म सातामा दुई चोटि झ्यालखाना जान्थें र चोर, डाँकु र समाजका अरू भयानक प्राणीलाई तिनका आत्माका शुद्धिको निमित्त गीता, पुराण, मनुस्मृति र अरू धर्मग्रन्थको व्याख्या गर्थे । तिनीहरूका आत्माको उद्धार गर्नु मेरो ध्येय थियो। म सरकारबाट यसै कामको निमित्त नियुक्त थिएँ ।

म एकदिन आफ्नो पवित्र कार्यमा व्यस्त थिएँ । मलाई घेरेर तीस जना जति धर्मज्ञानका इच्छुक कैदीहरू बसेर मेरा कुरा सुनिरहेका थिए :

परन्तु जो मान्छे आत्मामा नै प्रेम गर्छ अनि आत्मामा नै तृप्त रहन्छ एवं आत्मामै सन्तुष्ट रहन्छ त्यसले गर्नुपर्ने कार्य केही बाँकी रहँदैन ।

गीताको तृतीय अध्यायको सत्रौं श्लोकको अर्थ म भनिरहेको थिएँ :

तिमीहरूले धेरै कुकर्म गर्यौ । चोरी, डकैती र अरू अत्याचार गर्न बाँकी राखेनौ । अब पनि चेत, आत्मालाई चोखो पार । …जस्तो कमलको पातमा पानी… ।

त्यो बखतमा त्यो कुनामा बसेको मान्छे जो सश‌ङ्कित दृष्टिले यसो मलाई हेरेर आफ्नो चारैतिर हेरिरहन्थ्यो, चिच्यायो- “के भन्यौ, पण्डित ? के मनपरी बिहानदेखि फतफताइरहेछौ । छेउ न टुप्पो, अर्थ न बर्थ ।”

त्यसको विषयमा मलाई पहिलादेखि नै श‌ङ्का थियो । त्यो घुम्लुङ्ग ओढ्ने ओढेर कुनामा बस्थ्यो । फोहरी, पोल्दापोल्दै उम्केको कालो निष्प्राण आकृतिको, दुब्लो थियो । आँखा चिमचिम गरिरहन्थ्यो । त्यो डराएको जस्तो गरेर आफ्नो चारैतिर हेरिरहन्थ्यो । फेरि एकछिन चुप लागेर घुँडामा मुन्टो गाडेर केही गमेको जस्तो गर्थ्यो ।

त्यो एक्कासि चिच्यायो- “के भन्यौ, पण्डित ? के मनपरी बिहानदेखि फतफताइरहेछौ । छेउ न टुप्पो, अर्थ न बर्थ ।”

अरू कैदीहरू त्यसलाई समातेर झाङ्गलझुङ्गल गर्न थाले । त्यो भने चिच्याइरह्यो । जेलका सिपाहीहरू आए, त्यसलाई पिटपाट गरेर घचेट्तै उसको सेलतिर लगे ।

त्यसले चिच्याउन त छोडेन, भनिरह्यो- “त्यो पण्डित झुटो हो, बकवादी हो ।”

म आफ्नो पुण्य कार्यमा तल्लीन भएँ : जस्तो कमलको पातमा पानीको केही पर्दैन, त्यस्तै आत्मा । उता, उसको सेलबाट उसले चिच्याएको प्रतिध्वनि नर्कको सबभन्दा गहिरो गर्तबाट उठेको बाफजस्तो आइरहेको थियो- “सब झुटा हुन्, ठग, लुच्चा ।”

मैले धर्मव्याख्यान समाप्त गरें । मलाई त्यसको ईश्वरहीन व्यवहारले त्यसका विषयमा जान्ने उत्सुकता भयो । त्यसका उत्तेजित शब्द ‘के बकवास गरिरहेछौ, पण्डित’ – ले मलाई किन हो कुन्नि प्रभावित पार्‍यो, म झ्यालखानाबाट निस्केर सुपरिन्टेन्डेन्टकहाँ गएँ ।

मेरो कुरा सुनेर उनले भने- ‘पण्डितजी, त्यो बौलाहा हो, किन त्यसलाई बाहिर आउन दिँदा रहेछन् ?”

मैले सोधें- ‘त्यो कुन मुद्दामा परेको हो ?”

उनले भने :

चोरीको । त्यो कस्तो दुस्साहसी भने दिउँसै चोरी गर्न हिंड्यो । कोठाभित्र पस्न मात्र पाएको थियो, नोकरहरूले त्यसलाई समातिहाले । त्योचाहिँ चोर्न थालेको बाकसलाई च्यापिरहेछ, पिटाइ खाइरहेछ । त्यसले के भन्ठानेर बाकसलाई च्याप्यो होला ? बाकस त्योसँग खोस्न बडो गाहारो परेछ । बाकस त्योसँगबाट खोसिएपछि जिउजिउ गर्न थाल्छन् । त्यो पनि रुँदै भन्न थाल्यो- “जजसाहेब, मेरी दुलही मर्न आँटेकी थिई । औषधि र पथ्यलाई रुपियाँ खोज्न हिँडेको । मलाई नथुनिबक्सियोस् ।”

कहीँ जज पनि त्यस्तो भनाइको भरमा कानूनको विरुद्ध काम गर्न सक्थे ? छ महिनाको सजाय दिए । त्यो सजाय सुनेर बालक रोएको जस्तो गरेर रुन थाल्यो र उत्तिखेरै सद्दे मान्छे बौलाएको जस्तो गर्न थाल्यो । अघिसम्म त्यसरी सद्दे कुरा गर्ने, उत्तिखेरै कसरी बौलाउँथ्यो । त्यसको जाल हो । तर जजको नियमबमोजिम त्यस्तो भाँडभैलो बौलाहा झैं जेलमा २४ घण्टा थुनेर राख्नुपर्ने हुनाले त्यसलाई जेलमै थुन्ने गरेको छु । बदमास कहाँको !

