस्, तेरा दाजु-भाउजूहरू तँलाई फुटेका आँखा देख्न सक्तैनन् । यहाँ दुःख पाउँछेस् । फर्किएर जा ।’
‘दुई-दुईवटा लोग्ने’ पदावली सुन्दा मलाई छातीमा दुई-दुई सय घन बज्रिएको असह्य पीडा भयो ।
बुवा घुर्दै हुनुहुन्छ र आमा निधाएको जस्तो गरी कोल्टोपछि कोल्टो फेर्दै हुनुहुन्छ । ‘दुई-दुईटा विवाह’ भन्ने पदावलीले म अहिलेसम्म रन्थनिएकी छु । म अनुभव गर्दैछु, ग्याँसच्याम्बर कतै बाहिर होइन रहेछ, मेरो छातीभत्रै छ क्यार । म फेरि निस्सासिन थाल्छु । आँखाबाट आँसुको छद्म रूप लिएर आगो र धूवाँका मुस्ला निस्किन्छन् क्यार । ती मुस्लाबाट चित्रहरू बन्छन्, प्रेत जस्ता भयावह चित्रहरू र मलाई तर्साउँछन् ।
नौमती बाजा झ्याइँझ्याइँ बजाएर, बडो शाही ठाँटले बिहा भएको चित्र… यज्ञमण्डपमा मसँगै वैदिक विधिहरू सम्पादन गरिराख्ने एउटा पुड्को युवकको चित्र पहिलो मिलनमा त्यो ‘लोग्ने’ नामधारी पुड्को युवकले रातभरि शिवपुराणका कथाहरू बलजफती निद्रा भङ्ग गरी सुनाएको र मिर्मिरे हुन लाग्दा हाँस्तै आफ्नो रातो लंगोटी देखाएर, ‘म लंगोटको पक्का हुँ’ भनेर कोठाबाट फुत्त निस्केको र छेउको कुनै कोठामा ‘बम-बम-बम ब्रुम्’ गरेको र त्यो सुन्दा किन हो किन बर्षौंदेखि साँचिएका मेरा सपनै सपनाका अनन्त इन्द्रेणीहरू आँखाबाट बलिन्द्र धारा आँसु भएर एकान्त कोठाको एक्लो पलङमाथि अविरल बर्सिरहेको चित्र सपनाका चिताबाट उठ्ने धूवाँका मुस्लाबाट बन्ने यी चित्रहरूले मलाई आज पनि सुत्न दिने छैनन् ।
आखिर त्यस ‘बमभोले’ पति र उनको घरसित यति असह्य घृणा किन भयो मलाई ? – म एक पटक फेरि कुनै अल्झिएको धागो सुल्झाउने व्यसनजस्तो चेष्टामा झन् अल्झिंदै जान्छु, जानी- जानी । के त्यस पतिसित कुनै नवयौवना पत्नी जीवन निर्वाह गर्न सक्छ, जो लंगोटको पक्का होस् ? स्त्रीमा रूचि जसले सकी नसकी मार्ने खोजेको होस् ? उसले संकेत पनि गरेकी थिई त्यो मूढलाई, ‘उपवास बस्न सकिन्छ, भोकभोकै मर्न सकिन्न ।’
अनि, केही सीप नलागी चाहिएको बेला सर्वाङ्ग निर्वस्त्र भएर मैले आफ्नो नारीत्वको अर्थ छाम्थें, खोस्थे, सम्पूर्ण नारी सम्मान, लज्जाभूषण र स्वाभिमानको बलि दिएर । एउटा नागाबाबाको प्रभावमा आएर त्यो स्वाँठले दुवै हातमा एक-एकवटा डमरू लिएर डिमडिम-डिमडिम बजाउँदै, ‘बम-बम ब्रुम’ कराउँदै दिनहुँ एक घण्टा आँगनदेखि करेसाबारी, बार्दली, कोठा चोकसम्म ओहोरदोहोर गरी उफ्रिंदै ताण्डव गर्दथ्यो र त्यस बेलामा उसको लंगोटीतिर हेरिहन्थें, कुनै रहस्य पत्ता लगाउने दृष्टिले ।
मैले त्यसै बेला आमासित भनेकी पनि थिएँ, ‘आमा, अढाइ किलोको हाइड्रोसिल लिएर त्यो हिजडा जब मसित सुत्न आउँछ, मलाई छाद आउला जस्तो हुन्छ । झन् नागाबाबाको संगतमा गाँजा तानेर आउँछ र मभन्दा दुई हात पर गएर भुक्लुक्क लड्छ; फेरि एकाबिहानै उठेर डमरू-कमण्डलु लिएर नागाबाबाको सेवामा हिंडिहाल्छ ।’
