पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक !!
भन्न त कसैले हामीलाई भेडा भन्छन् । हामी गोरु बने झैँ गर्छौँ । स्याल जस्तो धूर्त हुन । गधा जस्तो काम गर्न । सिंह जस्तो मान खोज्न चाहन्छौँ । कसैले केही बिगारे बाँदर भनिदिन्छौँ । कोही कसैका अघि पुच्छर हल्लाए, कुकुर । सोच्दै नसोची मोटोलाई हात्ती । पातलोलाई मच्छर । लुसुक्क आए बिरालो । सुती रहे सर्प । कुरा फेरे छेपारो । आदि इत्यादि हाम्रो न्वारन गर्ने क्षमता बारे लेख्ने हो भने एउटा मोटै पुस्तक तयार होला ।
तर, किन भन्छौँ/बोलाउँछौँ हामी एक अर्कालाई जनावरको नामले ? के हामी मान्छे नै हो ? “मान्छे” शब्द कसले ? कति बेला ? कसरी बनायो होला ? कि विज्ञानले भने जसरी अहिलेको रूपमा आयौँ ? स्वरूप पायौँ ? या धर्मग्रन्थहरूले बताए झैँ ? मलाई लागेको कुरो म भन्छु ।
वर्णमालाको पहिलो अक्षर “क” नै किन भयो ? रहस्यमयी लाग्दैन ? नेपाली वर्णमाला जसलाई कखरा पनि भनिन्छ । जुन असलमा “कुखुरा” शब्द अपभ्रंश भएर बनेको भन्ने मेरो बुझाई छ । ‘ह्या जे पायो त्यही भन्छ’ पनि भन्न या सोच्न सकिनेछ । गणतन्त्र आएको छ ।
कुखुरी काँ ! बासी भात खा ! सानोमा घाँटी फुटुन्जेल गाइन्थ्यो । किन गाइन्थ्यो भनेर खोतल्दै जाँदा ठुलो रहस्य हात लाग्यो । संसारमा सबैभन्दा बढी बिक्ने मासुमा पनि दोस्रोमा सायद कुखुरा नै पर्ला । पहिलोमा त मान्छेको मासुको व्यापार सधैँ उस्तै छ । हरेक युगमा थाहा नै होला ।
केही कुखुराका बथान आकाशमा डुल्दै गर्दा कुनै पोथीले पतल्याक्क पार्दिएको अण्डा जस्तै देख्छु म पृथ्वी र अण्डा भित्रका हामी चल्ला/चल्ली, कुखुरा/कुखुरी । कुनै-कुनै आख्यानकार, साहित्यकारले बेला-बेलामा भन्दै आएका छन् कि हामी सुलीबाट बनेका हौ । विश्वास नलागे छाला यसो कोतारेर सुङ्नू । मेरो भन्नु चाहिँ हामी सुली गन्हाउनुको कारण स्वयं कुखुरा भएर हो झैँ लाग्छ । किनभने हामी त्यस्तै फोहोरी छौँ । मानसिक र भौतिक दुवै रूपमा । अब म हामीलाई वर्गीकरण गर्छु ।
पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक!!
ए ! अँ साँच्ची ! हामीले त आफ्नो भाषा पनि पो भुलिसक्यौँ । अब म हामीले पछि विकास गरेको एउटा भाषालाई माध्यम बनाएर वृत्तान्तको व्याख्या गर्छु ।
१: बन कुखुरो : बनमै रमाउने, बनकै खाने । दुनियादारिको मतलब नभएको । बेला-बेलामा गाउँ या सहर पस्ने । बाँचे फर्किने । होइन भने कोदोको ढिँडोसँग कसैको मुखमा चपक्क । स्वादमा मिठो । ट्वाक्क !
चिडियाखानामा प्रदर्शनमा राखेर कसैले गाँठ कमाउने । तस्करीमा पर्ने । शिकार बन्ने । कि बन कुखुरो विकास समिति खोलेर कोही रमाउने । पाउने उनीहरूले केही होइन । जंगल घुम्न आउनेहरूका लागी एक नयाँ जीव/चरा । एक फोटो । रमाइलो । प्रकृति । लोप हुन लागेको भए कुनै संग्राहलयका लागी गरिमाको विषय । खोजको कुरो । यत्ति हो ।
पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक !!
