जुनेली रात…

आँखाले भ्याउञ्जेल देख्न सकिन्थ्यो, आज पहाडहरू हिउँको सेतो कम्बलले ढाकेको थियो । यो नव प्रेमीहरूको लागि एक अद्भुत ठाउँ हुन सक्थ्यो होला तर द्वन्द्वकालमा यी पहाडहरूको शान्तिको पछाडि घातक अशान्ति लुकेको थियो । विगतका केही महिनादेखि यहाँको शान्तिमा विस्फोट र गोलीको आवाजले खलल नपुर्‍याएको कुनै दिन थिएन ।

“सर, कफी पिउनुहोस् । जाडो हट्नेछ,” प्रहरी जवान अब्दुल लतिफ खाँ ले इन्स्पेक्टर माधवलाई तातो कफीको ठूलो मग दिँदै भन्यो ।

“ए अब्दुल, हामी दिनरात लडिरहेका छौं, तर किन ? यो केवल भगवान्लाई मात्र थाहा छ । अब तिमीले भन्छौं भने हामी चिसोसँग पनि लड्न सक्छौं,”  इन्स्पेक्टर माधवले हाँस्दै मग समाते । कफीको घुट्को लिँदै उनले भने, “वाह, मज्जा आयो । यदि यस्तो कफी हरेक घण्टा पाइयो भने त समय काट्न गाह्रो हुनेछैन ।”

“सर ! हजुरको समस्या त कफीले समाधान हुन्छ तर मेरो समस्या कहिले समाधान हुने हो ?” अब्दुल लतिफ खाँ ले पनि कफीको घुट्को लिँदै भन्यो ।

“कस्तो समस्या ?” इन्स्पेक्टर माधवले आश्चर्य मान्दै सोधे ।

“सर, अर्को हप्ता मेरी श्रीमतीको अपरेसन छ । मेरो बिदाको के भयो होला ?” अब्दुल लतिफ खाँ ले सोध्यो ।

“अहिले हाम्रो इलाकामा निकै तनाव भइरहेको छ । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ । यस्तो अवस्थामा बिदा पाउन अलि गाह्रो छ, तर कोसिस गरिरहेको छु ।” इन्स्पेक्टर माधवले सम्झाउँदै भने ।

“तर सर, के हामीहरूले मात्र देशको सम्पूर्ण जिम्मेवारी लिएका छौँ ?” यति भन्दै अब्दुल लतिफ खाँ ले इन्स्पेक्टर माधवको अनुहारतिर हेर्‍यो ।

“तिमीले भन्न खोजेको के हो…?” गम्भीर भएर इन्स्पेक्टर माधवले सोधे ।

“यहाँ हामी आफ्नो ज्यान बाजी राखेर बसेका छौं तर देशमा हाम्रो इज्जत छैन । एकवर्ष सम्म घर जान पाइएको छैन । बसमा यात्रा गर्न पनि सहज छैन । अहिलेको अवस्थामा हामीले आफूलाई कतै पनि प्रहरी भनेर चिनाउन सक्दैनौं  ।” अब्दुल लतिफ खाँ ले आफ्नो मनको पीडा बाहिर ल्यायो । “जस्तै अत्याचार सहेर पनि हामी देशका लागि ज्यान बलिदान दिन तत्पर छौं, तर कम्तीमा पनि हामीलाई मानिसको रूपमा हेरिदिए हुन्थ्यो । चाडपर्वमा घर जान बिदा पाउँदैनौं । आफन्त मर्न लाग्दा पनि  बिदा पाइँदैन । अब मेरी श्रीमतीको अपरेसन भए पनि मैले बिदा पाउने छैन । धिक्कार छ यस्तो जागिरको जहाँ इज्जत हुँदैन ।”

