नानीको पहाड घर काँ हो ?”

केटो बोलेन ।

पहाडघर काँ हो नानीको ?”

फलामको बेन्चमा बसेर मोबाइल चलाइरहेको केटोले बूढालाई खाउँलाझैं गरेर हेर्‍यो । तर, बूढा डेग चलेनन् । लौरो टेकेर उसकै अगाडि उभिरहें ।

उसले बूढालाई फेरि यत्रा आँखा तर्‍यो र उठेर अन्तै हिंड्यो ।

अब अघिको केटो बसे ठाउँमा ती बूढा बसे । लौरालाई छेउतिर बेन्चको आडमा ठड्याएर राखे ।

====

शिवपुरी पहाडको फेदमा बूढानीलकण्ठ मन्दिर । आराध्य बूढानीलकण्ठ पूर्व सिरान गरेर खुला आकाशमुनि जलाशयमा शयन गरिरहेका । वरिपरि पहेंलो रङ्गले आकर्षक देखिएको पर्खाल । जलाशयमा चौबीसै घण्टा बगिरहने धारोको कलकल आवाज । उत्तरमा लक्ष्मी मन्दिर । उत्तरपूर्वमा बालगोपालेश्वर र पर्खालभित्रै ठीक ईशान कोणमा पीपलको बोट । दक्षिणपूर्वमा शिव मन्दिर । दक्षिणमा सरस्वतीको मन्दिर । अलि तल गहिरो ठाउँमा पीपलको बोटमुनि नागथान, नागथान नजीकै जलाशयबाट निकास स्वरूप बगेको पानीको धारो । पश्चिमतर्फको मूलढोका अगाडि हनुमान, गरुड र कुमारको मूर्ति । यी तीन मूर्तिको मुनि ठूलो घण्ट । पश्चिमर्फ तुलसीको मोठ, गणेशको मन्दिर र नवग्रहको खुला पूजास्थल । दक्षिण पश्चिममा वेद पढ्ने बटुकहरूको मण्डप । त्यसको पछाडि छेउमा ब्राह्मणहरूको लागि छुट्याइएको ठाउँ । दक्षिणतर्फ पीपलको बोटनेरि मान्छे बस्ने केही थान फलामका बेन्चहरू । मन्दिरमा आउने श्रद्धालुहरू कोही तिनै बेन्चमा र कोही मन्दिर वरपरका ढुङ्गाका सिंढीहरूमा आनन्दमग्न भएर बसिरहेका । कोही गफिरहेका ।

एक दिन दिउँसो बूढानीलकण्ठलाई परिक्रमा गरेर म दक्षिणतिरको ढुङ्गाको सिंढीबाट उँधो झर्न लागेको थिएँ । मन्दिर वरिपरि मान्छे फाट्टफुट्ट मात्र थिए ।

छेउतिरको एउटा बेन्चमा बसेर त्यस्तै सत्र–अठार वर्षकी एउटी केटी मोबाइलको तार कानमा जोडेर एक्लै मस्की–मस्की कुरा गरिरहेकी थिई । त्यही वेला मैले देखें, तिनै बूढामान्छे अलि पर्तिर बसिरहेका । उनीसँग गफ गर्ने मान्छे कोही थिएनन् । उनी आफू बसे ठाउँबाट उठेर त्यो केटी भए ठाउँनिर आए । केटी एक्लै छे । तर, एक्लै भए पनि बोलिरहेकी । बूढालाई अचम्म लागेछ क्यार । एकछिन हेरिरहे । एउटा बाँदर मास्तिर पीपलको हाँगामा बसेर आङ कन्याइरहेको थियो । म अलि परबाट घरी त्यो बाँदर, घरी बा र घरी त्यो केटीलाई हेर्दै एक छिन उभिरहें ।