२: लोकल कुखुरो : एकदम टाठो-बाठो । गाउँको माटोमा हुर्किएको । माटोको महत्त्व बुझ्ने । गाउँको हावापानी, खानपिनले तन्दुरुस्त । स्वस्थ । बेला-बेला मालिकले काट्न खोज्दा भागेर सहर पस्न खोज्ने । जीवनको गणित मिले या बिग्रिए पसिहाल्ने पनि । देशै छोडेर परदेशसम्म पुगिहाल्ने । आफ्नो पसिनामा विश्वास राख्ने । साह्रै सोझा । हर कोहीले ललाई फकाई गरेर ठगिहाल्ने । सहरकाहरू लोकल कुखुरा भनेपछि हुरुक्कै । काटिहाल्न पर्ने । खाइहाल्न पर्ने । आफ्नो ज्यान दिएर अरूको एक छाक बनिदिने । यी लोकल कुखुराको खेती पनि अचेल निकै फस्टाएको छ । गाउँ-गाउँमा खोज्दै पुग्छन् बिचौलियाहरू । अनि पो आइपुग्छ तपाईँको भान्सामा बासमती चामल र लोकल कुखुराको मासुको सुगन्ध हररररर । कोही गाउँ घुम्दै जान्छन् र उतै एक दुईको प्राण डकारेर आउँछन् । केही महिना अघाउँछन् । कष्टकर नै छ लोकल कुखुराको जनजीवन भनौँ न । तर, खानेले विचार गर्ने भए पो ।
पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक !!
३. गिरिराज कुखुरो : न लोकल न बोईलर । न सहरको न गाउँको । या मुलघर गाउँमा भए पनि सहर कोठा भाडामा लिएर पढ्न बसेको । गाउँ जान भुलेको/छोडेको । मन लागे एक दुईपल्ट पुगी पनि हाल्ने । विदेश जाने या सरकारी जागिर खाने इच्छा भएको । अलि-अलि ठग्न जानेको । झुटो बोल्न सिक्दै गरेको । भ्रष्टाचार गर्न जान्दै गरेको । कुराको जालमा फसाउन माहिर । नयाँ चलेका ट्रेन्डहरू पछ्याउने । बोईलर तिर पनि आफन्त भएको । लोकल तिर पनि बाक्लै चिनजान रहेको । बजारमा भाउ पनि राम्रै । दाना खाएको । आफैँ चर्न पनि जानेको ।
४. बोईलर कुखुरो : सहरमा हुर्केको । प्रदूषणमा बढेको । सेतो सुकिलो । आमाको दूध भन्दा बढी ल्याक्टोजन र अनेक थरि डब्बावाला दूध खाएको । जिन्सी बस्तुहरू बढी खेलेको । माटो र गाउँ देख्न नपाएको । गाउँ हेर्नै परे पर्यटक जसरी जान पर्ने । प्रकृतिका हरेक कुरा उस्का लागी नयाँ र रोचक हुन्छन् । खोरमा धेरै बस्ने बानी हुन्छ नि त । बिरामी परिरहने । एकदम कमजोर । उस्तै परे राम नाम । ठुला-ठुला रेस्टुरेन्टहरूमा पुग्ने । दाम सस्तो भए पनि परिकार धेरै बन्ने । चिल्ली, रोस्ट, कबाब, तन्दुरी, झोल, छोयला, सेकुवा, भुटुवा, अचार । मांसाहारी पण्डितहरूले राखेका अनेकथरि नामै मात्र भेला पार्ने हो भने वर्ष लाग्छ । देश अनुसार, स्वाद अनुसारका नाम । तर यिनीहरूले पनि यी नाम मरेपछि मात्रै पाउँछन् । हामी जस्तै ।
पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक !!
तपाईँलाई हामी स्वयं कुखुरा हौँ/थियौँ झैँ लाग्दैन ? बिस्तारै विकास हुँदै हाम्रो यो स्वरूप तयार भए झैँ लाग्दैन ? मेरो दिमागले त यसै भन्छ कि हामी ‘क’बाट कुखुरा थियौँ/हौँ । चुच्चो मुख लगाएर सेल्फी लिन यसै जानेको होइन नि ।
यिनीहरूमा पनि भेदभाव छ वर्गीय/जातीय/धार्मिक । एक अर्कालाई ठुङ्न दौडिहाल्छन् । गँड्यौला लुछाचुडि गरेको देखेको छु । लोभ पनि हाम्रै जस्तो छ । हाम्रा हरेक घिनलाग्दा/राम्रा आनीबानी यिनीहरूसँग ठ्याक्कै मिल्छन् ।
पक पक पक पक पक पक्याक !! पक पक पक पक पक्याक !!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










