एकजना युरोपियन भुँडीवाल हास्यकलाकारले आफ्नो गोलाकार भुँडी मुसार्दै भन्थ्यो, ‘यो मेरो भुँडी अफ्रिकाको गरीब बच्चाहरूले गर्दा यति ठूलो भएको हो ।’

उसको यो भनाइ सिल्ली जस्तो लागे पनि उसको तर्क गजबको थियो । उसको आमाले खाना पस्किदिएपछि भन्थिन् रे, ‘सबै सिनित्त पार है । एक गाँस पनि छोड्ने होइन प्लेटमा । खाना फाल्नु हुन्न । हेर उहाँ अफ्रिकामा एक गाँस खान नपाएर कति बच्चाहरू भोकै परेका छन् । पाप लाग्छ ।’

उसको आमाको यो तर्क उसलाई अनौठो लाग्थ्यो । ऊ आमालाई भन्थ्यो, ‘हैन आमा कसरी हामीले कोचीकोची खाएर अफ्रिकाको मान्छे अघाउँछन् ? बरु थोरै पकाउनुस् बचेको अन्न अफ्रिका पठाइदिनुस् । त्यसरी पो उनीहरूको कल्याण हुन्छ त ।’

तर उसको आमाले त्यसरी कहिले सोचिनन् रे । अनि उसको भुँडी बढी नै रह्यो । अफ्रिकन बच्चाहरू भोकै भए ।

नेपाल र भारततिर धेरै धर्म गर्नेको नि भुँडी ठूलो हुन्छ रे ! मेरो मतलब पूजा पाठ गर्नेको । हुन त कमाइ हुनेको भुँडी ठूलो हुने नै भयो । तर यो कमाइले लागेको भुँडी होइन । उही त्यो कमेडियनको भुँडी बढे जस्तो हो । हाम्रातिर पढेकादेखि नपढेकासम्म धेरैले बुझेका कुरा के भने पूजापाठ, व्रत, भजन-कीर्तन, आरती, लाखबत्त, सप्ताह, पुराण र मठमन्दिर आदि नै हो धर्म कमाउने बाटो । यसैले नै आफ्नो र जगतको कल्याण हुन्छ ।

पैसा र इज्जत कसरी कमाउने भन्ने नबुझेकाले नि यो चाहिं बुझेका हुन्छन् । पूजापाठ गर्नेले जगतको कल्याण गर्न बसीबसी मीठो खान्छन् । मतलब पूजा पाठ गर्नेहरू मीठो चोखो खान्छन् । घिउको भुटुन हालेर  पकाएको तरकारी  र घिउको डल्लो हालेको भात चोखो हुन्छ । विशुद्ध चीजलाई फलाम पानीले चोख्याउन मिल्दैन सुनपानी नै चाहिन्छ । गरीबले खाने खाना त सबै कुअन्न हुन् भन्नुहुन्थ्यो हाम्रो हजुरबा । पण्डितहरूले त्यसै भन्छन् रे त !  त्यसैले उहाँ कोदो, गुन्द्रुक आदि खानु हुन्नथ्यो । गरीबले खाने भएर पूजामा र व्रतमा नचलेको हो कि त्यताबाट वञ्चित भएकोले गरीबले खानु पाएका हुन् ? त्यो चाहिं कसैले बताएको छैन ।

यसरी बिना कसरत खुराकी (चिल्लो चाप्लो र गुलियो खाना) खान पाएपछि भुँडी त बढ्ने नै भयो । तर उही कमेडियनले भने झैँ यिनीहरूको भुँडीले जगतको कल्याण कसरी हुन्छ ?  मैले चाहिँ बुझेको छैन ।

हजुरबा मलाई असाध्य माया गर्नुहुन्थ्यो । मलाई मात्रै हैन सबै नातिनातिनाहरूलाई माया गर्नुहुन्थ्यो । विशेषगरी अलि कमजोर र घरका अरूले हेपेका र हेला गरेकाहरूका पक्षमा उहाँ बोल्नुहुन्थ्यो ।