नानीको पहाड घर काँ हो ?” बा नजीकै गएर त्यो केटीलाई सोधे ।

केटीले हेर्दा पनि हेरिन । ऊ गफमै मस्त छे । घरी–घरी हाँस्छे पनि ।

नानीको पहाड घर काँ हो ?” बाले अझ नजीक गएर सोधे ।

अब भने केटीले बूढातिर यत्रा आँखा तरी । ठीक त्यही वेला एउटा तन्नेरी केटो केटीलाई ‘हाइ’ गर्दै आयो । केटी खुशी हुँदै जुरुक्क उठी । दुइटैले अँगालो मारे । अनि त्यहाँबाट हिंडे ।

बूढाले तिनीहरू पर पुगुञ्जेलसम्म हेरिरहे । त्यसपछि भने म पनि सिंढीबाट बिस्तारे उँधो ओर्लें ।

‍====

बाहिरबाट यस क्षेत्रमा बसोबास गर्न आएका र केही स्थानीय बूढापाकाहरू प्रायः हरेक दिउँसो मन्दिरमा आउने गर्छन् । नागथान मास्तिर पीपलको छहारीमुनि तिनै बेन्चमा बसेर उहिलेदेखि अहिलेसम्मका कुराहरू गर्छन् । मन मिल्नेहरू मजैले गफिन्छन् । कोही नयाँ आए भने उनीहरूका कुरा सुन्छन् । बिस्तारै–बिस्तारै पुरानाहरूसँग हिमचिम बढाउँछन् ।

बिहानै बूढानीलकण्ठ दर्शन गरी बटुकहरूले नियमित पूजा गरेको दृश्य हेरिरहूँ लाग्ने । साँझपख बाजागाजा र घण्टको मधुर आवाज सहितको आरती त्यस्तै आनन्ददायक । दिउँसोको शान्त वातावरणमा मन्दिर वरपरको दृश्य नियाल्दाको आनन्द बेग्लै ।

गर्मीको वेला एक दिन दिउँसो म पीपलको छहारीमुनि बसिरहेको थिएँ । अलिक पर्तिर दुइटा बूढाहरू गफिइरहेका थिए । एक जनालाई त चिनिनँ । अर्कालाई भने चिनें । ती ‘पहाडघर काँ हो ?’ भनी सोध्ने बा रहेछन् । उनी एकसुरले भट्याइरहेका थिए । अर्का बा बीच–बीचमा ‘अँ–अँ’ भन्दै ध्यानपूर्वक सुनिरहेका थिए ।

तपाईंको पहाडघर काँ हो ?”

रामेछाप हो ।”

तपाईंको नि !”

म खोटाङ जिल्ला दिउँको खँड्का हुँ । पोरमात्तै आको काठमाण्डु । छोरा–ब्वारी त निकै बर्खअगाडि आका ।” पहाडघर सोध्ने बा खररर्र बोल्न थाले ।

मेरो एउटा छोरो । छोरा–ब्वारी यीं मास्तिर बस्छन् । दुइटा नाति–नातिना छन् । ब्वारी किराना र तरकारी पसल गर्छे । छोरो ब्याङ्कामा पाले काम गर्छ । तीनटा कोठा छन् । एउटा सटर । एउटा छोरा–ब्वारी र केटाकेटीको । एउटा सानो भान्सा । हामी बूढाबुढी त्यै भात–तिउन पकाउने कोठामा सुत्छौं ।”

पहाड सबै बेचबिखन गर्नुभो कि छ ?” अर्का बाले सोधे ।

बाउआमा यतै आउनुपर्छ । हामी अब पहाड आउँदैन । तपाईंहरूलाई दुःख हुन्छ । जग्गा–जिमिन बेचेर आउनुहोस् भनेर जतिखेरै कर गरेपछि खेत अलिकति थ्यो बेचें । घर–बारीचैं छ । छोरी दुइटै ब्या गरेर देको । उतै गाउँमा छन् ।”