पण्डितजीलाई कष्ट भएछ ।

***  ***  ***

जेलका सिपाहीहरू हेरिरहेका थिए ।

मैले फेरि प्रश्न गरें- “त्यसकी दुलही नि ? त्यसलाई के भयो ?”

“मलाई के थाहा । एक चोटि १५ दिन भयो, दुलही त्यससँग भेट्न आएकी थिई क्या रे । भेटेर फर्कने बेलामा त्यसलाई एक चोटि देखेको थिएँ । बिरामीजस्तो थिई पहेली, आँखा पुछ्‌दै फर्किरहेकी थिई । उता त्यसको दुलहा फलामको डन्डीलाई दुवै हातले उखेलुँला जस्तो गरेर उफ्रँदै फलाकिरहेको थियो- ‘किन मर्दिनस्, मोरी ! गएर अहिले मरिहाल् ।’ त्यसलाई बौलाहा नभनेर कस्तालाई भनूँ ?”

म निश्चित मनले घर फर्कें । त्यो बौलाहा नै रहेछ । यो बौलाहा ईश्वरहीन विचारको भयो भनेर हामीहरूले त्यस्तामाथि क्रोध गर्नु हुँदैन । ईश्वर, त्यस्ताको आत्माको उद्धार गर । हामीहरू त जो बुझ्न सक्छ, त्यस्तालाई बुझाई सुमार्गमा ल्याउने प्रयत्न गर्न सक्छौं । बुद्धि नै भ्रष्ट भएकालाई तिमी नै उद्धार गर्न सक्छौ प्रभो ! मैले गद्गद भएर अन्तस्करणले ईश्वरको प्रार्थना गरें ।

म नियमित रूपसँग झ्यालखाना जान्थे र कुप्रवृत्तिमा आसक्त भएर कैदीहरूलाई सुमार्ग देखाउने प्रयत्न गर्थे । तिनीहरूको चरित्र मैले सपारें भन्ने मलाई विश्वास थियो, किनभने तिनीहरू बडो अनुरागले ईश्वर भजन सुन्दथे । म आफ्नो सफलतामा भित्रभित्रै बडो सुखको अनुभव गर्थें ।

एकदिन म नियमानुसार गीताको श्लोक अर्थ लाइरहेको थिएँ । कैदीहरू प्रभावित भएर सुन्नमा तन्मय थिए :

महर्षिहरूमा म भृगु हुँ। वचनहरूमा म एक ओंकार हुँ। यज्ञहरूमा म जपयज्ञ हुँ र स्थावरहरूमा म हिमालय हुँ ।

उताबाट त्यो बौलाहा भनेको मुसुमुसु हाँसेर आयो । पहिले त झट्टै मैले त्यसलाई चिन्न सकिनँ । कपालमा तेल हालेर कोरेको, अनुहारमा एक किसिमको तेज । त्यसले फोहोर ओढ्नेको सट्टामा धोएको कमिज लाएको थियो । म एकछिन छक्क परेर त्यसलाई हेरिरहें । त्यसले बडो आदरसँग मलाई प्रणाम गर्यो । र बस्ने उद्योग गर्दै भन्यो :

त्यो त मरिछ, अस्ति ।

त्यसदिनदेखि मलाई तपाईंसँग भेट्ने साहै इच्छा थियो । तपाईंले अस्ति भनेको मलाई अहिले घोचिरहेछ :

तिमीहरूले धेरै कुकर्म गर्यौ, चोरी गर्यौ र अरू अत्याचार पनि गर्न बाँकी राखेनौ । अब पनि चेत, आत्मालाई चोखो पार । पण्डितजी, त्यो घत लाग्ने वाक्यले मलाई कस्तो प्रभावित पार्यो । लौ, अरू सुनाउनुहवस्, पण्डितजी त्यो त मरिछ । अब म तपाईंको उपदेश सुन्छु ।

त्यो भने मरिछ, पोलिइछ, पञ्चभूतमा मिलिछ ।

***  ***  ***

म त्यसको आशातीत सुधारमा छक्क परें । त्यसको यस्तो सुधार होला भनेर कसले भन्न सक्थ्यो ? यसरी नचिनिने जस्तो गरेर । ईश्वर-भजनमा त्यस्तो गुण छ । कस्तै पापी भए पनि धर्म ज्ञान प्राप्त गर्‍यो भने त्यो निश्चय सुमार्गमा लाग्छ । व्याधाले रामको नाउँ लिँदा मोक्ष प्राप्त गरेको थियो । धन्य हो प्रभो ! तिम्रो लीला ।

म आफ्नो सफलतामा उचित घमण्ड पनि गर्न सक्छु । एउटा पापी बाँच्यो र समाजको साधु सदस्य भयो ।

म खुशी हुँदै फर्के । सुपरिन्टेन्डेन्टले मलाई सहाउँदै भने- “पण्डितजी, तपाईंको उपदेशको त्यस्तो प्रभाव परेछ । त्यसको चाल एक्कासि सप्र्यो । पहिले भोकभोकै बसेर मर्न खोज्ने त अचेल दुई थाल भात ठोक्छ, खुब प्रसन्न रहन्छ ।”

मैले भनें- ‘ईश्वरको कृपा भए के हुँदैन ! विक्षिप्त सद्दे हुन्छ – पङ्गुलङ्घयते गिरिम् ।”

(विश्वेश्वरप्रसाद कोइरालाको कथासंग्रह ‘दोषी चश्मा’बाट)