तर आमाले घरको इज्जत, शास्त्र-पुराणमा वर्णित पाप-पुण्यका कुरा सम्झाएर मेरो मुखमा बुजो कोच्नुभयो । मेरो नारीत्वमा कुनै खोट नभए पनि दुई वर्षसम्म कुनै सन्तान नपाउँदा जब उल्टै मलाई धामी-झाँक्रीकहाँ घिसारिन थालियो र उनीहरूमध्ये धेरैले मेरो तातो मासुमा ठुङ्ने प्रयास गरे, मैले परिस्थितिसित समझौता पनि गरें र घिन लाग्दालाग्दै उनको पौरूष-केन्द्र उत्थित गर्न सफल पनि भएँ । … ‘
यति मात्र सोचेकी थिएँ, आमा एक पटक ओछ्यानमा चल्मलाउनुभयो । छोरो अतुल्यले मेरो पेट छाम्यो । यो उसको बानी हो । आमा एक पटक कन्नुभयो र उठेर बस्नुभयो, ‘सुत्या छैनस् ? दुई बज्यो होला, सूत्, बेरामी हुन्छेस् ।’
मैले भनें, ‘आमा, मेरो पहिलो विवाहमा हजुरहरूले मात्र घर र पद हेरिसियो .. मैले के पाएँ, डेढ बित्ते सनकी र पुड्को लोग्ने, जसको गोजी रित्तो र लंगोट प्यारो थियो । भनिएको थियो, केटाले क्याम्पसमा पढाउँछ रे, तर पछि भेद खुल्यो, प्राइवेट क्याम्पसमा ज्यालादारीमा पढाउँदो रहेछ । सातामा एक-दुई कक्षा पाउँथ्यो, कहिलेकाहीं एक-दुई हजार कमाउँथ्यो । उसको पैसाले एक थान लिपेस्टिकसम्म किन्ने रहर रहरै भयो । संगसंगै कतै घुम्न जाने, होटलमा चिया-कफी मात्र पनि खाने धोको मेटिएन .. दिनभरि नागाबाबाको संगत गाँजा र भाङमा रमाइरहने । उनकै संगतमा कमण्डलु र डमरू बोकेर मन्दिरै मन्दिर र तीर्थैतीर्थ घुम्ने व्यसन ।’
‘अब पुर्पुरोको लेख के थाहा पाउनु ?’ आमाले भन्नुभयो, ‘ससुरा कुनै बेला सिंहदरबारमा सचिव थिए, भन्थे । संधै हाँसिरहने । ‘हँसमुख बाजे’ भनेर नचिन्ने थोरै होलान् ।’
‘हो आमा, हाँस्थे । यसरी हाँस्थे कि हाँस्ताखेरी भुँडी मात्रै होइन, सिंगो अथुलाएको शरीर करेन्ट लागेजस्तो छिटोछिटो तल-माथि हल्लिन्थ्यो । चौबीस घण्टा मान्छेले घेरिएर बस्थे । सासू उल्टो । कम्मर र घुँडाको दुखाइले हिंडडुल गर्न नसक्ने । तर, जस्तोसुकै जाडोमा पनि नुहाउन नछोड्ने । दिनमा दश पटक हातगोडा धुनुपर्ने । सिन्का लिएर नङभित्रको एक-एक कण मयल झिकिरहन्थिन् दिनभरि । ठूली भक्तिनी एउटा व्रत पनि नछोड्ने । उसैको प्रभाव त छोरामा पनि थियो होला नि । छोरो ठूलो मातृभक्त थियो । आमालाई घाममा लगेर गुन्द्रीमा सुताउँथ्यो र सर्क्युको तेलले तिघ्रा-तिघ्रासम्म फरिया उचालेर मालिस गरिरहन्थ्यो । मेरो कुनै फिक्री थिएन ।