बाले बनाको पुरानो घुमाउने घर अलि सानो भो । मैले त्यसमा तल्तिर पाली थपें । छानो पैला खरको थ्यो । ऐले जङ्गलको खर कल्ले काटेर लेइदेओस् ? गाउँमा सप्पैले खबटाको छानो हाले । मैले पनि तेसै गरें । कसै–कसैले ता टिनकै छानो हालेका छन् । जङ्गलबाट सालका लाछ्रा एक्लै बोकेर घर अगाडिको लामो खोल्माचैं मैले बनाको । खोल्मा निकै लामो छ । तल्तिर वस्तुभाउ र बाख्रा–पाठा । दाउरा, हलो–जुवा, दाँदे, कुटा–कोदाला सप्पै तीं अँटेका थे । तलामाथि घाँस–पराल अटेर मान्छे बस्न सुत्नको लागि ठाउँ पनि थ्यो । म तीं ढल्केर वेला–बखत सिलोक भन्थें । ढिकीचैं घरमुनि सानो चित्रे कटेरोभित्र । हजुरबाकै पालाको ।”

घर–बारी ता माया लागेर बेचिनँ । यसो कैलेकाहीं गइयो भने बस्ने ठाउँ हुन्छ । फेरि आफू जन्मेको थलो । क्या हो–क्या हो, यता दुःख पाइयो भने उता जानुपर्छ । घरदेखि निकै तल दश पाथी बीउ जाने बिरौटे खेत थ्यो । तोचैं एक लाखमा बेचें । बिरौटे खेत हजुरबाले बिराको । पछि बाले त्यसमा अलिकति थप्नुभो । सानो हुँदा म पनि बाको पछि–पछि गएर साना–साना ढुङ्गा बोकेर बालाई सघाउँथें । खेतको अलिपर सानो पानी बगिरहने खोल्सो थ्यो । खोल्साहुँदि बाँसका झ्याङ र थुप्रै चिलाउनेका रूख थे । बिरौटे खेतमा बर्खे र हिउँदै दुई बाली धान हुन्थो । खेत सारै लक्षिनको । अक्षताको खाँचो कैलै भएन । ठाउँ–ठाउँमा बाले रोपेका धुस्रे र झप्री केराका बोट । धुस्रे केरा ता साना हुन्थे र गाँठे ! दोडा खायो भने पेटै टम्म !” बाले मुख मिठ्याए ।

म बाउको एक्लो छोरो । गोठ बस्ता दूध, दै, घिउ नाथे ता कति खाइयो कति । तै भर ता ऐलेसम्मन् दबाइको एउटा गोली खाको छैन ।” बूढा हौसिंदै अरू बक्न थाले ।

हिजो–अस्तिसम्म पनि मलाई रूख चढ्न कसैले भेट्तैनथो । बाँस त एक्लै नुहाउँथें । टुप्पा–टुप्पामा पुगेर घाँस काट्थें । बारीभरि बडहर, पटमिरो, पाडरी, खनिउँ, दबदबे । छेउछाउँहुँदि थुप्रै बाँसका झ्याङ । दाउरा–घाँसलाई अन्त काइँ जान नपर्ने । घर नजिकै जाइको बोटमुनि गलल–ल पानीको धारो । ठाउँ त सोर्गै हो गाँठे ।” बूढाले टोपी झिकेर घुँडामाथि राखे । अनि एकछिन उतै–कतै गाउँको सम्झनामा हराए ।

