म अहिले भर्जिनियामा यतिबेला काठमाडौँमा छु
लामा खुट्टाले बिस्तारै किनारैकिनार मेट्रो चढेर
न्यूरोड परतिर वासिङ्गटन डिसीसम्म जानुछ
हेर्छु, देख्तिन, कहिलेदेखि आकाशिएको विश्व वैंकको कार्यालय अग्लो छ
देख्छु, हेर्दिन, ह्वाइटहाउसको सेतो घरमा पोतिएको रङ सेतोमात्रै छ
म गैंडाका शालिकहरुलाई माया गर्छु
म कुखुराका शालिकहरू मन पराउँछु
म टर्कीका शालिकहरू
म मान्छेका
म मेरा शालिकहरूलाई मन पराउँछु
मलाई भर्जिनिया उल्फको नाक मनपर्छ
किनभने उनको टाउकोमा सुश्री पारिजातका आँखा छन्
बालमार्टको अग्लो भुइँतलामा पुष्टकारी र पाउँ बेच्ने फिलिपिनो नेवार्नी पनि मलाई मन पर्छ
उसले मलाई देख्नेबित्तिकै हाई भन्छे
म ज्वजोलपा सुन्छु
उसले हालखबर छु खः भन्छे
अनि म थेङ्कु भन्छु
ऊ जापानी मोटी केटी आमान्दाजस्तै आँखा फारेर लजाउँछे
म उसलाई अँगाल्न अलिक ततर्किएर हिँड्छु
उताबाट कोही आउँछ पूर्वको मान्छे अनि आउँछ छिमेकी दाइ
अल्लिवर आइपुग्छ दिल्लीमा जन्मेको सञ्जिव मुखर्जी
उसले गोलोगोलो बाक्लो हाइ काढ्छ
झण्डैझण्डै उसको छेवैमा पुगेको मेरो नाकमा
स्थानीय रिचमण्डबासीको स्वास स्वादिलो ठोकिन्छ
कस्तो न मीठो कस्तो न मीठो गन्ध लामो लामो ठोकिन्छ
आज शनिबार हो अहिले आइतबार हो यतिबेला शुक्रबारको साँझजस्तै हो
यतिबेला कस्तो न मीठो कस्तो न मीठो गन्धले म फेरि अघाउँछु
मेरो पार्लरमा आँखी भौं फाल्न आउने मेक्सिकन महिलाले चौबन्दी चोलो लगाएकी छ
मेरो ग्याँस स्टेसनमा गाडी लिएर आउने नाइजेरियनले गुँदपाक खाएको छ
जब म पुग्न लाग्छु त्यहाँ
सबबेमा जुन गीत बज्छ त्यही गीत बजिरहोस्
गीत नारायणगोपालयोञ्जनले गाएको
त्यही गीत बजिरहोस्
गीत अरुणाताराभक्तराजथापाले गाएको
त्यही गीत बजिरहोस्
म सबबेमा पैसा तिरेर दालभात खाउञ्जेल
टिप्स दिन जान्ने भइञ्जेल
या या भन्न जान्ने भइञ्जेल
उही गीत बजिरहोस् सब‑वेमा जुन गीत बज्दछ
उही गीत बजिरहोस्
अहिले यतिबेला
म छु वासिङ्गटन डिसीको एउटा खुला कुइनेटोमा
आफ्नै खुट्टालाई लामालामा खुट्टा पारेर हिँडिरहेको
म छु आफ्नै कानलाई
आफ्नै आँखालाई
आफ्नै नाकलाई ठूलोठूलो फुलाएर
भूगोलपार्कमा रक्तदान गरिरहेको
अब यहाँदेखि डिसी हुँदै अमेरिकासम्म जानु छ
अब अहिले काठमाडौँ हुँदै नेपालसम्म पुग्नु छ
त्यहाँ अन्तिममा जसरी पनि यतिबेलै पुग्नु छ
यति लामो यात्राको झोलामा माया कस्नु अगाडि
हतारहतार मोबाइलको किप्याडमा उभिएर एकपटक राष्ट्रिय गान गाइहाल्नुपर्छ
किनभने,
आफ्नै आमाले बोलाएको सुनेकाले
आफ्नै बहिनीले सुपारी पठाएकाले
आफ्नै भानुभक्तले रामायण लेखेकाले
आफ्नै बारीको तोरीको गुन्द्रुक भएकाले
आफ्नै पृथ्वीनारायण शाहले एकीकरण गरेकाले
त्यहाँ अन्तिममा आजै जसरी भए पनि पुग्नु छ
यो ह्वाइटहाउसदेखि सिंहदरबारदेखि टाउकोदेखि मनसम्मको यात्रामा
जबसम्म ब्लु रिज माउण्टेन तरेर अलिकपर फुल्चोकीको डाँडा नाघिँदैन
जबसम्म प्रशान्त महासागरमा पशुपति आर्यघाटमा आधामात्रै जलेको कालो कोइला भेटिँदैन
तबसम्म,
म कानमा सुनिरहन्छु नेमेरिका
म आँखामा हेरिरहन्छु नेपारिका
म नाकमा सुँघिरहन्छु नेपालका
म छालामा छामिरहन्छु नेपाल
म चुसिरहन्छु धेरै चन्द्र धेरै सूर्य अङ्कित
स्वादिलो अमिलो राष्ट्रिय हरियो सागको पात
किनभने म अहिले राष्ट्रिय परिचयपत्रमा डटपेनले फाराम भर्न ल्यापटप खोलिरहेको छु
किनभने म अहिले काठमाडौँमा यतिबेला भर्जिनियामा खोइ कता खोइ कता अलिक उतातिर छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 