नागाबाबाको कुटीबाट घर फर्किंदा ‘आमा’ कि ‘आमा’, ओठैमा झुण्डिएको एउटा जेठान थिए । उनका दुवै किडनी फेल । डाक्टरले जवाफ दिइसकेको । उनले जोर-जोरले सास फेर्दा कामीको आरनमा खलाँतीबाट निस्किने आवाजजस्तो अनौठो आवाज निस्किन्थ्यो । सबै उनको मृत्युको प्रतीक्षामा थिए ।.. मेरो फाटेको चोलीमा कसैको ध्यान थिएन, तर बिहानदेखि मध्यरातसम्म मैले सबैको खटनमा बस्नुपर्थ्यो, सबैको सेवास्याहार गर्नुपर्थ्यो । त्यसै बेलामा म गर्भवती भएँ ।.. छोरी पाउने बेला सात दिनदेखि प्राणान्तक वेदना खपिरहेकी थिएँ । सुँडिनीले अस्पताल लैजानुपर्छ, पानी सुकिसक्यो, भनी ।
तर मेरा ससुरा-सासूले भन्थे, ‘खोइ, बमभोलेले यति दिनसम्म कमाएर दिएको पैसा .. लौ, भिक्, अहिले अस्पताल लैजान्छौं । हामीसित पैसा छैन । तर, बमभोले त्यसबेला कुनै मन्दिरमा गाँजा तानिरहेका थिए होलान् ।.. म पानीबाट झिकेको माछाझैं तडपिरहें । आखिर ईश्वरकै दया जाग्यो । सालनालसहित छोरीको जन्म भयो । घरमा त्यसबेला सुँडिनी पनि थिइन् । आधा घण्टाजति मेरी बच्ची चीसो भुँइमा छटपटाई । कसैले काखमा उठाएर स्याहार्थ्यो भने त्यो बाँच्थी होली, तर कसैले माया नगर्दा त्यो ढुङ्गाजस्ता मुटु भएकाहरूको घर छोडेर संसारबाटै बिदा लिई, आधा घण्टाभित्रै । यो सबै मैले मेरै आँखाले देख्नुपर्यो । सालनालभित्र छटपटाइरहेकी नवजात छोरी मेरी स्याहारबिना आधा घण्टाभित्र मरेकी मैले देखें ।
‘आमा, त्यसरात मेरो मुटु नै फुट्ला जस्तो भयो । त्यो परिवार प्रतिको मेरो घृणा चरम चुलीमा पुग्यो र मैले आत्महत्या गर्ने विचार गरें ।’ यति बोलिसकेपछि मैले रोक्तारोक्तै भक्कानो छुट्यो । म हवा-हवाँ गरी रून थालें । बुवा पनि ब्युँझनु भयो र अतालिएर ‘के भो ? के भो ??’ भनेर सोध्न थाल्नुभयो । आमाले सबैकुरा सुनाउनुभयो ।
‘तर अहिले यो केटोमा के भयो ?’ बुआले अलि सानो स्वरमा सोध्नुभयो । जेठी भाउजूले ढोकापारि ढुकेर कान थाप्नु भएको रहेछ, प्वाक्क बोल्नुभयो, ‘के भयो होला, यसबाट पनि धित मरेन होला ।’ यति भनेर उहाँ फटाफट आफ्नो कोठातिर हिंडेको दम्को सुने । कसैले मेरो मन बुझेको नपाउँदा झन् ठूलो स्वरमा रून थालें ।
‘हेर छोरी, म यो शिवपरिवारमा बस्तिन भनेर तैंले नै भन्या होइनस् ? अनि तैले नै जिद्दी गरेर मैले तँलाई त्यो वकीलकहाँ पारपाचुकेको मुद्दा हाल्न भनेर लगेको होइन ? गएको, पारपाचुकेको मुद्दाका लागि, भरे त्यसैलाई पोइ बनाइनौं ?
‘बुवा, मलाई के थाहा ? यो घर त्यो घरभन्दा पनि यन्त्रणादायक हुन्छ
भनेर ? छोरी जात भए पनि सम्मान र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भनेर हजुरहरूले नै सिकाइसिएन, हजुर ?’
‘हो, त्यसैले तँलाई एम. ए. सम्म पढाएको । तर यहाँ तँलाई त्यो दोस्रो पोइ, त्यो वकील स्वाभिमानमा कहाँ कसरी चोट पर्यो ?’
बुवा, हजुरले कसरी बुझिसिन्न ? मैले थाहा पाएँ, यसकी पहिली स्वास्नी किन छोडेर गई होली ?