====

केही महीनापछि म त्यही पीपलको छहारीमुनि बेन्चमा बसिरहेको थिएँ । जेठ महीना । बेलुकापख त्यस्तै चार बजेपछि । दिन पनि लामो र गर्मी पनि निकै चढेकोले मन्दिर वर–पर खुला हावा खान र यसो टहलिन मान्छेहरू मन्दिरतिर आइरहेका । शिव मन्दिरपछाडि ढुङ्गा बिछ्याइएको खुला ठाउँमा परेवाहरू भुर्र–भुर्र गर्दै यताउति चारो टिपिरहेका । केही थान बाँदरहरू घरी मान्छे र घरी अन्ततिर हेर्दै पर्खालमा टक्राकटुक्रुक बसिरहेका । कोही जीउ कन्याइरहेका र कोही बिजुली र केबलका तारमा झुन्डिँदै नजिकैका घरतिर लम्किरहेका । केही युवा–युवतीहरू छेउछाउका पर्खालहुँदि बसेर मोबाइल चलाइरहेका । सेल्फी खिचिरहेका ।

त्यही वेला मन्दिरको पूर्वतर्फको प्रवेशद्वारबाट एउटा बूढा मान्छे लौरो टेक्दै आए । अलिक नजीक आएपछि थाहा पाएँ– ती त त्यही पहाडघर सोध्ने बा पो रहेछन् । कालो भोटो, सेता तर अलि मैला–मैला कमिज–सुरुवाल, पुरानो खालको ढाका टोपी, समात्नेतिर अंग्रेजी ‘टि’ खालको हल्का बाङ्गो घँघरुको लौरो टेकेर यताउति हेर्दै बाले पहिला बूढानीलकण्ठ मन्दिरलाई दाहिनेतिरबाट फेरो मारे । मूल ढोकाबाट हात जोडेर नमस्कार गरे । त्यसपछि बिस्तारो–बिस्तारो म भएतिरै आए । मान्छे त म बसे वरपर अरू पनि थिए । बाले ती सबैलाई पहिला पालैपालो हेरे । त्यसपछि मेरै छेउ आएर बसे । लौरो बेन्चमा ठड्याए । अनि सोधे–

नानीको पहाडघर काँ हो ?”

खोटाङ ।” मैले तुरुन्त बताएँ ।

खोटाङ काँ ?”

खाल्ले ।”

ए ! उतैका पो रछौं त हामी । म दिउँको खँड्का हुँ ।”

नानी के थरी ?”

भट्टराई ।”

मामली काँ ?”

खाम्तेल ।”

खाम्तेल काँ ?”

माथि डाँडामा ।”

रोका डाँडो ?”

हो ।”

के थरी ?”

कटुवाल ।”

नानीका बा–आमा छन्, छैनन् ?”

हुनुहुन्छ ।”

दुइटै ?”

हजुर !”

काँ छन् ?”

यीं ।”

बा कति बर्खका हुनुभो ?”

चौरासी ।

आमा नि !”

एकासी ।”

नानीका दाजुभाइ ?”

एउटा भाइ छ ।”

दिदी–बुइनी कति जना ?”

दुई जना ।”

काँ–काँ देको ?”

एउटी चुइचुम्मा नाली । अर्की खाम्तेल ।”

नाली कल्लाई ? त्यता त म पूरै जान्दछु ।”

थापालाई ।”

कुन थापा ?”

धारोमुनिका साँइला थापा ।”

नानीको ब्या काँ गरेको ?”

उतै पहाड ।”

पहाड काँ ?”

चुइचुम्मा कोप्चे ।”

कसकी छोरी ?”

भण्डारीकी ।”

ए बाटोमुनिका कान्छा भँडारी ? घरमा टिनको छानो हालेका थ्ये उहिल्यै ।”

हजुर !”

भँडारीकी कुन छोरी ?”

माइली ।”

भँडारी ऐले काँ छन् ? उहिल्यै मधेश झरेका थ्ये ।”

इटहरी ।”

नानीका छोराछोरी कति जना ?”

चार जना ।”

छोरा–छोरी के के ?”

दुई छोरा । दुई छोरी ।”

नानी कति बर्ख पुग्नुभो ?”