त्यसैले पनि मैले एक दुई पटक हजुरबासँग यस्तो तर्क गर्न आँट गरेको थिएँ : ‘हजुरबा, यदि हजुरलाई साँच्चै हाम्रो र गाउँलेको हित गर्न मन लागेको छ भने तपाईंको पूजापाठमा लाग्ने रकम र समय ऊ त्यो खेतालाहरू र गोठालाहरू हिंड्ने अप्ठेरो बाटो बनाउनमा खर्च गर्नु न, आगोमा डढाउने घिउ दिनभरि काममा जोतिने हजुरआमा र आमाको भागमा खन्याउनु न । पुरेतको सिधामा राख्ने दाल, चामल र घिउ चिनीले ती छाप्रोमा बसेकी पुड्की आमाको एक छाक टारिदिनु न । अनि पो हुन्छ त धर्म ।’

तर मेरो यही तर्क गर्ने बानी मेरोलागि हानिकारक भयो ।  ‘तँ यस्तो कुरा बुझ्दैनस् पाजी’ हजुरबाले त यति मात्र भन्नुभयो । तर घरका अरू सबैको नजरमा म छुच्चो, स्वमत नभएको र अधर्मी ठहरिएँ । अनि मैले बोल्न छाडें, लेख्न थालें ।

जतिवेला घर व्यवहार चलाउन मेरो दुई हजुरआमाहरू र चार आमाहरू बिहान भाले बास्नु अघिदेखि आधीरात सम्म खटिरहेका थिए । खेतीबारी, घाँसदाउरा र घरघन्दा सकाएर थ्याच्च बस्न नपाउँदै सात जना कलिला छोराछोरीका स्याहार सुसारमा जुटिरहेका थिए ।

त्यसैवेला ५० वर्षका तन्दुरुस्त हाम्रो हजुरबा कमाइधमाइ छोडेर धर्ममा लाग्नुभएको थियो । बिहान सबेरै नुहाउन जानुहुन्थ्यो । उहाँ निस्केपछि हजुरआमा वा आमाहरूले उहाँको कोठाबाहिर मटानबाट पिसाबले भरिएको कोपारा लगेर पिसाब फाल्नुहुन्थ्यो । फेरि सफा गरेर लेराएर उहीँ राखिदिनु हुन्थ्यो । हजुरबा नुहाएर धोती फेर्नु हुन्थ्यो । उहाँले फेरेको धोती हजुरआमा र आमाहरूले धोएर सुकाइदिनु पर्थ्यो । त्यतिन्जेल उहाँको पूजाकोठा लिपेर पूजाका भाँडा माझेर तयार पार्दिनुपर्थ्यो । बिहान पूरै पूजापाठमा बिताउनुहुन्थ्यो । भान्छा तयार भएपछि भान्छाको सबैभन्दा माथि बसेर खाना खानुहुन्थ्यो । हजुरआमा बाहेक अरूले पकाएको वा छोएको खानु हुन्नथ्यो ।

घरका महिलाहरू खेतबारीको काममा जानु अघि र गएर आएपछि हजुरबाका लागि तीन छाक मिष्टान्न (पुवा, हलुवा, खिर अनि दालभात) पकाएर खुवाउन र खाएका जुठा भाँडा माझ्न व्यस्त हुन्थे । घरमा अरू सबैले ढिंडो खाएर अन्तमा दुई गाँस भातले बिर्को लगाउने भए पनि हजुरबालाई चरेसको थालमा भात र कचौरोमा मुङको दाल हुन्थ्यो । उहाँ लगायत सबै पुरुषहरूले तातोतातो खाना गएर पछि बल्ल बचेखुचेको चिसो खाना खान्थे घरका महिलाहरूले ।

