ऊ जे जति जान्दछ । त्यतिमै चलेको छ । ढुक्क छ उसलाई । न जान्ने चासो, न छ गुनासो । ठूलो सपनाको भारी छैन र बोक्दैन पनि । उसको आवश्यकता धेरै छैन, सीमित साधनले घर चल्छ । चलाउन पाए हुन्छ । साँच्चै भन्नु पर्दा दुई छाकको मान्छे हो ऊ ! दुई छाक जुटाउनु उसको अन्तिम लक्ष्य हो । हो पनि । बिहान उज्यालो भएदेखि घाम न अस्ताउञ्जेल एउटै छ चिन्ता – रातीको चुह्ला जल्छ जल्दैन ! जलै चौबीस घण्टा ठीक । नत्र बेठीक ।
मान्छे भन्छन्, “समय बदलियो । समय सँगसँगै धेरै कुरा बदलियो । नदी, खोलामा पुल थिएनन् । बनिए । बाटा घाटा राम्रा भए । अघि शहर जाने घुमाउरो बाटो छोटो भयो । स्कूल, अस्पताल नजिक हुँदै गए ।” तर कसरी बदलिन हो ऊ जान्दैन । कसैले बुझाउँदैनन् पनि । उसलाई फुर्सदै कहाँ छ र ? यस्ता अप्ठ्यारा कुरा सुन्ने-बुझ्ने ।
सानामा गाउँको पाठशालामा मास्टरले “ऋण” लेख्न भन्दा कति गर्दा पनि सकेन । न उच्चारण गर्न नै । नसकेर रीसले पाटी फुटाएर स्कूल छोडेको मान्छे ऊ । उसले छाडे पनि ऋणको ‘ऋ’ले उसलाई पच्छ्याउन छाडेन । फर्काउन खोज्दा कसैको कुरा मानेन । पाठशाला फेरि फर्किएन । बेला बेला सम्झिन्छ, थक्क मान्छ । अहिले बुझ्दै छ- पढेको भए असल हुनेरछ । पछुतो छ । समय फुत्किहाल्यो । लाग्छ बदलिनु भनेको यही हो ।
यता सरकारले बाटो बनाउने भएर उसका जिजुबाजेका पालका कयौं रूख कटायो । अहिले ऊ गाउँबाट बाहिर निस्किंदै पल्ला छेउसम्म छर्लङ्ग देख्छ । दूरदूर तक मनि मैदान छ । रूख काटेर सखाप पारे । कराउनेले दुई-चार दिन हुलदुङा मच्चाए । फेरि चूप भए । रूख मासेर बढाबढा पक्काका महल ठडिए । प्रकृति मासेर शहर बनिए भनेर मान्छे आज दुखेसो मानेका छन् । ऊ अचम्म मान्छ । कोही डराएका छन् । बुझ्दैन यी ठूलाबढा मान्छेको कुरा । रूख मासिंदा सास फेर्न सक्दैन भनेको सुन्छ ! के कुरा हो । रूखले फलफूल, छायाँ, दाउरा दिने, यस्तै जानेको-देखेको उसले । तर हिजोआज गाउँ हेर्यो, गाउँकै कुराको जगजगी । शहरमा गयो झन् ठूलाबडाको कुराले जगजगी पार्छ । स्कूल, सभागृह आदिमा मानिस रूख काटेको, जङ्गल मासेको धूमधाम चर्चा गर्छन् ।
मनमनै सोच्छ, “ए बाबा ! बाँच्नु पनि पाइँदैन कि क्यो ?” ऊ त्रसित हुन्छ । के भाका हुन् यी पढे-लेखेका मान्छे ? आफै रूख कटाउने गर्छन् । जलाशय पुरेर घर बनाउँछन् । अहिले झन् पहाड काटेर घरैघर बनिसके । फेरि यिनै मान्छे डराउने गर्छन् । हुने हुनामीका कुराले भय शङ्का फैलिएका छन् । बुझ्छु कि झैँ लाग्छ । फेरि लामबद्ध प्रश्नले पुनः सताउँछ ।
धेरै शङ्का गरेका कुरा मिल्दै पनि छन् । कसरी मिल्यो ! विष्णु मास्टरले भन्छ, “तेरा बासका मुढा अब कतिञ्जेल चल्छन् ? सबै प्लास्टिकका समानले घर भरिन थाले !” विष्णु मास्टरको यस कुरा चाहिं अलिकति बुझ्न थाल्छ । शहरतिर मुढा कसैले किन्दैन ! गए वर्षदेखि त उसले बनाउनै छाड्यो । शहरबाट जम्मै मुढा फर्काएर ल्याउनु परेको पिडा उसले बिर्सिन सकेको छैन । गर्मी प्रखर छ । साउन लाग्यो । गर्मी कम हुने होइन, झन् बढ्न थाल्छ । टन्टलापुर घाम । ऊ बरु सहन्छ ! कष्ट झेल्न राजी छ । उसको परिश्रम काम लाग्छ । बासको आफ्नै हातले बनाएका पंखा बोकेर ऊ शहर पसेको छ बेच्न । उसका बाबु पनि यसरी नै हातले बनाएका नाङ्ला, चाल्ना, कुचा बोकेर हाटबजार बेच्न जान्थे । बेला बखतमा शहर पनि धाउने गर्थे । उसले बाबुबाट जानेको- पाएको विद्याले यतिन्जेल पेटपालो गर्दै छ । अझ त्यसैमा उसको घरसंसार निर्भर छ । यो असत्य हुँदैन भन्दा । अहिले पनि ऊ शहर धुइँपत्ताल चहारिरहेको छ । हातले हम्कने पंखा बोकेर ।