त्रिपन्न ।”

बा नबिसाई सोधेका सोधै । म भनेको भनै । त्यही वेला मलाई एक जना साथीले चिया पिउनको लागि नजिकैको क्याफेबाट फोन गर्‍यो । त्यो वेला मलाई बाको पञ्जाबाट उम्किने काइदाको मौका मिल्यो । नत्र, बाले अझै के के सोधेर हैरान पार्ने थिए ।

फोन आयो । लागें है बा !”

म जुरुक्क उठेर ढुङ्गाको सिंढी–सिंढी उँधो झरें । बा तल पुगुञ्जेलसम्म मलाई हेरिरहेका थिए । लाग्छ, बाले मलाई सोध्ने कुरा अझै धेरै बाँकी थियो ।

एक छिनपछि नागथानमुनिको ‘मारिको क्याफे’ बाट यसो मास्तिर हेर्दा त बा पनि लौरो टेक्दै पर पुगिसकेका ।

====

त्यसको दुई वर्षपछि दिक्तेल जाँदा मैले बजारको बैंकचोकनेरि तिनै पहाडघर सोध्ने बाजस्ता मान्छे भेटें । कमेज सुरुवाल चाहिं अर्कै हुन् कि ! भोटो चाहिं उही थियो । टोपी घेरो फाटिसकेको । घँघरुको लौरो उही थियो । बा पछाडि सुर्केझोला बोकेर एक्लै उभिरहेका । पक्का गर्न म बाको छेउमा गएँ ।

बा नमस्कार !”

नमस्कार ! मैले चिनिनँ त !” बाले हात जोडेरै भने ।

तपाईं दिउँका खँड्का बा होइन ?”

हो त ! नानी को पर्नुभो ?” पहाडमै भएकाले होला बाले यसपाला पहाडघर काँ हो भनी सोधेनन् ।

मैले बालाई परारै बूढानीलकण्ठ मन्दिरमा भेटेको थिएँ नि !”

ए ! खाल्लेका भट्टराई नानी हो ? बाले बल्ल सम्झें ।”

हो बा ! बा कहिले आउनुभाको यता ?”

एक बर्ख भो नानी ! बूढी मरिगई । अनि विरक्त लागेर म यता आको ।”

अब नजाने बा !”

जान्नँ नानी ! छोरा–ब्वारीको बेबार पनि राम्रो भ’न । अब यतै मर्छु ।”

बा ! चिया पिऊँ है !”

खान्नँ नानी च्या । बूढी मरेपछि मलाई ग्याँस्टिक भो । च्या खायो भने भुँडी पोल्छ । मुखबाट हुलुक्क अमिलो आउँछ । त्यै भ’र अस्पतालमा जँचाउन आको । डाक्टरले गोली दबाइ देको छ । यल्ले तै बिसेक हुन्छ कि !”

बा ! एक छिन है !” म नजीकैको पसलतिर लागें । बाले हेरिरहे ।

एक छिनपछि केही बिस्कुट र मिस्री किनेर मैले बाका हातमा दिएँ ।

किन पर्थ्यो र नानी !” बाले आँखाभरि आँसु पारे र त्यसलाई सुर्के झोलामा हाले ।

ट्याम कति भो नानी !” बाले मेरो हातको घडी देखाउँदै सोधे ।

चार बजो बा !”

ए ! लु अब रात परेछ ।” बाले पारि डाँडामा पुगेका घामतिर हेर्दै भने ।

लु बा ! बिस्तारो जानोस् । मेरो पर्तिर काम छ । म यता लाग्छु ।” बालाई नमस्ते गर्दै म छुटें ।

लु त नानी ! मलाई पनि ब्याँलो भो ।” बा पनि लौरो टेकेर अर्को बाटो तेर्सिए । मैले अलि पर्तिर पुगेर बालाई हेरें । बा मतिर फर्किंदै हेर्दै बिस्तारो अघि बढिरहेका थिए ।

मैले मनमनै गुनें– ‘बा अब निकै थाकिसकेछन् । यसपाला केही पनि सोधेनन् मलाई ।’