चिल्लोको नाममा एक पित्को घिउ आफ्नो भागमा नदेख्ने नातिनातिना, श्रीमतीहरू र बुहारीहरूले त्यही घिउ चरुको नाममा हरेक दिन आगोमा डढेको हेर्नुपर्दा पनि हजुरबाले गरेको धर्मको फल आफूलाई नि मिल्ला भनेर चित्त बुझाउँथे ।

हजुरबा दिउँसो पाखाको डिलतिर डुल्न जानुहुन्थ्यो, त्यहाँबाट खेतमा काम गरिरहेका खेताला र गाईबस्तु चराइरहेका गोठालाहरूलाई यसो गर उसो गर भनेर आदेश दिइराख्नु हुन्थ्यो । गाउँमा पुराण, सप्ताह आदि लगाएको छ भने त उहाँको दिनभरी त्यतै बास हुन्थ्यो । कहिले सत्सङ्गतमा दिन बिताउनु हुन्थ्यो त कहिले पशुपति जानुहुन्थ्यो । गाउँघरमा उहाँलाई इज्जत र मान गर्थे । हजुरआमा भन्नुहुन्थ्यो उहाँले गरेको यहीं धार्मिक कार्यले परिवार र समाजको हित भैरहेको थियो । हजुरबाकै उमेरका अरू बुढाहरू भान्छामा खाना बनाउन सहयोग गरिरहेका हुन्थे । कोही नातिनातिनाहरूको स्याहार सुसार गरिरहेका हुन्थे भने कोही गाईबस्तु चराउन पाखातिर पुगेका हुन्थे । कोही खेतीपातीमा पनि लागेका हुन्थे । तर पूजापाठमा लागेको र हरेक एकादशीमा बर्त बस्ने भएकोले हाम्रो हजुरबाले यी सबै सुविधा र सम्मान पाउनु भएको थियो ।

तर हजुरबाले गरेको पूजापाठले उहाँको छोराछोरी, नातिनातिनालाई एस एल सी सम्म पनि पास गराउन सकेको देखिन । आफ्नै छोराछोरीलाई स्वास्थ र दीर्घ जीवन दिन सकेको पनि देखिन । न कसैको जागीरमा मद्दत गरेको देखेँ । न गाउँमा पानी, बत्ती र बाटोको सुविधा लेराएको देखें । अनि कसरी भयो त हित ?  बुझेको थिइनँ ।

उता मेरो बा भने सानैदेखि घर व्यवहारको जिम्मेवारी लिन थाल्नुभयो । पढ्दै र कमाइ गर्न थाल्नुभो । हजुरबाले लिनुभएको बाटो सही अर्थमा धर्म कमाउने बाटो होइन भन्ने लागेर नै होला त्यसलाई पछ्याउनु भएन । बरु गाउँ टोलमा धारा, बत्ती, बाटो, विद्यालय आदि लेराउने कार्यमा ठूलो भूमिका निभाउनु भो । वृद्ध र अशक्तहरूको लागि सहयोगको हात बढाइरहनु भयो । पुराण भन्ने पण्डितलाई अरूले झैं बा खुट्टामा ढोग्नुहुन्नथ्यो, नमस्कार गर्नुहुन्थ्यो । विद्यालयका शिक्षकलाई र पण्डितलाई बराबर इज्जत दिनुहुन्थ्यो ।

त्यस्तो अभावको बेलामा त पूजापाठ र पण्डित्याइँलाई आफ्नो धन र सम्मान दिने समाज देखेको र भोगेको मलाई आजकालको यो लाखबत्ती, सप्ताह, आरती आदिमा भएको होडबाजी र खर्च अनि च्याउ झैँ उम्रिएका गुरु र पण्डितको चरणमा गएका समाज देखेर खासै अनौठो लाग्दैन । म नेपालबाट टाढा छु त्यसैले मैले नबुझेको हुनसक्छ । आजभोली शायद यस्ता कार्य आयोजना गर्न परिवारको गाँस काट्नु पर्दैन होला । सबै धनी भैसके नेपालीहरू । परिवारले मिठो चोखो खान पाएका छन् । तिनीहरूको राम्रो आम्दानी छ । भजनकै नाममा भए पनि छमछम नाच्न पाएका छन् । फेरि फेरि नयाँ लुगा लगाउन पाएका छन् । हाम्रा हजुरआमा र आमाहरूले जस्तो दुख पाएका छैनन् अहिलेका महिलाहरूले । उनीहरू नै बढी लागेका देखिन्छन् यस्ता कार्यमा ।