‘किन ?’ यो स्वर आमाको थियो ।
‘पहिलो केटो लंगौटीको पक्का थियो, यो केटो लंगौटी खोलेरै हिंड्छ ? ‘यो भनेको को नि ?’ आमाले नै सोध्नुभयो ।
‘आमा, मलाई बुवाले वकीलकहाँ पारपाचुकेबारे सल्लाह लिन र मुद्दा हाल्न लिएर जानुहुन्थ्यो । दुई-चारदिन बुवाले लिएर जानुभयो र पछि भ्याउनुभएन । वकील तोयाराजले मलाई बेलाबेला फोन गरेर बोलाइरहन्थ्यो । एक्लै जानुपर्थ्यो । एक दिन मेरो बारेमा कुरा गर्दागर्दै रून थाल्यो- बाहुन भएर पनि सुनुवार केटीसित बिहा गरेको, केटी अर्कै केटो लिएर भागेकी, अहिले बूढाबूढी आमा-बाबु र स्वयं आफूलाई पनि बेलामा भात पकाइदिने मान्छे नभएर दुःख पाएको आदि बेलिविस्तार लाएर मेरो काखैमा घोप्टिएर वाँह्वाँह रून थाल्यो ।
मेरो माया उर्लेर आयो । उसले मलाई प्रभावित गर्न त्यो सुनुवार्नी केटीले छाडेर गएको हीरा र सुनैसुनका गहनाको बाकस पनि देखायो । वकालत गरेर महिनाको दुई लाख कमाएर पनि सुख नपाएको बयान सुन्दा मेरो मनमा टिठ मात्र नपलाई श्रद्धा जागेको थियो । झन् उसले पारपाचुकेपछि आफूसित बिहा गर्ने प्रस्ताव दिंदा त त्यो भगवानै लाग्यो ।
पारपाचुके पनि भयो, विवाह पनि भयो, तर त्यस भगवानको सैतान रूप विस्तारै खुल्दै गयो । पछि थाहा पाएँ, मेरो यो लोग्ने गुण्डो रहेछ, । जँड्याहा र जुवारे रहेछ । वादी र प्रतिवादी दुवैको पक्षमा कागज लेख्छ, किर्ते कागज गर्छ, क्लाइन्टहरूसित क्रूरतापूर्वक पैसा ठग्छ र सबै पैसा लिएर बारडान्समा डिस्कोमा, वेश्यावृतिमा उडाउँछ । यो सबै सहन नसकी र भविष्य असुरक्षित देखी मैले केयर नेपालको जागिर खाएँ, उसको इच्छा विरूद्ध …।
अब म विहानै अफिस जान्छु, बावु अतुल्यलाई तयार गरी स्कूल पठाउँछु । घरमा भात पकाएर उसको बावु आमालाई खान दिने मान्छे हुँदैन । अब मेरो संकट हेर्नुस् । बेलामा खान नपाएर उसका बाबु-आमाले दिनहुँ मलाई सराप्छन् र जागिर छोड्न कर गर्छन् ।
बारबाट धोकेर लर्बरिंदै आएको बेला यसै मुद्दामा मेरो लोग्नेले मलाई जगल्ट्याई-जगल्ट्याई, लछारपछार गरी लगभग प्रत्येक रात कुट्छ । अब म जागिर छोडूँ भने लोग्नेले म र मेरो छोरोलाई सुरक्षित भविष्य दिन्छ भन्ने भरोसा छैन । दिनुहँ कुटाइ पनि खान सक्तिन ।
मुद्दा हालेर पारपाचुके गरूँ भने समाजले हजुरहरू जस्तै मेरै चरित्रमा दोष लाउँछन् र भन्छन् – पहिलो लोग्नेलाई छोडी, दोस्रोलाई छोडी, यो नै उखरमाइली रहिछ, अनि के टिक्थी कुनै एउटा मर्दसँग ?’