“ए अब्दुल, आज के भयो तिमीलाई ? के अनौठो अनौठो कुराहरू गरेको ? सारा देशले हामी प्रहरीहरूलाई सम्मान गर्छन् ।” भन्दै इन्स्पेक्टर माधवले अब्दुल लतिफ खाँ को काँधमा हात राखे ।

“इज्जत त पाइएला तर मरेपछि मात्र । शहीद भएपछि मात्र । जिउँदै त हामीले कतै पनि ठाउँ पाउँदैनौं, हाम्रा छोराछोरीले एक-एक पैसाको लागि याचना गर्नु पर्छ, तर हामी मर्ने बित्तिकै हाम्रो लाशलाई हेलिकप्टरमा लादिन्छ र लैजान्छन् । हाम्रो परिवारको दु:खलाई केही लाखको रकमले किनिनेछ । हामीहरूको घरमा कहिल्यै नपुगेको व्यक्तिहरू आइपुग्छन् । हाम्रो मृत्यु हाम्रो जीवन भन्दा लाखौं गुणा राम्रो छ ।, कमसेकम मेरो परिवार त खुसी होला ।” यति भन्दै अब्दुलको आँखा रसायो ।

“अब्दुल …।”

“सर !” चिच्याउँदै अब्दुलले चितुवाको गतिमा इन्स्पेक्टरलाई ट्रेन्च मुनि लडायो । उनले केही बुझ्नुअघि अब्दुलको काँधमा झुन्डिएको राइफलले आगो ओकल्न थाल्यो । गोलीको ड्याङ… ड्याङ… को आवाज गुन्जियो र केही बेरपछि सबै शान्त भयो ।

“अब्दुल, तिमी ठिक छौ ?” इन्स्पेक्टर माधवले आफूलाई सँभाल्दै सोधे ।

“सर, म एकदम ठिक छु” अब्दुलले हल्का हाँस्दै भने, “तर, बेद्रोहीहरू किन बुझ्दैनन् कि जबसम्म हाम्रो एउटा मात्र जवान जिउँदो हुन्छ, तबसम्म हाम्रो पोस्टलाई छुन सक्दैनन् ?” यति भन्दै अब्दुलले ट्रेन्चको पछाडि हेरे । तीन जना विद्रोहीको लाश केही दूरीमा थियो । उनीहरू लुक्दै कतिबेला यति नजिक सम्म आएका थिए थाहानै भएन । ती मध्ये एकले इन्स्पेक्टर माधवको छातीमा आफ्नो राइफलले निशाना बनाएपछि अब्दुलको नजर उमाथि पर्‍यो र इन्स्पेक्टर साहबलाई बिजुलीको गतिमा धक्का दिएर भुइँमा लडाए ।

“अब्दुल, तिम्रो हातबाट रगत बगिरहेको छ” गोलीको आवाज सुनेर बंकरबाट बाहिर निस्केका जवान नरबहादुरले भन्यो । पोस्टको सुरक्षामा खटिएका अन्य अधिकृत र जवानहरू दौडिएर त्यहाँ आइपुगेका थिए ।

“केही भएको छैन, केवल दर्फरिएको मात्र हो । विद्रोहीहरूको गोली अलिकति चुक्यो” अब्दुलले मुस्कुराउँदै भन्यो ।

“अब्दुल, तिमीले मेरो लागि आफ्नो ज्यान किन जोखिममा राख्यौ । मलाई भन, किन यस्तो गरेको ?” यति भन्दै इन्स्पेक्टर माधवले अगाडि बढेर अब्दुललाई अँगालो हाले ।

“किनभने हामीहरूले देशको सुरक्षाको ठेक्का लिएका छौं” यति भन्दै अब्दुल फेरि मुस्कुरायो ।

“तिमी कस्तो मान्छे हौ ? भर्खरै तिमी के के भन्दै थियौ । अहिले देशभक्तिको धुन गाउँदै छौ ।” इन्स्पेक्टर माधवले दुखित स्वरमा भने ।