यस्ता पूजा, आरती, सप्ताहमा मिठो चोखो खाएर जिउ लागेको छ अनि लोक र पप लयमा आधारित भजनमा नाचेर जीउ घटेको पनि छ । अरू के चाहियो ।

एकदिन फोनमा आमा मसँग रिसाउनु भो, ‘तेरो मुख छुच्चो छ ।’

‘के भनेर मैले त्यस्तो आमा ?’ मैले सोधें ।

‘अनि अरूले जे सुकै गरून, तलाईं किन चासो ?’

आमा सितिमिति रिसाउनु हुन्न । तर त्यसदिन रिसाएकै हो । नजिक भए मेरो मुख च्यातिदिनु हुन्थ्यो होला । सानोमा मैले हजुरबासँग तर्क गरें भने आमाले यसरी नै रिसाएर आफ्ना दुई औ‌ंला मेरो मुख भित्र हालेर च्यातिदिनु हुन्थ्यो । साँच्चै दुख्थ्यो । म रुन्थे अनि आमा पनि रुनुहुन्थ्यो । उहाँ रोएको देखेपछि म झनै रुन्थें ।

कुराकै सिलसिलामा आमाले सुनाउनु भो, ‘फलानाको घरमा लाखबत्त बालेको थियो हिजो । सय जना जति पाहुनाहरू थिए । एक दर्जन पण्डितहरू । कति थरी खानेकुरा । क्याटरिङ गरेका रे ! कसैलाई प्रसाद नखुवाई पठाएका होइनन् ।’

मेरो मुखबाट प्याच्च निस्कियो, ‘त्यस्तो फजुल खर्च किन गरेछ त त्यो छुच्चाले ?’

यही कुराले आमालाई रिस उठायो ।

चार बीस उमेर कटेकी मेरी आमा रिसाएपछि मैले कुराको विषय बदलें । तर मेरो मस्तिष्क भने विगतलाई कोट्याई नै रह्यो । मेरो होइन त्यही लाखौं रुपियाँ खर्च गरेर लाखबत्ती बाल्ने भाइको विगत । केही वर्ष मात्र अघि अस्ट्रेलिया पढ्न जान्छु बीस लाख जति लाग्छ बा भन्दा ‘पर्दैन त्यत्रो खर्च गरेर जान, यही ब्याचलर गर अनि बिहे गर’ भन्छन् बा भनेर रोएकी थिई त्यसको छोरी ।

मैले मेरो हजुरबा र बाले अँगाल्नु भएको धर्म र कर्मको बाटो नियालेर हेरेको थिएँ । त्यतिवेला नबुझे पनि ठूलो भएपछि बुझें : हजुरबाको भन्दा बाको धर्म ठूलो । र रक्तदान गर्नु अझै ठूलो धर्म हो । त्यसैले मेरो पुस्ता र परिवारमा आजसम्म कसैले नगरेको र अझै गर्न हिचकिचाएको रक्तदान म नियमित रूपमा गर्दै आएको छु । मलाई न त यसबाट आफूमा घमण्ड छ न त परिवारप्रति गुनासो । आत्मसन्तुष्टि चाहिं पक्का छ । म व्रत बस्दिनँ र मीठो चोखो पनि खाँदिन । स्वस्थ खाना खान्छु र हल्का व्यायाम गर्छु त्यसैले मलाई भुँडी बढ्ला भन्ने डर पनि छैन ।

फ्लोरिडा, अमेरिका