म छँदाछँदै मेरो लोग्नेले यसरी छाडा भएर वेश्यावृत्तिमा सल्किंदा मेरो अहंमा चोट पर्छ – आखिर ममा केको कमी छ ? रूप छ, शिक्षा छ, जागीर छ, माया छ । ठाउँमा परेकी भए, मलाई पाएर मेरो लोग्नेले ममाथि कति गर्व गर्थ्यो बुवा ।’ यति भनेर म फेरि रुन थालें । रुँदारुँदा कहिले झकाएँ, थाहा भएन ।
– – – –
झ्यालबाट घरमा घाम छिरेपछि आँखा खुल्यो । यस्सो छामें, अतुल्य ओछ्यानमा थिएन । बाहिर निस्किएपछि, बार्दलीमा बसेको देखें बुवा-आमाको छेउमा । आँगन भतिज भतिजीहरू, दाजु- भाउजूहरूको कल्याङमल्याङले जीवन्त थियो । दाजु-भाउजू र बच्चाहरू चिया-बिस्कुट खाँदै थिए । बच्चाहरू स्कूल जाने, दाजु अफिस जाने, जेठी भाउजू खाना तयार पार्ने र कान्छी भाउजू पनि बृद्धबृद्धा सुरक्षा, बाल-अधिकार तथा महिला सशक्तीकरणका लागि समर्पित संस्था ‘आश्रय’ जाने तरखरमा हुनुहुन्थ्यो ।
तर मैले देखें, मेरा बृद्ध बुवा-आमालाई चियासम्मका लागि कसैले सोधेको थिएन । मलाई र अतुल्यलाई देखेर पनि सबैले नदेखेझैं गरे । आफ्नो अपमानभन्दा पनि बावुआमाको उपेक्षा देखेर मन रोयो । आज मेरै माइतमा खाने बेलामा सबै बच्चालाई दूध दिइयो, त्यहीं बसेको मेरो छोरो अतुल्यले अरूको बटुकातिर टुलुटुलु मात्र हेरिराख्यो । मलाई लाग्न थाल्यो, म माइत र घर दुवै ठाउँमा शरणार्थी हुँ, मेरो घर छैन । चार दिनदेखि लालबन्दी अफिसमा गएकी थिइन, आज पनि जान मन लागेन ।
बेलुकी स्कूलबाट फर्किएपछि सबै बच्चा आँप खाँदै थिए । अहिले फेरि अतुल्यले जेठो दाजुको छोरो चन्दूले आँप खाएको हेरी मात्र राख्यो । चन्दू झन् आँप देखाई-देखाई उसलाई जिस्काउँथ्यो, ‘खान्छस् ले कुकुर, चोयचोय…।’
मलाई अबोध अतुल्यको याचना दृष्टिमा माया लाग्यो । तीन दिनदेखि उसको लुगा फेर्न सकिएको थिएन । कमेजको सिलाइ उध्रिएको, दुईटा टाँक नभएको भए पनि मैले वास्ता नगरेकोमा ग्लानि भयो ।
भोलिपल्ट पनि अतुल्यलाई त्यहाँ छोडेर लालबन्दी जान मन लागेन, तर जागीर पनि छोड्ने अवस्था थिएन ।
आखिर, यसै जागीरको कुरामा घरमा यत्रो संग्राम मच्चिएको थियो । जानै पर्यो । छ बजेतिर सखुवाबजार, माइत फर्किएँ । घरको अगाडि अमारोको रूखमुनि जुन दृश्य देखें, मुटुमा पहिरो गयो । अबोध अतुल्यलाई धूलोको रासमा पछारेर मेरा भतीजाहरू उसलाई कुट्दै थिए । उनीहरूले जीउभरि उसलाई कोपरेका थिए । मलाई देख्नासाथ सबै भागे । बाबुलाई लिएर आँगनमा फर्किएँ ।
उसलाई किन यसरी कुटियो भन्ने कुराको खोतलखातल गर्दा जे सुने, त्यसबाट मर्माहत भएँ । सात वर्षे अतुल्यको अपराध आफ्नो मामाको पलङमाथि बस्नु थियो । चन्दूले पलङबाट ओर्लिने हुकुम दियो । अतुल्यले ‘म ओर्लिन्न, यो मोरो मामाको पलङ हो’ भन्यो । चन्दूले लात्ती हान्यो ।
जेठीले छोड्यौ चन्दू, यो आमा जस्तै थेत्तरो हो’ भन्नुभयो । अतुल्य रून थाल्यो, ‘मेरी आमा राम्री हुनुहुन्छ तपाईंहरू नराम्रो…’ मात्र के भनेको थियो, चन्दूले आफ्ना आमाकै अगाडि उसलाई भकुर्न थाल्यो । त्यसबेलासम्म कान्छी भाउजूका छोरा महेश, विक्रम र जेठीकी छोरी अंकिता र रोमिला पनि त्यहाँ पुगे । सबैले अतुल्यलाई लछारपछार गरेर आँगनबाहिर पठाइदिएका थिए ।
