‘बाभन्दा जेठो बन्न खोज्छ’ भन्ने कुरा यी कानहरूमा धेरै पसे । प्राय उमेरले पाकाहरूले भर्खरै जुँगाका रेखा आकाहरूलाई भन्ने गरेको वाक्य हो । पाका र आकाबिच फरक छुट्याउनतिर नलागौँ । कुरा घिनलाग्दो बन्न सक्छ । खासमा यो कुनै अमृत वाणी होइन । अचेलको भाषामा भन्दा ‘हिरो बन्न खोजेको’, ’ओभर स्मार्ट’ आदि नै यसको मूल अर्थ हो । जसलाई केलाउँदा या खेलाउँदा आफूभन्दा जान्ने भएको कसैलाई मन पर्दैन भन्ने बुझ्न सकिन्छ । नेपालीलाई त कुनै हालतमा मन पर्दैन । हाम्रो स्वभाव नै जिताहा किसिमको छ । हामीले हामीलाई बहादुर भनेर तक्मा दिए तापनि त्यसमा जित थप्न भने बिर्सियौँ जस्तो मलाई लाग्छ । ‘जितबहादुर !’
यस्ता मनोभावका व्यक्तिलाई हाम्रो गाउँतिर ‘बप्जेठ’ यानिकी बाउभन्दा जेठो हुन खोज्नु भन्छन् । हामीले नजानेको केही छैन । नबुझेको केही छैन । अहिलेको युगमा भए अर्जुनलाई धनुष चलाउने सही तरिका हामीले बताउने थियौँ । बुद्धु भए पनि बुद्धलाई ज्ञान दिन तम्सिने थियौँ । देवकोटालाई कविता लेख्न या चार्ली च्याप्लिनलाई हँसाउन सिकाउने थियौँ ।
जिनमै आएको कुरा छोड्न के सजिलो हुन्थ्यो । चालामै (छाला होइन) टाँसिएको यस्तो गुण न पखालेर जाने न कोट्याएर निस्कने । पुर्खाले लडाई जितेको उदाहरण दिँदा दिँदै हाम्रो नस्ल नै जितबहादुर हुन पुगेको हो कि भन्ने मलाई शङ्का छ । कसैलाई ‘भोट’ दिन, ‘नोट’ दिन र सामाजिक सञ्जालमा ‘फतौरे ओठ’ दिन हामी पछि पर्दैनौँ । पुर्खाले लडेर जिते पनि हामीलाई भने गफ जोतेर जित्ने बानी परेको छ । किनेर, अरूका कुरा उछिनेर, पेलेर, नसुनेर, ठगेर यहाँसम्म कि रोएर भए पनि हामी आफूलाई महान् बनाउन कुनै कसर छोड्दैनौँ ।
कसैले कुनै नेपालीको अगाडी गएर पेट दुख्यो मात्रै भन्यो भने उसको विशेष शक्ति सुचारु भइहाल्छ । ऊ झटपट ‘पेट रोग विशेषज्ञ’ बनिदिन्छ । ग्यास्ट्रिक, अल्सर, एपेन्डिक्स, पत्थरी के भएको हो, सबै भनिदिन्छ । उसका आँखा नै एक्स-रे र भिडियो एक्स-रे मेसिन हुन् । उसका कानमा स्टेथेस्कोप जडित छ । उदाहरण सहित उसले रोगको औषधि मुलो समेत बताइदिन्छ । को ? कसरी ? के गर्दा ? यस्तै पेट दुखाइले राम नाम सत्य भए र को चाहिँ उसले बताएको उपचार पद्धति स्विकारेर अष्ट चिरञ्जीवी भए भन्नेसम्मका कुरा गरेर ऊ आफूलाई चिकित्सक प्रमाणित गर्छ । कथंकदाचित सुन्ने व्यक्तिले उसको कुरा ग्रहण गरेन भने ‘पछि यसले भनेको थियो भन्ने नहोस्’ भन्दै ऊ मनोवैज्ञानिक ब्रह्मास्त्र प्रहार गर्छ । टाउको दुखे ‘टाउकाको डाक्टर’, आँखा दुखे आँखाको, प्रेसर, सुगर सबै रोगको उपचार गर्न ऊ आफूलाई खप्पिस साबित गर्न पछि पर्दैन । केही औषधि स्वयम् ल्याइदिन समेत सक्छ । सर्वगुण सम्पन्न उसलाई भेटेर चकित नपर्नु । ऊ ‘बप्जेठ’ हो भनेर थाह पाउनु र चुपचाप बस्नु नै यसको निदान हो ।
कसैको घरमा कलह या खेतबारीमा सलह चलिरहेको छ । आर्थिक मन्दीले सन्धिहरू टुट्दै गएका छन् भने ऊ तुरुन्तै ज्योतिष विज्ञान र वास्तुकलाको ज्ञाता भइदिन्छ । हस्तरेखा हेरेर समस्याको जडसम्म उसले पत्ता लगाइदिन सक्छ । ‘कुन रेखाले कस्तो प्रभाव पार्दै छन् । समस्याको घडीको ब्याट्री कहिले सकिन्छ ।‘ लगायतका दिव्य ज्ञान ऊबाट प्राप्त गर्न सकिन्छ । ‘चिनामा भएका के-कस्ता ग्रहले थिचोमिचो पारेका छन् । कुन ग्रह कुन घरमा भएकाले भरमा छैनन् । कस्ता गोचर बाङ्गो भएकाले नाङ्गो बनाउँदै छ । कति दिन, महिना र वर्षसम्म यसलाई खप्नुपर्छ ।‘ भन्नेसम्मको जानकारी महामहिमबाट पाउन सकिन्छ । त्यसको लागि कहाँको मन्दिर जानुपर्छ, रुद्री, ग्रह शान्ति, एकाह कस्ता जाप लगाउनुपर्छ, कुन देउतालाई कति पटक ढोग्नुपर्छ भन्ने कुरा पनि उसले बताइदिन्छ । घरमा दराज राखेको कोण मिलेको छ कि छैन, भान्सा सही दिशामा रहेको/नरहेको, सिरानी मिले/नमिलेको समेत बताउन सक्छ । सास फेरेको भएको छ कि छैन सम्म उसले खुलाउँछ । ऊ जान्ने छ । धेर जान्ने छ !