“सर, हामी सिपाही हौं । लड्नु हाम्रो काम हो । हामी लड्नेछौं । हामी माथि जे जस्तो भएपनि देशको कुरा आउँदा सबै कुरा बिर्सेर देशको लागि लड्दा आफ्नो ज्यानको बलिदान दिन्छौं । बलिदान दिने पहिलो अधिकार हाम्रो हो । त्यसलाई हामीबाट कसैले खोस्न सक्दैन ।” यति भन्दै अब्दुल लतिफ खाँ चिच्याउँदै उफ्रिएको थियो । त्यसपछि त्यहाँ ठूलो विस्फोट भयो र त्यसपछि सबै शान्त भयो । अब्दुलले आँखा खोल्दा उसले आफूलाई अस्पतालको बेडमा  पाएको थियो । उसको अगाडि इन्स्पेक्टर माधव थिए ।

“सर, म यहाँ कसरी आएँ ?” अब्दुलको ओठ हल्लियो ।

“हाम्रो जिम्मेवारीको कारणले गर्दा …” इन्स्पेक्टर माधव अगाडि आएर अब्दुलको टाउकोमा सुमसुम्याए, त्यसपछि भने, “तिमिले अचम्मको काम गर्‍यौ । एकातिरबाट आएको तीन जना विद्रोही जसलाई तिमीले मार्‍यौ । बाँकी विद्रोहीहरू अर्को तर्फबाट आएका थिए । तिनीहरूले हामीमाथि जुन ग्रेनेड हानेका थिए त्यसलाई तिमीले हावामा समातेर उनीहरू तिर फाल्यौ । विद्रोही सबै मारिए र हाम्रो पोस्टमा क्षति हुनबाट बच्यो ।” इन्स्पेक्टर माधवले अब्दुलको काँधमा धाप मार्दै भने “तिमी जस्ता साहसीहरूमा देशलाई गर्व छ । डाक्टरले सामान्य चोट लागेको भनेका थिए । एक-दुई दिनमा यहाँबाट छुट्टीमा जान सक्नेछौ ।”

“छुट्टी ….” अब्दुल लतिफ खाँ को ओठ बिस्तारै चल्यो ।

“हो, तिम्रो बिदा स्वीकृत भयो ? यहाँबाट सिधै घर जान सक्छौ” इन्स्पेक्टर माधवले भने, त्यसपछि केही सम्झँदै भने, “मैले तिमीलाई एउटा कुरा भन्न बिर्सेको थिएँ ।”

“के कुरा होला सर…?” अब्दुलले सोधे ।

“तिमीलाई हेलिकप्टरबाट यहाँ ल्याइएको थियो ।”

“त्यसो भए अब मलाई विमानबाट घर पठाउनु हुन्न त ?” अब्दुलले मुस्कुराउँदै सोध्यो ।

इन्स्पेक्टर माधव पनि मुस्कुराए, त्यसपछि भने, डी. आई. जी. साहबले तिमीलाई पुरस्कार दिन सरकारलाई सिफारिस गर्नुभएको छ ।”

“सर, म केही भन्न सक्छु ?”

“भन…”

“पुरस्कार पाऊँ या नपाऊँ, तर सरकारलाई सुझाव दिनुस् कि हामी सुरक्षाकर्मीहरूको  परिवारलाई पनि सुरक्षा मिलोस्, नत्र हामीले सयौं किलोमिटर टाढाबाट कसरी सुरक्षा दिन सक्छौं ?”

“हामी युद्ध भूमिमा हार्दैनौं, तर आफ्नै परिवारको सुरक्षा गर्नमा  हारेका छौं” अब्दुलले आशावादी स्वरमा भने । इन्स्पेक्टर माधवको आँखा आकाशमा कतै हरायो । अब्दुलले जे भनेको थियो, त्यो सत्य थियो तर के उसले भनेको कुरा कहिल्यै सम्भव होला र ?