अतुल्य अमारोको रूखमुनि आएर उभियो र आमा गएको बाटोतिर हेर्न थाल्यो, आमा आउने प्रतीक्षामा । त्यसबेला महेश र विक्रम त्यहाँ आए । विक्रमले आफ्नो रातो पेन्सिल कटर अतुल्यको हातमा देख्यो, ‘ए चोर, मेरो कटर किन चोरिस् ?’ भनेर एक थप्पड गालामा हान्यो । अतुल्यले ‘म चोर होइन, तिमी चोर हौ, मैले कटर फालेको यहीं पाएँ र टिपें ।’ मात्र के भनेको थियो, सबैले मिलेर फेरि उसलाई मरलान्तक पारी कुटेका थिए ।
बुवा-आमालाई हेर्ने कोही थिएन । घरमा सबै जागीरे थिए, सबैको आफ्नो संसार थियो । बूढाबूढीले खाएको नखाएकोमा कसैलाई मतलब थिएन । आफैँलाई घिसार्दै बूढी आमा भान्सामा जानुहुन्थ्यो र बचे-खुचेको बाट बुवालाई खान ल्याइदिनुहुन्थ्यो । केही बाँकी नरहेको रात दुवैजना भोकभोकै सुत्नुहुन्थ्यो । बुवाले मलाई ठीक भन्नुभएको थियो, ‘छोरी, तँ यहाँ सात दिन बस्न सक्तैनस् । माइत भनेको बाबु–आमाको कमाइ र जाँगर भएसम्म हो ।..’
हिजो छैठों दिन थियो । हामीमाथि धेरै ठूलो आरोप लगाइयो । भनूँ, हामीलाई भगाउन षड्यन्त्र गर्नुभयो मेरै दाजु-भाउजूहरूले । आज विहान उठ्ता केही लत्ताकपडा आँगनदेखि अमारोको रूखभन्दा परसम्म छरिएको देखें । अतालिएर दाजु-भाउजूलाई उठाएँ । सबै जऱ्याकजुरूक्क उठे ।
एकै छिनमा कान्छी भाउजू छाती ठटाई-ठटाई, कोकोहलो मच्चाएर रून थाल्नुभयो । उहाँको बाकसको ताल्चा फोरिएको थियो र त्यसमा रहेको दुई लाख रूपियाँ बेपत्ता थियो अरे । सबैले शंका मैमाथि गरे । मैले छोरो मर्ने किरिया खाएँ, कसैले पत्याएन ।
बुवा-आमाले मेरो पक्षमा बोल्दा दुवै दाजु पड्किनुभयो, ‘छोरी बहुत प्यारी छे भने गएर छोरीसितै बस्नुहोस् । हामी पाल्न सक्तैनौ ।’
बूढाबूढीले अफ्नै छोराबाट यस्तो उत्तरको आशा गर्नुभएको थिएन । हामी तीन जनै प्रस्तरमूर्तिझैं स्तब्ध थियो । अब कहाँ जाने ? भन्थे, चेली जातका लोग्नेको घर र बावुको घर गरी दुईटा घर हुन्छन् अरे, तर उसको घरै हुँदो रहेनछ भन्ने अनुभवले मेरो मुटु छियाछिया भयो । अमारोको रूखमुनि रुँदै अब कहाँ जाने भनेर सोच्दै थिएँ, लालबन्दीबाट फोन आयो, ‘सुनीला जी, हिजो संचालक समितिको बैठक भएको थियो, ‘आश्रय’को आर्थिक अवस्था अनुकूल नभएर केही कर्मचारीहरू पजनी गर्नुपरेको छ । दुर्भाग्यवश त्यो सुचीमा तपाईं पनि पर्नुभएको छ । अहिले सम्मको हिसाब-किताब गर्न आउनु होला ।’
मलाई आँसुले पछ्यौरा भिजाउँदै गरेको आमाले देखिहाल्नुभयो र उहाँको मायाको छाल उर्लेर आयो । मेरो छेउमा आई आफ्नो आँचलले मेरो आँसु पुछ्न थाल्नुभयो । मलाई भावावेशमा आफ्नो काखमा सुताउनु भयो र भन्नुभयो, ‘छोरी घर फर्किएर जा, अब त्यहीं तेरो घर हो ।’
मैले आमाको काखमा सुत्दासुत्दै अमारोको रूखतिर हेरें र कराएर सोधें- ‘मेरो घर खोई ?’
त्यो रूखो मेरो प्रश्नले थर्र काम्यो । किन काम्छस् अमारो ? किन ??



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ माघ २०८२, बुधबार 