मानसिक तनाव भएको बेला ऊ मनोचिकित्सक भएर तपाईँको उपचार गर्नसमेत पछि पर्दैन । पूर्वीय ध्यानका विधिदेखि लिएर पाश्चात्य औषधीका ठेलीहरू पस्किन्छ । मेडिटेसनका विधि, विपश्यना, ओशो र अनेक ओखती बताएर नाक फुलाउँछ । यसको विरोध गर्नु भनेको जितबहादुरको अहम्लाई गिज्याउनु हो । त्यसैले चुप बस्नु !
कहिल्यै नखेले तापनि ऊ फुटबल, क्रिकेट, भलिबल खेलाडीको प्रशिक्षक हो । कुन खेलाडीले कसरी खेले खेल जित्न सकिन्छ भनेर सोध्नु र केही घण्टा ‘अँ ! अँ !’ भन्दै टाउको हल्लाउनु, ऊ पेलेलाई पनि पेल्न सक्ने जुक्ति भएको मानिस हो । धोनीलाई पनि धुन सक्ने तरिका थाह पाएको ज्ञानी हो ।
आफ्नो शरीर अस्वस्थ भएर के नापिन्छ ? ऊ योगाका आसनहरू सिकाउने योग गुरु हो । आफू हल्लिएर हिँडे के खुइलिन्छ ? व्यापारका सयौँ तरिका जानेको विशेषज्ञ हो । परिवारमा बस्ने नसकेर बिरक्तिए के उखेलिन्छ ? समाज सुधारक विषयमा उसको डिग्री छ । राजनीतिज्ञलाई राजनीति सिकाउन सक्ने क्षमता छ । सेफहरूलाई पाककलाको ज्ञान दिन सक्ने जानकारी छ ।
कानुन विषयमा विज्ञता भएर नै हो न्यायालयले न्याय गरे नगरेको उसले थाह पाएको । को पीडित र को पीडक हो भन्ने जान्न किन बेकारका अदालत बनाइएका होलान् ? उसैलाई सोधेर फैसला गरिदिए हाइसन्चो हुन्छ । देशमा कुन वाद चाहिएको छ भनेर वादविवाद नगर्नुहोस् । ऊ हरेक बिहान चियासँग एउटा वाद चपाएर निस्कन्छ । बेलुका चाँदी खाएर बिहान सुन निकाल्ने मानिसलाई कम आँक्नु महापाप हुनसक्छ । विश्वले ऊसँग कूटनैतिक योजना नबनाएकाले नै अशान्ति फैलिने गरेको छ । ऊ घाँटीबाट कम्मरको नाप लिन सक्ने मान्छे हो ।
उसको अलौकिक दिव्यताबाट प्रसन्न भएर भगवान्ले उसलाई आफ्नो दूत बनाएर यस धर्तीमा उतारेका हुन् । ऊ बगैँचाका फूलहरूलाई सही तरिका बताउन सक्छ । चराहरूलाई उड्ने ढङ्ग सिकाउन सक्छ । सूर्यले ऊसँग सोधेर धर्तीलाई चाहिएको ताप पठाउने गरेको छ । उसलाई संसारमा भएको सबै कुराको ज्ञान छ । उसलाई ठुला कुरा गरेरै संसार जित्न सकिन्छ भन्ने विश्वास छ ।
ऊ यानिकी ‘जितबहादुर !’
ऊ यानिकी ‘बप्जेठ !’
आफू ‘जितबहादुर !’ ‘बप्जेठ !’ रहे नरहेको थाह पाउन माथि ‘ऊ’ उल्लेखित ठाउँमा ‘म’ राखेर पढ्नुहोला । यतिको जान्ने त म पनि छु क्यार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