‘बासको बढा मेहनतले बनाएका पंखा ।’ हातमा एक्काइस ओटा नै छन् । बनीसम्म भएको छैन । बिक्नै आँटेनन् । बिहान खाजा खाएर घरबाट निस्केको मान्छे । बेला ढल्न लाग्यो ! अवश्य घाम उत्तिकै चर्किएको छ । गर्मीले होला बाटोमा उति मान्छे थिएनन् । हुन त आइतबार हुनाले अफिस, स्कूल, कलेज बिदाको दिन हो । ऊ यसरी नै घरमा मान्छे भेटिन्छन् भनेर दिनवार मिलाएर हिंडेको छ । तर उसको सीप चलेन । तैपनि बेला बितेको छैन । बिक्ने आशा अझ उसले छोडेको छैन ।
पहाडको फेदीमा मानिसको भेला देख्यो । निकै ठूलो जमघट । एउटा चौरमा थरीथरीका गाडीले ढाकेको देख्यो । टन्टलापुर घाम । पहाडको फेदीमा दुई-एक साना रूख पोथ्रा तल मान्छे जसोतसो मुन्टो लुकाएर गर्मीबाट परित्राण पाउन बल गरिरहेका थिए । कसैले च्याब्रुङ, कसैले खबर कागजले आआफ्ना छोराछोरीलाई हम्किदिंदै थिए । ताकि आफ्ना छोराछोरीले खाना खाँदा गर्मी महसूस नगरी आरामले खान सकुन् । कोही कसैले चाहिं आमाबाबुलाई खोजे झैं यताउता आँखा डुलाउँदै थिए ।
गेट बाहिरबाट टोलिएर उसले हेर्यो । बुझेन । अत्तोपत्तो पाएन । कनीकुथी अघिल्तिरको साइनबोर्ड पढ्यो, “दिसपुर कलेज ।” कलेज आइतबार खुलेको छ । छक्क पर्यो ! छेउको चिया दोकानीलाई सोध्यो । बोल्न मन नलागे जस्तो गरी उत्तर दिई, “हाकिम हुने ठुलो परीक्षा हुँदै छ रे ।”
के बुझ्यो थाहा भएन तर ढिलो नगरी गेटबाट भित्र पस्यो । मानिसको जमात ताकेर हिंड्यो । यत्तिकैमा कसैले बोलाए जस्तो लाग्यो उसलाई । हो, उसलाई रहेछ । एउटी भद्र महिलाले “पंखा !” भन्दै उता तर्फ आउने इशारा गरिन् । गयो ।
त्यसपछि जे भो उसलाई विश्वास लागेन ! पत्तो पाएन । उसको कल्पना बाहिरको काम भयो । ती महिलाले पंखा किनेर जो बनी गरिदिई । कुनै दाम दर नगरी मिलिक्कै एक्काइस ओटा पंखा ठाउँमै सकिए । हान थाप भयो । पुगेन । उसको प्रफुल्लित मनको कुरा कसैले जानेन । सम्झ्यो – घरमा भएका जम्मै ल्याएको भए आज साइँसुइत्तै बिक्ने रहेछन् । कमलाकी आमा त सबै लिएर जानुहोस् भन्दै थिई ! उसैले भारी मात्र हुन्छ भन्दै छोड्यो । अहिले थक्कथक्क मानेको छ । कसले जान्दछ ? कहिले कहाँ कुन चिजको खाँचो पर्न सक्छ । नसोचेको कुरा समयले सोच्न बाध्य गरायो । थोरै भए पनि यति चैं आफै बुझ्यो । परिस्थितिले जनायो । शहरका मान्छे । कहिले रूखको छहारीमा नबसेका । बस्नु नपर्ने मान्छे । आज साह्रो गर्मी थियो । खपी नसक्नु । ठूल्ठूला दुःख नगरेका । कठै ! नत्र यसरी पंखा बिक्ने थिएन !
उसले मनमनै त्यी पहिलो बनी गर्ने भद्र महिलालाई आशीर्वाद दियो । उन्को छोरालाई परीक्षा पास गरेर ठूलो हाकिम बनाइदिनु भनी ईश्वरसँग प्रार्थना गर्यो । फेरि के सोचेर हो पंखा किन्ने सबैका छोराछोरीलाई हाकिम हुने आशीर्वाद दियो । फेरि पनि मन नमानेर । आवेगको धुरी चढेर सोच्यो – को मान्छे कहाँ कुन परिस्थितिमा कसलाई काम आउने हो । त्यो त बखतले मात्र जान्ने कुरा हो । यो चैं उसले आज आफै मज्जाले बुझ्यो । अनि गेटबाहिर निस्किंदै मनमनै गद्गद भएर ईश्वरलाई फेरि अन्तर मनले बिन्ती गर्यो, “हे ईश्वर ! बाबुआमाको मनले चिताए जसरी नै सबैका छोराछोरीको आशा पूर्ण गरिदेऊ !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










